शनिबार, ०७ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०६ कात्तिक २०८३

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

https://jawaaf.com/storage/01M5MA8TJGYM49TK93AR8ZSF4C.jpg

एजेन्सी । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ।

साथै, पुनःस्थापनाका प्रयासका लागि थप तीन करोड युआन छुट्याइएको छ।

बिहीबार राति १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो। भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा ५ करोड युआन विनियोजन गरेका छन्। उक्त रकम उद्धार कार्य सञ्चालन गर्न तथा प्रभावित बासिन्दालाई सहायता उपलब्ध गराउन प्रयोग गरिनेछ।

यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले क्षतिग्रस्त पूर्वाधार र सार्वजनिक सेवा सुविधाहरूको पुनःस्थापनाका लागि केन्द्रीय बजेटबाट थप ३ करोड युआन छुट्याएको छ।

चीनले राष्ट्रिय भूकम्प आपत्कालीन प्रतिकार्यको स्तर पनि चौथो तहबाट बढाएर तेस्रो तहमा पु¥याएको छ। साथै, राष्ट्रिय प्राकृतिक विपद् राहतसम्बन्धी छुट्टै चौथो तहको प्रतिकार्य पनि सक्रिय बनाइएको छ।

चीनको राष्ट्रिय अग्नि तथा उद्धार बलले उद्धार कार्यका लागि ३५० जना उद्धारकर्मी र ८३ वटा सवारीसाधन घटनास्थलतर्फ पठाएको छ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयले सिजाङको आपत्कालीन व्यवस्थापन विभागसँग समन्वय गर्दै विपद्बाट प्रभावित क्षेत्रमा क्षतिको अवस्था निरीक्षण गर्न ‘विङ लुङ’ ड्रोन परिचालनको व्यवस्था मिलाएको छ।

विपद्पछि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये मारु र गाङ्छे सहरबाट घाइते बासिन्दाहरूलाई उपचारका लागि भूकम्पको केन्द्रबिन्दुबाट करिब ५० किलोमिटर टाढा रहेको छिमेकी सोग काउन्टीको जनअस्पतालमा स्थानान्तरण गरिएको छ।

प्रभावित जनसङ्ख्याका लागि प्रमुख चिकित्सा केन्द्रका रूपमा तोकिएको उक्त अस्पतालले घाइतेहरूको उपचार गर्नुका साथै तातो खाना र आधारभूत आवश्यकताका सामग्रीसमेत उपलब्ध गराइरहेको छ।

भूकम्पपछि सरकारी ऊर्जा कम्पनीहरूले स्थानीय इन्धन भर्ने केन्द्रहरूमा सुरक्षा जाँच सुरु गरेका छन्। जाँचका क्रममा कुनै ठूलो सुरक्षा जोखिम वा ग्यास चुहावट नभेटिएको जनाइएको छ।

शुक्रबार बिहान ७ बजेसम्म चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले बाकेन र सोग काउन्टीमा २३१ टन इन्धन बोकेका १२ वटा ट्याङ्कर पठाइसकेको थियो।

त्यस्तै, सिनोपेकले विपद् प्रभावित क्षेत्रतर्फ जाने प्रमुख मार्गमा रहेका इन्धन केन्द्रहरूमा आपत्कालीन सेवा सञ्चालन गरेको छ।

सोग काउन्टी र बिरु काउन्टीलाई जोड्ने राष्ट्रिय राजमार्ग ३१७ को एउटा महत्त्वपूर्ण उद्धार मार्ग पहिरोका कारण अवरुद्ध भएको थियो। पहिरोले थुपारेका ढुङ्गाहरू हटाएपछि शुक्रबार बिहान ३ बजे उक्त सडक पुनः यातायातका लागि खुला गरिएको छ।

यसैबीच, अस्थायी रूपमा सेवा रोकिएका छिङहाई–सिजाङ रेलमार्गका प्रभावित खण्डहरूमा यात्रुवाहक रेल सेवा पुनः सञ्चालनमा आएको छ। यद्यपि, सुरक्षालाई ध्यानमा राख्दै रेलहरूलाई गति सीमित गरेर सञ्चालन गरिएको छ।(सीसीटीभीप्लस)

सम्बन्धित खबर

/frontend/images/redline.png