युवा नेताहरूको आक्रोश : अध्यक्ष नेपाललाई फसाइयो, ०४६ पछिका सबै निर्णय छानबिन होस
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भई सांसद पद स्वतः निलम्बनमा परेपछि पार्टीभित्र भावी नेतृत्व र नेपालको नैतिकताबारे गम्भीर बहस सुरु भएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनको राजनीतिक जीवनमा नयाँ मोड आएको छ। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्री अर्थात् मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचार मुद्दा चलेको यो नै पहिलो घटना हो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पक्षले आगामी नेतृत्वबारे छलफल तीव्र पारेको छ। खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक रुपमै नेपालको 'नैतिकता'माथि प्रश्न उठाउँदै अदालतले सफाइ दिए पनि नैतिक प्रश्नको जवाफ स्वयं नेपालबाटै आउनुपर्ने धारणा राखेका छन्। खनालको यस अभिव्यक्तिले पार्टीभित्रै आन्तरिक मतभेद बढाएको छ।
युवा नेताहरूद्वारा 'राजनीतिक प्रतिशोध'को आरोप; ओलीमाथि निशाना
यता, अध्यक्ष नेपालनिकट युवा नेताहरूले भने नेपालमाथि लागेको भ्रष्टाचार मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीको 'पूर्वाग्रही र प्रतिशोधपूर्ण सोच'को उपज भएको प्रतिक्रिया दिएका छन्।
पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एकीकृत समाजवादी पार्टी स्थापनाकालदेखि नै ओलीले विभिन्नखाले षड्यन्त्र गरेर पार्टीलाई सिध्याउन खोजेको आरोप लगाए। उनले सत्ताको आडमा ओलीले रचेको षड्यन्त्रका कारण नै मुद्दा दायर भएको दाबी गरे। पराजुलीले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने तर्क गर्दै विगतका मान्यताहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोधका लागि ओलीले पूर्वाग्रह साँधेको पुष्टि हुने बताए।
पराजुलीले छानबिन गर्ने हो भने ओलीकै कार्यकालमा भएका भ्रष्टाचारका घटनाहरू, जस्तै: गिरीबन्धु टी स्टेटको जग्गा दुरुपयोग र गोकर्ण फरेस्ट जग्गा प्रकरणको छानबिन हुनुपर्ने माग गरे। उनले २०४६ सालपछिका सबै मन्त्रिपरिषद्का निर्णयहरूको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने आवश्यकता औंल्याए। उनले रामदेव र आचार्य बालकृष्णलाई छानबिन नगरिएको विषयमा सत्ता पक्ष नै दोषी रहेको बताए।
माधव नेपाल 'निर्दोष', 'क्लिनचिट' लिएरै छाड्ने दाबी
केन्द्रीय सदस्य संगीता पाख्रिनले माधवकुमार नेपाललाई कसैले फसाउन खोजेको तर्क गरिन्। उनले जीवित प्रधानमन्त्रीहरूमध्ये नेपालजस्तो सफा नियत भएको व्यक्ति नभएको दाबी गर्दै सामाजिक सञ्जालदेखि सडकमा चिया पसलेहरूसम्मले नेपाल निर्दोष रहेको बताउने गरेको जानकारी दिइन्।
गणतन्त्रका पक्षमा आवाज उठाएकाले नेपालमाथि बारम्बार प्रहार भइरहेको र फसाउन लागिएको उनको भनाइ छ। पाख्रिनले एउटै मुद्दामा बारम्बार मुछिएकाहरू छुटे पनि गल्ती नै नगरेका व्यक्तिलाई फसाइएको भन्दै यसबारे छलफल गरेर 'क्लिनचिट' लिएरै छाड्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले बाल्यकालमा गुच्चा खेलेको व्यक्तिलाई बुढेसकालमा झोक फेरेको कुरा प्रमाणित भएको टिप्पणी गरिन्।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका रामदेव र आचार्य बालकृष्णलाई छानबिन नगरी नेपाललाई मात्र बारम्बार प्रहार हुनु षड्यन्त्र भएको उनको भनाइ थियो। उनले पार्टी कार्यालय र घर नै जलाइएका प्रसंग पनि उठाइन्।
कानुनी परामर्श र कार्यकर्ताको समर्थन
नेता नेपालमाथि मुद्दा दर्ता भएपछि नेताहरूले कानुनी परामर्श लिइरहेका छन्। पार्टी कार्यालय आलोकनगर र नेता नेपालको घर कोटेश्वरमा कार्यकर्ताहरूको उल्लेख्य भीड बढेको छ, जसले नेता नेपालप्रति समर्थन व्यक्त गरिरहेका छन्।
यो प्रकरणले एकीकृत समाजवादीभित्रको आन्तरिक शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्ला र आगामी दिनमा यसले कस्तो राजनीतिक मोड लिनेछ भन्ने हेर्न बाँकी नै छ ।
सम्बन्धित खबर