शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3PY0GDSMFQHHPPMTAMZRJSX.jpg

तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, ११ साउन I स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PXXZASNEN5Z1NJGK66AGST.jpg

पुष्पलालको जन्मशताब्दी मनाइँदै

काठमाडौँ, ११ साउन I  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मशताब्दी मनाइने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले यही साउन १२ गते आयोजना गर्ने जन्म शताब्दी कार्यक्रममा विभिन्न  कम्युनिष्ट पार्टीका नेताले उहाँको योगदानको सम्झना गर्दैछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा श्रद्धाञ्जलिसभा, प्रवचन, विचारगोष्ठी गरिने छ । प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले तत्कालीन निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको त्याग र निष्ठाको उहाँको जीवनीबारे प्रस्तुतिकरण गर्नु हुने छ ।

कार्यक्रममा विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो ।  विसं २०३५ साउन ७ गते भारतको  अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PXPY6FKMP18DF05MNRB4S1.jpg

दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो बाँसजन्य वस्तु प्रवर्द्धन

खोटाङ, ११ साउन I जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन गर्न सुरु गरेको छ । बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नगरपालिकाले बाँसजन्य वस्तुको प्रवर्द्धन गर्न सुरु गरेको हो । 

नगरपालिकामा बाँस प्रशस्त पाइने भएकाले विभिन्न किसिमका सामग्री उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्नुका साथै बाँसजन्य वस्तुको प्रवर्द्धनमा जोड दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “यसका लागि नीतिगत योजना पारित गरिसकेका छौँ । चालु आर्थिक वर्षमा विनियोजित रु १० लाखबाट बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन सुरु गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख भट्टराईले पालिकाले यसअघि पनि बाँसको उपयोग गरेर स्तनपान कक्ष बनाएको छ । “यहाँ ११ प्रजातिका बाँस पाइन्छन् । यसबाट विभिन्न किसिमका घरायसी सामान तथा भवन बनाउन सकिन्छ । यसैको उदाहरणस्वरूप नगरपालिकाको प्राङ्गणमा स्तनपान कक्ष बनाएका छौँ”, उहाँले भन्नुभयो ।

बाँसबाट विभिन्न घरायसी सामग्री निर्माण, उत्पादन तथा प्रवद्र्धनका लागि नगरपालिकाकोतर्फबाट तालिम दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । नगर मातहतका विभिन्न सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा बाँसका सामान बिक्री गरिने बताउँदै स्थानीयस्तरमा सीप विकासका लागि नीतिगत योजना बनाएर तालिमको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा खेर गइरहेका बाँस प्रयोग गरी घरायसी सामग्री बनाएर प्रयोग गर्दा नगरको रकम बाहिर नजाने, सी विकास हुने, यहाँको पहिचान हुने, स्थानीयको अर्थतन्त्रमा सुधार हुनुका साथै युवापुस्तामा रोजगारी सिर्जना हुने नगरप्रमुख भट्टराईको विश्वास छ । स्थानीय बासिन्दाले उत्पादन गरेका बाँसका सामग्री बिक्रीका लागि नगरले बजार व्यवस्थापन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बाँसजन्य वस्तुको प्रवर्द्धनका लागि दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने तयारी गरिएको नगर कार्यालयले जनाएको छ । आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने मिति निर्धारण गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलन आयोजना गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ ।

सम्मेलनमा विभिन्न देशका बाँससम्बन्धी विज्ञ, विश्वविद्यालय, व्यवसायी, पर्यावरणकर्मी तथा बाँसका पारखीहरू सहभागी हुने जनाइएको छ । नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईको कार्यकक्षमा बाँसका कुर्सी, टेबललगायत फर्निचर प्रयोग गरिएका छन् । नगरप्रमुख र उपप्रमुख बाँसकै कुर्सीमा बसेर काम गर्नुहुन्छ । 

आफूहरु निर्वाचित भएर जनप्रतिनिधिका रुपमा आउनासाथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अनुसार बाँसका सामग्री उपयोग गर्न सुरु गरिएको उपप्रमुख राईले बताउनुभयो । नगरप्रमुख र उपप्रमुखले आयातीत सुविधायुक्त कुर्सी, टेबललगायत सामग्री हटाएर बाँसका सामग्री उपयोग गर्न थालेपछि सुरुमा धेरैले असहज महसुस गरे पनि बिस्तारै सकारात्मक प्रतिक्रिया दिन थालेका छन् । 

देशमा सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडिबाटै १० स्थानीय तह रहेको जिल्लामा बाँसका सामग्री उत्पादन तथा बिक्रीवितरण हुँदै आएको थियो । जिल्लामा बाँसबाट उत्पादित नाङ्लो, डालो, थुम्से, कोक्रोलगायत घरायसी सामग्री जिल्ला बाहिरका सहरमा निर्यात हुँदै आएको व्यवसायीले बताउने गरेका छन् । 

सङ्घीयता लागू भएपछि जिल्लाका सबै स्थानीय तहले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न नीति तथा कार्यक्रम बनाएर सहयोग उपलब्ध गराउँदै आएका छन् । निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीका लागि स्थानीय तहले आर्थिक, प्राविधिक तथा औजारसमेत उपलब्ध गराउन थालेपछि व्यावसायी घरेलु सामग्री उत्पादनमा हौसिएका छन् ।  

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PXEJ20KP9K3BVB7HG9KCCD.jpg

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ, ११ साउन I यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PW2X4Q6T3H6K94653EVCJK.jpg

भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा), ११ साउन I प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ । 
 
आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताउनुभयो । “वीरगञ्ज भन्सार कार्यालय हँुदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ”, उहाँले भन्नुभयो, “धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।” वीरगञ्ज भन्सार कार्यालय हँुदै आव २०७९÷८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार सङ्कलन गरेको थियो ।

  आव २०८०/८१ म वीरगञ्ज भन्सार कार्यालय हँुदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलोग्राम चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । 

आव २०७९/८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।  

गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८०/८१ म खाद्यान्न मकै भने पाँच अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको छ । सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ खाद्यान्न मकैको आयात भने परिमाणमा तीन दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PNKAET9P9Q21M93ZMR9PVP.jpg

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

महादेव अवस्थी 
दोधारा चाँदनी (कञ्चनपुर), ११ साउन I अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् ।     
     
विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ ।     
     
 हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताउनुभयो । “हामीले एनएचपिसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो”, सुवेदीले भन्नुभयो, “त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।”     
     
डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । “अहिले पनि आयोजनाका लागि रु दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो”, उहाँले भन्नुभयो, “मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।”     
     
आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन ।     
     
आर्थिक वर्ष २०६२÷६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव नौ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।     
     
सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार सात सय ४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार छ सय दुई हेक्टरमा मात्र खेती हुने गरेको छ । - रासस     

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PN59P0AJ83ZD4VDMREQ3FB.jpg

कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

चितवन, ११ साउन I नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PMT0WZ143RW5PRBQCN9ER2.jpg

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा, ११ साउन I नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।     
      
विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उहाँले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाउनुभएको थियो । पूर्वेली लोकभाका उहाँ गीत गाउनुहुन्थ्यो । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।     
      
उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँले नौवटा चलचित्रमा अभिनय गर्नुभएको थियो ।     
      
सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । “उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो”, खरेलले शोक वक्तव्य जारी गरेर भन्नुभएको छ ।     
      
विसं २०१३ मा उहाँको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PEJWXB2Q1H6H8VPWTTJH2S.png

भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

चितवन, ११ साउन I भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१
https://jawaaf.com/storage/01J3PD616G15CX6VJ2SQKBJ7W0.jpg

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

मन्थली (रामेछाप), ११ साउन I रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया  छोरी  सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयोे ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताउनुभयो ।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली  घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।

प्रकाशित मितिः शुक्रबार, ११ साउन २०८१