जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, नयाँ नीति र कार्ययोजना पारित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक मंसिर १९ र २० गते काठमाडौंमा आयोजनागरी सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष अशोककुमार राईले प्रस्तुत गरेका नयाँ नीति तथा कार्ययोजना सर्वसम्मत रूपमा पारित गर्दै बैठक सम्पन्न गरिएको हो। उक्त बैठकले वर्तमान राजनीतिक अवस्था, संविधान संशोधन, आगामी निर्वाचनको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो ।
बैठकमा अध्यक्ष राईले प्रस्तुत गरेको कार्ययोजनामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संविधान संशोधनको प्रतिबद्धता, समानुपातिक समावेशीकरण, गैरदलीय स्थानीय चुनाव, सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाहरूलाई मुख्य प्राथमिकतामा राखिएको छ। जसपाले संघीय शासन प्रणालीमा सुधारका लागि संघमा कार्यकारी राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा कार्यकारी प्रमुख सबैलाई जनताबाट प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टीका अनुसार, यस्तो प्रणालीले राजनीतिक स्थायित्व, जवाफदेहीता र जनताले प्रत्यक्ष निर्वाचित गराउने अधिकारको पनी सुनिश्चित गर्न सहयोग पुर्याउनेछ ।
बैठकले वर्तमान संविधानलाई अधुरो, अपुरो र विभेदकारी ठहर गर्दै सबै समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग दोहोर्याएको छ । राज्यका सबै अंग, तह र निकायमा पछाडि परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायहरूको जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक समावेशीकरण सुनिश्चित गर्नुपर्ने नीति पार्टीले तय गरेको छ। त्यसैगरी जसपाले स्थानीय तहमा हुने निर्वाचन गैरदलीय आधारमा सम्पन्न गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने उल्लेख गरेको छ ।
बैठकले सरकारका सम्पूर्ण राजनीतिक तथा संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा, नातावाद र कृपावादको अन्त्य गरी योग्यता, क्षमता र समानुपातिक समावेशी आधारमा नियुक्ति गर्नुपर्ने माग गरेको छ। पार्टीले भ्रष्टाचार नियन्त्रणमा जोड दिँदै सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिन सरकारसँग आग्रह गरेको छ ।
जसपाले हालै भएको जेनजी आन्दोलनका क्रममा देखिएका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ। भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा आन्दोलन दबाउने क्रममा भएको “युवा नरसंहार र गोलीकाण्ड” को सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न र घाइतेको उपचार तथा परिवारजनको सुरक्षा सुनिश्चित गर्न पार्टीले आग्रह गरेको छ। त्यस्तै, भदौ २४ गते अर्थात् सेप्टेम्बर ९ मा भएका आगजनी र प्रहरी हत्या जस्ता घटनाका अपराधीहरूलाई तत्काल गिरफ्तार गर्नुपर्नेमा बैठकले जोड दिएको छ। जसपाले गृह मन्त्रालयले छानविन आयोगको प्रतिवेदन नआईकन गिरफ्तार नगर्नु भन्ने निर्देशनलाई गलत ठहर गर्दै न्यायिक प्रक्रिया अघि बढाउन माग गरेको छ ।
बैठकले आगामी निर्वाचनका लागि संगठनलाई सुदृढ बनाउँदै पूर्ण तयारीका साथ सहभागी हुने निर्णय गरेको छ। जसपाले परिस्थितिअनुसार समान विचार र एजेन्डा भएका दलहरूसँग मोर्चाबन्दी वा चुनावी तालमेल गर्न केन्द्रीय कार्यकारिणीलाई अधिकार प्रदान गरेको छ। मोर्चाबन्दीका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, बहुजातीय धर्मनिरपेक्ष समाजवाद, सहभागितामूलक समावेशी लोकतन्त्र र सामाजिक–आर्थिक न्याय सुनिश्चित गर्ने विषयहरूलाई न्यूनतम एजेन्डाका रूपमा तय गरिएको छ। यद्यपि, मोर्चाबन्दी वा तालमेल सम्भव नभएमा पार्टीले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट गरिएको छ ।
बैठकले पार्टीको प्रचारप्रसार र संगठन विस्तारलाई प्रभावकारी बनाउन डिजिटल सञ्चार माध्यमको प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जसपाका सम्पूर्ण संरचनालाई अनलाइन प्लेटफर्ममा आबद्ध गराई डिजिटल संजालमार्फत सदस्यता अभिवृद्धि गर्ने योजना पनि पारित गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान र समावेशिताविरुद्ध भइरहेका प्रयासहरूलाई वैचारिक र राजनीतिक रूपमा चिर्ने तथा प्रतिवाद गर्ने कार्यलाई पनि पार्टीले अबको प्रमुख जिम्मेवारीका रूपमा लिएको छ ।
बैठकले संविधान निर्माणको समयदेखि जसपाले उठाउँदै आएका विषयहरूलाई आजको ‘जेनजी’ पुस्ताका युवाहरूले पनि उठाइरहेको भन्दै ती मागहरूको कार्यान्वयनमा ढिलाइ नगरी तुरुन्तै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। अध्यक्ष अशोककुमार राईले बैठकलाई सम्बोधन गर्दै संविधान संशोधन, प्रत्यक्ष जनमत आधारित शासन प्रणाली, समानुपातिक समावेशीकरण, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता एजेन्डाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
यसैगरी, बैठकले नेपालको राजनीतिक स्थायित्व, सामाजिक समावेशिता र सुशासनका लागि जसपाले ल्याएका नीति तथा कार्यक्रमलाई आगामी निर्वाचनमा मुख्य एजेन्डाका रूपमा अघि सार्ने निर्णय गरेको छ। पार्टीले अबको प्रमुख ध्यान संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनस्तरमा विश्वास पुनःस्थापना गर्ने अभियानमा केन्द्रित गर्ने जनाएको छ ।
सम्बन्धित खबर