शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J2NMM3RBM9D14TS02YGXRV0X.jpg

‘ज्यान बच्यो, अन्नपात जोगिएन’

दोधारा चाँदनी (कञ्चनपुर), २९  असार I जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् । 

अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।

घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरु बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताउनुभयो । “भाँडाकँुडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझबिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ”, उहाँले भन्नुभयो, “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”

दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको साहारा बस्नुपरेको उहाँले बताउनुभयो । “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उहाँले भन्नुभयो, “दराज र सोफा लेदोले पुरिएको थियो ।घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।” 

टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् । 

रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताउनुभयो । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उहाँले भन्नुभयो, “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उहाँले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताउनुभयो । 

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए । उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NM37JXJDERNX7FQFEYX1GT.jpg

धनुषा जिल्लामा ४५ प्रतिशत भन्दा बढी धान रोपाइँ, धानखेती गर्ने जमिन घट्दै

जनकपुरधाम ,२९ असार I  धनुषा जिल्लामा  आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ  भएको छ ।  यसवर्ष समयमै मनसुन भित्रिएकाले  अहिले धान रोपाइँ धमाधम जारी  छ । विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ । वागतवानी अधिकृत प्रदीप यादवले  हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ पानीका अभावमा किसानले  ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो । ”

अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । यसैगरी अझै जिल्लाका  ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ । 

विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ । ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा रु दुई हजार पाँच सय लिने गरेको छ भने पानीको अभाव पूरा गर्नका लागि ट्याङ्करबाट खेतमा पानी हाल्न प्रतिघण्टाको रु पाँच सय तथा  प्रतिकामदार रु चार सय र १० किलो धान दिनुपर्ने गरेको छ । यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ । धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ ।

गत आव २०८०/८१ मा  जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार छ सय मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षका तुलनामा २८ हजार छ सय ८० मेटिकट्रन कम धान उत्पादन भएको बताइएको छ ।

जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेको मा ७० प्रतिशत किसान धानखेतीमा संलग्न रहेका छन् । कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएकाले उत्पादनमा कमी आएको जनाइएको छ । अहिले ४२ हजार हेक्टर जमिनमा धान खेती भइरहको सो गणनामा उल्लेख गरिएको छ ।

आव २०७९/८० मा झापा स्थित मेची भन्सार नाकाबाट रु ५८ करोड ७३ लाख २९ हजार मूल्य बराबरको  ९७ लाख ६५ हजार केजी चामल नेपाल भित्रिएको  तथा त्यसबाट जलेश्वर भन्सार कार्यालयलाई रु छ करोड ९० लाख भन्सार राजस्व सङ्कलन भएको भंसार अधिकृत सुमित गुप्ताले जानकरी दिनुभयो ।  

मधेस प्रदेश सरकारले कृषिमा आकर्षक नारा लगाए पनि किसानको समस्या समाधान हुन सकेको छैन  । 

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NKBJW37DKBFYD1F22J66SG.jpg

चीनद्वारा बालबालिका लक्षित हानिकारक’ सामग्रीमाथि अनलाइन कारबाही सुरु

बेइजिङ, २९ असार  I चिनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री ,भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कडा नियन्त्रित इन्टरनेटमा नयाँ कारबाहीको घोषणा गरेको छ । सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील, तथा राजनीतिक रूपमा विध्वंसक मानिने सामग्रीलाई सेन्सर गर्ने भएको छ ।  

   
यसले समय–समयमा अनलाइन प्रभावकर्ता देखि गेमिङ र सपिङ प्लेटफर्मसम्मका विशिष्ट क्षेत्रहरूमा कडाई गरेको छ । शनिबार एक विज्ञप्तिमा, देशको इन्टरनेट वाचडगले इन्टरनेटमा नाबालिगको सुरक्षालाई प्रभावकारी रूपमा सुदृढ पार्न र स्वस्थ, सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न दुई महिनाको “क्लियर एन्ड ब्राइट“ अभियान सुरु गरिरहेको बताएको छ । 

    
यस कदमले छोटो–भिडियो र लाइभ स्ट्रिमिङ प्लेटफर्महरू, सामाजिक मिडिया साइटहरू, अनलाइन सपिङ प्लेटफर्महरू, एप स्टोरहरू, बच्चाहरूका लागि स्मार्ट उपकरणहरू र नाबालिगहरूका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित “प्रमुख समस्याहरू समाधान गर्ने चीनको साइबरस्पेस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले विद्यालय बदमाशीलाई प्रोत्सान गर्ने भिडियोहरू प्रसारण गर्ने, क्लासिक बच्चाहरूको कार्टुन र गीतहरूमा “हिंसात्मक र घृणित“ सामग्री थप्ने, र कम उमेरका “इन्टरनेट सेलिब्रेटी बच्चाहरू“ बाट नाफा कमाउने जस्ता विविध व्यवहारलाई लक्षित गर्दछ ।

     
यसले ई–कमर्स प्लेटफर्मबाट अश्लील र यौन सूचक उत्पादनहरू उन्मूलन गर्ने लक्ष्य सहित बच्चाहरूलाई “हानिकारक मित्रता“ मार्फत दुर्भावनापूर्ण रूपमा बनाइएको अनलाइन शब्दजाल र अश्लील तर्फ आकर्षित गर्ने जानकारी पनि दिन्छ । नाबालिगहरूका लागि विशेष समस्याको नयाँ अभिव्यक्तिमा नजिकबाट ध्यान दिई संयुक्त रूपमा राम्रो अनलाइन इकोलोजीलाई समर्थन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।     

चिनियाँ बालबालिकाहरूले गर्मीको स्कुलको छुट्टी सुरु गर्दा र हालैका वर्षहरूमा यस्तै थुप्रै अभियानहरू पछ्याउँदा पछिल्लो अभियान आएको हो । सेन्सरहरूले अप्रिलमा अर्को “क्लियर एन्ड ब्राइट“ अभियान सुरु गरेपछि धेरै प्रसिद्ध प्रभावकर्तालाई अवरुद्ध गरेका छन् जसले आकर्षक व्यक्तित्वहरूले जानाजानी पैसाले भरिएको असाधारण जीवनशैली प्रदर्शन गर्दछ ।     


सरकारले १८ वर्ष मुनिका बालबालिकाहरूले अनलाइन गेम खेल्ने समय पनि गम्भीर रूपमा कटौती गरेको छ । पहिले ई–कमर्स प्लेटफर्महरूमा आफूले अवांछनीय ठानेका उत्पादनबाट बेच्ने प्रशिक्षण दिएको छ, जस्तै सफ्टवेयर जसले आधिकारिक इन्टरनेट नियन्त्रणहरू स्कार्ट गर्दछ ।-रासस/एएफपी

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NJMAW7GFYCR6QJPS5EVGHC.jpg

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

म्याग्दी, २९ असार I दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनुपरेको जनाएको छ ।     
     
दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर रु दुई दशमलव ५० का दरले अनुदान उपलब्ध गराउन प्रदेश सरकारले केन्द्रलाई चालु आर्थिक वर्षका लागि रु २४ लाख बजेट विनियोजन गरेको थियो ।     
     
अनुदान कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर बीउबिजन कृषि सहकारी संस्थाले केन्द्रमा आवेदन पेस गरेका थिए । शुभकामना कृषि सहकारी संस्थामा आबद्ध कृषकले मात्र रु दुई लाख एक हजार पाँच सय अनुदानबापतको रकम पाएका बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी रु २१ लाख ९८ हजार पाँच सय फिर्ता भएको हो ।     
     
कार्यविधिअनुसार सबै प्रक्रिया पूरा गरेर तोकिएको कागजात पेस गरे पनि कार्यालयका केही कर्मचारीको बेवास्ताका कारण कृषक अनुदानबाट वञ्चित भएका उहाँले गुनासो गर्नुभयो ।     
     
“हरेक चौमासिक रुपमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभाव भएको भन्दै एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीले आवको अन्त्यमा बेवास्ता गर्दा अनुदान रकम फिर्ता गएको हो”, ढुङ्गानाले भन्नुभयो, “यही असार २४ गते सम्म भुक्तानी आउने आश्वासन पाएका किसान अनुदानबाट वञ्चित भएका छन् ।”     
     
बेनी बजारमा दैनिक एक हजार पाँच सय लिटर दूध आपूर्ति गर्ने ढुङ्गानालगायत १८ जना कृषकले दोभान कृषि सहकारी संस्थामार्फत अनुदानका लागि आवेदन पेस गरेका थिए । दैनिक दुई सय लिटरभन्दा बढी दूध निकासी गर्ने बास्कुना, तातोपानी, बरङ्जा क्षेत्रका कृषकले सिमलचौर कृषि सहकारीमार्फत आवेदन दिएको जनाएका छन् ।     
     
बेनी–७ का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज तरिकाले अनुदान पाए पनि यसपाली कर्मचारीले सहयोग नगरेका गुनासो गर्नुभयो । “यसअघिका वर्षमा हामीले पेस गरेका कागज र प्रक्रियाबाट अनुदान पाउने गरेका थियौँ । यस वर्ष पनि सोहीअनुसार कार्यालयले मागेका सबै कागजात पेस गरेका हौँ”, उहाँले भन्नुभयो, “केन्द्रका कर्मचारीले अनुदान दिने प्रतिबद्धता जनाएर कृषकलाई झुक्काउने र निराश बनाउने काम गरेका छन् ।”     
     

केन्द्रका प्रमुख डा भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई अनुदान वितरणको जिम्मेवारी दिइएको बताउनुभयो । अनुदानका लागि तोकिएको मापदण्ड र प्रक्रिया पूरा नभएकाले अनुदान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ ।     
     
“योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिसअनुसार सहकारी संस्था छनोट र अनुदान वितरण भएको हो”, प्रमुख रेग्मीले भन्नुभयो, “जुन सहकारीले कार्यविधि र मापदण्ड पालना गरेका छन्, ती सहकारीमा आबद्ध कृषकले अनुदान पाएका छन् । कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले अन्यले अनुदान नपाएका हुन् ।”     
     
केन्द्रका योजना शाखा प्रमुख सुभास रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकबाट दूध सङ्कलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उक्त सहकारीलाई मात्र अनुदान दिएको बताउनुभयो । “विगतका वर्षमा केकसरी अनुदान रकम उपलब्ध गएिको थियो सोबारे अध्ययन गर्नेछौँ”, उहाँले भन्नुभयो “यस वर्षदेखि निश्चित मापदण्ड र कार्यविधि बनाएका छौँ । सोहीअनुसार अनुदान दिएका हौँ ।”     
     
कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्वयको भनाइ खण्डन गर्दै केन्द्रका कर्मचारीको बेवास्ताका कारण राज्यले दिएको सुविधाबाट कृषक वञ्चित भएका गुनासो गर्नुभयो ।     

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NJARMCZPE41PSBK77RA769.jpg

महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने

पाटन (ललितपुर), २९ असार I ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।     
     

ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उद्घाटन गर्दै प्रमुख महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिनुभयो ।     
     
“सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुन्छ । ठेकेदारले पनि लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमा निर्माण गर्दैनन्”, उहाँले भन्नुभयो, “पाटन दरबारको भीमसेन मन्दिर, देगु तलेजु, बालकुमारीको बालकुमारी मन्दिर महानगरले उत्कृष्ट तरिकाले निर्माण गरेको छ । कुनै समस्या भएको छैन ।”     
     
मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँको भनाइ छ ।     
     
महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुनेगरी तालिका सार्वजनिक गर्नुपर्ने बताउँदै महानगर प्रमुख महर्जनले पुनःनिर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो ठाउँ मुलुकको भ्रमण गर्नैपर्ने ठाउँ हो भनेर प्रचारप्रसार गर्न जरुरी छ । प्रभावकारी निर्माणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।     
     
महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वाेच्चस्थल हो भन्नुहुँदै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।     
     
“आध्यात्मिक साधनाका लागि नेपाल सर्वाेच्चस्थल हो । यहाँ विश्वले भ्रमण गर्नैपर्ने स्थान छन् । सांस्कृतिक हिसाबले ललितपुर उत्कृष्ट छ, सुनाकोठीको यो भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियरुपमा विकास गराउनुपर्छ । महायज्ञका लागि विश्वासगरी शुभअवसर प्रदान गर्नुभएकामा गौरवान्वित छु”, पण्डित पोखरेलले भन्नुभयो ।     
     
ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।     
     
प्राचीनकालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ ।     
     
ऐतिहासिक सम्पदाका रुपमा रहेको भृङ्गारेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरेर यहाँका पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा बुद्धसेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार यहाँ बालकुमारी त्रिपुरासुन्दरी, जगन्नाथ, गणेश र भृङ्गारेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NFS2GGQ92KWAZCQY9F2TH0.jpg

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ : सभामुख

काठमाडौँ, २९ असार I सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । 

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्त्व कायम गर्ने बताउनुभयो ।

वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने उहाँको भनाइ छ । सभामुख घिमिरेले आदिकवि भानुभक्तले गर्नुभएको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडी लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रुपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताउनुभयो । “नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलित रुपबाट एक ठाउँमा ल्याउर विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ”, उहाँले भन्नुभयो ।  

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान ः सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताउनुभयो । 

भानु प्रतिष्ठानका अध्यक्ष डा नवराज लम्सालले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । भानुजयन्तीका अवसरमा प्रज्ञा–प्रतिठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज बिहान प्रभातफेरिसहित शोभायात्रा गरेको थियो । 

भानु नगरपालिका–४ चुँदीरम्घा, तनहुँमा १८७१ असार २९ गते जन्मिनुभएका  आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो । 

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NDDXEZE1F6RXDBDTY3G44Q.jpg

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

भियतनाम, २९ असार I उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । 

उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् । 

भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको  राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । राज्य सञ्चार माध्यमले प्रसारण गरेको तस्बिर र भिडियोहरूले एम्बुलेन्स र सयौं उद्धारकर्मीहरू घटनास्थलमा खटिएका देखिइएको छ ।-रासस / एएफपी

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2NBXQCZXJDWZ5BBNC802A7H.png

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २९ असार I  पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि  टुङ्गो लगाउने जनाइएको छ । 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिनुभयो । कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् ।    बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2N57NSA606XZH9MBF124H73.png

सर्पले डस्दा महिलाको मृत्यु

सिरहा, २९ असार I सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि  कर्जन्हा अस्पताल लगिएको थियो ।  

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2MY7BYMDR1PDN97YSFN41BH.jpg

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ असार I कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो । 

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको  उहाँको भनाइ छ । 

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो,  “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताउनुभयो । उहाँले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाउनुभयो ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उहाँले भन्नुभयो, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”

प्रकाशित मितिः शनिबार, २९ असार २०८१