आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HY5NMS35NR9N3FS2MEQTSWRF.jpg

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ  I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।     
      
 “प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्नेछ ।”     
      

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”     
      
सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।     
      
“सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ”, प्रधानमन्त्रीले भन्नुभयो, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई सहीरुपमा सम्बोधन गर्नुपर्नेछ ।     
      
एकीकृतरुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्ने बताउनुभयो । “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचारका सबै एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताका आकाङ्क्षा पूरा गर्न सबै एकजुट हुनुपर्छ ।”     
      
प्रधानमन्त्री दाहालले नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट’ स्मारिका विमोचन गर्नुभएको हो ।     

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY4KVV4TPYMA7HVY125STNE9.jpg

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी I म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । 

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छाँै ।”

हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि संस्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक-एक लाखका दरले बजेट उपलब्ध गराएको छ । 

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिनुभयो । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ । 

बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा बढी विद्यार्थीहरु सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सीप सिकेका विद्यार्थीलाई अन्य तालिममार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । 

दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताउनुभयो । म्याग्दीमा पलम्बिङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ । 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY3JAWSWKD9NK638ZZYHKCBZ.jpg

लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान

झापा I लागुऔषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतनामूलक अभियान तीव्र बनाइएको छ । स्थानीय सरकार, प्रहरी र समुदाय अभियानमा सक्रिय भएका छन् ।

शिवसताक्षी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा लागुऔषधको कुलत नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थीमाझ अभियान पुर्याउने नगरपालिकाको योजना छ ।

“लागुऔषधको डढेलोले परिवार, गाउँ र समाज सखाप हुँदै गएको छ”, नगरप्रमुख थोप्राले अभियानबारे जानकारी दिँदै भन्नुभयो, “अहिले जसरी दुव्र्यसन फैलिँदै आएको छ, यसको जडबाटै निराकरण गर्ने हो भने विद्यार्थीलाई सचेत गराउनुपर्छ भन्ने निष्कर्षमा पुगेर यो अभियान सुरु गरिएको हो ।”

नेपाल स्काउटको शिवसताक्षी नगर समितिका संयोजक डिगम पराजुलीले गाँजा, चरेस र मदिराको दुव्र्यसनमा फँसेका विद्यार्थीलाई मुक्त बनाउन र यसको नकारात्मक असरबारे जागरण ल्याउन अभियानमा स्काउट कार्यकर्ता सक्रिय रहेको बताउनुभयो । 

मेचीनगरको वडा नं १, २, ३ र ४ मा बाहुनडाँगी जेसिजले विद्यार्थी लक्षित लागुपदार्थको दुव्र्यसन रोकथाम अभियान सञ्चालन गरिरहेको छ । ‘बाहुनडाँगी जेसिजको अभियानः लागुऔषधरहित समाजको पहिचान’ नामक एक साताव्यापी अभियानलाई १५ वटा विद्यालयका सात सय विद्यार्थीमाझ पुर्याउने लक्ष्य लिइएको जेसिजका अध्यक्ष देबु बानियाँले बताउनुभयो ।

“लागुऔषधका कारोबारीहरूले विद्यार्थीलाई उपभोक्ता बनाएका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको छ”, बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँले अभियानको औचित्य प्रष्ट्याउँदै भन्नुभयो, “यसको नियन्त्रण गर्न विद्यार्थीमाझ नै जानुपर्छ भनेर जेसिजले आफ्नै स्रोतसाधनले अभियान चलाएको हो ।” 

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा शाखाका प्रहरी नायब निरीक्षक कुमार लामिछानेले पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको ओसारपसारमा वृद्धि भएको जनाउँदै यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरीले पनि समुदायसँगको साझेदारीमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । ब्यूरोले मेचीनगरका विभिन्न विद्यालयमा गएर लागुऔषधको दुव्र्यसनबाट जोगिन विद्यार्थीलाई आग्रह गर्दै आएको लामिछानेले बताउनुभयो ।

नारी सञ्चारगृह झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ । लागुऔषधको दुव्र्यसन समाजको विकराल समस्या भएको हुँदा यसको न्यूनीकरणमा सञ्चारकर्मीले समेत भूमिका निर्वाह गर्नुपर्छ भनेर गृहले स्थानीय समुदायलाई समेटेर अभियान सञ्चालन गरेको गृहकी अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।

बर्सेनि बढ्दै कारोवारी र प्रयोगकर्ता

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को दश महिनामा जिल्लामा दुई सय ४० वटा लागुऔषध कारोबारसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् भने तीन सय ७२ जना अभियुक्त पक्राउ परेका छन् ।

झापामा प्रत्येक वर्ष लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढिरहेका छन् । आर्थिक वर्ष २०७६-७७ मा झापामा एक सय ९० जना लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने आव २०७७-७८ मा यो सङ्ख्या बढेर तीनसय ११ पुगेको थियो ।
 
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक यशोदा घलेका अनुसार आव २०७८÷७९ मा लागुऔषधका कारोबारी र प्रयोगकर्ता तीन सय नौजना पक्राउ परेका थिए भने दुई सयजनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसैगरी आव २०७९-८० मा तीन सय ३६ जना पक्राउ गरिएको थियो भने दुई सय छवटा मुद्दा दर्ता भएका थिए । 

कारोबारीहरूले सीमा नदीमा पौडी खेल्ने, गाईवस्तु चराउने र घुम्न जाने बहानामा लुकाइछिपाई लागुऔषध भित्र्याउने गरेको पाइएको छ । पछिल्लो समय प्रहरीले काँकडभिट्टा नाकामा निगरानीका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY32KMSMHCH74F8TGY5CHECE.jpg

‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’

चितवन I उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् । उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् ।
 
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताउनुभयो । उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।  

डा रेग्मीले भन्नुभयो, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अङ्गहरुमा असर गर्दछ ।” वंशाणुगत र मोटोपनबाट उच्च रक्तचाप हुने भन्दै उहाँले चिकित्सकले सुझाएअनुसार नियमित औषधि सेवनबाट नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।
 
“उच्च रक्तचाप भएका व्यक्तिले मुख्यरुपमा नुनको सेवनमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म नुन कम खानु उपयुक्त विकल्प हो”, डा रेग्मीले भन्नुभयो । उच्च रक्तचापले मस्तिस्क घातसम्म हुनसक्ने भन्दै आँखामा असर गरे अन्धो, मुटुमा असर गरे हृदयाघात र मिर्गाैला खराब गराउनसक्ने उहाँको भनाइ छ । मिर्गाैला बिग्रँदा पनि उच्च रक्तचापको जोखिम रहने उहाँले जानकारी दिनुभयो । 

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले उच्च रक्तचाप आफू रोग नभएर रोगको कारक भएको बताउनुभयो । उहाँले उच्च रक्तचाप समयमा नियन्त्रण गर्न नसकेको खण्डमा कालन्तरमा शरीरका विभिन्न अङ्गहरुलाई असर पार्ने बताउनुभयो ।
 
“मधुमेहलाई रोग पनि मान्छौँ, कारक पनि मान्छौँ । उच्च रक्तचाप आफैँ रोग होइन, रोगको कारक मानिन्छ”, डा लौडारीले भन्नुभयो, “यसले मुटुमा असर पार्ने, हृदायघात र हर्टफेलियर पनि गराउन सक्छ । मुटुबाट निस्कने ठूला–साना जुनसुकै रक्तनलीलाई असर पार्नसक्ने भएकाले स्टक (मस्तिष्कको पक्षघात) लगायतका अन्य समस्या हुन सक्छन् ।”
 
रक्तचाप मापन गरेको ठीक छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै डा लौडारीले रक्तचाप मापनका आफ्नै नियम (प्रोटोकल) हुने बताउनुभयो । हतारमा अस्पताल पुग्ने बित्तिकै रक्तचाप नाप्न नहुने सुझाव दिँदै उहाँले भन्नुभयो, “अस्पताल पुगेको १० देखि १५ मिनेट आराम गरेपछि, कुर्चीमा ढाड सिधा हुने गरी आड लगाएर, खुट्टा भुइँमा राखेर रक्तचाप नाप्नु पर्दछ ।” रक्तचाप नाप्नुभन्दा एक घण्टाअघिदेखि चिया, कफी, चुरोट, मदिरा सेवन गर्न नहुने उहाँको भनाइ छ ।
 
एक पटक रक्तचाप उच्च (हाई) देखियो भन्दैमा तुरुन्त औषधि खान सुरु गर्न नहुने डा लौडारीले बताउनुभयो । “रक्तचाप उच्च देखियो भने १५ देखि २० मिनेटमा पुनःपरीक्षण गर्ने, अर्काे दिन पनि परीक्षण गरेर एकिन गर्नुपर्छ”, उहाँले थप्नुभयो ।
 
पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै मुटुरोग विशेषज्ञ डा लौडारीले फलफूल र सागपातमा पोटासियम पाइने भएकाले नियमित खान सुझाव दिनुभयो । नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने जनाउँदै उहाँले बाहिरका पत्रुखाना र प्रदूषणसँगै स्टेस (तनाव) ले पनि उच्च रक्तचाप बढाउने बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY3255H9VXT9W3674TB08873.jpg

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी I अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देख्नुभएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिनुभयो ।     
     
 कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ ।     
     
 यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।     
     
 योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ ।     
 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY31SE2VJQVF4JRSFR9EEK0T.jpg

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ  I नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताउनुभयो ।     
      
उहाँले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिनुभयो । “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि तीन/चार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो ।     
      
मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । उहाँले भन्नुभयो, “पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।” मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौँमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।     
      
तीन दिनयता काठमाडौँ उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौँमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।     
 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY306GS8CK4VNJKFENJB96G7.webp

हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग

झापा I मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।

रु १० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ । 

ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरुपले जङ्गलतर्फ फर्काउन महत्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताउनुभयो । जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ । 

ड्रोनलाई मोडिफाइ (परिमार्जन) गरेर नाइटभिजन (रातिकोदृश्य) बत्ती र साइरन जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जङ्गली हात्ती धपाउन सजिलो हुनेछ । 

यसअघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुई वटा सवारीसाधनलाई प्रयोगमा ल्याउने गरेको थियो । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाकालगायत विभिन्न उपाय प्रयोग भइसकेका छन् । ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ । जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भू–भाग कचनकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ ।

“हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौँ”, वन डिभिजन कार्यालयका वन अधिकृत उप्रेतीले भन्नुभयो, “मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्नेबित्तिकै जङ्गलतर्फ भागेका थिए ।” 

भद्रपुर नगरपालिका–१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनले चार वर्षअघि हात्ती धपाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन परीक्षण लागि वन कर्मचारीलाई तालिम दिइएको छ । 

ड्रोनमार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकारी सावित भएमा आगामी वर्ष प्रविधियुक्त अर्को ड्रोन खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2RFWNY2FKEND6B7HM67EXJ.jpg

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

फुङ्लिङ (ताप्लेजुङ) I फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ ।     
      

पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आउनुभएको हो । उहाँका बुबाले कागज बनाउने काम गर्नुहुन्थ्यो । कागज उद्योगमा हुर्किनुभएका उहाँले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिक्नुभयो । शेर्पाको पुख्र्यौली घर भोजपुर जिल्ला हो । उहाँले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गर्नुभयो । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गर्नुभयो । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आउनुभएको हो । अहिले उहाँको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।     
      

कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताउनुभयो । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गर्नुभएको छ । अहिले उहाँ घर बनाउने तयारीमा हुनुहुन्छ । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ  हुदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक रु चार लाख बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताउनुभयो ।     
      

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । “कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन”, शेर्पाले भन्नुभयो, “बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।”     
      
उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २० ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुनेगर्छ ।     
      
“जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ”, शेर्पाले भन्नुभयो, “गर्मी मौसममा बढीमा तीन घण्टा भित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच घण्टा लाग्छ ।”     
      

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् ।     
  

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY2KZ9KBWJ5S2ECT6ZCGJCYK.jpg

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कीर्तिपुर (काठमाडौँ) I वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्ष अघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । 

विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ । शिक्षाको महत्व बुझेका र हुनेखाने वर्गका अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन् । प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन् । 

विद्यालयले गुणस्तरीय शिक्षाका लागि दश वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो । यही मेहतनले  विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ । पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ । साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ । 

त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन । अभिभावकको चाहनाअनुरुप क्रमशः अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेपछि स्थानीयले बिस्तारै आफ्ना छोराछोरी पढाउन मात्र थालेनन्, भौतिक संरचनाको विकासमा समेत सहयोग गर्न थाले । स्थानीय समुदायकै सहयोगमा विद्यालयले जग्गा किन्यो र त्यसलाई घेराबारा लगाइयो ।  

प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार एउटा कक्षामा सरदर ३५ जना राखेर पठनपाठन गराइन्छ । सबै कक्षामा विद्यार्थी भरिएका छन् । कक्षा ९ र १० मा एक–एकवटा ‘सेक्सन’  थप्नुपरेको छ । “एक शैक्षिकसत्रमा जम्मा ७५ जना नयाँ भर्ना लिन सकिने अवस्था थियो तर आवेदन दुई सय ५० जनाको प¥यो । कक्षा कोठामा धेरै हुने भएकाले एक सयजना विद्यार्थीलाई भर्ना लिइयो, बाँकीलाई भर्ना गर्न सकिएन”, प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । 

भर्ना हुन चाहने सबै विद्यार्थीलाई विद्यालयमा कक्षा कोठा पुग्दैन । अहिलेको चारवटा भवनमा ३२ वटा कक्षाकोठा छन् जसमध्ये २५ वटा कोठामा कक्षा सञ्चालन गरिएको छ ।  नयाँ भवन बनाउने साधन स्रोत तत्काल जुटेको छैन । विद्यालयले खरिद गरेको एक रोपनी पाँच आना क्षेत्रफलमा संरचना बनिसकेको छ । त्यसबाहेकका थप जमिन विद्यालयसँग छैन । विद्यालयसँगै जोडिएको १५ रोपनी पर्ती जमिनलाई खेलमैदानका रुपमा प्रयोग गरिएको छ तर त्यहाँ विद्यालयले स्थायी संरचना बनाउन पाउँदैन । 

विद्यालयको समस्याबारे दक्षिणकाली नगरपालिका जानकार छ । त्यसप्रति नगरपालिका सकारात्मक रहेको र स्रोत साधन छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । शिक्षाको गुणस्तरकै कारण विद्यार्थीको आकर्षण धेरै भए पनि विद्यालयले थप भर्ना गर्न नसक्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको छ । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY27472Z6G173ENE9QXNYZ5H.jpg

सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाव

नेपालगञ्ज I सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले  नीति, तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ । 

नेपालगञ्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार आयोजना गरेको ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल’ विषयक अन्तक्र्रियामा ती समुदायका सहभागीले आफूहरुलाई विकासको मूलप्रवाहमा ल्याउने विषय चुनौतीपूर्ण भएको बताए । 

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक भएको उल्लेख गर्दै आधारभूत मानवअधिकारको रक्षा सामाजिक पूर्वाधारको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । 

उहाँले लुम्बिनी, स्वर्गद्वारी, ठाकुरबाबा, बागीश्वरी मन्दिरलगायत सांस्कृतिक एवं धार्मिक स्थलको विकासमा जोड दिँदै त्यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयप्रमुख द्वारिका अधिकारीले सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई राज्यले प्राथमिकता दिएर तदनुरुप काम गर्नुपर्ने बताउनुभयो । 

कानुन व्यवसायी विकास आर्चायले प्रदेश सरकारले विभिन्न आयोग गठनमा विलम्ब गरेको कारण समस्या बढ्दै गएको उल्लेख गर्नुभयो । 

फातिमा फाण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले मुस्लिम समुदायमा सम्बन्धविच्छेदका विषयमा अदालतबाट फैसला आए पनि मुस्लिम परम्पराअनुसार तलाक हुन समय लाग्ने भएकाले खानपानलगायत समस्याले महिला पीडित हुने गरेकाले यसलाई सरकारले सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । 

कानुन व्यवसायी वसन्त गौतम, सुनिता शर्मा, अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख भोला महत, दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, ज्येष्ठ नागरिक समाजका मुरारी भट्टराईले अब सार्वजनिक हुने प्रदेश सरकारको नीति कार्यक्रममा सीमान्तकृत तथा अल्पसङ्ख्यकका मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१