सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ३० जेठ २०८१

शिक्षिकाले मर्मत गरे हुरीले उडाएको विद्यालयको छानो

https://jawaaf.com/storage/01J063MP2QQTD7E22Y4N34PX7F.jpg

दमौली (तनहुँ), ३० जेठ I तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गर्नुभएको छ । यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गर्नुभएको हो ।   
  
हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुट्नुभएको विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिनुभयो । विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो । दुवै भवन जीर्ण अवस्थामा रहेका उहाँले बताउनुभयो ।   
  
छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् । छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थाल्नुभएको उहाँको भनाइ छ ।   
  
प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो । पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उहाँले बताउनुभयो । विद्यालयमा सातजना शिक्षक छन् ।   
  
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरुमा क्षति पुगेको बताउनुभयो । आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उहाँले बताउनुभयो ।   

सम्बन्धित खबर

/frontend/images/redline.png