आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J89NYCB7YMJHP26WPMM1VAJ5.webp

अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा

ADVERTISEMENT

ढोरपाटन (बागलुङ), ५ असोज : शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ । 

नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो । ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कूल’ को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ । 

बसाइसराइ कारणले विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कुल’ अवधारण ल्याएको थियो । गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरुको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा आवास तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिने छ । 

आर्थिक अवस्था कमजोर हुँदा पढाइबाट विमुख भएका बालबालिकालाई नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । कक्षा १ देखि १२ सम्म ‘लिड स्कुल’ मा पढाउने र त्यसभन्दा माथि पढ्नेका लागि छात्रवृत्तिको सुविधा दिइने उहाँको भनाइ छ । 


नगरपालिकाले यस वर्ष २० बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउनुहुन्छ । चालु आवमा प्रति विद्यार्थी रु ४० हजारका दरले बजेट विनियोजन गरेको र आगामी वर्ष नयाँ थपिए सोअनुसार व्यवस्थापन गर्ने उहाँको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाइबाट टाढा हुनु नपर्ने शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ राख्ने प्रयास गरिरहेका छौँ, यस वर्ष हामीहरुले ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैछौँ, यसबाट आफन्त नभएका बालबालिका, असहाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरी जिम्मा लिँदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही बालबालिका पारिवारिक, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट विमुख बन्नुपर्ने छैन ।”

‘लिड स्कुल’ मा विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने गरी काम भइरहेको छ । विसं २०७८ मा ‘लिड स्कुल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लगानी गरेको छ । उक्त विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लास्टिक टनेल स्थापना गरी तरकारी खेती थालिएको छ । प्रत्येक वडाबाट दुई÷दुई विद्यार्थी लिएर उनीहरुलाई यही विद्यालयमा राखिने नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार जैमिनीमा ८० सामुदायिक र एउटा संस्थागत गरि ८१ विद्यालय रहेका छन् । उक्त विद्यालयमा करिब छ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउनुहुन्छ । विद्यालयभन्दा बाहिर रहेका बाललिकालाई शिक्षाको पहुँच ल्याउनका लागि ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।


ADVERTISEMENT

प्रकाशित मितिः शनिबार, ०५ असोज २०८१
https://jawaaf.com/storage/01J89BNNXW3SF8P8JG67BHSER6.jpg

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा

Advertisement

काठमाडौँ, ५ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताउनुभएको छ ।   
 
क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।”   
 
लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा राणाको तर्क थियो ।   
 
“संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरु रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्”, परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो ।   

Advertisement


  
कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उहाँले बताउनुभयो । उहाँले महिलाहरूले विश्वव्यापी रुपमा पुरुषले पाएका कानुनी अधिकारहरुको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिनुभयो ।   
  
“मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रले समान अधिकारकोे घोषणा गरेको ७६ वर्ष बितिसकेको छ । त्यसयता चारवटा संयुक्त राष्ट्रसङ्घीय सम्मेलन र महिलाका लागि कार्य योजना, सहस्राब्दी विकास लक्ष्यहरूको परिचय र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम तथा छ वटा लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम लागू भइसकेका छन्”, मन्त्री डा राणाले भन्नुभयो, “यति हुँदा पनि लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ । मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट वञ्चित नै छन् ।”   
  
उहाँले नेपालमा पनि आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण सो बैठकमा पेस गर्नुभयो । जसका कारण नेपालका लक्षित नीति र कार्यमा केही सुधार भएको भएको उहाँको भनाइ थियो ।   
  
उहाँले भन्नुभयो, “हामीले महिला समानताका लागि लडेको धेरै भयो । संविधानले नै सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालले राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीशमा महिला पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।”   
  
यस्तै कानुनी प्रावधानकै कारण नेपालको निजामती सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायमा पनि महिला सहभागिता बढ्दो छ । त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उहाँले बताउनुभयो ।   
  

Advertisement



नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उहाँको भनाइ थियो ।   
  
मन्त्री डा राणाले भन्नुभयो, “दुर्भाग्यको कुरा त के छ भने हामीमाथि हुने हिंसा र भेदभाव गर्भबाटै सुरु हुन्छ र यसले जीवनभर नै निरन्तरता पाउँछ । यो असमानताको निराकरणका लागि व्यापक र सशक्त प्रयास जरुरी छ । यी प्रयास विश्वस्तरदेखि स्थानीय तहसम्म नै पु¥याइनु जरुरी छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रका सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ । यस क्षेत्रमा अघि बढ्ने हरेक व्यक्तिका प्रयास परिवर्तनका लागि उत्प्रेरक बन्न सक्नेछन् ।”   
  
त्यसैले समग्र संसारले नै लैङ्गिक समानता शान्तिपूर्ण र समृद्ध संसारको आधार हो भनेर मनन् गर्नुपर्ने उहाँको तर्क थियो । संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरुको खाँचो नरहेको तर्क गर्दै मन्त्री डा राणाले ती व्यवस्थाहरुलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकामा जोड दिनुभयो ।   
  
सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको थियो ।  


Advertisement

प्रकाशित मितिः शनिबार, ०५ असोज २०८१
https://jawaaf.com/storage/01J8997DNJWJF1NWPGK1FNAS25.jpg

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'

Advertisement

रिलु, मष्टा (बझाङ), ५ असोजः करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको ।   
 
मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उहाँ एकल महिला हुनुहुन्छ । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उहाँका दुःखका दिन सुरु भएका थिए । “श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार ग¥यौँ । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो”, विष्नाले आँसु चुहाउँदै सुनाउनुभयो ।   
 
श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो । “उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ स¥यौँ । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ”, उहाँले पीडा पोख्नुभयो ।   
 

Advertisement


गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उहाँलाई पेटको भोकभन्दा भविष्यको चिन्ता पिक्का लाग्यो । त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले जानकारी दिनुभयो । “गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन”, उहाँले भन्नुभयो ।   
  
आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताउनुभयो । “बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो”, उहाँले भन्नुभयो । ५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टेक्नुभयो । उहाँ गर्भमा हुँदा नै बुबाको देहान्त भयो ।   
  
विष्नाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काउनुभयो । आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उहाँको कथन छ ।   
  

Advertisement



विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहनुभएको छ । चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहनुभएको छ । “गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ । बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु”, वडाध्यक्ष बोहराले भन्नुभयो, ““सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।”   
  
यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पु¥याएपछि पीडामाथि थप पीडा थपियो । “पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,” विष्नाले भन्नुभयो, “आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।”   
  
भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उहाँ सम्झिनुहुन्छ । “धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग ग¥यो । सोही रकमबाट चामल किनेर चार÷पाँच महिनासम्म खायौँ । अरू समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ,” उहाँले भन्नुभयो ।  

Advertisement

प्रकाशित मितिः शनिबार, ०५ असोज २०८१
https://jawaaf.com/storage/01J898PSNAK6Q844SRHC0E4G8R.jpg

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

Advertisement

भद्रपुर (झापा), ५ असोजः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । 

Advertisement


 प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।  

 दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उहाँको दाबी छ । गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् रु तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।


Advertisement

प्रकाशित मितिः शनिबार, ०५ असोज २०८१
https://jawaaf.com/storage/01J87AP3XFKVWC6QKYZR9R4QRF.jpg

अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

Advertisement

धरान (सुनसरी), ४ असोज : यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   
  
अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताउनुभयो । उहाँले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिनुभयो ।   
  
उहाँले भन्नुभयो, “अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अङ्गे्रजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।” विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उहाँले बताउनुभया ।   
  
पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक सहयोगका लागि उहाँले सरोकारवालासँग आग्रह गर्नुभएको छ । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ ।   
  


Advertisement


विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०ः३० देखि ४ः३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ ।   
  
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।”   
  
विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ ।  

Advertisement

प्रकाशित मितिः शुक्रबार, ०४ असोज २०८१
https://jawaaf.com/storage/01J86PCVWDM9QQN8CGPMFQ299Q.jpg

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

ADVERTISEMENT

जानकी (बाँके), ४ असोज : चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ ।     
     
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ । उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।     
     
फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् । हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ ।     
     
“उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ । फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ ।     
     

ADVERTISEMENT


यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ ।     
     
यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पु¥याइने अध्यक्ष शाहले बताउनुभयो ।     
     
दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।     
     
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ ।  


ADVERTISEMENT
 

प्रकाशित मितिः शुक्रबार, ०४ असोज २०८१
https://jawaaf.com/storage/01J86JCHYP7MBK2YHDRQVJR4YP.png

पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण

Advertisement

पाँचथर, ४ असोजः गयाङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु चार करोड ३५ लाखमा गाउँपालिकाको वडा नं ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो ।   
 
नवनिर्मित कभर्डहलको बिहीबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले उद्घाटन गर्दै खेलाडीलाई अभ्यास गर्न सहज हुने बताउनुभयो । ब्याडमिन्टन, भलिबल तथा मार्सलआर्टका तेक्वान्दो, कराते, उसु, कबड्डीलगायत खेल सञ्चालन गर्न अन्यत्र जानुनपर्ने उहाँले बताउनुभयो ।   
 

Advertisement


ब्याडमिन्टनको विकासमा नियमित प्रशिक्षणको व्यवस्था गर्न कभर्डहल उपयोगी हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तेजबहादुर तुम्बापोले बताउनुभयो । संरचनाका कारण युवा खेलकुदतर्फ आकर्षित हुँदा कुलतमा फस्ने सम्भावना कम हुने, खेलकुद तथा खेल पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   
  
कभर्डहलका लागि सात रोपनी जग्गा पृथीबहादुर योङहाङ, बमप्रसाद योङहाङ र चन्द्रकिशोर योङहाङको परिवारले दान गर्नुभएको हो । उहाँहरूलाई पालिकाले सम्मान गरेको छ ।   
  
संविधान दिवसको अवसर पारेर उद्घाटन भएको कभर्डहलमा बिहीबारदेखि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगितामा ९७ टोली सहभागी छन् ।  


Advertisement

प्रकाशित मितिः शुक्रबार, ०४ असोज २०८१
https://jawaaf.com/storage/01J86J1WDPX8T5JY59AP8AHTPK.jpg

देशभर मनसुनी वायुको प्रभाव कायम

Advertisement

काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।   
 
कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।   
 
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   
 

Advertisement


यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   
  
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  


Advertisement

प्रकाशित मितिः शुक्रबार, ०४ असोज २०८१
https://jawaaf.com/storage/01J84H85K8DRERFQ9DM50TH9Q2.webp

मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना

ADVERTISEMENT


पेरिस, ३ असोज : मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली सङ्घको आलोचना गरेको छ ।     
     
युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडी पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।     
     
हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् ।     
     
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा सङ्कलन गर्ने योजना स्थगित गरेको थियो ।     
 “युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि हालको समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ”, पत्रमा भनिएको छ।     


ADVERTISEMENT

     
युरोपेली आयोगका प्रवक्ताले युरोपेली सङ्घका सबै कम्पनीबाट डाटा गोपनीयता सम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताउनुभयो ।     
     
मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लङ्घनका लागि रेकर्ड जरिवाना सामना गरेको छ, जसमा जीडीपीआर अन्तर्गत एक अरब यूरो भन्दा बढीको एकल जरिवाना समावेश छ ।     
     
युरपेली सङ्घ युरोपेली प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयता सम्बन्धी प्रमुख कानून बनाउने पहिलो क्षेत्रीय सङ्गठन बनेको छ । यसले यो वर्षको सुरुमा एआई ऐन लागू गरेको थियो ।     
     
मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरु प्रदान गर्न ढिलाई गरिरहेका छन् ।     
     
मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो ।     
     
गुगलले पनि युरोपेली सङ्घमा एआई उपकरणको रिलिजलाई रोकेको छ ।    


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J849RXK7F6XSFJSQYW84T9JS.jpg

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

ADVERTISEMENT


म्याग्दी, ३ असोजः चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।     
      
 यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।”     
      
 समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् ।     
      
 हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।”     
      


ADVERTISEMENT


 किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।     
      
 गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ ।     
      
 यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् ।     
      
  तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।”     
      
 लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।”     
      
 बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् ।     
      
  यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ ।


ADVERTISEMENT
 



प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१