बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4ZNRZBP4HJVDAY1WS8383JE.jpg

धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

गोरखा, २७ साउन : धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।     
     
लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ ।     
     
रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँचजनाको मत्यु भएको थियो ।

advertisement

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4ZKQF6AZMJP0HRSCCFNJZBX.jpg

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर

भोजपुर, २७ साउनः इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ ।     
      
यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।     
      
बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताउनुभयो । बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ ।     

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँले बताउनुभयो । बाटो बनाउन रु १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो ।     
      
 बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु.एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ । 

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4ZK83QP5TFMVBS27XBMAQD6.jpg

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २७ साउन: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     
     
 आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।     
     
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।


advertisement

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4YFEX9RDAMKJS5EFY3Q5EBP.jpg

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू

कर्णाली, २७ साउनः आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक सय दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरू भएको छ ।   
 
प्रतियोगिताको आयोजक कर्णाली प्रदेशले आज दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनाएको गीत सार्वजनिक गरेको छ । गीत सार्वजनिक गर्नुहुँदै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगितामा स्वर्ण पदक जित्ने गरी तयारी गर्न परिषद् र खेलकुदसँग सम्बन्धित सबै सङ्घलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिले विभाजित देशलाई खेलकुदका माध्यमबाट जोड्दै छौँ । यसमा कर्णाली सक्षम छ भन्ने सन्देश दिने प्रयास हुँदैछ । तोकिएको मितिमै खेलकुद प्रतियोगिता सम्पन्न हुनेगरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक समन्वय गरी थप कार्य अगाडि बढाउँछौँ ।” मन्त्री भण्डारीले रङ्गाशाला निर्माण कम्पनीलाई समयमै पूर्वाधार निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।   
 
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले रङ्गशालाको ९० प्रतिशत कार्यसम्पन्न भएको जानकारी दिनुभयो । “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एक सय दिनमा हामीले पूर्वाधार निर्माण सम्पन्न मात्र नभई बसोबास र यातायातको सबै तयारी गर्नुछ,” उहाँले भन्नुभयो, “अब दिन होइन, घण्टाको हिसाबले युद्धस्तरमा काम गर्छौं ।”   
 
सदस्यसचिव सञ्ज्यालले कर्णालीमा २४ खेल प्रतियोगिता सञ्चालन गर्न सकिने सोहीअनुसार यहाँका दश जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका बताउनुभयो ।   
 
परिषद्ले प्रतियोगिताको लोगो (प्रतीक चिह्न) र मस्कट केही दिनमा सार्वजनिक हुने जनाएको छ । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, सङ्गीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ ।   

प्रकाशित मितिः शनिबार, २६ साउन २०८१
https://jawaaf.com/storage/01J4XJ4Q4CEH6Z9V50QF74KVJ7.jpg

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

चितवन, २६ साउन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।   
 
अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताउनुभयो । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।”   
 
अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।” मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ ।   
 
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरु लागि परेको बताउनुभयो । अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उहाँको भनाइ छ ।  

प्रकाशित मितिः शनिबार, २६ साउन २०८१
https://jawaaf.com/storage/01J4XFCVEY269GW922Z4P5AKR3.jpg

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

काठमाडौँ, २६ साउनः मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभएको छ ।     
     
रासससहित मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार साँझ आफ्नो निवासमा आयोजना गर्नुभएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताउनुभयो ।     
     
“नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो”, चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उहाँले भन्नुभयो ।     
     
नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकहरुको टोली हाल नेपालमा रहेको जानकारी दिँदै उहाँले पेट्रोलियम पदार्थको आयात घटाएर नेपालको वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्ने चिनियाँ चाहना राजदूत छन्ले व्यक्त गर्नुभयो । जलविद्युत्को विकासबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अन्तर्देशीय विद्युत् व्यापार फलदायी हुने उहाँले बताउनुभयो ।     
     
अल्पविकसित राष्ट्रहरुको सूचीबाट स्तरोन्नति हुने नेपालको राष्ट्रिय लक्ष्यमा सघाउन चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राजदूतले हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो बैठकले नेपालसहित विश्वका अन्य मुलुकलाई रोजगारीका निम्ति आफ्नो श्रमबजार खुला गरेको जानकारी दिनुभयो । चीनमा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीलाई त्यहीँ अन्तरङ्ग प्रशिक्षणको व्यवस्थाका साथ रोजगारीका अवसर पनि उपलब्ध हुने उहाँले बताउनुभयो । सिपिसीको तेस्रो बैठकपछि चीनमा लगानीका अवसरहरू पहिल्याउन उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल चीन भ्रमणमा रहेको बताउनुभयो ।     
     
राष्ट्रपति सी चीनफिङको अध्यक्षतामा सम्पन्न बैठकले तीनसयभन्दा बढी कानुनी सुधारका घोषणा गरेको जानकारी दिँदै राजदूत छन्ले चीनले नेपालको विकासका निम्ति द्विपक्षीय सहायता बढाउने बताउनुभयो । “हामी नेपालको आर्थिक वृद्धिमा योगदान गर्न चाहन्छौँ, पर्यटन प्रवद्र्धन तथा जलविद्युत्को उत्पादनबाट त्यो सम्भव छ”, नेपालमा उत्पादित बिजुली चिनियाँ बजारमा खपत गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो ।     

विज्ञापन

     
चीनले घोषणा गरेका सुधारबाट चीन र नेपालबीचको साझेदारी अझ घनिभूत हुने तथा चीनले हासिल गरेको विकासको प्रतिफल नेपालले पनि उपभोग गर्न पाउने विचार राजदूत छन्ले व्यक्त गर्नुभयो ।     
     
देशको चौतर्फी विकासलाई नेपालका राजनीतिक दलका नेता तथा कर्मचारीले केन्द्रमा राखेर काम गर्न जरुरी भएको आफ्नो विश्लेषण सुनाउँदै अबको पाँच वर्षमा नेपालले विकासको गति लिनेमा आफू ढुक्क रहेको बताउनुभयो । परिश्रमी नेपाली जनताको विकासप्रतिको चाहाना पूरा गर्न नेपालको नेतृत्व सफल हुने उहाँले बताउनुभयो ।     
     
चिनियाँ पर्यटकको प्रमुख गन्तव्य नेपालमा पर्यटनका पूर्वाधार अपर्याप्त भएकाले अधिकभन्दा अधिक पर्यटकीय संरचना निर्माणमा चिनियाँ राजदूतले जोड दिनुभयो । उहाँले प्रविधि हस्तान्तरणका साथै अन्य प्राविधि सहायता विस्तार गर्न चीन तयार रहेको बताउनुभयो ।     
     
एक फरक प्रसङ्गमा उहाँले विकासका पूर्वाधार तयार गर्ने उदेश्यले राष्ट्रपति सीले अघि सार्नुभएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा आबद्ध सबै राष्ट्रको हित हुने र त्यसप्रति विमति जनाउनुपर्ने कारण नरहेको बताउदै केही प्राविधिक काम पूरा नहुँदा नेपालसँग विआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुननसकेको स्पष्ट गर्नुभयो । उहाँले केही समयभित्रै नेपाल–चीनबीच विआरआई साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो । बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको तर्क छ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेका उहाँको कथन छ ।     
     
“हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौँ”, चिनियाँ राजदूतले भन्नुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ साउन २०८१
https://jawaaf.com/storage/01J4X9PMF2CENBBH8802AF2CJY.jpg

रास्वपाको कार्यशालामा समूहगत छलफल

काठमाडौँ, २६ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।  

पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो ।  रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरुका लागि काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

विज्ञापन

 

‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन भने  उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो । सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र विनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरी हुनुहुन्छ ।
   
 प्रवक्ता झाका अनुसार कोशी प्रदेशमा आज सञ्चालन गरिँदैछ । कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिनुभएको छ । बन्द कार्यशालाबाट विचार, सङ्गठन, अभियान, मूल्यमान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबर लिडरसिप एकेडेमीगरी छ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृतगरी केन्द्रीय समितिमा बुझाइनेछ । रास्वपा केन्द्रले विधान संशोधनको सुझाव मागेकाले त्यसबारे छलफल भइरहेको सो पार्टीले जनाएको छ ।   

 “बन्द कार्यशालाबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ”, सहप्रवक्ता प्रतिभा रावलले भन्नुभयो, “राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टीका कामलाई उठाउन कार्यशाला आयोजना गरेका हौँ ।”

प्रकाशित मितिः शनिबार, २६ साउन २०८१
https://jawaaf.com/storage/01J4X22RK76F1524ZA3SCMTN3E.jpg

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

advertisement

भद्रपुर (झापा), २६ साउन : जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढउँदै लगेको छ । ट्राफिक प्रहरीले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका छन् । 

 जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार  विशेषगरी चालक र परिचालकका लागि कक्षा सञ्चालन तथा सडक प्रयोगकर्तालाई ट्राफिक सचेतना र सडक सुरक्षा कार्यक्रम गरिँदै आएको छ । “गत आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारीसाधन चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रुपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए”, उहाँले भन्नुभयो । 

 आर्थिक वर्ष २०७९/८० मा आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो । आव २०८०/८१ मा भएका पाँच सय ९३ सवारीदुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो । पछिल्लो दुई आवको तथ्याङ्क हेर्दा सवारीसाधन दुर्घटनामा कमी आउनुका साथै मृतकको सङ्ख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ । 

 प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो । गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधनका चालकलाई कारबाही गरेर रु तीन करोड ८६ लाख ८२ हजार राजस्व सङ्कलन भएको छ । 

प्रकाशित मितिः शनिबार, २६ साउन २०८१
https://jawaaf.com/storage/01J4VFM0D3HQM4H24WS28P0THK.jpg

विधि र प्रक्रियाबाटै संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ साउनः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ     
     
तिसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन बहुमतको बलमा नभएर विधि प्रक्रियाबाट हुने र आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गरिने स्पष्ट पार्नुभयो ।     
     
उहाँले समाजमा उठेका सवाल र असन्तुष्टिको सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताउनुभयो । “संविधानले संशोधनले प्राप्त अधिकार कटौती हुन्छ भन्ने गलत भाष्य बनाउने प्रयास भइरहेको छ, जुन गलत हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “हामीले लडेर ल्याएको सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशिताको पूर्ण कार्यान्वयनका लागि संशोधन महसुस गरिएको छ ।”     
     
उहाँले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्ति तथा कार्यान्वयनका लागि एकजुट हुुनसमेत आह्वान गर्नुभयो । “अधिकारलाई जीवन्त राख्नका लागि हामीले विगतको पृष्ठभूमिलाई बिर्सन हुँदैन, वर्तमानमा चित्त नबुझेका कुरा विधि र प्रक्रियाअनुसार राख्नुपर्छ ।”     
     
समारोहका महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले जलवायु परिवर्तन र ठूला विकासका परियोजनाका कारण आदिवासीहरु आफ्नो स्थानबाट विस्थापित हुन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले शुभकामना व्यक्त गर्दै देशको ३६ प्रतिशत जनसङ्ख्या रहेका आदिवासी जनजातिको संविधान प्रदत्त अधिकारको कार्यान्वयनको माग गर्नुभयो । उहाँले भाषा दशकलाई प्रभावकारी बनाउन र युवाको विदेश पलायन रोक्नका लागि समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।     
     
हरेक वर्ष अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाइँदै आएको छ । विश्व आदिवासी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका आदिवासीले पनि जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्न यस दिवसलाई अवसरका रुपमा मनाउँदै आएका छन् ।     
     
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा आज आदिवासी जनजातिका मातृभाषा, लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी र विभिन्न जातिय भेषभुषा सहित परिक्रमा गरिएको थियो ।  

प्रकाशित मितिः शुक्रबार, २५ साउन २०८१
https://jawaaf.com/storage/01J4VAP1YXC57E1RW1R71DDAYZ.jpg

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर), २५ साउनः स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।     
     
नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच जिल्लामा पनि आजदेखि विधिवत् रुपमा सुरु भएको उहाँले जानकारी दिनुभयो ।     
     
यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितालाई जोड दिन थालिएको बुढाथोकीले बताउनुभयो ।     
     
प्रत्येक वर्ष निकालिने लाखे नाच यस वर्ष आजदेखि सुरु भएको स्थानीय विकल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धन समेत हुन्छ ।”     
     
केही ठाउँमा गठे मङ्गलदेखि नाच सुरु हुने गरेको भन्दै भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठले बताउनुभयो । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उहाँले उल्लेख गर्नुभयो । जिल्लाका स्थानीय मठमन्दिरको पूजाअर्चना गरी लाखे नाच सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।     
     
लाखे नाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।     
     
परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताल लगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रव्रद्धनमा सबै जुटनु पर्ने स्थानीयको माग छ ।     
     
जिल्लाको भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ । नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले बताउनुभयो । परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।  

प्रकाशित मितिः शुक्रबार, २५ साउन २०८१