संखुवासभामा एमाले उम्मेदवार डा. अर्जुन कार्कीको चुनावी अभियान तीव्र
संखुवासभा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा. अर्जुन कार्कीले मतदाता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
हालै चैनपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासका लागि स्पष्ट खाका तयार गरेको बताउँदै विगतमा आफूले निर्वाह गरेका जिम्मेवारी र उपलब्धिबारे मतदातालाई जानकारी गराएका थिए ।
एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको जानकारी दिँदै डा. कार्कीले जिल्लामा एमालेले आफ्नो विरासत कायम राख्ने गरी तयारी भइरहेको बताए ।
‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले संखुवासभाकै माटोमा जन्मिएर हुर्किएको नाताले आफ्नै गाउँठाउँको विकास गर्ने दृढ संकल्पका साथ प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको उल्लेख गरे ।
संखुवासभावासीको विकास र रुपान्तरणको आकांक्षालाई संघीय संसदमा घन्काउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा रहेको आफ्नो सम्पर्क र संजाल जिल्लाको विकासमा परिचालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
संखुवासभामै जन्मेका डा. कार्की नेपाल सरकारका तर्फबाट अमेरिका तथा ल्याटिन अमेरिका क्षेत्रका विभिन्न देशमा राजदूतका रूपमा सेवा गर्दै राष्ट्रिय हित प्रवर्द्धनमा योगदान दिएका छन् । साथै राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा दीर्घकालीन विकास नीति निर्माणमा समेत संलग्न रहँदै आएका छन् ।
सम्बन्धित खबर