जसपा अध्यक्ष राईद्वारा गणतन्त्र दिवसको शुभकामना : संघीयता, सुशासन र समृद्धिको मार्गमा अगाडि बढ्न आह्वान
१५ जेठ, धरान। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले १८ औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष राईले नेपाली जनताले प्राप्त गरेको गणतान्त्रिक उपलब्धिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै गणतन्त्र दिवसले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राईले २०६२/०६३ सालको महान् लोकतान्त्रिक जनआन्दोलनको प्रमुख उपलब्धिको रूपमा गणतन्त्रको स्थापना भएको स्मरण गराएका छन्। उनले २०६५ साल जेठमा संविधानसभाको पहिलो बैठकबाट भएको यसको औपचारिक घोषणा र कार्यान्वयनलाई नेपाली इतिहासको एक ऐतिहासिक सुरुवात भनेका छन्।
शुभकामना सन्देशमा अध्यक्ष राईले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको यो युगान्तकारी राजनीतिक उपलब्धिलाई अझ व्यवस्थित, बलियो र संस्थागत बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा राखेका छन्। साथै, उनले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद को लक्ष्य प्राप्तिका लागि अझ बलियो प्रतिबद्धता, उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष राईले यस गणतन्त्र दिवसले राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण नेपालीलाई एकजुट हुन आह्वान गर्दै सबैमा सुख, शान्ति र प्रगतिको कामनासमेत गरेका छन्।
सम्बन्धित खबर