बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३० चैत २०८१

२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै

https://jawaaf.com/storage/01JRKXQ80HWWZAZ3Z6M010KCXM.avif

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ ।  होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष सुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो । 

२० औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

संघले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक होटल संघ पोखरा नेपालले जानकारी दिएको छ । त्यस्तै महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png