सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HX384E1AR09Z2E93079N62N2.jpg

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) I कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिनुभयो ।
शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, २३ वैशाख २०८१
https://jawaaf.com/storage/01HX33GP6HMHEKGWEMD8789CK3.jpg

आज केही उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने

काठमाडौँ I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा  मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी आज राति  देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम  सफा रहने छ । कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना  छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको  छ । मधेश 

प्रदेश लगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना  छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेका जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मितिः आइतबार, २३ वैशाख २०८१
https://jawaaf.com/storage/01HX32Z8TN0BKZ8XAMJ5SE01JA.jpg

आज जापानका परराष्ट्रमन्त्री आउँदै

काठमाडौँ I जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।   
  
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   
  
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।   
नेपाल–जापान सम्बन्ध   
  
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।   
  
नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान –नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्नुहुन्छ “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक –समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।”   
  
जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजा वाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।   

प्रकाशित मितिः आइतबार, २३ वैशाख २०८१
https://jawaaf.com/storage/01HX263GHH884NMZZ1XAM6B97F.jpg

नेवारी र तामाङ भाषालाई बागमतीमा सरकारी कामकाजमा प्रयोग गरिने

मकवानपुर I बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताउनुभएको छ । उहाँले यही वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताउनुभयो । 

मन्त्री बज्राचार्यले आज संक्षिप्त कुराकानी गर्नुहुँदै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने भएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित ¥यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गर्नुभयो । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)-तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनीमन्त्री गङ्गानारायण श्रेष्ठले राससलाई बताउनुभयो ।

उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । 

बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । 

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX21PDG72NXKJMG6NK0NCTN7.jpg

नेकपा(एस)बाट महाधिवेशनबारे छ सय विदेशी सङ्गठनलाई पत्राचार

काठमाडौँ I नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ । 

पार्टी विदेश विभागको आज बजेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया  आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो  । 

दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालका अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल,  वामपन्थी दल तथा  प्रगतिशील सङ्गठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ ।  त्यस्तै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।  

बैठकमा पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनमा  समाजवादी क्रान्ति र पूर्ण रूपान्तरणको कार्यक्रमसहित चार दस्तावेज आउने र सकेसम्म केन्द्रीय समितिको एकै प्रतिवेदन बन्ने बताउनुभयो । 

विभागका उपप्रमुख प्रमेश हमालले माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुरूप समाजवादी क्रान्ति र रूपान्तरणका दिशामा अगाडि बढ्ने पार्टीको कार्यक्रम रहेको स्पष्ट गर्नुभयो ।  उपमहासचिव डा विजयकुमार पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउने, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनेलगायत माग राखी पीडितका तर्फबाट भइरहेको अनशनमा  पार्टीको ध्यान पुग्नुपर्ने र छिट्टै सरकारसँग सहमति गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने छ । यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्युरो बैठक यही वैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दै छ । 

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX1Y9VNKK83TF3NCZGSEDP6Z.jpg

तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प

किमाथाङ्का (सङ्खुवासभा) Iसङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् । उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी  तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो । 

उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचाँै अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ ।  

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX1DV1EZJP4B38EVMJFXPN24.jpg

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु

दमौली (तनहुँ) I तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो । 

शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताउनुभयो । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नुहुनेछ ।

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX1D7YYGDEGCYF1BQ5CDS04M.jpg

छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

टक्सार (भोजपुर) I उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।     
      
बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।     
      
उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भन्नुभयो, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।”     
      
वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताउनुभयो । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उहाँले भन्नुभयो ।     
      
विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।     
      
हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”     
      
वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो । प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।     
 

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX1CN0BXFJAZ3D2C6NQJBT97.png

सहिद भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यास

धनकुटा I आइतबार देखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु हुन गइरहेको सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणमा आयोजकले तीन वटा नयाँ अभ्यास सुरु गर्ने भएको छ ।
 
आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा आयोजकले उक्त नयाँ अभ्यासका विषयमा जानकारी गराएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप गर्दै आएको प्रतिष्ठानले यो पटकबाट अन्तर्राष्ट्रिय आमन्त्रण हटाएर गोल्ड कप मात्र राखेको छ ।
 
यसले नेपाल र स्थानीयस्तरका राम्रा क्लब र खेलाडीलाई प्रतियोगितामा सहभागी हुने प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ । यसको अर्थ प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीलाई समावेश नगर्ने भन्ने नरहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले स्पष्ट पार्नुभयो ।
 
“अन्तर्राष्ट्रिय भन्नेबित्तिकै यहाँका राम्रा क्लब र खेलाडी वञ्चित हुने जस्तो देखियो”, यहाँले भन्नुभयो, “प्रतियोगिता फ्लेक्जिबल बनाउन हामीले अन्तर्राष्ट्रिय आमन्त्रण हटाएका हौँ ।” त्यस्तै आफ्नो टिम मजबुत बनाउन आयोजक टोलीले यो पटकबाट टिममा आठ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्ने भएको छ ।
 
खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन यसपटक खेलाडी समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।  
दर्शकको गुनासो आएपछि १५औँ संस्करणसम्म सःशुल्क टिकटको व्यवस्था गरेको प्रतिष्ठानले यो पटकबाट निःशुल्क खेल हेर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिकाको सहयोगमा निःशुल्क खेल हेर्ने व्यवस्था गरिएको प्रतिष्ठानकाका सचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
 
श्रेष्ठले भन्नुभयो, “टिकट बेचेर प्याराफिट भरेरमात्र खेल सुरु गर्नुपर्ने हाम्रो बाध्यता र आमनागरिकको सुझावमा हामीले निःशुल्क खेल हेर्ने व्यवस्था गरेका हौँ ।” यस कार्यलाई आयोजकले नगर तथा जिल्लावासीको खेलप्रतिको धारणा बुझ्ने अवसरका रुपमा लिएको श्रेष्ठले बताउनुभयो । 

२९ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् । यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सहलेस युथ क्लब सिराहा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । विसं २०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । 

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले २०७४ सालमा सहिद घोषणा गरेको श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१
https://jawaaf.com/storage/01HX1BHDXK8RJSSA1RGSASDWF6.jpg

बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ

काठमाडौँ  I सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो । 

यही वैशाख २५ गते भातरको नयाँ दिल्लीमा आयोजना हुने ‘रिजनल मिटिङ फर दी लन्च अफ दी रिजनल प्रोग्राम फर साउथ एसिया’ विषयक कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका महान्यायाधिवक्ता डा दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागिताका लागि समेत स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि करिब १२.३६२ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी कारबाही चलाउने अधिकारी तोक्ने र भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि यही वैशाख २२ देखि २७ गतेसम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको  भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

सरकारले हाल चलनचल्तीमा रहेको रु एक सयका दरको बैङ्क नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रु एक सय दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारका प्रवक्ता शर्माले नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने तथा नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने तथा समकक्षीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । मालपोत कार्यालय, गौशाला र नापी कार्यालय गौशालाको कार्यक्षेत्रमा रहेको महोत्तरीको रामगोपालपुर नरपालिकालाई उक्त कार्यालको कार्यक्षेत्रबाट हटाई भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर महोत्तरी र नापी कार्यालय, जलेश्वर महोत्तरीको कार्यक्षेत्रमा कायम गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

त्यसैगरी, सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २१  अधिकृतलाई सम्बन्धित सेवा, समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्नेगरी काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

यस्तै नेपाल न्याय सेवा, राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव उदयराज सापकोटालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा र सत्यनिरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बैठकले न्याय सेवातर्फका १२ सहसचिवको न्याय सेवा आयोगको सिफारिसबमोजिम विभिन्न निकायमा सरुवा गर्ने पनि निर्णय गरेको छ । 

प्रकाशित मितिः शनिबार, २२ वैशाख २०८१