राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औँ पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँट गर्नेतिर गएको बताए ।
उनले भने, ‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो । यो कुरा हामीले गम्भीरतापूर्वक मनन् गर्नुपर्छ । माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो । सायद नेपालमा जुन राजनीतिक सङ्क्रमण पैदा भयो त्यसले के के कुराहरूको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन बहस हुनुपर्ने थियो त्यतापट्टी प्रवेश नै गरेनौ । हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने, पद बाँडफाँट गर्नेतिर गयो । यो कुरामा हामी चुकेको हौं । समय त गई नै सक्यो, अब त्यसको समाधान हेर्नुपर्छ ।’
सोही कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले आज भएकै पार्टीहरूले, बनिबनाउ पार्टीहरूले जस्ताको त्यस्तै अवस्थामा रहेमा मुलुकको मुहार नफेरिने बताए ।
सम्बन्धित खबर