मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ
भोजपुर, १२ असार I सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु एकरोड ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको रु एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो ।
स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाको रु ४५ लाख, प्रदेश सरकारको रु ५२ लाख १५ हजार, सङ्घीय सरकारको रु १० लाख ५० हजार र स्वीस सरकारको रु ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताउनुभयो । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह भएकाले त्यसलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यका रुपमा स्थापित हुँदै गएकाले यसको थप विस्तार र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेर थप लगानी सुनिश्चितता गरिएको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत स्थापित गर्ने योजनाको साथ काम गरिरहेको बताउनुभयो । यो पदमार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो पदमार्गको थप विकासका लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ । यसलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतकारुपमा स्थापित गराउने लक्ष्य छ ।”
मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चाँैरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।
धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर
धरान (सुनसरी), १० असार I धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरुको विश्वास छ ।
झापाबाट श्राद्ध गर्न पहिलो पटक आउनुभएका मिलन तिम्सिना विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बुबाआमाको नाममा श्राद्ध गर्न बराहक्षेत्र र पिण्डेश्वरमा पूजा गरेर यहाँ आएको हुँ । यहाँ आइपुग्न अरु ठाउँ जस्तो सजिलो छैन, बाटो र सवारी साधनको राम्रो सुविधा नभए पनि यहाँ श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त हुने विश्वास छ ।”
मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आउनुभएका सुमन विष्टले विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेको बताउनुभयो । विष्णुपादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका मात्र नभएर भारतका विभिन्न ठाउँबाट भक्तजन आउने विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताउनुभयो । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृलाई पिण्ड तर्पण गर्न लाखौँको सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।
धरानको मुख्य बजारबाट १२ किलोमिटरमाथि रहेको विष्णुपादुका मन्दिरमा दैनिक एक सय ५० देखि दुई सयसम्म भक्तजन आउने धरान विष्णुपादुका–२० का वडाध्यक्ष पदम लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “यो धार्मिक पर्यटकीय मन्दिर भएकाले यसकोे संरक्षण र प्रचारप्रसारको आवश्यता छ ।”
विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ । यस मन्दिरमा पूजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहीँ ब्राह्मण पुजारीले गर्छन् । उक्त मन्दिरमा पुस्तौँदेखि मुख्य पुजारीको रुपमा तामाङ जाति रहने गरेका छन् ।
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा
म्याग्दी (बेनी), ९ असार I बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो ।
युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ । गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर भर्नुभएको छ । गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडियो छायाङ्कन भइरहेको निर्देशक डिके पुनले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ ।
मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गर्नुभएको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गर्नुभएको छ । टिकाबहादुर श्रेष्ठले रचना गर्नुभएको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाउनुभएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।
विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उहाँकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनःनिर्माण गर्न लागिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गर्न लागेको छ । दुवै गीत र म्युजिक भिडियो पुनःनिर्माणमा करिब रु आठ लाख खर्च हुने जनाइएको छ । सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायाङ्कन गरिएको छ ।
शेखर पुन र मिलन थापा मगरले अभिनय गर्नुभएको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । म्याग्दीका कलाकारले सृजना गरेका गीतसङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेर बजारमा ल्याउँदा जिल्लालाई थप उचाइमा चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिनकुमार श्रेष्ठले बताउनुभयो ।
टि–२० विश्वकपः भारतद्वारा बङ्गलादेश पराजित
काठमाडौँ, ९ असार I आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे ।
भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई–दुई विकेट लिए । हार्दिक पान्ड्यले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यसैगरी विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा कप्तान रोहित शर्माले २३ रन जोडे ।
बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई–दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए ।
‘नेपाल आइडल–५’ को उपाधि करणलाई
काठमाडौँ, ९ असार I प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।
विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गर्नुभयो ।
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक हुनुहुन्थ्यो ।
पर्यटकको रोजाइमा वेतना सिमसार
बेलबारी (मोरङ) ८ असार I पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको हो ।
दुई प्रजातिका वेत वनस्पतीको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भटराईले बताउनुभयो । यहाँ विषेश गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमापर्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।
करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भटराईले जानकारी दिनुभयो ।
यहाँ पाइने वनस्पती, पशुन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पती यस क्षेत्रमा पाइन्छन् ।
सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमीनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिनुभयो । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्पm तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फुलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पुर्वी नेपालको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनरका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् ।
वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार प्रवेशवापत रु ३० को टिकट निर्धारण गरिएको छ ।
अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ, ८ असार I अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ ।
नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।
“नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो ।
यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् । यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।
आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो
काठमाडौँ, ७ असार I आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।
एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अष्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अष्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए । बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक÷एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।
आइसिसी टि–२० विश्वकप क्रिकेट: भारतद्वारा अफगानिस्तान पराजित
काठमाडौँ, ७ असार I आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।
भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे ।
यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए ।
भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।
अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।
सङ्खुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
किमाथाङ्का (सङ्खुवासभा), ६ असार I खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाको आयोजनामा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सङ्खुवासभामा पहिलो पटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले गर्नुभयो । उहाँले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबै पालिकाले लगानी गर्नु आवश्यक भएको धारणा राख्नुभयो ।
प्रतियोगितामा भातरको कोलकात्ता, ग्यानटोक, सिक्किम, दार्जिलिङसहित नेपालका ९२ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको भेट्रान्सतर्फ ३० टिम, मेन्स डबलतर्फ आठ टिम र बी डिभिजन जिल्लास्तरीय ५४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेपुरुष डबलतर्फ रु ६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई रु १०–१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भेट्रान्सतर्फ रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोस्टेडियममा सञ्चालन भइरहेको छ । ब्याडमिन्टन प्रतियोगितामा करिब रु १० लाख बराबरको खर्च हुने अनुमान गरिएको छ । ब्याडमिन्टन प्रतियोगिताको समापन असार ८ गते हुने आयोजकले जनाएको छ ।