शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3T8Y115M135CJ23GF4V0CTK.jpg

साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो मुलुक साहित्य साधनाको ऊर्बर भूमि र ज्ञानको उद्भव स्थल हो भन्नुभयो । “मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँशु कविता प्रकट हुने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्ने चाहन्छु ।’’   
  
उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको छ भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गर्नुभएको थियो ।   
  
लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्नु नपर्ने बताउनुभयो ।   
  
आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।   
  
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।  

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T8GFGD18BM4C25VYJV3HY1.jpg

जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ साउन I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताउनुभएको छ ।   
  
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गर्नुभयो ।   
  
उहाँले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई केन्द्रित गरेको बताउनुभयो ।   
  
संविधन संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको भनाइ छ । संविधान संशोधनको सैद्धान्तिक विरोध नभए पनि जुन तरिकाका साथ दुई दल (नेपाली कांग्रेस र नेकपा (एमाले) अगाडि बढ्न खोजेका छन् त्यसले भने आफूहरूलाई संशय पैदा गरेको उहाँको कथन छ ।   
  
संविधानका मूलभूत प्रस्तावनालाई परिवर्तन गर्न खोज्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व, सङ्घीयता र गणतन्त्रको सकारात्मक पक्षलाई कमजोर पार्न खोज्ने प्रवृत्ति देखापरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो “संसद्को पहिलो र दोस्रो ठूलो दल मिल्नु स्वाभाविक मानिँदैन, लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको छ ।”   
  
पछिल्ला दिनमा ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने र ‘तथाकथित’ रूपमा दुई दलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबर्जस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको टिप्पणी गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानलाई केन्द्रमा राखेर पुनः वामपन्थी शक्तिबीचको एकता प्रक्रियालाई अगाडि बढाउन उहाँले सबैलाई आह्वान गर्नुभयो ।   
  
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता, सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखापरेको अराजकता र व्यक्तिकेन्द्रित अहङ्कार र जनताको अधिकार खोस्न खोज्ने प्रवृत्तिका विरुद्ध साझा प्रतिवादको जरुरी रहेको बताउनुभयो ।   
  
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखापरेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको समाधान हुने बताउनुभयो ।   
  
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लक्ष्यसहित कार्यक्रम अगाडि बढाउन सबै वामपन्थी शक्तिलाई आह्वान गर्नुभयो ।   
  
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गर्नुभयो ।   
  
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता भीम रावल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले पुष्पलालको योगदान र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्दै समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्नुभयो ।  

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T5TPYY2X053B9EHVBBT5PQ.jpg

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते

बेलग्रेड, १२ साउन (रासस/एएफपी) I दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।

आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ ।

ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ । 

गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । 

सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T2XTHSTKS1JE4G23ZGYZRW.jpg

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौँ, १२ साउन I गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आवमा रु एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् । 

त्यस्तै, हेडफोन आयातमा मात्र रु ६५ करोड ९३ लाख २८ हजार विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले रु २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा मोबाइल रु ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र रु १५ करोड ५७ लाख १० हजार राजस्व सङ्कलन भएको छ । गत आवमा रु ३५  करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3SXDAHZKA23ZVMZ32ZGWY7W.jpg

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ, १२ साउन I स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । 

उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भन्नुभयो, “हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।” 

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । 

डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उहाँले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउनुहुन्छ । “हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्”, उहाँले भन्नुभयो, “किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।”

उहाँले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउनुहुन्छ । “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ”, उहाँले भन्नुभयो । 

डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरु अत्यधिक कम छ ।” 

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ । 

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3SSFZ29YBH5NMYKQXTNRR9M.png

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

गलकोट (बागलुङ), १२ साउन I राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ । 

पटकपटक अबरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्ल समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अबरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट बिच्छेद भएपछि यात्रुहरु पैदल हिँडेर आउ जाउँ गर्न बाध्य भएका छन् । 

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3SQFD7VK2Q7REHDN3BNC0MK.png

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

वासिङ्टन डीसी, १२ साउन (रासस /एएनआई) I अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । 

“आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ“, कमला ह्यारिसले आफ्नो पोस्टमा भन्नुभयो । 

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।

यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो । ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 

यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई “महान उपराष्ट्रपति“ को रुपमा सम्बोधन गर्नुभएको थियो । “उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ“, बाइडेनले भन्नुभएको थियो ।

यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताउनुभएको थियो ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3RWBS2ATR535VENEWAC93QB.jpg

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, १२ साउन I देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3QZGS9519KWD803V5X1JT0T.jpg

‘प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौँ’

धरान (सुनसरी) ११ साउन  I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभएको छ । 

आज धरान उपमहानगरपालिका–४ र सागुदीगढी गाउँपालिका–६ को सिमाना भेडेटारमा निर्माण गरिएको भेडेटार स्काईवाकको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका लागि योजना निर्माण गर्ने धारणा राख्नुभयो । 
मुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकका लागि एक आकर्षक गन्तव्य रहेकाले यसको विकासका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य रहेको यस ठाउँमा पर्यटक आगमन बढाउन प्रदेश सरकारको नेतृत्वमा देखिने गरी काम गर्छौं । आवश्यक पूवाृधार विकास र सुरक्षाका लागि सरकार मिलेर काम गर्न तयार छ ।”

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारी, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल ४ न. गण जिल्ला हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, सुनसरी उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल, जिल्ला प्रहरी उपरीक्षक विपीन रेग्मी धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राई, सागुदीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलगायत जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो । 

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3Q5CV7Q6ZM9P5KQECH2HCGQ.png

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन I सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ ।

चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिउपजको धितोमासमेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जानकारी दिनुभयो । चालु आवको बजेटमा सो व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने र वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउनेसम्बन्धी बजेटमा उल्लेखित व्यवस्थालाई केन्द्रीय बैंकले नीतिमार्फत थप सहज बनाएको छ ।

बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधान गर्न समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गर्ने नीतिमा उल्लेख छ ।

यस्तै, बजेटमा व्यवस्था भएको युवामा उद्यमशीलता प्रवद्र्घन गर्न कर्जाको सहज र सरल पहँुच पु¥याउन सहजीकरण गर्न नीतिमा विशेष व्यवस्था गरिएको छ । 

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१