Disaster update: 192 dead, 30 missing
Kathmandu, Sept 30: As many as 192 people have so far lost their lives and 30 others have gone missing in the floods, landslides and inundation caused by incessant rains.
Home Ministry spokesperson Rishiram Tiwari informed 194 people were injured in the incidents of natural disaster. He said that more than 4,500 disaster-affected people have been rescued so far by mobilizing all security agencies for search, rescue and relief after the floods and landslides.
Emergency relief materials, including food, have been provided to the flood and landslide affected people and the injured are being treated free of cost. Spokesperson Tiwari said that efforts are being made to open the obstructed highway for the operation of traffic.
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
ललितपुर, १४ असोज: शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।
शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ । बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।”
ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पु¥याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् । करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उहाँले भन्नुभयो, “समाचारकानुसार बाढी आउलाकि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।”
त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने एकीन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा हुनुहुन्छ । “म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरीखाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतैबा राहातको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ”, उहाँले भन्नुभयो ।
नख्खु खोलाले क्षति पु¥याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नख्खु खोलाले क्षति पुर्याएकोमा हामी निकै दुःखी छौँ । हाम्रो वडामा अवरोध भएको बाटो, विद्यत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।”
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
चितवन, १४ असोजः गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छनभने १२९ जना जिल्लाबाहिरका रहेका उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताउनुभयो ।
सुनको मूल्य तोलामा रु एक सयले घट्यो
काठमाडौँ, १४ असोजः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
खोटाङ, १४ असोजः अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छनभने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन”, उहाँले भन्नुभयो, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।”
बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।
बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उहाँले भन्नुभयो, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र रु ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।”
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौँ, १४ असोज: काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।
विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर बर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।
ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ ।
ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर बर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी प¥यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् ।
असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । एकैपटक आरीबाट घोप्ट्याए जसरी वर्षा हुँदा ठूलो जनधनको क्षति हुन पुगेको हो । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा तीन सय ३१ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ ।
विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने खालको वर्षा हुन थालेको छ । यो जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।
विभागले उपलब्ध गराएको विवरण अनुसार सन्धिखर्कमा एक सय ९६ दशमलव छ, चितवनको गोविन्दबस्तीमा दुई सय ६४, धादिङको गजुरीमा दुई सय ६१ दशमलव दुई, झापाको चन्द्रगढीमा दुई सय ५६, काभेपलाञ्चोकको पाँचखालमा दुई सय ३२ दशमलव पाँच, धुलिखेलमा दुई सय २४ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । नुवाकोटको ककनीमा एक सय ६९ दशमलव दुई, सिन्धुपाल्चोको बाहुनेपाटीमा एक सय ९० दशमलव छ, मकवानपुरको दामनमा चार सय १० मिलिमिटर वर्षा भएको छ । पाल्पाको बल्ड्याङगढीमा दुई सय ५२, पाँचथरको फिदिममा एक सय ७२, तनहुँको सखरमा दुई सय १४ र तनहुँको खैरनीटारमा दुई सय ५२ दशमलव तीन मिलिमिटर बर्षा मापन भएको छ ।
वर्षाको प्रवृत्तिमा आएको बदलाव, पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने उपायको खोजी गर्न नसक्दा ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सावधानी अपनाउनु नै अहिलेको प्रमुख कार्यभार हुन जान्छ ।
पूर्वानुमानमा सफलता
यसपटक विभागले गरेको पूर्वानुमान करिब मिल्न गएको छ । विभागले असोज १२ गते बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वअनुमान गरेको थियो । त्यसअघि विभागले असोज ७ गते नै विशेष बुलेटिनमार्फत असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षा धेरै हुने भएकाले सचेतता अपनाउन आग्रह गरेको थियो ।
उच्च सतर्कता अपनाउन विभागले सूचित गर्दै २७ जिल्लालाई उच्च जोखिमको सूचीमा समेत राखेको थियो । विभागले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला, मझौला र साना नदीमा जलसतह बढ्ने अनुमान गरेको थियो । यस्तै धानबाली नकाट्न र यात्रा गर्दा सावधानी अपनाउन, पूर्वतयारी गर्न सचेत गराएको थियो ।
‘मास एसएमएस’ लाई व्यापक गर्ने तयारी
विभागले हाल पठाउँदै आएको मास एसएमएस सेवालाई थप विस्तार गर्ने भएको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कर्माचार्यले एसएमसएस सेवालाई वडा तहसम्म पु¥याउने तयारी गरिएको जानकारी दिनुभयो । विभागले बाढीको सूचना एकैपटक जोखिम बढी भएको क्षेत्रमा पठाउने गरेको छ । अब त्यसलाई विस्तार गरेर वडा तहसम्म पु¥याउने र पूर्वसूचना प्रणालीलाई थप विस्तार गर्न लागेको उहाँको भनाइ छ । बर्षा बाढीको सूचना पठाउने गरिएका थप विपद्को जोखिमको बारेमा पनि जानकारी दिने गरी विभागले तयारी गरिरहेको छ ।
पूर्वसूचना उपलब्ध गराउने लक्ष्यका साथ मोबाइल एपको कामसमेत प्रारम्भ भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । “हामीले आगामी दिनमा पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन मोबाइल एप निर्माण गर्ने तयारी गरेका छौँ । यसबाट पूर्वसूचना प्रणाली थप व्यवस्थित हुनेछ”, उहाँले भन्नुभयो । यसपटक विभागले समयमै सचेत गराएका कारण थप क्षति हुनबाट जोगिएको भए पनि सबै स्थानमा पूर्वसूचना पुग्यो वा पुगेन भन्ने बारेमा आवश्यक अध्ययन गर्ने जनाएको छ ।
कञ्चनपुरमा भएको थियो अति भारी वर्षा
विभागका अनुसार गत असार २३ र २४ गते कञ्चनपुरमा अति भारी वर्षा भएको थियो । कञ्चनपुरको दोधारा वर्षामापन केन्द्रमा छ सय २४ मिलिमिटर, हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव छ मिलिमिटर र सुन्दपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव आठ मिलिमिटर बर्षा मापन गरिएको थियो ।
यस वर्ष गत जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन गत असार १४ गतेदेखि २४ गतेसम्म सक्रिय भएको थियो । त्यसक्रममा सूदूरपश्चिम प्रदेशको दक्षिण पश्चिम भूभागमा गत असार २३ र २४ गते अति भारी वर्षा भएको थियो । त्यसो त विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने जनाएको थियो ।
वायुमण्डलीय तथ्याङ्क, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम ‘मोडल’ बाट प्राप्त भएको मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट त्यस दिन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण पश्चिम भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले जनाएको थियो ।
विभागको विसं २००३ (सन् १९४७) देखिको तथ्याङ्कअनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको विवरणमा गत असारको बर्षा हालसम्मकै उच्च हो । विभागका अनुसार, विसं २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबैभन्दा धेरै पाँच सय १६ दशमलव दुई मिलिमिटर वर्षामापन भएको गरिएको थियो । भूसंरक्षण विभागको विवरणअनुसार, विसं २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ वर्षामापन केन्द्रमा पाँच सय ४० मिलिमिटर बर्षा मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आशिंकदेखि साधारणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागमा एक दुई स्थानमा हल्का वर्षा हुनेछ ।
कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध
भोजपुर, १४ असोजः केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।
वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जोड्ने भोजपुर–घोडेटार सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण सडक हिलाम्मे बन्दा यातायात सञ्चालनमा समस्या भएको हो । अविरल वर्षाका कारण जिल्लालाई पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमाअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । यो सडकखण्डको अरुण गाउँपालिका–४ माङसुवा, ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएकोे छ ।
ग्रामीण क्षेत्रका सडकमा पहिरो खस्दा स्थानीयलाई समस्या भएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार–होम्ताङ सडकमा पहिरो खसेर अवरोध भएकाले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिका क्षेत्रका धेरैजसो सडकमा क्षति पुगेकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताउनुभयो ।
दक्षिणी क्षेत्रको तराईका जिल्लासँग जोड्ने एकमात्र विकल्पका रूपमा रहेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार झोलुङ्गे पुलमा बाढी क्षति पुर्याएको छ । अविरल वर्षाका कारण हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुर बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीको झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या भएको हो । यहाँ पक्की पुल नहुँदा यही झोलुङ्गे पुलको मध्यमबाट मानिस तराईका जिल्ला पुग्ने गरेका थिए । योसहित दक्षिणी क्षेत्रका चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
वर्षासँगै आएको पहिराले भोजपुर नगरपालिका–४ की चन्द्रकला श्रेष्ठको घर र वडा नं ५ मसिनेबेँसीका भीमबहादुर दाहाल घरमा क्षति पुगेको, टेम्केमयुङ गाउँपालिका–६ गुठाका डिकबहादुर सार्कीको गोठ पुरिँदा दुई बाखा र तीन बोका गरी पाँच वटा चौपाया मरेका, टेम्केमैयुङ–६ कै स्वास्थ्यचौकी पनि पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
‘नेपाललाई सघाउन पाकिस्तान तत्पर छ’
काठमाडौँ, १४ असोजः पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।
यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्बद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
काठमाडौँ, १३ असोज : यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।
काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।
स्थानीय नानु लामाले भन्नुभयो, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”
लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उहाँले भन्नुभयो ।
नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउनुहुन्छ ।
यात्रुहरु परिवारजनलाई खोज्दै
घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।
यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् । उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ । निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
बेलायत : नयाँ नेतृत्व र भावी दिशा तय गर्न कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला
लण्डन, १३ असोज :चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक हुन लागेको हो ।
सन् २००९ पछि कन्जरभेटिभ्स विपक्षमा रहेर हुन लागेको यो पहिलो सम्मेलन हो। भेलामा चार जना उम्मेदवारले संसदीय सहकर्मी र ग्रासरुटका सदस्यहरूको अगाडि आफ्ना भनाई राख्नेछन् र उनीहरूलाई पूर्व–प्रधानमन्त्री ऋषि सुनकलाई अर्को टोरी नेताको रूपमा प्रतिस्थापित गर्न सहमत गराउने प्रयास गर्नेछन्।
बेलायतको दोस्रो ठूलो सहरस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टरको मुख्य हलमा केमी बाडेनोच, रोबर्ट जेनरिक, जेम्स क्लेभरली र टम टुगेन्धाटले भेलालाई सम्बोधन गर्नेछन् ।
युनिभर्सिटी अफ म्यानचेस्टरका राजनीतिका प्राध्यापक रोबर्ट फोर्डले एएफपीसँग भन्नुभयो, “ भेला अनिवार्य रुपमा हुने ‘ट्यालेन्ट परेड’ हुनेछ ।
कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवारको टुङ्गो लगाउन अर्को हप्ता मतदान गर्नेछन्। त्यसपछि अक्टोबरको अन्त्यमा बन्द हुने मतदानमा पार्टीका सदस्यहरूले विजेता चयन गर्नेछन्।
बेलायतको नयाँ विपक्षी नेता र पार्टीलाई पुनः एकताबद्ध गर्ने र पुनः निर्वाचित गराउने जिम्मेवारी पाउने नेताको चयन भेलाले गर्नेछ यद्यपि, यसको घोषणा नोभेम्बर २ गरिने छ ।
जुलाई ४ मा कन्जरभेटिभ्सको अहिलेसम्मकै सबैभन्दा खराब आम चुनावको परिणामपछि पार्टीले नयाँ नेतृत्वमा जो आएपनि दायाँबायाँ अगाडि बढ्ने वा सिधै अघि बढ्ने निर्णय गर्नेछ ।
बेलायतको ६५० सदस्यीय संसद्मा लेबर पार्टीले १७४ सिटको भारी बहुमत प्राप्त गरेको छ । टोरीहरूले संसद्मा यसअघि रहेको २५१ सिट गुमाएर मात्र १२१ सिट मात्र जितेको छ । यो उनीहरूको इतिहासमा सबैभन्दा कम सङ्ख्या हो।
सन् २०१९ मा भएको अघिल्लो चुनावमा टोरीहरूले बोरिस जोनसनको नेतृत्वमा ३६४ सदस्यसहित लेबर पार्टीको २०३ सिटभन्दा करिब ८० सिटको बहुमत प्राप्त गरेका थिए।
राजनीतिक सङ्कट
पार्टीमा व्यापक उथल–पुथल भएको छ । डाउनिङ स्ट्रिटका कर्मचारीहरूले कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनको समयमा पार्टीका नेताले गरेका थुप्रै स्क्यान्डलहरूले जोनसनलाई पदबाट हट्न बाध्य तुल्याएको थियो।
त्यसपछि उहाँको उत्तराधिकारी लिज ट्रस बन्नुभएको थियो तर उहाँको मिनी–बजेटको कारण उहाँको नेतृत्वको सरकार केवल ४९ दिन मात्र चलेको थियो । उहाँको मिनी बजेटका कारण पाउण्डको मुल्यमा आएको गिरावटले बजारलाई बेलायतको आर्थिक बजारलाई त्रसित बनाएको थियो ।
प्रभावित बजारलाई स्थिर राख्न ल्याइएका सुनकले त्यो स्खलनलाई उल्ट्याउन सक्नुभएन र उहाँको २० महिनाको कार्यकाल गुटगत कलहले बिथोलियो।
नयाँ जनमत लिन घोषणा गरिएको चुनावपछि उत्तराधिकारी चयन गर्ने र आफूले राजिनामा दिने सोच उहाँले बनाउनुभएको थियो ।
पार्टीले दुविधाको सामना गरिरहेको छः के यसले नाइजेल फारेजको कट्टर दक्षिणपन्थी सुधारवादी यूके पार्टीमा प्रवेश गरेका मतदाताहरूलाई जिताउन ध्यान केन्द्रित गर्नुपर्दछ वा मध्यमार्गी लिबरल डेमोक्र्याट्समा प्रवेश गर्नेहरूको समर्थन पुनः प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ?
हालका वर्षहरूमा समग्र रूपमा पार्टी दक्षिणपन्थी भएको छ तर बाडेनोच र जेनरिकलाई उम्मेदवारहरूको अधिक दक्षिणपन्थीको रूपमा हेरिएको छ भने क्लेवरली र टुगेन्धाट मध्यको नजिक छन्।
लण्डनको क्वीन मेरी युनिभर्सिटीका राजनीतिका प्राध्यापक टिम बेलले भन्नुभयो, “यो सत्य हो कि अन्य दलमध्ये कुनै एकले यसलाई पूर्णरूपमा परित्याग नगरेसम्म यसले मध्यमार्गी बाटो अवलम्बन गर्दा नै बिजय प्राप्त गर्न सक्ने देखिन्छ।”
उहाँले भन्नुभयो, “अब लेबर पार्टी यसलाई उकास्न पूर्णतया कटिबद्ध देखिन्छ, यस्तो देखिन्छ कि कन्जरभेटिभहरूले सम्भवतः त्यस क्षेत्रमा लड्नुपर्छ।” सम्मेलन बुधबार सकिनेछ ।”





























