मङ्गलबार, ०६ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०६ असोज २०८३

बसमा आगलागी : मृतक अर्जुन दोङले विभिन्न ठाउँमा फरक-फरक व्यक्तिको लाइसेन्स पेस गरेको खुलासा

https://jawaaf.com/storage/01M34803SNMV3GM5GVB9266PK6.jpg

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको सवारी आगजनीको घटनामा मृत्य हुनेको पहिचान खुलेको छ । 

मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङ तामाङ रहेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । 

उनले भने, ‘मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का अर्जुन दोङ तामाङ भन्ने खुलेको छ ।’ 

भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो करिब साढे १२ बजे आगलागी भएको थियो । 

आगलागीमा परी घाइते भएका चालकको कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा चालक तामाङले आफ्नै नामको नभई अन्य व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रयोग गरेको खुलेको एसपी सुवेदीले जानकारी दिए । उनको आधिकारिक लाइसेन्स जारी भएको विवरणसमेत फेला पार्न नसकेको उनले बताए । 

एसपी सुवेदीका अनुसार उनले यातायात समिति लगायत विभिन्न निकायमा पेस गरेका कागजातमा समेत फरक–फरक व्यक्तिको नाममा रहेको लाइसेन्स दुरुपयोग गरेको देखिएको छ ।

एसपी सुवेदीले भने, ‘उहाँको अहिलेसम्म बुझ्दा अरू व्यक्तिकै नामको लाइसेन्स दुरुपयोग गर्नुभएको रहेछ । उहाँको आधिकारिक व्यक्तिगत लाइसेन्स अहिलेसम्म हामीले फेला पार्न सकेका छैनौँ । लाइसेन्सको विवरण हेर्दाखेरि अहिलेसम्म उहाँको लाइसेन्स जारी भएको हामीले फेला पार्न सकेका छैनौँ ।’

मृतकको शव पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धान अघि बढाइने एसपी सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png