निरन्तरको वर्षाले भोजपुरका विभिन्न सडक अवरुद्ध
टक्सार (भोजपुर), १२ असोजः निरन्तरको वर्षाले गएराति अरुण गाउँपालिका–४ माङसुवा र ओदानेस्थित हिले–भोजपुर मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुख, ढुङ्गा, माटो, लेदोसहितको पहिरो जाँदा पाँच किलोमिटर सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय पालिकासँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो ।
जिल्लाको पश्चिम टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीस्थित भोजपुर–खोटाङ पुष्पलाल मध्यपहाडी लोकमार्गमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट प्रहरी नायब निरीक्षक हुसनकाजी राईसहितको टोलीले सम्बन्धित पालिकासँगको समन्वयमा पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाले जिल्ला ट्राफिक कार्यालयको भान्सा घर, कार्यालय र ब्यारेक जोखिममा परेपछि कार्यालय नजिक बसोबासको व्यवस्था मिलाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले अरुण–३ का नेत्रबहादुर बस्नेत, भोजपुर नगरपालिका–४ का चन्द्रकला श्रेष्ठ र भोजपुर–५ का भिमबहादुर दाहालको घरमा पूर्ण रुपमा क्षति भएको छभने भोजपुर–४ का हरिबहादुर खड्काको गोठमा क्षति भएको छ ।
जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट उद्धार तथा राहतमा खटिएका प्रहरीको टोलीले पहिरो प्रभावितलाई उद्धार गरी अस्थायी बासको व्यवस्था मिलाएको श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपककुमार श्रेष्ठको नेतृत्वमा १४ र सशस्त्र प्रहरी बल पाँच नं गुल्मबाट सहायक प्रहरी निरीक्षक ऋषी खत्रीको नेतृत्वमा १५ जनाको टोली उद्धार तथा राहतमा खटिएका उहाँले जानकारी दिनुभयो ।
वर्षाले भोजपुर–६ देउरालीबाट वडा नं ५ बोखिमसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । अहिले स्थानीय, प्रहरी तथा सम्बन्धित सथानीय तहका जनप्रतिनिधिसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम
गण्डकी, १२ असोजः विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभएको छ । उहाँले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा शुक्रबार आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अनलाइनमार्फत प्राप्त भएका २०७ तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल हुनुभएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो ।
अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवद्र्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताउनुभयो । विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उक्त सेवाको शुभारम्भ गर्दै उहाँले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो ।
“प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो ।
अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ । दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो ।
पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।
अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक थिए । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।
मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध
फिक्कल (इलाम), १२ असोजः मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
आज बिहान ३ः३० बजे सडकमाथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । ढुङ्गाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
साना गाडीका लागि एकतर्फी सवारी आवतजावत खुलाउने कोसिस भइरहेको उहाँले बताउनुभयो । ग्याबिन जालीसहितको पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएका कारण ठूला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालले बताउनुभयो ।
सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् । पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
त्यसैगरी इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ ।
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध
पाँचथर, १२ असोजः अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो । गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो । ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
धरान (सुनसरी), १२ असोजः निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु
पाँचथर, १२ असोजः पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।
पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पहिरोका कारण चतरा बराहक्षेत्र सडकखण्ड अवरुद्ध
धरान : निरन्तरको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित विभिन्न स्थानमा खसेको पहिरो र खोलामा आएको बाढीका कारण बराहक्षेत्र चतरा सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीका अनुसार बराहक्षेत्र नगरपालिका १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको बाढीका कारण चतरा र बराहक्षेत्र मन्दिर जाने बाटो आज दिउँसो १२ः३० बजेदेखि नै अवरुद्ध भएको जानकारी दिए ।
आज विहान मोरङको बिराट चोक र सुनसरीको ईटहरीबाट बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका भक्तजनहरु नगरपालिका वडा नम्बर १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको पहिरोको कारण बिचमा अलपत्र परेका १५ जना भक्तजनहरुलाई इलाका प्रहरी महेन्द्रनगर चक्रघट्टि इलाका प्रहरी कार्यलय चतरा र प्रहरी चौकी बराहक्षेत्रकाबाट खटिएको प्रहरीको टोलिले सकुसल उद्धार गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।
सुनसरी मातहतबाट खटिगएको प्रहरी टोलिले बाटो पन्छाउने काम गरिरहेको भए पनि अहिले निरन्तर पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी प्रवक्ता भण्डारीको भनाई छ ।
माथिबाट ढुङ्गा माटो र लेदो सहितको पहिरो खसिरहेकोले अहिले जेसिभीले पनि काम गर्न सकेको छैन । दिउँसोबाटै सवारी आवतजावत बन्द भएको छ भने पैदल यात्रामा पनि आवतजावतमा बन्द गरिएको उनले बताए । पानी परिरहेको छ पानी रोकिए पछि हामी खोल्ने प्रयास गर्छौ उनले भने ।
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौँ, ११ असोज : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्ने समेत निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले राजस्व न्यायाधीकरणले नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने र वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत, दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
चितवन, ११ असोजः अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो ।
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
भोजपुर, ११ असोज : भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिमा प्रतिमोह बढेको हो । यहाँका युवाहरुले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्य आम्दानी समेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यहि नै उद्यममा जुटेका हुन् ।
टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । विदेशमा १५ वर्ष विताउनुभएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नु भएको हो । “विदेशमा लामो समय विताए” उहाँले भन्नुभयो,“धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यहि राम्रो आम्दानी गरिरहेको छु ।”
विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरुले विदेशमा बगाउने पसिना यहि बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ ।कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँले बताउनुभयो ।
विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो । उहाँले व्यावसायबाट वर्षमा रु.तीनदेखी पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताउनुभयो । अबको केहि वर्षमा बार्षिक रु. छ देखी आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । १५ रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उहाँको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उहाँले बताउनुभयो । “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु”उहाँले भन्नुभयो,“आफ्नै ठाँउमा योजनावद्ध रुपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”
युवाले विदेश जान भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रुपमा काम शुरुआत गरेको उहाँले बताउनुभयो ।






























