कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
सिन्धुली, ६ असोजः करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।
हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो । परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।
यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो, “उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्नुहुँदै व्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताउनुभयो । कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा हेफर इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले भन्नुभयो, “हामीले हेफर इन्टरनेशनलको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा उपहार हस्तान्तरणका माध्यामबाट सामाजिक एकतासँगै रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।”
यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गर्नुभयो । मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उहाँको भनाइ छ ।
हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताउनुभयो । आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उहाँले बताउनुभयो । यसबाट गरिबी र भोकमरी अन्त्य हुनेमात्र नभइ दिगो खाद्य सुरक्षा र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने डा रेग्मीको भनाइ छ ।
कोरियाबाट उपहार पाएका दुईवटा गाई पालिरहनुभएकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउनुहुन्छ । “मेरो परिवारको मुख्य पेसा खेती किसानी र पशुपालन हो । पहिले पनि गाई पाल्थ्यौँ तर त्यो आफैँलाई खानका लागि मात्र पुग्थ्यो । अहिले कोरियाबाट आएका गाईको दूध बेचेर मैले परिवार खर्च चलाउने, छोराछोरी पढाउनेमात्र होइन, केही बचत पनि गर्न थालेकी छु”, उहाँले भन्नुभयो । अधिकारीले आफूले उपहार पाएको गाईबाट जन्मिएको बाछी स्थानीय कुसुम थापालाई दिनुभएको छ ।
कृषि तथा पशुपालनका माध्यमबाट भोकमरी र गरिबी अन्त्य गर्ने उद्देश्य राखेको हेफरले उपहारको संस्कृतिलाई पनि प्रवर्द्धन गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकी नागरिक ड्यान वेस्टले कोरियाका गरिब किसानलाई १७ वटा गाई बाँड्नुभएको थियो । त्यसरी बाँडिएका गाईबाट त्यहाँको किसानको जीवनस्तर सुधारमात्र नभइ दुग्धजन्य वस्तु उत्पादनमा कोरियाले अग्रणी मुलुकका रूपमा परिचय बनाएको छ । नेपालमा पनि सुरुमा एक सय वटा गाई ल्याएर ५१ किसान परिवारलाई बाँडेकामा त्यसलाई उपहार संस्कृतिकै माध्यामबाट बढाएर पाँच लाख पुर्याउने र नेपालभित्र मात्र नभइक अन्य देशलाई पनि नेपालबाट उन्नत जातका गाई बाँड्ने अवस्थासम्म पुर्याउने लक्ष्य राखिएको हेफर एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष नीना जोशीले बताउनुभयो ।
पशुपालनका क्षेत्रमा नेपालले उल्लेख्य सुधार गरेको र यहाँ सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो देखिएका कारण ८०औँ वार्षिकोत्सव नेपालमा मनाइएको पनि हेफर इन्टरनेशनलले जनाएको छ । यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा हेफरका सहयोगदाता, विभिन्न देशका राष्ट्रिय निर्देशक, हेफरका संस्थापक ड्यान वेस्टको परिवारका सदस्यलगायतको उपस्थिति थियो । हेफरअन्तर्गतका परियोजना लागू भएका विभिन्न स्थानीय तहका प्रतिनिधि पनि वार्षिकोत्सवमा सहभागी थिए ।
मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल
मनाङ, ६ असोज : हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् ।
बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा मनाङमा यस मैत्रीपूर्ण खेलले निरन्तरता पाइरहेको छ । मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याकलगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भइरहेको छ । त्यस्तै तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा यही असोज ६ गते मैत्रीपूर्ण खेल प्रदर्शन हुने जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि खेलकुदको माध्यमबाट यहाँका स्थानीयवासीमा सचेतना र सुसूचित गराउने उद्देश्यले मैत्रीपूर्ण खेल गर्दै आएका छौँ । यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँचितुवा र याक महत्त्वपूर्ण छन् । यीबिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन कार्यक्रम गर्दै आएका छौँ ।”
स्पर्धामा टोली हिमालयन स्नो लिवपर्ड (राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टोली कान्जिसरा याक र मनाङ ङिस्याङ याक स्थानीय युवाहरू)बीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गराइने आयोजक एन्ट फाउण्डेशनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार काजिनसरा याकको खेल सकिएको छ भने मनाङ ङिस्याङ याकको खेल आज हुँदैछ ।
हिमालयन स्नो लिवपर्डमा कालाकार प्रशान्त ताम्राकार, मेनुका प्रधान, सुशील श्रेष्ठ, रेशमा पुन र असुसेन लामा रहनुभएको छ । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डङ्गोल रहनुभएको छ । प्रतिस्पर्धामा मिस नेपाल वल्र्ड आस्माकुमारी केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोही माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमन प्रताप अधिकारी, संरक्षणविद् डा पारसविक्रम सिंह, आँखा विशेषज्ञ डा किशोर प्रधान र उद्घोषक महिमा पण्डित भट्टराई रहेको आन्ट फाउण्डेशनले जनाएको छ ।
मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन रहेको छ । मैत्रीपूर्ण खेलले यहाँका स्थानीयमा सचेतना जगाउन टेवा पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष आयोजना भएको मैत्रीपूर्ण खेलमा भएको सूचनाले यहाँका स्थानीयवासीमा हिउँचितुवा, याकका साथै हाम्रो जीवनसँग परस्पर जोडिएको जीवजन्तुको संरक्षण गर्नुपर्ने रहेछ भनेर सचेत भएको पाएका छौँ ।”
जैविक विविधताको संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले नै खेलकुदको माध्यमबाट सचेतना फैलाउन लागिपरेको हो । यसले जिल्लाका स्थानीय तह र आम नागरिकमा सचेतना वृद्धि भएको स्थानीय बताउँछन् । केही स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि विशेष रूपमा नै बजेटको व्यवस्थापनमा समेत जोड दिँदै आएको छ । ‘हिउँचितुवा र याकका लागि सँगसँगै’ भन्ने नाराका साथ जिल्लाका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भइरहेका छन् ।
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान
महोत्तरी, ५ असोजः मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो ।
बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो । त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।
उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गर्नुभएको थियो ।
भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता
नयाँ दिल्ली, ५ असोज : युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको खबरपछि भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताउनुभएको छ ।
मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।
पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमाका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूहहरूले सेनासँग लडिरहेका छन् ।
मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदिप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतङ्कवादीहरूले सम्भावित सीमा पार गरेको सुचना प्राप्त गरेको पुष्टि गर्नुभएको छ ।
सिंहले सीमा चौकीलाई “सतर्क” गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा “कम्बाइङ अपरेसन” सञ्चालन गर्ने बताउनुभयो ।
महिनौंको सापेक्ष शान्तिपछि, यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउदै उनीहरु विरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।
मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ ।
सरकारी तथ्याङ्कअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तिमा दुई सय जनाको मृत्यु भएको छ ।
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
गण्डकी, ५ असोज : प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।
यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुुभयो । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उहाँले भन्नुुभयो, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।”
मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उहाँले यहाँ आएर कागवेनी श्राद्ध गरी मुक्तिनाथ भगवान्को दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताउनुुभयो ।
मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ ।
पछिल्ला समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको होटल व्यवसायी जयेश गुुरुङले बताउनुुभयो । उहाँका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठूला गरी ३२ होटेलले सेवा दिइरहेका छन् ।
सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उहाँले बताउनुुभयो । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुुभव सुनाउनुुभयो । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।
यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेछन् । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेछन् ।
सोही अनुरोधकै आधारमा सुवर्णप्रभाको निर्देशनमा मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिएको हो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो ।
रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।
मुुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको जनप्रीय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष निरज थकालीले बताउनुुभयो ।
मुस्ताङमा सुविधा सम्पन्न होटेलसँगै ठाउँठाउँमा घरवास सुविधा पनि उपलब्ध भएको जानकारी दिदै उहाँले केही दिन यता ठिनीस्थित थकाली सामुदायिक होमस्टे पर्यटकले भरिभराउ हुने गरेको बताउनुुभयो ।
हिमाली संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्न सक्ने गरी होमस्टेले पर्यटकलाई लोभ्याइरहेको बताउँदै उहाँले परम्परागत हिमाली संस्कृतिमा आधारित घरसँगै यहाँ नजिकै रहेको हिमचितुवा गुफाले पर्यटकलाई लोभ्याइरहेको जानकारी दिनुुभयो । स्थानीयले हिमाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ थकाली सङ्ग्रहालय पनि सञ्चालनमा ल्याएका छन् ।
ठिनीको पर्यटनसँग हिमचितुवा गुुफालाई जोड्ने प्रयास गरिएको बताउँदै उहाँले यसको पूर्वाधार व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको बताउनुुभयो ।
“सोह्र श्राद्धका कारण मुक्तिनाथ आउने पर्यटकसँगै यस क्षेत्रको अवलोकनका लागि उपयुक्त समय भएका कारण मुस्ताङभित्रने पर्यटकको संख्या बढ्दो क्रममा छ”, उहाँले भन्नुुभयो, “यही असोज १ गते बाट स्याउ टिप्न पनि खुुला भएकाले यहाँ आएका पर्यटकले स्याउ कोशेलीका रुपमा लैजान सक्नेछन् ।”
संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने
काठमाडौँ, ५ असोज : पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राख्नुभएको छ ।
भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहनुभएका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताउनुभयो ।
पूर्वमन्त्री आचार्यले भन्नुभयो, “देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई परिणाममुखी तुल्याउन भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको विषयमा सरोकार भएका निकाय तथा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशसभाका सांसद दीपेन्द्र श्रेष्ठले लोकतन्त्र प्राप्त भएपछि मुलुकले आर्थिक र समृद्धिका क्षेत्रमा विकास हुनुपर्नेमा राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायत कारणले सोचेअनुसार उपलब्धि हासिल हुन नसकेको विचार राख्नुभयो ।
अर्थशास्त्री डा रेवतबहादुर कार्कीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले वित्तीय अनुशासन कायम गरी त्यसलाई सुधार गर्दै अघि बढनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
संविधानका जानकार काशीराज दाहालले राजनीति र प्रशासनिक क्षेत्र आर्थिक अनुशासनभित्र नबाँधिएकाले भ्रष्टाचार बढ्न गई सुशासन प्रवर्द्धन हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार बविता बस्नेतले विद्यालय शिक्षा पूरा गर्नासाथ बालबालिका रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्तिले हाम्रा विश्वविद्यालयका कक्षाकोठा खाली हुँदै गएका भन्दै सरोकार भएका पक्षले विद्यमान नीति र व्यवहारमा सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद दाहालले विश्वविद्यालयका पाठ्यक्रमको निरन्तर फेरबदल, विभिन्न प्रयोग र परीक्षणले नेपालको शिक्षा क्षेत्रमा असल नतिजा ल्याउन समस्या भइरहेको उल्लेख गर्नुभयो ।
साहित्यकार रमेशमोहन भट्टराईलाई ‘ज्येष्ठ नागरिक सम्मान’का साथै विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने १० जना छात्रालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
बयनसिंह राईको अध्यक्षतामा एकचालिस सदस्यीय जसपा वडा समिति चयन
धरान, ५ असोज :जनता समाजवादी पार्टी धरान उपमहानगर वडा नं ११ समिति पुनर्गठन भएको छ । हिजो वडाकै सगरमाथा टोलमा गरिएको पुनर्गठन भेलाले बयनसिंह राईको अध्यक्षतामा एकचालिस सदस्यीय वडा समिति चयन गरेको हो ।
पुनर्गठित वडा समितिको उपाध्यक्षमा माया थापा, बखत राई, नरेन्द्र राई, दिलन राई चयन भएका छन् । सचिवमा परम कुलुङ्ग राई, सहसचिवमा रेविका लिम्बु, अजय राई (उदय), विश्वहाङ चाम्लिङ राई त्यसैगरी समितिका कोषाध्यक्षमा रिना लिम्बु चयन भएका छन् ।
वडा समिति सदस्य पदहरूका लागि विशाल राई, रहरीमाया विश्वकर्मा, प्रदीप लिम्बु, भगवती तामाङ, रुपेश श्रेष्ठ, भलमान तामाङ, नेत्र थापा मगर,गेल बहादुर राई,राज गिरी, आशिष राई,कुमार राई,विमला अछामी,खेमराज पराजुली, युवराज राई, रिना राई, कुमार राई, तेजेन्द्र राई, मनोज कालीकोटे, गणेश बराइली, प्रविना लिम्बु, प्रजल मगर, संगम मगर, सन्देश मगर, निसान राई, उरिम राई, रुपजल राई, मिलन राई र कमल बराईली रहेका छन् ।
सम्पन्न भएको सो पुनर्गठन भेलाले ११ नं. वडा सल्लाहकार समिति पनि चयन गरेको छ । समितिका संयोजकमा राम कुमार तुम्बा सदस्यमा कालुराम राई र रामराज राईलाई चयन गरेको जसपा धरान नगर समितिका उपाध्यक्ष तथा संठन विभाग प्रमुख प्रेम राईले बताएका छन् ।
पुनर्गठन कार्यक्रमको अध्यक्षता मदन तामा«ङले गरेका थिए । तामाङ केही महिना अगाडी पुनर्गठन भएको जसपा सुनसरी जिल्ला समिति सदस्यमा चयन भएका छन् । यो भन्दा पहिले जसपा धरान नगर कार्यकारिणी समिति सदस्य र ११ नं वडा समितिका अध्यक्ष थिए । कार्यक्रम संचालन बरदान राईले गरेका थिए । राई समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव हुन साथ पार्टीको नगर समितिमा पनि रहेका छन् ।
सो कार्यक्रममा जसपा केन्द्रीय सदस्य विना राई,किरात राष्ट्रिय समिति सदस्य सिता राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु पृथक् राई,कोषध्यक्ष केदार राई, नगर सदस्य कौशिला चेम्जोङ, राकेश लिम्बु (रिक्की), दिल कुुमार राई, समाजवादी महिला संघ धरान नगर अध्यक्ष पुन्य कुमारी दाहाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
जसपा धरान नगर समिति उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रेम राईले जनाए अनुसार “पुनर्गठन वा रूपान्तरण कार्यक्रम भाद्र मसान्त सम्ममा सक्ने भन्ने माथिल्लो समितिको परिपत्र थियो सो समय अवधि सम्ममा नगरको २० वडा मध्ये ११, १३, १४, १५, १७ र २० वडाहरूमा रूपान्तरण कार्यक्रम सम्पन्न गरेको छ र फेरी सोही कार्यक्रमको अवधि कात्तिक मसान्त सम्ममा थपिएकोले अब सो समय सम्ममा पुनर्गठन वा रूपान्तरण हुन बाकी वडाहरूमा सक्ने कार्यक्रम रहेको छ ।”
अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा
ढोरपाटन (बागलुङ), ५ असोज : शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ ।
नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो । ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कूल’ को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ ।
बसाइसराइ कारणले विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कुल’ अवधारण ल्याएको थियो । गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरुको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा आवास तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिने छ ।
आर्थिक अवस्था कमजोर हुँदा पढाइबाट विमुख भएका बालबालिकालाई नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । कक्षा १ देखि १२ सम्म ‘लिड स्कुल’ मा पढाउने र त्यसभन्दा माथि पढ्नेका लागि छात्रवृत्तिको सुविधा दिइने उहाँको भनाइ छ ।
नगरपालिकाले यस वर्ष २० बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउनुहुन्छ । चालु आवमा प्रति विद्यार्थी रु ४० हजारका दरले बजेट विनियोजन गरेको र आगामी वर्ष नयाँ थपिए सोअनुसार व्यवस्थापन गर्ने उहाँको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाइबाट टाढा हुनु नपर्ने शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ राख्ने प्रयास गरिरहेका छौँ, यस वर्ष हामीहरुले ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैछौँ, यसबाट आफन्त नभएका बालबालिका, असहाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरी जिम्मा लिँदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही बालबालिका पारिवारिक, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट विमुख बन्नुपर्ने छैन ।”
‘लिड स्कुल’ मा विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने गरी काम भइरहेको छ । विसं २०७८ मा ‘लिड स्कुल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लगानी गरेको छ । उक्त विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लास्टिक टनेल स्थापना गरी तरकारी खेती थालिएको छ । प्रत्येक वडाबाट दुई÷दुई विद्यार्थी लिएर उनीहरुलाई यही विद्यालयमा राखिने नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जैमिनीमा ८० सामुदायिक र एउटा संस्थागत गरि ८१ विद्यालय रहेका छन् । उक्त विद्यालयमा करिब छ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउनुहुन्छ । विद्यालयभन्दा बाहिर रहेका बाललिकालाई शिक्षाको पहुँच ल्याउनका लागि ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।
भालुबाट किसानलाई मौरीघार जोगाउनै मुस्किल
जुम्ला, ५ असोज : जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पु¥याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई वर्षका अन्तरमा १३ मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो । भालु धपाउन अनेकन उपायहरु गरे पनि सकिएको छैन । रातभर मान्छेहरू जाग्राम बस्ने, थाले केही गरेर भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ । ”
जङ्गलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरीपालक किसान बुढ्थापाले बताउनुभयो । भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतङ्क नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिनुभयो ।
भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मीठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसान बताउँछन् । भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भालु र रोगले मौरी मासिन थालेपछि किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएका छौँ । कार्यालयबाट सुनुवाइ भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लामा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् । ” उहाँले जुम्लामा बीमा हुन नसकेको जनाउँदै मौरीको बीमा गर्न भन्दै शिखर इन्सुरेन्समा आए पनि कम्पनीले मौरीको दररेट मागेपछि किसानसँग दररेट नभएकाले बीमा गर्न नसकेको बताउनुभयो । हरेक वर्ष कूल घार सङ्ख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारी संस्थाले जनाएको छ ।
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
काठमाडौँ, ५ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताउनुभएको छ ।
क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।”
लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा राणाको तर्क थियो ।
“संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरु रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्”, परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो ।
कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उहाँले बताउनुभयो । उहाँले महिलाहरूले विश्वव्यापी रुपमा पुरुषले पाएका कानुनी अधिकारहरुको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिनुभयो ।
“मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रले समान अधिकारकोे घोषणा गरेको ७६ वर्ष बितिसकेको छ । त्यसयता चारवटा संयुक्त राष्ट्रसङ्घीय सम्मेलन र महिलाका लागि कार्य योजना, सहस्राब्दी विकास लक्ष्यहरूको परिचय र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम तथा छ वटा लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम लागू भइसकेका छन्”, मन्त्री डा राणाले भन्नुभयो, “यति हुँदा पनि लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ । मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट वञ्चित नै छन् ।”
उहाँले नेपालमा पनि आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण सो बैठकमा पेस गर्नुभयो । जसका कारण नेपालका लक्षित नीति र कार्यमा केही सुधार भएको भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “हामीले महिला समानताका लागि लडेको धेरै भयो । संविधानले नै सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालले राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीशमा महिला पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।”
यस्तै कानुनी प्रावधानकै कारण नेपालको निजामती सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायमा पनि महिला सहभागिता बढ्दो छ । त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उहाँले बताउनुभयो ।
नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उहाँको भनाइ थियो ।
मन्त्री डा राणाले भन्नुभयो, “दुर्भाग्यको कुरा त के छ भने हामीमाथि हुने हिंसा र भेदभाव गर्भबाटै सुरु हुन्छ र यसले जीवनभर नै निरन्तरता पाउँछ । यो असमानताको निराकरणका लागि व्यापक र सशक्त प्रयास जरुरी छ । यी प्रयास विश्वस्तरदेखि स्थानीय तहसम्म नै पु¥याइनु जरुरी छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रका सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ । यस क्षेत्रमा अघि बढ्ने हरेक व्यक्तिका प्रयास परिवर्तनका लागि उत्प्रेरक बन्न सक्नेछन् ।”
त्यसैले समग्र संसारले नै लैङ्गिक समानता शान्तिपूर्ण र समृद्ध संसारको आधार हो भनेर मनन् गर्नुपर्ने उहाँको तर्क थियो । संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरुको खाँचो नरहेको तर्क गर्दै मन्त्री डा राणाले ती व्यवस्थाहरुलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकामा जोड दिनुभयो ।
सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको थियो ।

































