इलाममा साना सिँचाइ कार्यक्रम
इलाम, जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सञ्चालित कार्यक्रम अन्तर्गत एकै पटक छ वटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्थिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिए । उनका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।
माइजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रम अन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नं १ स्थित लप्सीबोटे फलाटे गाउँमा रु ८९ लाख ९७ हजारको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ । त्यस्तै सोही वडाको ठूलोबेँसीमा रु ४२ लाख ७८ हजार तीन सय ४३ को लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ को लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजूर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ । वडा नं ५ को साठीमुरे बेँसीमा रु ३९ लाख ५८ हजार तीन सय ६६ को लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा रु ८२ लाख ६४ हजार दुई सय ८२ को लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ । यसैगरी, रु ७७ लाख ६१ हजार सात सय ७७ को लागतमा एक सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताए ।
आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीन वटा वडामा बाह्रमास पानी पुग्नेछ । आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताए । “वर्षौँ देखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माइजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ बताए । साना सिँचाइ आयोजनामा स्वीस सरकारको रु एक करोड १४ लाख ९४ हजार छ सय ९८, सङ्घीय सरकार, प्रदेश सरकार र माइजोगमाई गाउँपालिकाको रु ७६ लाख ६३ हजार एक सय ३२ का र स्थानीय उपभोक्ताको रु ३८ लाख ३१ हजार पाँच सय ६६ लागत साझेदारी छ । यस अघि माइजोगमाई गाउँपालिकामा रु चार करोड ७० लाख ८२ हजार आठ सय २५ को लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन् । ति कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
सम्बन्धित खबर