मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या
बागमती, २२ भदौः प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।
केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण हुँदा माछापालन प्रभावित भएको हो । “केन्द्रका नाममा भएका जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्”, कार्यालय प्रमुख सरोजकुमार यादवले भन्नुभयो, “यसले माछापालन प्रभावित भएको छ ।”
कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागार्इं, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ ।
“अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए”, प्रमुख यादवले भन्नुभयो, “त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।”
अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ ।
“अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ”, प्रमुख यादवले भन्नुभयो, “तर उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।”
यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताउनुभयो ।
“अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भन्नुभयो, “त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।”
कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताउनुभएको छ । उहाँले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन, २२ भदौः सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
धनुषा, २२ भदौः चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो
सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २१ भदौ : नेपाल प्रहरीमा राजनीतिक शास्त्रमा स्नातकोत्तर तह सञ्चालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्माले प्रहरी प्रधान कार्यालयमा आज उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ प्रहरी अधिकृतको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने उक्त कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका नवीनतम् परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिइएको बताउनुभयो ।
उहाँले सङ्गठनको नेतृत्व तहमा पुग्ने क्षमता भएका अधिकृतको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताउनुभयो । उहाँले यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवं सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास व्यक्त गर्नुभयो ।
त्रिवि, व्यवस्थापन सङ्कायका डीन प्राडा शर्माले समझदारीले प्रहरी अधिकृतको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गर्नुभयो । उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।
समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम सञ्चालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्क, विद्यार्थीको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवं विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोगलगायत विषय उल्लेख गरिएको छ ।
राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम
राजविराज (सप्तरी), २१ भदौः राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन् ।
माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताउनुभयो । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन”, यादवले भन्नुभयो ।
यही बाटो भएर राजविराज काठमाडाँैलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेका बताउनुहुन्छ । उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उहाँको आग्रह छ ।
राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताउनुभयो ।
लोसपाको केन्द्रीय कार्य समिति केन्द्रीय महाधिवेशन तयारी समितिमा परिणत
काठमाडौँ, २१ भदौः लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजुदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ । यही भदौ १९ र २० गते काठमाडौँमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवशेन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको सङ्कलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।
लोसपाले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ ।
बैठकले बृहत राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को परिणाम खस्किदै गइरहेकामा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको आभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमुलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ ।
मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।
बाजुराको खप्तड छेडेदहमा बालविवाह विरुद्ध नाटक
काँडाबाजुरा (बझाङ), २१ भदौः सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो ।
बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो ।
नाटकमा श्रीमतीको भूमिका निर्वाह गर्नुभएकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेको, अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु नरोकिएको स्थानीय रमिला रोकायाले बताउनुभयो ।
नाटकमा देखाएकै कुरा धेरैका जीवनमा मेल खाएको उहाँले बताउनुभयो । काँडामा उच्च रहेको बालविवाह न्यूनीकरणका लागि यो नाटकले धेरै नै सहयोग पुग्ने रमिलाले विश्वास व्यक्त गर्नुभयो । दुर्गा भवानी आधारभूत विद्यालयकी शिक्षिका यशोदा रावलले गाउँमा भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सबैलाई जानकारीस्वरुप तिज कार्यक्रममा मौका छोपेर नाटक प्रदर्शन गरेको बताउनुभयो ।
एघारजना बालिकाले बेहुला, बेहुली, बेहुलाका आमा बुबा, धामी, पुरोहित, डाक्टर, छिमेकी, मदिरा पसले भएर अभिनय गरेका थिए । “हरेक गाउँमा आफ्नै उमेरका केटमकेटीले पनि विवाह गरेर अलपत्र परेका देखिन्छन्”, कक्षा ८ मा अध्ययनरत बालिका जानकी रावलले भन्नुभयो, “बालविवाह गरेर सानै उमेरमा बच्चा पाउँदा दुवैको ज्यान गएका घटना पनि छन् । त्यसैले उमेर नपुग्दै विवाह नगरुन् भनेर नाटक देखाएका हौँ ।” यसले वडावासी केही सचेत हुनेछन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
नाटकको सन्देशले तिज कार्यक्रममा घेरिएका महिला–पुरुष निकै सोचमग्न भएका थिए । नाटक हेरिरहनुभएका स्थानीय सचिन रोकायाले भन्नुभयो, “यहाँ बालविवाह भन्ने कुनै मतलब हुँदैन । तर, त्यसको असर भने घरपिच्छे देखिन थालेको छ, धेरैले भोगिरहेका पनि छन् ।”
पहिले बुबाआमाले बिहे गराइदिने गरेका थिए भने आजभोलि आफैँ फोन गरेर बिहे गर्न थालेको सचिनले बताउनुभयो । “नयाँ पिँढीमा नयाँ कुरा सिक्नुपर्नेमा मोबाइल फोन तथा फेसबुकले धेरै बिगारेका छन्”, उहाँले भन्नुभयो, “विभिन्न गाउँमा १२ पास गरेर बिहे गर्ने धेरै कम छन् । एसइई पुग्दानपुग्दै बिहेवारी गर्ने र पछि हिंसाको सिकार भइरहेका छन् । अहिले यो रोक्न हामी सबै लागिपरेका छौँ ।” यस्तो अवस्था कम होस् भन्नका लागि नानीहरूले गरेको नाटक निकै सन्देशमूलक रहेको उहाँले बताउनुभयो ।
काँडामा बालविवाह धेरै नै भएको हुँदा त्यसलाई रोक्न सरकारी निकायमात्रै नभई विभिन्न सङ्घसंस्थाले पनि काम गरिरहेका छन् । वडाध्यक्ष वीरबहादुर रावलले भन्नुभयो, “बालविवाह रोक्न सबैजना आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । हामीले कहिले छुट्टै त कहिले सङ्घसंस्थासँगको समन्वयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” केही हदसम्म कम भएको उहाँले बताउनुभयो ।
तिज प्रतियोगितामा साविकको काँडा गाविसका सबै वडाबाट महिलाले संस्कृति जोगाउन नृत्य प्रदर्शन गर्नुभएको थियो । वडा कार्यालय र गरिमा परियोजनाद्वारा सञ्चालित ग्रीन तारा नेपालको सहयोगमा तिज प्रतियोगिता गरिएको ग्रीन ताराकी सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।
तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।
पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।
नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो मोहल तयार हुन्छ, त्यो राम्रो हो ।”, उहाँलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।
अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तिज हो । “पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ”, उहाँले भन्नुभयो, “घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ ।”
यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ । “समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ”, नेतृ हमालले भन्नुभयो, “महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ ।” महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ ।
सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तिज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा नौ वर्षदेखि ‘तिज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गर्नुभएको छ ।
“तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ”, संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो, “नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो ।”
उहाँलाई तिज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै थप्नुभयो, “पृत्तिसतात्मक सोचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।”
महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । “एउटा वर्गले श्रीमान्का लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थय पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन”, उहाँले थप्नुभयो, “महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो ।”
संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो । उहाँले भन्नुभयो, “महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।”
डा ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ । तिज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।
सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा
भोजपुर, २१ भदौः भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो ।
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती, मझौलेका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ । सङ्कलित निगुरो गाउँघरबाट नै बिक्री हुने स्थानीयवासी रमेश विष्टले बताउनुभयो । विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरबाट नै बिक्री भइरहेको छ ।
हालसम्म यो क्षेत्रबाट करिब दुई हजार पाँच सय निगुरो केजी निर्यात भएको उहाँको भनाइ छ । वन, जङ्गल, खोलाखोल्सी तथा चिस्यान क्षेत्रमा पाइने निगुरो कात्तिक, मङ्सिर महिनासम्म सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो ।
“सडकको पहुँच विस्तारसँगै गाउँघरका कृषिउपजलाई बाहिरका सहर बजारमा सहज भएको छ”, उहाँले भन्नुभयो, “निगुरो बिक्री होला भन्ने लागेको थिएन । तर अहिले खेर गइरहेको निगुरो बिक्री भइरहेको छ । याममा निगुरो बिक्री गरेर सामन्य रुपमा घर खर्च चलाउने अवस्था बनेको छ ।”
गाउँघरमा सङ्कलन गरिएको निगुरो प्रतिकेजी रु ३० देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । एक जना कृषकले एक दिनमा ३० देखि ४० केजीसम्म निगुरो सङ्कलन गर्ने उहाँको भनाइ छ । पात भएकोभन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने उहाँले बताउनुभयो ।
स्थानीयवासीले वर्षात् याम सुरु भएपश्चात् जेठ असारदेखि कात्तिक, मङ्सिर महिनासम्म निगुरो बेच्दै आएका छन् । वन, जङ्गलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेकोे स्थानीयवासी लालबहादुर विष्टले बताउनुभयो ।
उन्याउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन, जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढीमात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् ।
जैविक र मौसमी तरकारी निगुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ । निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवतीलाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ ।
स्थानीयस्तरमा पाइने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ । गाउँपालिकाभित्रका धेरै क्षेत्रमा निगुरो पाइने उहाँको भनाइ छ ।
आशा जगाउँदैछ कृषि औजार कारखाना
वीरगञ्ज (पर्सा), २१ भदौः राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहनुभएको छ ।
“मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका छौँ । त्यसैले अहिले देशव्यापी रुपमा पुस्तक बिक्री अभियानसहित हिँडिरहेको छु ।”
अध्यक्ष पुनले देशव्यापी रुपमा पुस्तक बिक्री गरेर कम्तीमा पनि कारखानाका लागि पुस्तकको छपाई खर्च कटाएर रु २० करोडको प्रबन्ध आफैँ मिलाउने बताउनुहुन्छ । “पुस्तक बेचेरै रु २० करोड उठाउने जिम्मेवारी आफैँ लिन्छु । तर त्यति रकमले मात्रै कारखानालाई चलायमान गराउन सकिँदैन”, उहाँले भन्नुभयो, “मेरो अन्तर्राष्ट्रिय पदक र कास्कीको कालीकोटमा भएको २८ रोपनी जग्गा बेचेपछि कम्तीमा पनि रु १५ करोडजति आउँला होला अनि त्यो कारखाना चलिहाल्छ ।”
अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्र्ने हो भने कम्तीमा पनि रु ६०÷७० करोड खर्च गर्नुपर्ने बताउनुहुन्छ । “केन्द्र आफैँले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ”, उहाँले भन्नुभयो, “सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।”
अध्यक्ष पुनले सोभियत सङ्घका पालामा सञ्चालनमा ल्याइएको कारखानामा निकै पुराना र म्यानुअल प्रकृतिका मेसिन रहेकाले पनि अत्याधुनिक खालका मेसिन थप गर्न आवश्यक रहेको जिकिर गर्नुहुन्छ ।
“कारखानामा ६ दशकभन्दा पुराना खालका उपकरण र औजार रहेका छन् । ती उपकरण र मेसिनको प्रयोग गरेर उत्पादन गरिने औजारले बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैनन”, उहाँले भन्नुभयो, “अहिले त कम्प्युटर प्रणालीबाट चल्ने खालका ‘सिएनसी’ खालका अत्याधुनिक मेसिन ल्याएर औजार उत्पादन गर्नुपर्ने हुन्छ ।” केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन रु साढे नौ करोडभन्दा धेरै रकम सङ्कलन गरिसकेको छ । उहाँले कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य राख्नुभएको छ । उहाँको एउटा पुस्तकको मूल्य भने रु सात सय ५० तोकिएको छ ।
तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्रै होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।
विसं २०५९ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै कारखाना दुई दशकसम्म कारखाना अलपत्र अवस्थामा रहिरह्यो । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखाना फेरि चर्चामा आएको हो ।
विसं २०७९ असोज ११ गते अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रुपमा काम सुरु भने विसं २०७९ माघ महिनामा मात्रै थालेको हो । पुनःनेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो ।
वीरगञ्जस्थित कृषि औजार कारखानाका इञ्चार्ज तथा इञ्जिनियर रितेश देव राष्ट्रिय अविष्कार केन्द्रले कारखानाको जिम्मेवारी लिँदा कारखाना भूतबङ्गला जस्तै भएको स्मरण गर्नुहुन्छ ।
“दुई दशकदेखि बन्द भएको कारखानाभित्रै पीपलका बोट उम्रिएका थिए । जताततै माकुरोले जालो लगाएर हेर्नै नसकिने अवस्था थियो”, उहाँले भन्नुभयो, “कारखाना त भूतबङ्गला जस्तै थियो । सुरुआती चरणमा त कसरी काम गर्न सकिएला र भन्ने लागेको थियो ।”
इञ्चार्ज देवका अनुसार कारखानामा भएका अधिकांश पुराना मेसिनलाई मर्मतसम्भार गरेर चल्नसक्ने बनाएको बताउनुहुन्छ । “कारखानामा साना ठूला गरेर ५५ वटा मेसिन रहेका छन् । तीमध्ये अहिले ५० वटा मेसिन चल्ने भइसकेका छन्”, उहाँले भन्नुभयो । अहिले केन्द्रमा १५ जना कर्मचारीले नियमित रुपमा काम गर्दै आइरहेका छन् ।
केन्द्रमा यस्ता औजार बने
केन्द्रले दुई दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २३ महिनाकै अवधिमा डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेर परीक्षण गरिसकेको छ । तर केन्द्रलाई सुरुआती छ महिना समय त जीर्ण र अस्तव्यस्त रहेको कारखानाको सरसफाइ र मेसिन मर्मतसम्भारमा खर्च गर्नुपरेको थियो ।
कृषि औजार कारखाना वीरगञ्जका इञ्चार्ज देवले केन्द्रले छोटो अवधिमा नै डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेको दाबी गर्नुहुन्छ । “हामीले गोबरबाट पानी निकाल्ने मेसिनको सफलतापूर्वक परीक्षण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “यो मेसिन व्यावसायिक रुपमा गाईभैँसीपालन गर्ने कृषकको आग्रहमा निर्माण गरेका हौँ । यस्तै प्रकृतिको मेसिन भारतमा रु पाँच लाखभन्दा धेरैपर्ने रैछ । तर हामीले रु तीन लाख ६० हजारमै तयार पारेका छौँ ।”
केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन (रिपर), दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्र्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने, हाते औजारमा बञ्चरो, खुँडा, सानो कुटोकोदालीलगायत घरासयी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।
केन्द्रका अध्यक्ष पुनले पछिल्लो एक वर्षको अवधिमा निर्माण गरेर परीक्षण गर्दै आइरहेको मेसिन भएको बताउनुभयो । “केन्द्रले १०–१२ थरिका उपकरण अबको छ महिनाभित्र व्यावसायिक रुपमा उत्पादन गर्नेछ”, उहाँले भन्नुभयो ।
स्वदेशी उत्पादितभन्दा आयातीतलाई भन्सार छुट
केन्द्रका इञ्चार्ज देवले कृषि औजार निर्माणका लागि आवश्यकपर्ने कच्चा फलामको मूल्यभन्दा तयारी अवस्थाको कृषि उपकरण सस्तो हुँदा पनि औजार निर्माण खर्चिलो हुने गरेको गुनासो गर्नुभयो । “तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यकपर्ने फलामलगायत कच्चापदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ”, उहाँले भन्नुभयो, “विदेशीमा बनाइएको तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारले प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।
साउनको तेस्रो साता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहितको टोली कारखानाको अवलोकन गरेपछि मन्त्रालयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभएको थियो । “आविष्कार केन्द्रले जिम्मा लिएपछि यसको जीर्णाेद्धार भएको छ तर यो कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन”, उहाँले भन्नुभयो, “कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालनगरी नेपाली किसानलाई आवश्यक कृषि औजारको उत्पादन गरी स्वदेशी कृषि औजारको प्रयोगमा बढोत्तरी गराएर देशभित्र प्रयोग हुने कृषि औजारमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु ।”





























