बुधबार, २७ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4P3GZPCG4NWWSMS9AHWX7BM.jpg

हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ : मन्त्री सुडी

पाटन (ललितपुर), २३ साउनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरुको पनि भएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘लैङ्गिक समानताका लागि पुरुष र युवाहरुको सहभागिता’ विषयक दक्षिण एसियाली क्षेत्रीय संवाद कार्यक्रममा उहाँले नेपाल सरकारले महिला विरुद्धको सबैखालका भेद्भावको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ भन्नुभयो ।  

मन्त्री सुडीले भन्नुभयो,“लैङ्गिक समानताको विषय र महिलामाथि हुने विभेद्को अन्त्य गर्ने विषय  सरकारको उच्च प्राथमिकतामा रहेको छ, महिला पुरुष बेग्लाबेग्लै जीव होइन, हामीले मिलेर काम गर्नुपर्छ, निरासाजनक कुरा मात्रै गरेर हुँदैन, विगतका दश वर्षमा धेरै परिवर्तन आएको छ, हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ । अझ मधेश प्रदेशमा महिलाहरुका लागि पचास प्रतिशत आरक्षणको व्यवस्था छ । ” 


advertisement



उहाँले सरकारले आर्थिक सामाजिक, राजनीतिक  तथा कानुनी रुपमा सुनिश्चित गर्न लैङ्गिक समानता ऐन २०७७ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।  संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्धको विभेद उन्मूलन समितिका सदस्य बन्दना राणाले पुरुषको मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुनसक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानुनले बाँध्न सक्दैन, यसका लागि व्यवहारमा परिवर्तन र रुपान्तरण हुनुपर्छ, लैङ्गिक समानताका लागि महिला र पुरुष मिलेर समाधान गर्नुपर्छ, सुरक्षा बिनाको कानुनले कुनै परिवर्तन ल्याउन सक्दैन, पुरुषको मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुनसक्दैन, मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानुनले बाँध्न सक्दैन । ”

‘युएन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फर्नान्डेजले लैङ्गिक समानताको विषय दक्षिण एसियाका धेरै देशमा चुनौतीपूर्ण रहेको जनानुहुँदै यो चुनौतीलाई समाधान गर्न यो संवाद महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । समूहगत छलफलमा भाग लिनुहुँदै पूर्वसचिव कृष्णहरि बाँस्कोटा नेपालमा आर्थिक वर्ष २०६४÷६५ देखि लैङ्गिक उत्तरदायी र समावेशी बजेट ल्याउन सुरु भएको बताउनुहुँदै कानुनी रुपमा सरकारी तहबाट भएका व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

‘मीन इन्जेग ग्लोबल एलायन्स’का सहनिर्देशक लक्ष्मण बेल्वासेले पुरुषत्वको भावनाबाटमाथि उठेर हिंसात्मक अवस्थालाई अन्त्य गर्न व्यवहार परिवर्तन, सामाजिक मूल्यमान्यतालाई समावेशी बनाउन लाग्नुपर्छ भन्नुभयो ।  ‘मीन इन्जेग एलायन्स’ श्रीलङ्काका ‘स्टेरिङ कमिटी’ सदस्य प्राध्यापक विजय जयन्तिलिका लैङ्गिक समानताको विषय ज्यादै चुनौतीपूर्ण रहेको जनाउनुहुँदै सामाजिक प्रणाली र आँैपचारिक शिक्षा प्रणालीमा नै सहभागितामूलक बनाउनेमा ध्यान दिनुपर्ने बताउनुभयो ।  ‘ब्लु डाइमण्ड सोसाइटी’का कार्यक्रम निर्देशक भूमिका श्रेष्ठले पितृसत्तात्मक सोचले समाजको संरचनालाई विभाजन गरिएको छ भन्नुभयो । 

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4NKQHF56SBHW42FCA1BKTFQ.jpg

पेरिस ओलम्पिक: अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, २३ साउन (रासस/एएफपी) : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले  २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।  

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4NJVVER5FRF4MCYW5FX1YMP.jpg

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा, २३ साउनः चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उहाँले जानकारी दिनुभयो । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक  भारत गएका छन् ।

नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।

लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको  नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4N6ZX1TH7VMB49HZBV2WKM2.jpg

आज पनि देशभर वर्षा हुने पूर्वानुमान

काठमाडौँ, २३ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।   
 
कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   
 
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।   
 
त्यसैगरी विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।   
 
आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।   
 
विभागले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको क्षतिबाट बच्न जोगिन तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।   
 
यसैबीच मौसम पूर्वानुमान महाशाखाले बितेका २४ घण्टामा काठमाडौँमा ७३ मिलीमिटर वर्षा मापन गरिएको बताएको छ । विभागका अनुसार सबैभन्दा बढी धरानमा एक सय चार मिलीमिटर वर्षा भएको छ भने ओखलढुङ्गामा ८५, विराटनगरमा ८०, जनकपुरमा ७४, जिरीमा ४६, पोखरामा ३०, भैरहवामा २६, पोखरा र सिमरामा २१ मिलीमिटर वर्षा भएको छ ।  

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4M73MGC77FRKHC7G6RFSB63.jpg

संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

ललितपुर, २२ साउन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । 

आज यहाँ किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने र यसमा सबैको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । “यो संविधान जनताबाट चुनिएका प्रतिनिधिले संविधानसभामार्फत तयार गरेका हौँ । हाल भएका व्यवस्थाको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता त छँदैछ । साथसाथै निश्चित विधि र प्रक्रिया पूरा गरेर समयको मागअनुसार संविधान संशोधन गर्न सक्ने प्रावधान पनि भएकाले सोअनुसार अगाडि बढ्नुपर्नेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।  

उहाँले फुलबारी झै सजिएको समाजमा द्वन्द्व मेटिने र सबैको पहिचान भेटिने अवस्था बनाउन आआफ्नो तर्फबाट योगदान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१
https://jawaaf.com/storage/01J4KP8M22JGY4TZ4577QZV4NZ.jpg

मुस्ताङका बगैँचामा लटरम्म स्याउ

म्याग्दी, २२ साउन: गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगँैचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताउनुभयो । “क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,” उहाँले भन्नुभयो “क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ ।”     
      

जेठमा दानामा दाग लाग्ने रोगलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका कृषि शाखाका प्राविधिक टोलीले उपचार गरेपछि उत्पादनमा असर नभएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । फलेका स्याउका दानाले बगँैचा आकर्षक देखिन्छन् । घरपझोङ गाउँपालिका–३ स्याङका कृषक कर्म गुरुङले गत वर्षको तुलनामा यसपटक स्याउका बोटमा २० देखि २५ प्रतिशत बढी फल लागेको बताउनुभयो ।     
      
“मौसमले पनि साथ दियो, रोग पनि लागेन,” उहाँले भन्नुभयो “गत वर्ष रु. चार करोडको स्याउ बेचेको हुँ, यो वर्ष रु. छ करोड आम्दानी हुने अनुमान छ ।” स्याउ खरिद गर्न देशका विभिन्न स्थानबाट व्यापारी मुस्ताङ पुगेर बगैँचा अवलोकन र किसानसँग भाउ मिलाउन थालेका छन् ।     
      
मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती हुने गरेको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।     
      
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिचाई, चिस्यानगृह निर्माण लगायतका काममा कृषकलाई सहयोग गरेका छन् । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडाँैलगायत सहरका व्यापारी बगैचामा नपाग्दै अग्रिम रकम दिएर ठेक्कामा स्याउ खरिद गर्दै आएका छन् । मुस्ताङ आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किन्ने गरेका छन् । किसानले बिक्री नभएका स्याउ मदिरा र सुुकुटीमा उपयोग गर्दै आएका छन् ।  

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१
https://jawaaf.com/storage/01J4KJD7S10R998RJY5EQK2E8V.jpg

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

काठमाडौँ, २२ साउनः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ ।

कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेकोे बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१
https://jawaaf.com/storage/01J4KCCYG98ZVFS1SRM26WKM0S.jpg

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

ढाका २२ साउन (रासस / एएनआई): प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।  

ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो ।  

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।  

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो । 

यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गर्नुभएको छ ।  

महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उहाँले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गर्नुभयो ।  
 
मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई समेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाउनुभयो ।  

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१
https://jawaaf.com/storage/01J4K8MTS5YK2R12ZHXF45GC38.webp

हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पुरा

टोकियो, २२ साउन (रासस / एएफपी):जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ । 

काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिनुभएको हो ।  

“युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो । 

“यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबिच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ ।”

सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो ।  

यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो ।

मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गर्नुभयो  ।

युक्रेन सङ्कटका कारण लगातार तेस्रो वर्ष रुस र बेलारुसलाई समारोहमा आमन्त्रित गरिएको थिएन । 

प्यालेस्टिनी लडाकु समूह हमासले देशमा गरेको आक्रमणपछि गत वर्ष इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि यो जापानी सहरमा आयोजित पहिलो शान्ति स्मारक हो । 

समारोहमा सधैँजसो इजरायली राजदूतको उपस्थिति थियो तर हिरोशिमाले प्यालेस्टिनी प्रतिनिधिलाई आमन्त्रित नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

सहरका एक अधिकारीले बताएअनुसार हिरोशिमाले इजरायललाई दिएको निमन्त्रणा पत्रमा “सकेसम्म चाँडो युद्धविराम र वार्ताको माध्यमबाट समाधान” को आह्वान गरेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१
https://jawaaf.com/storage/01J4K31MMYPFMA747A2C4XBF5N.webp

आज देशभर वर्षा हुने

काठमाडौँ, २२ साउनः हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  मुसलधारे वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको  क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ । 

प्रकाशित मितिः मङ्गलबार, २२ साउन २०८१