‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’
काठमाडौँ, १९ असोजः हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन । त्यसैले धेरैका लागि यो दसैँ उमङ्गविहीन हुने भएको छ ।
हुन त बाढिपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । “हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन”, ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भन्नुभयो ।
बाढीपहिराले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ । विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटर्वक नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । “यहाँ धेरै नै दर्दनाक अवस्था छ । सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन । जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन । त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन”, उपाध्यक्ष गोलेले समस्या व्यक्त गर्नुभयो ।
छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नं २ विपद्बाट प्रभावित भयो । यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ । “प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरु पनि छन् । उहाँहरूसँग अब केही बाँकी छैन । उहाँहरुलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ । दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ । आवतजावतका लागि गाउँपालिकाले मर्मसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ”, उपाध्यक्ष गोलेले भन्नुभयो, “गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन । सङ्घ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ । जेनतेन बाटो खुलाइएकाले अब सहयोगी सङ्घसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।”
यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताउनुभयो । “खोनपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ”, उहाँद्वारा सहयोगका लागि जारी गरिएको अपिलमा भनिएको छ, “विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन । विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ ।”
यस गाउँपालिका क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् । विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।
यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ । सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर दसैँअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । “अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ । तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं । बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गर्छौं ।”
बाढीपहिरोका कारण यस नगरपालिका– वडा नं ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ । विपद्का कारण २० जनाको मृत्यु भएको छ । वडा नं ७ मा अझ बढी समस्या छ । यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ । “यो पालिका पहाडी भूभागसँग जोडिएको छ । दुर्गम ठाउँ छ । विगतदेखि नै पहिरोको जोखिम रहेका स्थानमा यसपटक निकै क्षति भयो । बाटोघाटा अवरुद्ध छन्”, उपप्रमुख अधिकारीले भन्नुभयो, “शुक्रबारदेखि प्रायः जस्तो वडामा ‘ट्र्याक’ खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन् । कतिपय वडामा सडक अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ । टीकाभैरवको अवस्था नाजुक छ । घर, विद्यालय, पुललगायत सडक पहिराले क्षतिग्रस्त छ ।”
यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ ।
कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल
फुङ्लिङ(ताप्लेजुङ), १९ असोजः कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् ।
घुन्सास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् ।
पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका बताउनुभयो । विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजङ्घा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ । यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ ।
पर्यटकका सहयोगीको मृत्यु
कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् ।
विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
काठमाडौँ, १८ असोजः आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।
त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् ।
विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छभने कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छभने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएईसँग खेल्नेछ ।
चार टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।
एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
चौतारा (सिन्धुपाल्चोक), १८ असोजः जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ ।
निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ ।
यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताउनुभयो ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गर्नुभयो ।
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
गलकोट (बागलुङ), १८ असोज : हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ ।
तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौैँदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ ।
माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताउनुभयो ।
खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,” कृष्ण माझीले भन्नुभयो “जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।”
स्थानीय देउकुमारी माझीले भन्नुभयो, “जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।” जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उहाँको भनाइ छ ।
दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् ।
दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।
राष्ट्रपति भवनमा घटस्थापना
काठमाडौँ, १७ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ ।
दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो ।
आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ I
जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल
राजविराज (सप्तरी), १७ असोजः सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ ।
कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो ।
कोशी पुलमा दसँै सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ । “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।”
केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो । “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो ।
सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ । “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो ।
सुनको मूल्य तोलामा रु एक सयले घट्यो
काठमाडौँ, १४ असोजः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
काठमाडौँ, १३ असोजः नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको छ”, पोख्रेलले भन्नुभयो ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन् । एकजना व्यक्तिले रु पाँच, दश, बीस, पचास र एक सय दरका नोटसहितको रु १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।
सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई
कास्की, १२ असोज : विश्व पर्यटन दिवसका सन्दर्भ पारे आज पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जित्नुभएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रवद्र्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो ।
खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमी दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गर्नुभयो । उहाँले उपाधि सहित नगद रु २५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्वितीय हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार पाउनुभयो । पोखरा–१७ का प्रकाश थिकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय हुनुभयो र रु सात हजार पुरस्कार पाउनुभयो ।
यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जित्नुभयो । उहाँले रु सात हजार पुरस्कार पाउनुभयो ।
यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै रु सात हजार र मेडल पुरस्कार पाउनुभयो । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी रु सात हजार सहित उपाधि जित्नुभयो । पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।
यसअघि प्रतियोगिताको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नुंभएको थियो । सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक दीननाथ बरालले पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको बताउनुभयो ।



























