प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
काठमाडौं । विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो ।
जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव हटाएर विश्लेषण गर्दा पनि विश्वव्यापी तापक्रम वृद्धिको गति तीव्र भएको पुष्टि गरेको हो । जियोफिजिकल रिसर्च लेटर्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनअनुसार तापक्रम वृद्धिदर तीव्र भएको निष्कर्षमा ९८ प्रतिशतभन्दा बढी सांख्यिकीय विश्वास देखिएको छ ।
अध्ययनमा सन् १९७० देखि २०१५ सम्म पृथ्वीको तापक्रम प्रतिदशक औसत ०.२ डिग्री सेल्सियसभन्दा केही कम दरले बढेको उल्लेख छ । तर पछिल्लो दशकमा यो दर बढेर करिब ०.३५ डिग्री सेल्सियस पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ताले तापक्रम मापनसम्बन्धी नासा, एनओएए, ह्याडक्रुट, बर्कले अर्थ र इरास गरी पाँच प्रमुख तथ्यांक स्रोतको विश्लेषण गरेका थिए । विभिन्न तथ्यांक र सांख्यिकीय विधि प्रयोग गर्दा पनि तापक्रम वृद्धिको गति तीव्र भएको निष्कर्ष समान देखिएको अध्ययनमा उल्लेख छ ।
अध्ययनका प्रमुख लेखक तथा पीआईकेका अनुसन्धानकर्ता स्टेफान रहमस्टोर्फका अनुसार सन् २०१५ यता विश्वव्यापी तापक्रम वृद्धिदर तीव्र भएको प्रमाण विभिन्न तथ्यांक स्रोतमा देखिएको छ । अध्ययनका सहलेखक तथा अमेरिकी तथ्यांकविद् ग्रान्ट फोस्टरले पनि प्राकृतिक प्रभावलाई समायोजन गरेपछि तापक्रम वृद्धिको गति तीव्र भएको स्पष्ट देखिएको बताएका छन् ।
विश्वको तापक्रममा एल निनो, ज्वालामुखी विस्फोट र सूर्यको गतिविधिजस्ता प्राकृतिक घटनाले अस्थायी प्रभाव पार्ने गर्छन् । एल निनोका कारण प्रशान्त महासागरमा सञ्चित ताप वायुमण्डलमा सर्दा विश्वको तापक्रम केही समय बढ्न सक्छ । त्यस्तै, ज्वालामुखी विस्फोटबाट निस्कने कणले सूर्यको प्रकाश परावर्तन गर्दा तापक्रम घट्न सक्छ ।
यस्ता प्राकृतिक उतारचढावले दीर्घकालीन तापक्रम वृद्धिको वास्तविक गति पहिचान गर्न कठिन बनाउने भएकाले अनुसन्धानकर्ताले तथ्यांकलाई गणितीय विधिबाट समायोजन गरेका थिए । त्यसपछि गरिएको विश्लेषणमा पनि तापक्रम वृद्धिको गति तीव्र भएको देखिएको हो ।
सन् २०२३ र २०२४ मा विश्वको तापक्रम रेकर्ड स्तरमा पुगेको थियो । एल निनो र सूर्यको करिब ११ वर्षे चक्रको सक्रिय चरणलगायत प्राकृतिक प्रभावले ती वर्षको तापक्रम बढाउन भूमिका खेलेका थिए । ती प्रभावलाई समायोजन गरेपछि तापक्रम केही कम देखिए पनि दुवै वर्ष उपकरणबाट तापक्रम मापन गर्न थालिएयताकै सबैभन्दा तातो वर्ष कायम रहेको अध्ययनले जनाएको छ ।
अध्ययनमा तापक्रम वृद्धिको गति तीव्र हुन थालेको संकेत सन् २०१३ वा २०१४ देखि नै विभिन्न तथ्यांकमा देखिएको पनि उल्लेख छ । यसले पछिल्ला दुई वर्षको असाधारण तापक्रमका कारण मात्रै दीर्घकालीन तापक्रम वृद्धिदर बढेको देखिएको होइन भन्ने संकेत गर्छ ।
अनुसन्धानकर्ताले तापक्रम वृद्धिको गति किन तीव्र भएको हो भन्ने प्रश्नको भने अध्ययनले निश्चित उत्तर नदिएको स्पष्ट पारेका छन् । यद्यपि, अध्ययनको निष्कर्ष विद्यमान जलवायु मोडेलले देखाउन सक्ने प्रवृत्तिसँग मेल खाने उनीहरूको भनाइ छ । पृथ्वीको तापक्रम बढ्ने क्रम मात्रै होइन, त्यसको गति पनि तीव्र भएको यस अध्ययनले देखाएको छ । यो प्रवृत्ति कायम रहेमा विश्वले जलवायु परिवर्तनका जोखिमपूर्ण सीमा कति छिटो पार गर्छ भन्ने विषयमा गम्भीर प्रभाव पर्न सक्ने अनुसन्धानकर्ताले औंल्याएका छन् । एएनआई
कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन
हुम्ला । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् ।
दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा चिसो अत्यन्त बढेको छ ।
जिल्लामा हिमपात पश्चात् तापक्रम माइनसमा झरेर चिसो एक्कासी बढेपछि विद्यार्थीलाई घाम ताप्दै सहज रूपमा सिकाइ गर्न सकियोस् भन्ने उद्देश्यले विद्यालयले खुला स्थानमै नियमीत कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक बुढाको भनाई छ ।
प्रधानध्यापक बुढाले भनिन्, ‘चिसोका कारण साना कक्षाका विद्यार्थी कक्षाकोठामा बस्न नसक्ने भएपछि खुला चौरमा पठनपाठन शुरु गरिएको छ ।’
विशेषगरी बालविकास र कक्षा १ का विद्यार्थीलाई घाम ताप्दै पढ्ने व्यवस्था मिलाइएको छ ।’ यस्तै अन्य कक्षाका बिद्यार्थीलाई पनि चिसो मानेपछि चौरमा पठनपाठन गराउँदै आएका छौ ।’
जिल्लाको बलभद्र आधारभूत विद्यालय मात्रै नभएर हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकांस तीन विद्यालयले अत्यधिक चिसोको कारण कक्षाकोठामा बसेर पढ्न कठिन भएपछि चौरमा पठनपाठन सञ्चालन गर्न गर्दै आएका छन् ।
नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकुल तामाङका अनुसार, विद्यालय भवनका कक्षाकोठा चिसो हुँदा भित्र पढाउन नसकिएकोले विद्यालयकै हातामा कक्षा सञ्चालन भइरहेको बताए ।
कक्षा ८ सम्मका सबै विद्यार्थी खुला स्थानमै पढ्न बाध्य रहेको उनको भनाई छ । उत्तरी क्षेत्रमा दिउँसोमा समेत तापक्रम माइनसमा हुने गरेको छ ।
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् ।
प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो ।
नयाँ सुविधामार्फत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति सामग्री, स्प्रेडसिट, कोडलगायतका समर्थित फाइल जेमिनाई एप नछाडीकन सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ ।
त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन् । पीडीएफ हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ । गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ ।
गुगलका अनुसार नयाँ सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ । नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ । यसबाट प्रयोगकर्ताले जेमिनाई र अन्य सम्पादन उपकरणबीच पटकपटक आवतजावत गर्नुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ । एएनआई
इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै गएका छन् ।
उनले सत्याग्रह सुरु गरेको तेस्रो दिन भयो । तेस्रो दिनमा आइपुग्दा उनले शारीरिक रुपमा शिथिल महसुस गरेका छन् ।
‘सुगर घटेको रहेछ’, उनले भने,‘अब बोल्न पनि गाहे हुन थाल्यो ।’ पानी मात्र पिएर सत्याग्रहमा रहेका उनको स्वास्थ्य जाँच गर्न हिजो साँझ इलाम अस्पतालको टोली पुगेपनि त्यसयता स्वास्थ्य जाँच नभएको बताइएको छ ।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिताभ ठाकुरले डा. केसीको टीमबाट पछिल्लो स्वास्थ्यबारे जानकारी नदिएको बताए । उनले इलाम अस्पतालको तर्फबाट चार जनाको स्वास्थ्य टोली तयार पारेर राखेको बताएका छन् । उनले स्वास्थ्य अवस्था बिषयमा आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
यसैबिच, डा.केसीको सत्याग्रहप्रति सरकारले खास चासो नदेखाएको बताइएको छ । डा. केसीले आफ्नो छ बुँदे माग राखेर इलाममा सत्याग्रह बसेका छन् ।
गेटामा एमबीबीएस नर्सिङ सञ्चालन र सिट वृद्धिसम्वन्धी विवादित निर्णय खाजेर गर्नुपर्नेसहित स्वार्थ बाझिने गरी गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने विषयलाई आफ्नो मुख्य बटमलाइन बनाएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न डा. केसीले कात्तिक ११ गतेदेखि इलाम बजार नजिकै रहेको नारायणस्थान मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीका छ बुँँदे मागहरु
विवादित निर्णय खारेज ः न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गरियोस ।
२. निष्पक्ष छानबिन र कारबाही ः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी निजहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस् । छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गरियोस ।
३. गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालनः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गरियोस्। आवश्यक पूर्वाधार, जनशक्ति र सबै कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरियोस । विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानसमेत परिमार्जन गरियोस ।
४. छात्रवृत्ति र गुणस्तरको रक्षा ः सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गरियोस् । निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्डविनै सिट वृद्धि गर्ने प्रयास रोकियोस् ।
५. सरकारसँग भएका सहमति कार्यान्वयन ः २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरियोस्। सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट, तोडफोडलगायत विध्वंसात्मक घटनाको छानबिन तथा दोषीमाथि कारबाहीसम्बन्धी विषयसमेत कार्यान्वयन गरियोस् ।
६. सरकारी मेडिकल कलेज विस्तारः इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गरियोस्। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाइयोस् ।
चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो । यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन ।
अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजे देखि सत्याग्रह शुरू गरेको घोषणा गर्दछु । यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ ।
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम
काठमाडौं । वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन् ।
पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ । जमिनमा प्रवेश गरेपछि भने यो पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ ।
उनले भनिन्, ‘आज र भोलिलाई मौसम सामान्यतया सफा नै छ । अर्णब चक्रवात बङ्गालको खाडीमा रहेको छ । भेरी सिभियर साइक्लोनिक स्ट्रोम धेरै शक्तिशाली चक्रवातको रुपमा बङ्गालको खाडीमा छ, यो जमिनमा विशाखापट्टनममा ल्यान्डफल जमिनमा आउन सक्ने देखिएको छ । जमिनमा आइसकेपछि विस्तारै पश्चिम उत्तर पश्चिमतिर लाग्ने देखिएको छ ।’
क्षेत्रीय विशेष मौसम केन्द्रबाट जारी चक्रवातको मार्गअनुसार नेपाल नजिक आइपुग्दा यसको शक्ति निकै कमजोर हुने र न्यून चापीय क्षेत्र वा चक्रवातीका रूपमा प्रभाव पार्न सक्ने मौसमविद् पोखरेलले बताइन् ।
चक्रवातको सम्भावित मार्ग नेपाल आसपास देखिएकाले सतर्कता अपनाउनु पर्ने उनले बताइन् ।
यसैलाई ध्यानमा राखेर मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ । महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिनसमेत जारी गरिसकेको छ ।
पछिल्लो मौसम विवरणअनुसार चक्रवातको तीव्रतामा केही कमी आएको भए पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अझै आवश्यक रहेको पोखरेलले बताइन् ।
चक्रवातको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेको उनले बताइन् ।
यतिबेला धान काट्ने मौसमसमेत भएकाले मध्यम वर्षाले समेत कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै मौसमविद्ले किसानलाई समयमै धान भित्र्याउन आग्रह गरिन् । विशेषगरी बिहीबारअघि नै धान काट्ने तथा सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
त्यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रामा रहेका पर्यटक तथा अन्य व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । उच्च क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न वा सम्भव भएसम्म तल्लो क्षेत्रमा झर्नसमेत अनुरोध गरिएको छ ।
पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत
भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई राहत मिलेको छ ।
जनज्योति आधारभूत विद्यालयबाट अवकाश शिक्षक खडकालाई इकाईले पहिलो ई-पेन्सन पट्टा उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरूका लागि भोजपुरमा ई–पेन्सन पट्टा दिन सुरु गरिएको हो ।
राष्ट्रिय किताब खाना (शिक्षक) शाखाले शिक्षकका लागि कोशी प्रदेश र पहाडी जिल्लाहरूमा पहिलो पटक भोजपुरबाट ई–पेन्सन सेवा सुरु गरेको राष्ट्रिय किताब खाना (शिक्षक) शाखाका कर्मचारी गणेश श्रेष्ठले बताए । उनले भने प्रदेश र पहाडी जिल्लामा पहिलो जिल्लाका रूपमा भोजपुरबाट सेवा सुरु भएको छ ।
ई–पेन्सनको परीक्षण सफल भएकाले यसलाई विस्तार गरिँदै लगिएको छ । अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताब खानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निवास न्यौपानेले जानकारी दिए ।
निजामती कर्मचारीका लागि गत चैतदेखि ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो बढेपछि शिक्षकहरूमा समेत यो सेवा सुरु गरिएको छ ।
‘अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताब खानामा आएर पेन्सनपट्टा बन्थ्यो,’ यशोधरा माविका प्रअ विष्णु कुमार राईले भने, ‘जिल्लाबाट नै सेवा लिने अवसर शिक्षकलाई मिल्यो, यसले अवकाशप्राप्त शिक्षकहरूलाई राहत मिलेको छ ।’
म सत्कर्ममा विश्वास गर्छु, टाउकोले टेकेर जिम्मेवारी पूरा गर्छु : आनी छोइङ डोल्मा
काठमाडौं । संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि उक्त विषय यतिबेला चर्चामा छ । नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ ।
लुम्बिनी बचाउ महाअभियानलगायतका केही संघ संस्थाहरुले आनी छोइङ डोल्माको सम्पत्ति र नागरिकताको विषय उठाएर अनुचित व्यक्तिलाई नियुक्ति गरिएको भन्दै विरोध जनाइरहेका छन् । तर कतिपय प्रतिष्ठित र विज्ञ व्यक्तिहरुले छोइङ डोल्मालाई उपयुक्त स्थानमा अवसर दिइएको भन्दै बधाइ दिइरहेका छन् ।
आनी छोइङ डोल्माका विषयमा सामाजिक संजाल र सार्वजनिक मन्चहरुमा आलोचना चर्किएपछि नेपाल न्यूज बैंकले उनीसँग प्रतिक्रिया लिएको छ । आफ्नो निजी मामलाका बारेमा आइरहेका प्रतिक्रियाहरुबारे आफू विचलित नभएको उनले बताइन ।
‘म सत्कर्ममा विश्वास गर्छु । कहिलेकाहिं यस्ता अफ्ठयाराहरु आइपर्छन । भगवान वुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ । कतिपय व्यक्तिहरु कतैबाट परिचालित भएर लागिरहेका छन कि जस्तो लाग्छ । मेरा विषयमा जेजस्तो टिप्पणीहरु भइरहेको छ, त्यसबारे एक एक गरेर जवाफ दिन सकिदैन, जे छ भोग्दै जाने हो, बुझ्नेले बुझ्नु भएकै छ तर म विचलित भएको छैन । सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो । सरकारले पनि मेरोबारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला । मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपरो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ । यो त मेरो सत्कर्मको फल होला नि ।’
सम्पत्ति शुद्धिकरणको विषय आइसकेपछि कर्मचारीतन्त्रबाट आफूले धेरै दुःख पाएको उनले सुनाइन । ‘ब्यूरोक्रेसीबाट त्यसबेला धेरै दुःख पाएँ । घुसखोरी र कमीसनको खेल धेरै नै चल्ने गरेको थियो त्यसबेला, त्यसको शिकार भएँ । सोझो बाटोबाट अर्थात बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो । गलत बाटोबाट आएको भए अपराधिकरण गर्नमिल्थ्यो होला तर लिगल च्यानलबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो । त्यो विषय त्यसैबेला टुंगिसकेको हो,’ उनले अगाडि भनिन्, ‘त्यसबेला हङकङको बैंकबाट नेपालको बैंकमै आएको पैसा हो । कुनै गलत बाटोबाट आएकै होइन । हङकङ खराब सूचिमा सुचिकृत भएको देश पनि होइन । नेपाल सरकारको पनि आफ्नो प्रक्रिया र कानुनी बाटो समातेर नै काम गर्नुभएको होला, मैले गलत गरेको भए कहाँ छाड्थ्यो होला त, नियम पुर्याएकै थिएँ तर दुःख दिने नियतले कमीसन माग्ने काम भएको थियो । मैंले नियमसंगत ढंगबाट पार लगाएँ ।’
धेरै काम गर्न सकिन्छ
आफू डाँडामा बसेर आनन्दको जीवन जिउने सोचिरहेकाबेला सरकारले एउटा पवित्र संस्थालाई अझै राम्रो गर्नुपर्यो भनेर आफूलाई अवसर दिएको उल्लेख गर्दै सरकारप्रति सम्मान रहेको प्रतिक्रिया दिइन् ।
‘म पद माग्दै सरकारकहाँ गएको होइन । निवेदन दिएको पनि होइन । तर तपाईंले जिम्मेवारी लिइदिनुपर्यो भन्दा स्वीकारेको हुँ, उहाँहरुको त्यो चोखो नियतलाई सम्मान गरेको हुँ,’ उनले स्पष्ट पारिन् ।
विगतमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नका लागि ठूलो पैसाको चलखेल हुने गरेको आफूले सुन्दै आएको बताएकी उनले पैसाका नाममा संस्थालाई बदनाम गर्न नहुने पनि बताइन् ।
‘मेरो योजना डाँडामा कुटी बनाएर आनन्दको जीवन विताउने थियो । तर विश्वास गरेर सम्मानजनक पदमा अवसर दिनुभएको छ । विश्वास गर्नुभएको छ, त्यसलाई मैंले अपमान वा अस्वीकार गर्न कसरी मिल्ला र ? मैंले पनि त्यहाँ बसेर काम गर्दा विश्वभरका बौद्धमार्गीहरुलाई भेट्ने वा बुद्ध जन्मिएको देशलाई केही गर्न पाउँछु भन्ने लागेको हो,’ उनले भनिन् ।
विश्वमा लुम्बिनी एउटै मात्र रहेकाले उक्त ठाउँलाई पवित्र उद्देश्य र राम्रो योजनाका साथ धेरै काम गर्न सकिने पनि उनले औंल्याइन् । ‘स्वार्थी र लालच भएका व्यक्तिहरुको खराब नियतका कारण संस्थालाई बदनाम गराइयो । नयाँ सरकारको नयाँ रणनीतिले कतिपयको प्लान फेल भयो होला । विगतमा गरिएका गलत व्यक्ति नियुक्तिले संस्थाले काम गर्न सकेन होला, गलत दस्तावेजहरुलाई मिल्काएर अब धेरै कामहरु गर्नुपर्नेछ । विगतमा भएका खराब र गलत दस्तावेजहरु बाहिर ल्याउँछ भनेर पनि धेरैलाई डर लागेको हुनसक्ने र हालको नियुक्तिलाई विवादमा ल्याएको हुनसक्छ । तर म विचलित भएकै छैन, निराश भएको पनि छैन,’ उनले भनिन् ।
आफू कोषको जिम्मेवारी सम्हालेपछि गलत काम नगर्ने र विगतमा गलत नियतका साथ भएका कामहरु सार्वजनिक गर्ने भन्दै उनले अगाडि भनिन्,‘जिन्दगीमा मैंले पैसा अरुलाई दिनेबाहेक लिने गरेको छैन् । राम्रो काम हुनलाग्दा केही व्यक्तिहरु सक्रिय भएका छन्, ति सिमितको संख्यामा छन् । मलाई केही फरक पर्दैन ।’
नागरिकताको विषय र जिम्मेवारी
नागरिकताको विषयमा पनि आनी छोइङ डोल्माले स्पष्ट पारिन् । आफू नेपालमा जन्मिएको ५५ बर्षपछि यस्तो विषय उठाउनु जायज नभएको उनको तर्क छ ।
‘अरे म यो देशमा जन्मेको ५५ वर्ष भयो । यो विषय पनि उठाउने कुरा हो र ? सोध्नेहरुले पनि के सोधिरहेका छन्, अचम्ममा परेको छु । मनमा जे आयो सोधेर हुन्छ र ? मिडियाले पनि सम्बन्धित निकायमा गएर खोजतलास गरेर लेख्नुपर्यो नि । यस्ता कुराहरुको पछि लाग्यो भने मान्छे बौंलाउँछ । अनि नचाहिने पाप कर्ममा बेसी डराइन्छ । म भाग्यमानी मान्छे हुँ, गुरुको आशिर्वाद छ, सत्कर्ममा लागिरहेको छु, होइन र ?’ उनले अगाडि भनिन्,‘सत्कर्ममा वा धर्म कर्ममा लाग्दा केही राक्षसहरु वा भूतहरु अलिकति छटपटिन्छन नि यतिबेला त्यस्तै भइरहेजस्तो लाग्छ ।’
कोषको उपाध्यक्ष पद आफ्नो ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै उक्त जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाइन् । ‘म यतिबेला धेरै डराएको छु किनभने त्यो जिम्मेवारी मलाई आइपरेको छ । पूरा गर्नुपर्ने वाध्यता छ, त्यो सक्दिन कि भनेर डराएको छु, अरु केहीको डर छैन । जिम्मेवारी कसरी पूरा गर्ने भनेर सोचिरहेको छु । तर यतिकुरा स्पष्ट पार्न चाहन्छु–बुद्धको सेवा गर्ने ठूलो अवसर पाएको छु, टाउकोले टेकेर पूरा गर्छु । जस्तासुकै बिघ्न आओस् बेमतलबका साथ म मेरो आफ्नो धर्म निर्वाह गर्छु,’ उनले स्पष्ट पारिन् ।
डराएर धेरैले हो–हल्ला गरे
लुम्बिनी विकास कोषमा विगतका जिम्मेवार व्यक्तिहरुले धेरै बेथिति भित्राएकाले उनीहरु अतालिएको र डराएको उनको भनाइ छ । ‘त्यहाँ पूराना बेथितिहरु धेरै छन् । जसले बेथिति भित्र्याए उनीहरु नै डराएर हो–हल्ला गरिरहेका छन् । पैसा खर्च गरेर मेरा विरुद्धमा धेरैलाई परिचालित गरिएको छ जस्तो बुझिरहेको छु, यस्तै सुनिरहेको छु । प्रशस्त पैसा खर्च गरेर मान्छेहरु परिचालित गरिएको सुनेको छु । पूराना कर्तुतहरु सार्वजनिक हुनेमा धेरै व्यक्तिहरु डराएका छन् । अर्को कुरा बालेन सरकारविरुद्ध पनि राजनीतिक गतिविधि भएको हो कि भन्ने लागिरहेको छ,’ उनले भनिन्,‘अरुले यसरी हिलो छाप्यो भन्दैमा मुलुकलाई दुषित हुन वा फोहोर हुन दिनु हुँदैन् । मेरो कर्मले मलाई सफा कि फोहोर पार्ने भन्ने मेरो कर्ममा भर पर्छ ।’
मिडियाहरुले पनि बुद्धि विवेक र क्रसचेक गरेर समाचार सामग्री तयार गर्नुपर्ने औंल्याउँदै उनले पैसाको पछाडि दौडिन नहुने तर्क राखिन । ‘म मेरो विषयमा वा पक्षमा लेखिदिनुहोस कसैलाई भन्दिन । तर वास्तविकता र विवेक प्रयोग गरेर लेख्न आग्रह गर्छु । तर पैसा पाएर लेख्दै हुनुहुन्छ भनेर दशैं राम्रोसँग मनाउनुहोला तर पत्रकारिताको धर्म र आचार संहिता नबिर्सिनुहोला । भोलि पाप कर्मको फल त आफैले भोग्ने हो । म तुरुन्तै मिडियामा बोल्ने बोल्ने पक्षमा छैन, समय आएपछि बोल्नुपर्ला । बोल्यो भने आफ्नो बचाउमा बोल्यो भन्लान । पदभार ग्रहण गर्नुअघि राम्रोसँग योजना बनाएर वा हिसाबकिताब गरेर बोल्नुपर्ला,’ उनले भनिन् ।
विगतमा भएका गल्तीहरुको भार आफू भोग्न तयार नभएको उल्लेख गर्दै योजनाबद्ध रुपमा काम गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन् । ‘एकदमै राम्रो प्लेटफर्म हो । धेरै काम गर्न सकिने ठाउँ हो । म एक बुद्धको अनुयायी भएकाले पनि भगवान बुद्धको सेवा गर्ने मौका पाएको छु । भगवान बुद्ध जस्तै सेवा गर्ने मौका पाउनु मेरो सौभाग्य हो । विगतमा विग्रिएको कोषको छविलाई शुद्ध पार्ने मेरो कर्तब्य हो । संसारबाट आएर भगवान बुद्धको पाउमा एकसाथ झुकेर नमन गर्ने एक पवित्र स्थल बनाउनु मेरो दायित्व हो । मेरो सपना र धोको त्यही हो। त्यो टाउको टेकेर भएपनि पूरा गर्नुपर्नेछ । चुनौती मोलेर काम गर्नुपर्ने छ । जिन्दगीको यो अन्तिम चुनौति हुनसक्छ । र पाँच बर्ष निर्धक्क सेवा गर्छु,’ उनले प्रतिवद्धता जनाइन् ।
तर आनी छोइङले आफ्ना योजनाहरु सुनाइरहँदा लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक राम विकास चौधरी विगतमा भएका सम्झौताविपरित नियुक्ति भएकोमा भोलि शुक्रबार विरोध सभाको तयारी गरिरहेको सुनाउँछन् । ‘उहाँको नियुक्ति सरासर गलत छ । सत्तारुढ दलकै सांसदहरु पनि असन्तुष्ट हुनुहुन्छ,’ उनले भने,‘नियुक्तिका विषयमा आजपनि कार्यक्रम छ, भोलि बृहत सभाको तयारी गरिरहेका छौं ।’
उनले आनी छोइङको नियुक्तिले गलत नजिर स्थापित गर्ने र कोषको विकास हुन नसक्ने जिकिर गरे ।
सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
काठमाडौं । विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो ।
केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ । यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । यो कमजोरीको फाइदा उठाउँदै ह्याकर वा आक्रमणकारीले बिना लगइन नै सिधै सर्भरमा कोड चलाउन र प्रणाली नियन्त्रणमा लिन सक्ने खतरा रहन्छ ।
बडादशैंको बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा प्रणाली अद्यावधिक गर्न निरन्तर खटिरहेको केन्द्रले जानकारी दिएको छ ।
प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण गर्ने काम भइरहेको छ । परीक्षण सम्पन्न भई पूर्ण रूपमा सुरक्षित भएसँगै बन्द रहेका सरकारी वेबसाइट तथा सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ । अचानक सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ ।
बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट
काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए । निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन् ।
यसअघि सार्वजनिक सिनेमाको प्रचारसामग्री पोस्टर, टिजर ट्रेलर र गीतलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । टिजर र ट्रेलर हेरेर दर्शकले सिनेमा हेर्न निकै उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् ।
सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।
ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी शैलीलाई दर्शकले निकै रुचाएका छन् ।
टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको निकै खोजेका दर्शकहरूले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन् । साथै, ट्रेलरमा विपीन कार्कीको नयाँ र धमाकेदार अवतार (ग्याङस्टार लुक्स) लाई दर्शकले विशेष चासो र प्रशंसाका साथ हेरेका छन् ।
यसअघि प्रदर्शन भएको ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भएकाले निर्देशक रामबाबु गुरुङले पाँचौं शृङ्खलामा पनि कथालाई ट्वीस्टमाथि ट्वीस्ट दिएर न्याय गरेको भन्दै दर्शकहरूले उनको तारिफ गरेका छन् ।
त्यस्तै ट्रेलर सार्वजनिक हुनुअघि सार्वजनिक गरिएको गीत ‘थाक खोला’ ले पनि दर्शकमाझ कौतुहलता बढाउनुका साथै सिनेमाको हाइप झनै बढाएको निर्माण टिमको दाबी छ । त्यसैले धेरैले यो सिनेमालाई बहुप्रतीक्षित र वर्षकै सबैभन्दा ठूलो हिट सिनेमा बन्ने अनुमान गरेका छन् । अघिल्ला चारवटै शृङ्खलाले नेपाली सिनेमा इतिहासमा ऐतिहासिक सफलता कमाइसकेकाले पनि यस पाँचौ शृङ्खलाप्रति दर्शकको अपेक्षा निकै उच्च छ ।
सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।
ब्रिक्सको स्वास्थ्य एजेन्डामा परम्परागत चिकित्सा, आयुर्वेदलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ मञ्च
काठमाडौं । भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।
नयाँदिल्ली घोषणापत्रमार्फत ब्रिक्स स्वास्थ्य ट्र्याकअन्तर्गत टीसीआईएम सम्बन्धी विज्ञ कार्यसमूह गठन गर्ने प्रस्तावलाई स्वागत गरिएको हो । भारतको आयुष मन्त्रालयका अनुसार प्रस्तावित कार्यसमूहले ब्रिक्स सदस्य राष्ट्रहरूबीच परम्परागत चिकित्सासम्बन्धी संवाद, अनुसन्धान, ज्ञान आदानप्रदान र नीतिगत सहकार्यका लागि संस्थागत संयन्त्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
भारतका आयुष मन्त्री प्रतापराव जाधवले घोषणापत्रमा टीसीआईएमलाई समेटिनु परम्परागत चिकित्सामा विश्वव्यापी सहकार्यलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार प्रस्तावित कार्यसमूहले सदस्य राष्ट्रहरूलाई अनुसन्धान विस्तार, प्रमाणमा आधारित अभ्यास प्रवद्र्धन तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्नेछ ।
उनले आयुर्वेदसहित अन्य आयुष प्रणालीलाई वैज्ञानिक अनुसन्धान, गुणस्तर सुनिश्चितता र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सुरक्षित, प्रभावकारी र किफायती स्वास्थ्य सेवामा योगदान गर्ने दिशामा भारत प्रतिबद्ध रहेको उल्लेख गरे । आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले पनि कार्यसमूहले अनुसन्धान सहकार्य, प्रमाण संकलन, गुणस्तर मापदण्ड तथा नियामकीय अभ्यासमा केन्द्रित सहकार्यलाई संस्थागत रूप दिन सक्ने बताए ।
औषधीय वनस्पतिमा संयुक्त अनुसन्धान
घोषणापत्रले उपचारात्मक तथा रोग रोकथामका उद्देश्यले प्रयोग हुने औषधीय वनस्पति र जडीबुटीजन्य तयारीमा संयुक्त अनुसन्धान बढाउन विशेष जोड दिएको छ । ब्रिक्स राष्ट्रहरूको साझा परम्परागत औषधीय ज्ञान सुरक्षित, प्रभावकारी र किफायती उपचार सामग्री विकासका लागि आधार बन्न सक्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
यससँगै सदस्य राष्ट्रहरूको राष्ट्रिय सन्दर्भअनुसार गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न प्रमाणमा आधारित नियामकीय व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता पनि घोषणापत्रले औंल्याएको छ ।
चण्डीगढ बैठकबाट बनेको आधार
यो पहल भारतको ब्रिक्स अध्यक्षताका क्रममा गत जुलाई २१ मा चण्डीगढमा आयोजित टीसीआईएम बैठकको निरन्तरता हो । उक्त बैठकमा सदस्य राष्ट्रका सरकारी अधिकारी, प्राविधिक विज्ञ र प्रतिनिधिहरूले अनुसन्धान, शिक्षा, ज्ञान आदानप्रदान तथा नियामकीय सहकार्यका विषयमा सहमति गरेका थिए । त्यही बैठकले प्रस्तावित विज्ञ कार्यसमूहको कार्यादेशमा पनि सहमति जुटाएको थियो ।
विश्व स्वास्थ्य संगठनको रणनीतिसँग मेल
यो निर्णय विश्व स्वास्थ्य संगठनको २०२५–२०३४ को विश्व परम्परागत चिकित्सा रणनीतिसँग पनि मेल खाने मानिएको छ । उक्त रणनीतिले परम्परागत चिकित्सामा वैज्ञानिक प्रमाणको आधार बलियो बनाउने, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने तथा स्वास्थ्य प्रणालीमा उपयुक्त रूपमा समावेश गर्ने लक्ष्य अघि सारेको छ ।
आयुष मन्त्रालयका अनुसार नयाँदिल्ली घोषणापत्रले टीसीआईएमलाई ब्रिक्स स्वास्थ्य ट्र्याकसँग जोड्दै सार्वभौमिक स्वास्थ्य पहुँच अनुसन्धान, गुणस्तर, सुरक्षा र प्रभावकारितासँग सम्बन्धित दीर्घकालीन सहकार्यका लागि आधार तयार गरेको छ । एएनआई