मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J9FVBH09JVXNETK9Y4QSSY6P.jpg

मनसुन क्रमशः क्षीण हुँदै

advertisement

काठमाडौँ, २० असोजः जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।     
      
विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     
      
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।     
      
आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।     
      
विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।     
      
मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ ।


advertisement
 

प्रकाशित मितिः आइतबार, २० असोज २०८१
https://jawaaf.com/storage/01J9EH0Y977SZA8YP90JC44BS5.gif

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

काठमाडौँ, १९ असोजः हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन । त्यसैले धेरैका लागि यो दसैँ उमङ्गविहीन हुने भएको छ ।   
 
हुन त बाढिपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । “हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन”, ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भन्नुभयो ।   
 
बाढीपहिराले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ । विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटर्वक नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । “यहाँ धेरै नै दर्दनाक अवस्था छ । सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन । जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन । त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन”, उपाध्यक्ष गोलेले समस्या व्यक्त गर्नुभयो ।   
 
छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नं २ विपद्बाट प्रभावित भयो । यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ । “प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरु पनि छन् । उहाँहरूसँग अब केही बाँकी छैन । उहाँहरुलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ । दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ । आवतजावतका लागि गाउँपालिकाले मर्मसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ”, उपाध्यक्ष गोलेले भन्नुभयो, “गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन । सङ्घ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ । जेनतेन बाटो खुलाइएकाले अब सहयोगी सङ्घसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।”   
 
यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताउनुभयो । “खोनपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ”, उहाँद्वारा सहयोगका लागि जारी गरिएको अपिलमा भनिएको छ, “विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन । विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ ।”   
 
यस गाउँपालिका क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् । विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।   
 
यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ । सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर दसैँअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । “अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ । तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं । बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गर्छौं ।”   
 
बाढीपहिरोका कारण यस नगरपालिका– वडा नं ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ । विपद्का कारण २० जनाको मृत्यु भएको छ । वडा नं ७ मा अझ बढी समस्या छ । यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ । “यो पालिका पहाडी भूभागसँग जोडिएको छ । दुर्गम ठाउँ छ । विगतदेखि नै पहिरोको जोखिम रहेका स्थानमा यसपटक निकै क्षति भयो । बाटोघाटा अवरुद्ध छन्”, उपप्रमुख अधिकारीले भन्नुभयो, “शुक्रबारदेखि प्रायः जस्तो वडामा ‘ट्र्याक’ खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन् । कतिपय वडामा सडक अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ । टीकाभैरवको अवस्था नाजुक छ । घर, विद्यालय, पुललगायत सडक पहिराले क्षतिग्रस्त छ ।”   
 
यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ ।   

प्रकाशित मितिः शनिबार, १९ असोज २०८१
https://jawaaf.com/storage/01J9E813W8WPRNTN30CRST4P2A.png

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

Advertisement

फुङ्लिङ(ताप्लेजुङ), १९ असोजः कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् । 

घुन्सास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् । 

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।  कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका बताउनुभयो । विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् । 
 

Advertisemwnt


फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजङ्घा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ । यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ । 

पर्यटकका सहयोगीको मृत्यु

कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको  ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् । 


Advertisement

प्रकाशित मितिः शनिबार, १९ असोज २०८१
https://jawaaf.com/storage/01J9D8EQRFW8BW1H5PWYH55824.jpg

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

ADVERTISEMENT

राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।     
      
“अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो”, उहाँले भन्नुभयो ।     
      
केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उहाँ मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुनुहुन्छ उमेश माझी । “घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो”, उहाँले भन्नुभयो ।     
      
कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दसैँ लगत्तै धान काट्ने सोचमा हुनुहुन्थ्यो । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । “चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो, “हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।”     
      

ADVERTISEMENT


 त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।     
      
 यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो ।     
      
 किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।     
      

ADVERTISEMENT


 त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।     
      
 स्थानीय बुदुर राम र फुदुर रामको दुई÷दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।     
      
 धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिनुभयो । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ ।     
      
 पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ ।     
      
 त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो । 

ADVERTISEMENT
 

प्रकाशित मितिः शनिबार, १९ असोज २०८१
https://jawaaf.com/storage/01J9D7BW90D0KY3FYC6Y8561V5.webp

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

ADVERTISEMENT

काठमाडौँ, १९ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
 
युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।


 

ADVERTISEMENT

 यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
 
 जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
 

ADVERTISEMENT

 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ सात पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
 
 राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ आठ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ सात पैसा तोकेको छ ।
 
 भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मितिः शनिबार, १९ असोज २०८१
https://jawaaf.com/storage/01J9BXZQKF7083WJNT1RQTXFB5.jpg

‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक

Advertisement

काठमाडौँ, १८ असोजः भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ ।   
 
आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।   
 
इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्तावेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्तावेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरु यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।   
 
विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दीनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गर्नुभएको थियो । डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्तावेज रहेको बताउनुभयो ।   

Advertisement

टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । यस सङ्ग्रहमा लिच्छवीकाल सम्मका दस्तावेजहरु अध्ययन गर्न पाइने उहाँले बताउनुभयो ।   
  
प्राडा दीनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरु पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गर्नुभएको कामको प्रशंसा गर्नुभयो । “यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ”, उहाँले भन्नुभयो, “अझै हामी इतिहास खोज्ने क्रममा किरातकालसम्म राम्रोसँग पुग्न सकेका छैनौँ ।”   
  

Advertisement

लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलनमात्र भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताउनुभयो । “यो अभिलेख सङ्कलन गर्नु चानचुने कुरा होइन”, उहाँले भन्नुभयो, “अनुसन्धाताका लागि यस्ता झ्याउलाहरु पार गर्नु कुनै ठूलो कुरा होइन ।”   
 
पूर्वप्रशासकसमेत रहनुभएका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेखलगायतका दस्तावेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गर्नुभएको छ । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ । 

Advertisement

प्रकाशित मितिः शुक्रबार, १८ असोज २०८१
https://jawaaf.com/storage/01J9B0JW3P4VXCZZ3JKTKNE94S.jpg

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

ADVERTISEMENT

बरहथवा (सर्लाही), १८ असोज : गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ ।     
      
पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । “स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो । अब फेरि स्कुलले दिने हो कि होइन ?”, उनलाई चिन्ता छ ।     
      
विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन् । बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ । रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्र पनि विद्यालयको कपी किताब बगाएको गुनासो गर्न आइपुगे । “मेरो त स्कुलको पोशाकसमेत बाढीले लगेछ”, उनले भने, “अब स्कुल कसरी जाने ? बुबाआमासँग किन्न पैसा नभएको उनको गुनासो थियो ।”     
      
शनिबार पसेको बाढीले उनीहरू जस्तै हजारौँ बालबालिकाको शैक्षिक भविष्य अन्योलमा परेको छ । अधिकांश विपन्न परिवारका बालबालिकाको विद्यालयका पुस्तक, पोशाकलगायत सामग्री बाढीमा डुबेको छभने केहीको बाढीले बगाएको छ । विद्यालय पानीमा डुबेका कारण कहिलेसम्म स्कुल जान नपाइने हो ? भन्ने चिन्ता बालबालिकाले व्यक्त गरिरहेका छन् ।

     
     

ADVERTISEMENT

 
 बाल कक्षामा धेरै क्षति     
      
 जिल्लाको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा गरी दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको छ ।     
      
 अधिकांश विद्यालयमा बाल विकास कक्षामा पानी पसेर क्षति गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिनुभयो । “बालबालिकाको सुविधाका लागि ठूलो रकम खर्च गरेर ओच्छाएको कार्पेट, म्याटलगायत सामान पूर्ण रूपमा काम नलाग्ने भएका छन्”, उहाँले भन्नुभयो, “सिकाइ सामग्रीसमेत बगाएका छन्, बाँकी पनि काम लाग्ने अवस्थामा छैनन् ।”     
      
 नगरको वडा नं १, २, ३ र ४ का प्राथमिक विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगरप्रमुख कुशवाहाले जानकारी दिनुभयो । विद्यालयमा पानी जमेका कारण बालबालिकाको पठनपाठन नै प्रभावित बनेको बलरा नगरपालिका–१ स्थित प्राथमिक विद्यालय सेडवाका प्रधानाध्यापक जङ्गबहादुर सहनीले बताउनुभयो । “अहिले चाडबाडको छुट्टी छ, तर महिनौँसम्म पठनपाठन हुने अवस्था छैन”, उहाँले भन्नुभयो ।     
      
 विद्यालयसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय विनय यादवले बताउनुभयो । विद्यालय डुबानमा पर्दा विपन्न दलित, मुसहरलगायत समुदायका बालबालिका मर्कामा परेका हुन् । शैक्षिक सामग्रीसमेत बगाएका कारण बालबालिकासँगै अभिभावक समेत चिन्ता व्यक्त गरिरहेका नगरप्रमुख कुशवाहाले बताउनुभयो ।     
      
 पालिकाले समेत क्षति विवरण सङ्कलन गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग यस विषयमा सहयोगका लागि अपिल गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख कुशवाहका अनुसार विभिन्न वडाका गरी १८ वटा विद्यालय डुबानमा परेका छन् । सबै विद्यालयमा फेरि बालबालिकाका लागि बसाइ व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।     
      
 यस्तै रामनगर गाउँपालिकामा पनि विभिन्न वडामा गरी नौवटा विद्यालयमा बाढी पसेर डुबाएको छ । विद्यालय पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति पुगेको पालिका अध्यक्ष राजाबाबु यादवले बताउनुभयो । विद्यालयसम्म पुग्ने अवस्था नहुँदा तत्काललाई पर्व बिदा दिइएको उहाँको भनाइ थियो । “अहिले पठनपाठन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “पर्व पनि परेकाले बिदा दिएका छौँ, अब पानी सुकेपछि पठनपाठन सुरु हुन्छ ।”     
      
 बाढीले शैक्षिक सामग्री बगाएको र लामो समय विद्यालय जाने क्रम रोकिँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने चिन्ता रहेको उहाँको भनाइ थियो । अर्कातर्फ विद्यालयको अवस्था पूर्ववत बनाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।     
      
 बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गर्नुभयो । बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिनुभयो । पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उहाँले बताउनुभयो ।   


प्रकाशित मितिः शुक्रबार, १८ असोज २०८१
https://jawaaf.com/storage/01J9AR3QXRDF359PPE6N6PB6BN.jpg

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

Advertisement

गलकोट (बागलुङ), १८ असोज : हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ ।   
 
तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौैँदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ ।   


Advertisement

 

माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताउनुभयो ।   
  
खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,” कृष्ण माझीले भन्नुभयो “जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।”   


  

Advertisement


स्थानीय देउकुमारी माझीले भन्नुभयो, “जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।” जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उहाँको भनाइ छ ।   
  
दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् ।   
  
दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।  


Advertisement

प्रकाशित मितिः शुक्रबार, १८ असोज २०८१
https://jawaaf.com/storage/01J986VYH57F9DXDP9AXS4P8VZ.jpg

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

Advertisement

म्याग्दी, १७ असोजः धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उहाँले भन्नुभयो, “स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।”   
 
सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाले अघिल्लो वर्ष वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको थियो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् । 

 

Advertisement

प्रकाशित मितिः बिहिबार, १७ असोज २०८१
https://jawaaf.com/storage/01J980QN1QQJCCKEA9GQAAGTCS.jpg

जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल

Advertisement

राजविराज (सप्तरी), १७ असोजः सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ ।

कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो । 

कोशी पुलमा दसँै सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ । “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।” 

Advertisement



केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो । “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो । 

सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ । “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो  ।


Advertisement

प्रकाशित मितिः बिहिबार, १७ असोज २०८१