नेप्से परिसूचक ५९ अङ्कले घट्यो
काठमाडौँ, ७ असोजः स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
बेइजिङ, ७ असोज : इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ ।
हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाको लागि स्थानान्तरणको निर्देशन दिएको हो ।
नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको उल्लेख गरिएको छ ।
यसैबीच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन् ।
दक्षिणी बेरुतको सघन जनसङ्ख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकील मारिएका थिए ।
प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान
काठमाडौँ, ७ असोजः नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनुहुनेछ ।
प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गर्नुभएको थियो ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण
कोलम्बो, ७ असोज : श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभएको थियो ।
सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो ।
सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गर्नुभएको हो ।
सपथ ग्रहणपछि दिसानायकाले भन्नुभयो, “जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।”
उहाँले भन्नुभयो, “म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।”
प्रधानमन्त्रीद्वारा राजिनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिनुभएको छ । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गर्नुभएको छ ।
दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उहाँलाई बधाई दिनुभएको थियो ।
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।
हिरासत कक्षबाट आठ थुनुवा फरार
महेन्द्रनगर ९धनुषा०, ७ असोजः जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार मध्ये एक जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ ।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनुभयो ।
यसैबीच,प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।
ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।
हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।
यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।
UN High Commissioner for HR calls on PM Oli
New York (USA), Sept 23: United Nations High Commissioner for Human Rights, Volker Türk paid a courtesy call on Prime Minister KP Sharma Oli at the Office of the Permanent Representative of Nepal to the UN here today.
PM Oli is currently in New York, the USA, in connection with participating in the 79th United Nations General Assembly, leading the Nepali delegation.
Nepal's peace process could be a model for the world
On the occasion, the UN High Commissioner for Human Rights, Türk, expressed his happiness over the endorsement of the legislations related to the Truth and Reconciliation Commission and the Commission of Investigation on Disappeared Persons, the two laws connected to finalization of the peace process in Nepal.
In the meeting, Türk stated that this topic of political consensus in Nepal could be a model for the world, according to Bishnu Prasad Rimal, the Principal Advisor to PM Oli, who was present during the meeting.
Similarly, the UN High Commissioner for Human Rights agreed that climate justice is inevitable to Nepal, as the melting of snow in the mountains of Nepal due to the global warming will affect the world.
Prime Minister Oli stressed on giving equal and strategic value to climate justice issues for protecting the human race in the world.
PM's Principal Advisor Rimal, Foreign Secretary Sewa Lamsal, and Nepal's Permanent Representative to the UN, Lok Bahadur Thapa were present during the meeting.
मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक
काठमाडौँ, ७ असोजः नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।
गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच उक्त गीत सार्वजनिकीकरण गर्नुभयो । डा आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा बद्री शर्माको सङ्गीत संयोजन छ । वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिनुभएको छ ।
आउँदै गरेको बडादसैँ र तिहारका लागि श्रोता तथा दर्शकलाई उपहार दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतका शब्दमा तामाङ सेलोका ठट्टा तथा रमाइलोको संयोजन छ । तामाङ जाति र समुदायको मौलिकता कायम राख्दै गीतको छाँयाङ्कनमासमेत नयाँपन दिन खोजिएको छ । गायक गुरुङको औपचारिक रेकर्ड भएको यो पहिलो गीत हो ।
बाल्यकादेखि गीत सङ्गीतमा चासो राख्ने मानार्थ उपरथी गुरुङले सैनिक जीवनमा रहँदा अनौपचारिक रुपमा गीत गाउँदै आउनुभएको थियो । तामाङ समुदायको इतिहास र परम्परासँग जोडिएको यस गीतले समुदायको जीवन शैली, भावना र अनुभवलाई प्रतिबिम्बित गरेको छ । तामाङ सेलो भाका नेपाली समाजमा खुसी र उत्सवको प्रतीका रुपमा चिनिन्छ ।
विद्यार्थीलाई ‘झोला उपहार’
खोटाङ, ६ असोज : यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय (४९ वटा)मा अध्ययनरत विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको हो ।
उहाँले हालसम्म चारवटा विद्यालयका तीन सय ५४ विद्यार्थीलाई झोला वितरण गरिसक्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका एक सय २९, वडा नं–७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गर्नुभएको हो ।
राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरुप झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका छन् । व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि वितरण गर्दै आउनुभएका राईलाई सम्बन्धित विद्यालयले सम्मान गरेको छ ।
झोला अभावमा हातमा किताब÷कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरुप झोला प्रदान गर्ने अभियान शुरु गरेको उहाँले बताउनुभएको छ । “सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पथ्र्यो । हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उहाँँले भन्नुभयो, “किताब÷कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ । त्यही बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ ।”
विसं २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले जानकारी दिनुभयो । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान शुरु गरेको उहाँको भनाइ छ ।
आफ्नो कमाइको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको उहाँले बताउनुभयो । उहाँ काठमाडौँमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय सञ्चालन गर्नुहुन्छ ।



























