बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरेका छन् ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ।
यस्तै, कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
इलाममा पहिलो चरणको राहत हेलिकप्टरमार्फत पठाइयो
विराटनगर । लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ । स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो ।
मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल लगायतका सामग्रीहरू इलामका विभिन्न प्रभावित क्षेत्रमा पठाइएको छ ।
सचिव आचार्यले भने, ‘इलाममा सडक सञ्जाल बाढी र पहिरोले अवरुद्ध भएपछि राहत पु¥याउन एक मात्र विकल्प हवाई मार्ग थियो । अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ ।’
असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुम लगायतका स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।
प्रदेश सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै राहत तथा पुनःस्थापनाको दीर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ । मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।
मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४ औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन् ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७ सय ५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
इलाम । लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ ।
सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ । बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।
रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन । तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ । बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ ।
यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ । सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरुले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन् । मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो ।
ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरु लगायतका विषयमा जानकारी लिएका थिए ।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बनाउन आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए ।
बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै घिसिङले छिनछिनमा वत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही वमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।
प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको बताए ।
दैनिक एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । चालू आर्थिक वर्ष २०८२ ÷८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।
त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।
मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते
हेटौंडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।
दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
हालसम्म घटनामा गम्भीर घाइतेको अवस्था नदेखिएको र सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत कारण थाहा पाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।
स्थानीयले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र संकेत बोर्ड अभावका कारण दुर्घटना बढ्दै गएको बताउँदै सुरक्षित यातायात व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु
रामेछाप । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो । खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरू रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण अघि बढाइएको छ । ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानमा वैकल्पिक डाइभर्सन बनाउन योजना बनाइएको छ ।’ अधिकारीले बताइन् ।
उनका अनुसार पानीको धार अहिले पनि भित्तासम्म टाँसिएको छ र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको छ । उनले स्थानीय, प्रहरी र निर्माण व्यवसायीहरूको सहयोगमा काम तीव्र पारिएको बताइन् ।
यसअघि सरोकारवाला निकायबिच बिपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने सहमति भएको थियो । यता, सिन्धुलीको नेपालथोक पट्टी पनि सडक डिभिजन कार्यालय खाल्टे मार्फत सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरेको छ । उक्त खण्डमा समेत बाढीले सडक कटान गरेपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ ।
गत वर्ष असोजमा आएको बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो । तर, यस वर्ष फेरि सोही भागमा बाढीले सडक बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
सडक विभागका अनुसार निर्माण कार्य पूरा गर्न मौसममा सुधार भएमा कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र मात्र बिपी मार्गबाट काठमाडौँ आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ । सो प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ ।
आयोगले दल दर्तासम्बन्धी प्रावधान स्पष्ट गर्दै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था रहेको जनाएको छ । त्यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने सरोकारवाला दलहरूले २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।
निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई आयोगले निरन्तरता दिने बताएको छ ।
प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारालाई आत्मसात गर्दै आयोगले निर्धारित कार्यतालिका अनुरूप सबै प्रक्रिया अघि बढाउने जानकारी गराएका छन् ।
जेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा
काठमाडौं । विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् ।
जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन् ।
२०८२ साल भाद्र २३ गतेबाट जने–जी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र र सक्षम पदाधिकारीले नेतृत्व गर्न अत्यावश्यक रहेको पनि उनीहरुको भनाई छ ।
विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्तको स्वार्थद्वन्द र सिङ्गो आयोगको अभियोजन प्रणालीमाथि नै प्रश्न गर्दै चयनात्मक अभियोजन गरेको बताइएकाले आयोगका प्रमुख आयुक्त सहित सम्पुर्ण आयुक्तहरुको निष्पक्षतामाथि ठूलो प्रश्न उठाएको उनीहरुको भनाई छ ।
हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको हुनाले जेन–जी मुभमेन्ट अलायन्सले उनीहरुको राजीनामा माग गरेको हो ।
साथै, उनीहरुले अन्तरिम सरकारलाई खुला अवेदन प्रकृया मार्फत सबै योग्यता भएका तथा सक्षम नागरिकले आवेदन दिन सक्ने गरी निष्पक्ष नियुक्ती समिती गठन गरी रिक्त भएका आयोगका पदहरुका लागी नयाँ आयुक्तहरु नियुक्ती गर्न पनि अनुरोध गरेका छन् ।