शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J2R03DKQQTZNGXP2E84C3JMF.jpg

अमेरिकी रिपब्लिकन पार्टीको र्यालीमा गोली चल्यो, ट्रम्पको कानमा चोट लागेको पुष्टि

बटलर, संयुक्त राज्य अमेरिका, ३० असार (रासस/एएफपी) I अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ ।

उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ ।
उक्त यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।

आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गर्नुभएको छ । 
ट्रम्पले लख्नुभएको छ, “¥यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।”

“धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,” उहाँले थप्नुभयो ।  

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उहाँको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो । उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताउनुभयो । उहाँका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ । 

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । 

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QZNERRHTEJB5NGJG76YAS0.jpg

मानवबेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

राँझा (बाँके), ३०  असार I जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।     
     
जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताउनुभयो । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भन्नुभयो, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”     
     
स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताउनुभयो ।     
     
आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनामार्फत गठित स्वावलम्बन समूहमा महिला दिदीबहिनीले गाउँटोलका सामाजिक समस्या र मानवबेचबिखन, महिला हिंसालगायत विषयमा छलफल गर्दै आउनुभएको छ ।     
     
जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताउनुभयो । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।     
     
“पढेलेखेका, जानेबुझेका महिला दिदीबहिनी नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपाटीले बाहिर आउन सकेको     
छैन ।” जानकीको साईगाउँ, खजुराखुद्र्ध र गनापुरमा गठन भएका ३० स्वावलम्बन समूहमा आबद्ध करिब तीन सय महिलाले अहिले गाउँ समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजलाई सचेत बनाउन लागिपर्नुभएको छ । जानकी गाउँपालिका–६ गनापुर निवासी सञ्जु गडरियाले समूहमा आबद्ध भएपछि अहिले मानव बेचविखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने अवसर पाएको बताउनुभयो ।     
     
जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ ।”     
     
आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भन्नुभयो ।     

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QZ5PYJ5D5HTHHGJ8R4DR7A.jpg

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट (उदयपुर), ३० असार I  निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ । सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा भत्किएकाले यातायात सञ्चालन हुन नसकेको जाँतेका स्थानीय हर्क बुढाथोकीले बताउनुभयो ।

ताम्लीछा, बराह, बलाम्ता रसुवा गाईघाट सडक वर्षा र पहिराले अवरुद्ध भएपछि सदरमुकाम गाईघाट आवतजावत बन्द भएको ताम्लीछास्थित महेन्द्रदीप माध्यमिक विद्यालयका शिक्षक मनिचन्द्र राईले बताउनुभयो । गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडकमा पर्ने रानीबास, छामलिङ, फोक्सिङ्टार र सुवासहितका ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायी नरेश कार्कीले जानकारी दिनुभयो ।

रौतामाई गाउँपालिकाको रौता भुटार, सल्ले र मुर्कुची बजारदेखि डिल्ली बजार माँझखर्क सडक भत्केर अवरुद्ध भएपछि जिल्लाको मध्य र उत्तरी पहाडी क्षेत्रका सर्वसाधारण सदरमुकाम गाईघाट आउन सकेका छैनन् । उपचारका लागि जिल्ला अस्पताल र अन्य सरकारी सेवा लिन सदरमुकाम आवतजावत १० दिनदेखि बन्द भएको रौतामाई गाउँपालिका सल्लेका टेकराज पाठकले बताउनुभयो ।    

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QVJ02YWCWXQAH6F7M00J4J.png

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

चितवन, ३० असार I गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QMF8PTVA99GFYG1H7FFX8A.jpg

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

तुलसीपुर (दाङ), ३० असार I तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।     
     
उहाँले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गर्नुभएको छ । करिब रु १० लाख लागतमा उहाँले व्यवसाय सुरु गर्नुभएको हो ।     
     
स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको  बताउनुभयो । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भन्नुभयो । उहाँले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताउनुभयो ।     
     
बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गर्नुभएका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उहाँले भन्नुभयो, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QFJGDYETVT7HMZPXQH61EF.png

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  ।
 
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।  

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही  स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही  स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थान तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही भागमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ । 

प्रकाशित मितिः आइतबार, ३० असार २०८१
https://jawaaf.com/storage/01J2QF6QFE8Y3N8VCFR8JTVMAD.jpg

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ सोमबार

कठमाडौँ, ३० असार I राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि भोलि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान भएको गर्नुभएको थियो ।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2PHR065CBHFGA3WQNN2GBFF.jpg

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा, २९ असार I कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ ।   
  
रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो । जागीरे भए पनि उहाँ सन्तुष्ट हुनुहुन्थेन, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उहाँ परीक्षाका लागि काठमाडौँ जाँदै हुनुहुन्थ्यो तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता हुनुभयो । योसँगै उहाँको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।   
  
सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताउनुभयो । दुई दिनदेखि दुर्घटनास्थलमा रहनुभएका उहाँ भन्नुहुन्छ,“छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यअघि नै त्रिशूली अस्ताइन् ।”   
  
छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहनुभएको छ । “छोरोको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिश्रलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्”, उहाँको भनाइ छ ।  

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2PBAD0HDSYV4MEMDCMPW7V8.png

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सिमकोट (हुम्ला), २९ असार I अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको हो । 

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डारीले बताउनुभयो । “सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो”, संयोजक भण्डारीले भन्नुभयो । यसका लागि  स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2PBEKC4K5HKSF2G9YB7GQQF.jpg

प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने

मोरङ, २९ असार I कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा असार ३० गते अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्ने जानकारी दिइयो । 

बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले आफूले नेतृत्व पाएको दुई महिनामा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष खेलकुदको वार्षिक पात्रोअनुसार नियमित खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै ३० वटा खेलकुद प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१