बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१

हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

https://jawaaf.com/storage/01HZEAAGRE0TWY23B8MDH8H4GQ.jpg

चितवन, २१ जेठ I जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।   
  
पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।” जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।   
  
सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उहाँले बताउनुभयो । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उहाँले जानकारी दिनुभयो ।   
  
बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उहाँले बताउनुभयो । जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । उहाँका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।  

सम्बन्धित खबर

/frontend/images/redline.png