शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०१ असार २०८२

चेम्जोङको आरोप: पहिचानको आन्दोलनलाई फुटाउने 'नियोजित प्रयास', समाधान सहकार्य र संघर्षमा

https://jawaaf.com/storage/01JXT01JZGBHKZRTD6623EXA73.jpeg

असार  १, धरान । जनता समाजवादी पार्टी  नेपालका सहअध्यक्ष  तथा पूर्वमन्त्रि रकम चेमजोङले पहिचानको आन्दोलनलाई कमजोर पार्न नियोजित प्रयास भइरहेको भन्दै तीव्र आपत्ति जनाएका छन्। उनले यसको समाधान सहकार्य र संघर्षमै रहेको स्पष्ट पारेका छन् ।

आज धरानमा आयोजित जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिको एकताको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै चेमजोङले एमाले, कांग्रेस र माओवादी जस्ता प्रमुख दलहरूले आदिवासी समुदायलाई सदैव ‘रंगभूमिमा’ राखेको आरोप लगाए। उनले लिम्बुवानको महान् लक्ष्य प्राप्तिका लागि भइरहेको आन्दोलन बलिदानीपूर्ण रहेको र त्यसलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

चेमजोङले ‘नो कोशी, नो केवलकार’ अभियानदेखि मुकुम्लुङ आन्दोलनसम्मका संघर्षहरूलाई पहिचानको आन्दोलनका महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गरे। उनले जसपा नेपालको राष्ट्रिय समिति नै पहिचानका एजेन्डा र लक्ष्य पूरा गर्नका लागि गठन गरिएको भए पनि पछिल्लो समय पहिचानविरोधी शक्तिहरूले जसपा नेपाल फुटाउने खेल खेलेर आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेको दाबी गरे। "यदि हामी एउटै ठाउँमा उभिन सकेनौँ भने हाम्रा अधिकार र लक्ष्य कहिल्यै प्राप्त हुँदैनन्," उनले चेतावनी दिए।

चेमजोङले आदिवासी, मधेसी, थारू, लिम्बू र अन्य उत्पीडित समुदाय बीच सहकार्य र साझा मोर्चा निर्माणको आवश्यकता औँल्याए। उनले आन्दोलनलाई सडकमा मात्र सीमित नराखी राजनीतिक निर्णय क्षमतासम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै आन्दोलन लक्ष्यसम्म पुग्ने हतियार भएको बताए।

उनले अन्य दलमा रहेका पहिचानवादी कार्यकर्ताहरूलाई जसपा नेपालमा फर्कन आह्वान गर्दै अलमलको समय नभएको बताए। चेमजोङले "जसपा नेपाल नै एकमात्र प्लेटफार्म हो, जहाँबाट हामी हाम्रो पहिचान र अधिकार सुरक्षित गर्न सक्छौँ," भन्दै पार्टीको महत्त्वमाथि प्रकाश पारे।

अन्तमा, चेमजोङले मुक्लुलुङ आन्दोलनलाई साझा आन्दोलनका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले समन्वय, मोर्चाबन्दी र ऐक्यबद्धताको माध्यमबाट मात्र आन्दोलन सफल हुने धारणा राखे।

सम्बन्धित खबर

/frontend/images/redline.png