बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी
बाजुरा । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीबाट कृषकहरूले एक करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्। जिल्लाका स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दा गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट सो रकम आम्दानी भएको हो।
अहिले बाजुरामा उत्पादन भएका अर्गानिक स्याउ काठमाडौं, नेपालगन्ज, सुर्खेत र धनगढी जस्ता ठूला शहरका बजारमा सहजै पाइने गरेका छन्। स्थानीय कृषकहरूले आफ्नो बारीमा उत्पादन भएका स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्लातर्फ निर्यात गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन केही घटेको छ। स्याउ भदौ १५ गतेदेखि पाक्न सुरु भएको थियो। कतिपय कृषकहरूले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिमाणमा बजारिकरण भएपछि आम्दानी एक करोड रुपैयाँभन्दा बढी पुगेको हो।
सडक अवरुद्धका कारण ढुवानीमा केही समस्या भए पनि पकेका स्याउ समयमै कर्णाली करिडोरमार्फत अन्य जिल्लामा पुगोस् भनेर कृषकहरूले पहल गरेका थिए। “बाटो बन्दले ढुवानीमा कठिनाइ भए पनि अन्ततः बजारमा पुर्याउन सफल भयौं,” बुढिनन्दा गाउँपालिकाका स्याउ कृषक पुररावतले बताए।
कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला चार वर्षदेखि किसानका बारीमै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ। हाल बाजुरामा कुल ४२५ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ, जसमा करिब २०० हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिन्छ। जिल्लामा वार्षिक करिब १ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।
बाजुरामा फुजी, गोल्डेन रेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन्। हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढिनन्दा, गौमुललगायतका पालिकाहरू प्रमुख स्याउ उत्पादन क्षेत्रका रूपमा चिनिएका छन्। यद्यपि, समयमै ढुवानी नहुँदा प्रत्येक वर्ष केही मात्रामा स्याउ कुहिने समस्या देखिने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
सम्बन्धित खबर