शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २२ असार २०८२

आम नागरिक जोडिनेगरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

https://jawaaf.com/storage/01JZG0NG7K6AH5N90KHA64E8Q0.jpg

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताएका हुन् ।

उनले भने, ‘राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए ।

‘चाँडै नै कार्यदल बनाउँछौँ र त्यसका आधारमा काम गर्दछौँ,’उनले भनेका छन् ।

बीमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।

बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे । 

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png