विभागीय टोली एपिएफ विजयी
काठमाडौँ, १ असोजः एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।
प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।
खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।
‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’
बागमती, १ असोजः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।
“खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ । युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घलगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित
काठमाडौँ, १ असोजः नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो ।
खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हन् ।
त्यसैगरी, ‘ओपनर’ कुशल भुर्तेल एक रनमा नै आउट भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी आठ, सोमपाल कामी ६ तथा कप्तान रोहितकुमार पौडेल पाँच रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिएभने अखिल कुमार र अंश पटेलले समान दुई–दुई विकेट लिए । त्यस्तै, सादविन जाफरले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५३ रनको योगफल बनाएको थियो । उसका लागि कप्तान निकोलस किर्टोनले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेका हुन् ।
यसैगरी, नवनीत धालिवालले ४८, डिलोन हेलिगर ३०, हर्ष थाकेर २७ रन जोड्दा परगत सिंह र साद बिन जाफरले समान १७ ÷१७ रन बनाए । त्यस्तै, आरोन जोनसनले १० रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान दुई–दुई विकेट लिएभने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान एक–एक विकेट लिए । अब नेपालले भोलि ओमानसँग खेल्नेछ ।
राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित
काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका दश जना स्रष्टालाई सम्मान गर्नुभएको छ ।
सांस्कृतिक समाज नेपालले आज यहाँ आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्याउने यक्तित्वहरूलाई सम्मान गर्नुभयो ।
राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि सुरु गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
आहा ! रारा गोल्ड कप घाटामा
गण्डकी, २७ भदौः सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।
क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो ।
“तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उहाँले भन्नुभयो, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।
प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उहाँको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।
हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।
टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।
क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
काठमाडौँ, २६ भदौ : आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।
त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।
टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।
ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी
फुङ्लिङ (ताप्लेजुङ), २६ भदौः ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट रु ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो ।
कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार कार्यक्रम सम्पन्न गर्न रु ७३ लाख २० हजार सात सय ४८ खर्च भएको छ । हाल समितिले रु १७ लाख ५६ हजार छ सय १९ तिर्न बाँकी रहेको छ । त्यो रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, सङ्घसंस्था तथा बास बिक्रीमार्फत सङ्कलित आम्दानीबाट तिर्ने योजना रहेको आयोजकले जनाएको छ ।
फुङलिङ नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छभने मेरिङदेन र मैवाखोला गाउँपालिकाले रु एक–एक लाखका दरले सहयोग गर्ने निर्णय गरेका छन् । अन्य पालिकाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले रु ५० हजार सहयोग गर्ने निर्णय गरेको छभने स्पार्क हाइड्रोपावर, पाथीभरा केबलकार र सानिमा मध्यतमोर हाइड्रोपावर लगायतका संस्थाबाट रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ ।
खेल अवधिभर टिकट बिक्रीबाट रु २३ लाख ७६ हजार छ सय र विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु ३१ लाख ८७ हजार पाँच सय २९ सङ्कलन गरिएको छ । यस रकमले प्रतियोगिताको पुरस्कार वितरण, खेलमैदान तयारी, स्टेज व्यवस्थापन, ट्रफी, मेडल, टिम व्यवस्थापनलगायत विभिन्न खर्च धानिएको छ ।
पूर्वखेलाडीहरूको सम्मान, रेफ्री र अफिसियल व्यवस्थापन, यातायात, मिडिया, मेडिकल, तथा खाजा खर्च लगायतका विभिन्न शीर्षकमा पनि उल्लेखनीय खर्च भएको छ । साथै लाखेजात्रा सञ्चालन समितिले रु पाँच लाख ८८ हजार आठ सय १० को अचल सम्पत्ति जोडेको छ र रु १८ लाख ५० हजार बैङ्क खातामा राखेको छ । त्यसलाई आगामी योजनाका लागि सुरक्षित गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान
काठमाडौँ, १९ भदौ : काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । पारा ओलम्पिक
महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।
पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।
‘नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा’
वीरगञ्ज (पर्सा), १६ भदौ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
आज वीरगञ्जस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृनिकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो रङ्गशाला बनाउनुपर्ने दुई कारण छन्”, उहाँले भन्नुभयो, “मधेश प्रदेशको सबैभन्दा पुरानो र ठूलो रङ्गशालाका हो । साथै ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले आवश्यक पूर्वाधारका लागि पनि रङ्गशाला निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।”
मन्त्री चौधरीले ११आँंै राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले रङ्गशाला बनाउनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । “मेरो कार्यकालमा कुनै पनि सर्तमा नारायणी रङ्गशाला बन्नेछ । प्रतियोगिता हुनु अगावै खेल अभ्यासका लागि पनि पूर्वाधार आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “दातृनिकाय तथा सरोकार भएकासँग समन्वय र सहकार्य गरेर रङ्शाला निर्माण गर्नेछौँ ।”
मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा नारायणी रङ्गशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेकाले दातृनिकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“दातृनिकायले नारायणी रङ्गशालाको विषयमा चासो देखाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) उपलब्ध गराउन भनिरहनुभएकाले उहाँहरुसँग समन्वय गरी काम गरिरहेको छु । यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउनेछौँ ।”
मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आवको बजेटमा रङ्गशाला निर्माण गर्न बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो । “खेलकुद मन्त्रीको शपथ खाएसँगै मधेश प्रदेशका रङ्गशाला निर्माण प्रक्रियाबारे युवा तथा खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायत सरोकार भएकासँग छलफल गरेका थियौँ”, उहाँले भन्नुभयो, ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले रङ्गशाला निर्माणलाई कसरी प्रभावकारी रुपमा अघि बढ्न सकिन्छ भनेर सुझाव पनि लिएका छौँ ।”
युवा तथा खेलकुदमन्त्री चौधरीले मधेश प्रदेशका रङ्गशाला मर्मतसम्भारका लागि केहीदिअघि अर्थमन्त्री विष्णु पौडेलसँग पनि आवश्यक बजेट उपलब्ध गराइदिनका लागि आग्रह गरेको बताउनुभयो । “अर्थमन्त्रीले पनि रङ्गशाला मर्मतसम्भार गर्न आवश्यक स्रोत जुटाउन सहजीकरण गर्ने बताउनुभएको छ”, उहाँले भन्नुभयो ।
रङ्गशालाको अवलोकलनका क्रममा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले नारायणी रङ्गशाला निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्थापनका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर रङ्गशाला निर्माण अघि बढाउने छौँ”, उहाँले भन्नुभयो ।
वीरगञ्जमा नारायणी रङ्गशाला विसं २०४२ मा निर्माण गरिएको थियो । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको छ । रङ्गशाला परिसरमा पानी जमेर पशुचौपाया पौडी खेल्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताउँछन् । उक्त रङ्गशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।
महिला फुटबल खेलाडीको छनोटप्रति असन्तुष्टि
सुदूरपश्चिम, १४ भदौ : काठमाडौँमा हुन लागेको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको तयारी स्वरुप प्रशिक्षणमा रहेका सुदूरपश्चिम प्रदेशका महिला खेलाडीले खेलाडी छनोटप्रति असन्तुष्टि जनाएका छन् ।
धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा महिला टोलीका कप्तान अञ्जली चन्दले प्रशिक्षणमा रहेकालाई अवसर नदिएर बिहीबार मात्रै नयाँ १८ खेलाडीलाई छनोट गरिएकाले विरोध गर्नुपरेको बताउनुभयो ।
“२६ खेलाडी एक महिनादेखि प्रशिक्षणमा रहेका थियौँ”, क्पाप्टन चन्दले भन्नुभयो, “हामी कसैलाई पनि छनोट नगरी हतारमा नयाँ १८ खेलाडीको छनोट गरेर प्रशिक्षणमा रहेका खेलाडीप्रति अन्याय गरिएको छ ।”
क्वालिफाई गर्नुअघि छनोट प्रक्रिया पूरा भएर खेलाडीको नाम दर्ता भइसक्दासम्म प्रशिक्षणमा रहेकालाई अवसर नदिएर नयाँ १८ खेलाडी सहभागी गराइएको उनीहरुको भनाइ छ ।
पढाइ र घर छोडेर एक महिनादेखि प्रशिक्षण गरिरहेका खेलाडीप्रति नयाँ प्रशिक्षकबाट अन्याय गरिएको क्याप्टेन चन्दले बताउनुभयो । प्रशिक्षणमा रहेका सबै खेलाडीलाई लिग प्रतियोगितामा सहभागी गराउनुपर्ने महिला खेलाडीको माग छ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि सुर्खेतमा हालै भएको पहिलो चरणको छनोटमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो । दोस्रो चरणको छनोट काठमाडौँमा हुन लागेको जनाइएको छ ।
प्रशिक्षण दिँदै आउनुभएका प्रशिक्षक सुरज तामाङ र राघब कार्कीसँग प्रदेश फुटबल सङ्घले कुनै समन्वय नै नगरी आफूखुसी ढङ्गले नयाँ प्रशिक्षक दीपु लामालाई नियुक्त गरेको बताइएको छ । यही भदौ १६ गतेदेखि काठमाडौँमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता हुन लागेको छ ।
सुदूरपश्चिम प्रदेश महिला फुटबल टोलीका संयोजक राघब कार्कीले महिलातर्फको राष्ट्रिय फुटबलमा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको महिला टोलीपछि चौथौ स्थानमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोलीको स्थान रहेको बताउनुभयो । सार्क स्तरीय अण्डर–१९ को महिला फुटबल टोलीमा सहभागी राष्ट्रिय टोलीमा सुदूरपश्चिम प्रदेशका आठ महिला फुटबल खेलाडी सहभागी भएका थिए I


























