शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ साउन २०८२

तमोर करिडोरमा बढ्यो चहलपहल, यातायात र व्यवसायमा सहजता

https://jawaaf.com/storage/01K2C90A0CH47J1SYDN1EMQ4CQ.jpg

पाँचथर । पूर्वी पहाडलाई तराई तथा काठमाडौँसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता बनाउनुका साथै व्यापार–व्यवसाय गर्न सहज बनाएको छ ।

सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने तमोर करिडोर सडक २०७५ देखि निर्माण थालिएको थियो । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारा सम्म दुई लेनको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भसकेको छ भने ८० प्रतिशत खण्डमा ग्राभेल सम्पन्न भएको छ । हाल सम्म ११२ किमी सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएर केही खण्डमा काम थालिएको छ ।

यस सडकका कारण स्थानीयलाई मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर करिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सोही करिडोर अन्तर्गत धनकुटाको मुलघाटमा भेटिएका बीर्ख बहादुर केरुङले मेची राजमार्ग अर्थात् बिर्तामोडको बाटोभन्दा यो बाटो करिब ५-६ घण्टा छोटो पर्ने भएकाले यात्रामा सहज बनाएको बताए । धरान जान यो बाटो एकदमै छोटो भएको उनले बताए ।

सोही करिडोरमा होटेल व्यवसाय सञ्चालन गरेका धनकुटाको साँघुरीगढीका दिलकुमार लिम्बुले तमोर करिडोरका कारण आफूले कृषि छाडेर व्यवसाय सुरु गरेको बताए । ‘यो बाटो नबन्नु भन्दा अगाडि चाहिँ म कृषि गर्थें, खेतीपाती गर्दै बस्थेँ । अब यो बाटो आएर चाहिँ यहाँ सानो घडेरी किनेर होटेल व्यवसाय सुरु गरेँ । बाटो निस्केपछि हामीलाई धेरै सहज भएको छ । होटल व्यवसाय राम्रै चलीरहेको छ । अब गाडीहरूको आवतजावत धेरै बढीरहेको छ,’ उनले भने ।

सोही करिडोरहुँदै गुड्ने यातायातका साधनका कारण उनको होटेल राम्रै चलीरहेको भनाइ छ । ‘यस रुटमा चल्ने गाडीहरू सबै आउँछन्, लगभग दिनमा ५०–६० वटा आउँछन्, भनौँ न, गाडीहरूको आवतजावत बाक्लो हुन्छ र प्राय सबैले खाना खाजा खान आउँछन् ।’ करिडोर हुँदै गुड्ने गाडीहरूको चाप बढेसँगै सडक छेउछाउमा घर भएकाहरूले व्यापार व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेको उनले सुनाए ।

ग्राभेल स्तरको ट्रयाक खुलेपछि सडक क्षेत्रमा चहलपहल बढ्दै गएको, जग्गा किनबेच बढेको साथै गाउँका मान्छे सडक किनारातिर आएर व्यवसाय गर्न थालेको स्थानीयको भनाइ छ ।

करिडोरलाई नै आधार बनाएर विभिन्न गाउँ जाने सडक बन्ने र नयाँ खुल्नेक्रममा पनि छन् । करिडोरमा भने कालोपत्रे र ठाउँ ठाउँमा पुल निर्माणको काम बाँकी छ ।

भारत र चीनसँग जोड्ने छोटो मार्गको रूपमा समेत हेरिएको यस करिडोरले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा सडक सञ्जाल विस्तार गरी आर्थिक विकास, व्यापार, स्वास्थ्य, शिक्षा जस्ता सेवा प्रवाहमा सहजता ल्याउने लक्ष्य राखिएको छ । सडक सामरिक, आर्थिक, पर्यटकीय हिसाबले निक्कै महत्पूर्ण मानिन्छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png