विचार: किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
काठमाडौँ, १३ असोज : विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्याङ्कअनुसार विकसित राष्ट्रहरुमा हार्टअट्याक (हृदयाघात) हुने औसत उमेर ६० वर्ष भने तापनि अविकसित राष्ट्रहरुमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा हृदयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाइ मृत्यु कम उमेरका व्यक्तिहरुलाई हुने गरकोे अनुसन्धानबाट देखिन्छ । विश्वव्यापी रुपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ ।
अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरुमा हुने मुटुरोगको प्रमुख कारणको रुपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेयपदार्थहरुको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ । अधिकांश युवाहरुमा मुटुरोगप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ । युवाहरुमा यो समस्या बढी देखिनुको मुख्य कारणहरुमा शारीरिक व्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढ़ी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खान नचाहने आदि प्रमुख कारण हुन् । युवाहरु मानसिक तनाबको शिकार पनि बढ़ी भएको र यसले पनि मुटुरोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरुले मुटुरोग र हृदयघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरुमा ध्यान दिनु आवश्यक छ ।
स्वस्थ देखिएमा पनि जाँच गर्न जरुरी
अधिकांश युवाहरुमा कुनै न कुनै किसिमको मुटुरोगका कारणहरू अदृश्य रूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटुरोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुप¥यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफूभित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रलजस्ता समस्याहरु भएको थाहा पाउन सकेनन् र पछि एक्कासी जटिल समस्या भोग्नुपरेको देखिन्छ । त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटुरोगको जटिलताबाट बच्न सकिन्छ । समय समयमा आफ्नो रक्तचाप, चिनीरोग र कोलेस्ट्रोलको स्तर नाप्ने गर्नुपर्छ । यसका लागि धेरै खर्च पनि गर्नुपर्दैन । सामान्यतया एक हजार रुपैयाँ खर्च गरे पुग्छ । यदि यी मुटुरोगका कारण अलि बोर्डर मा छ भने जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्छ र नियमित अनुगमन गरिराख्नु पर्छ ।
औषधि प्रयोगको महत्व
हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटुरोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाहविपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ । समयमै औषधिको प्रयोग महत्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टका बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् ।
चुरोट
हाम्रो समाजमा असङ्ख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रुपमा मुटुमा असर गरिरहेको हुन्छ । एक-दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । युवाहरूमा हृदयघातको प्रमुख कारण चुरोट मानिन्छ । त्यसैले समयमै चुरोट त्याग्नु जरुरी छ । चुरोट त्यागेको केही समयभित्र यसको दुष्प्रभाव घट्ने अनुसन्धानहरुले देखाएको छ । प्रेरणाको कमीले थाहा भएर पनी चुरोट त्याग्न नसकेका धेरै छन् ।
तयारी (पत्रु) खाना
बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जङ्कफुट-फास्टफुड अर्थात् तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भएपनि यसको दुर्गामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्यबस अधिकांश युवाले फास्टफुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ । समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वस्थकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । प्राकृतिक रुपमा उत्पादन भएका र घरको खानालाई प्रवद्र्धन गर्न सकिएमा मुटुरोगको समस्या धेरै हदसम्म कम हुन जान्छ । प्रमुख प्रशोधित खानेकुरामा बिस्कुट, चाउचाउ, पाउरोटी, केक, पेस्ट्रिज, पिज्जा, बर्गर, ससेज, आइसक्रिम, दुनोट, फ्राइड चिकन, हेम बर्गर, चिप्स, चकलेट, जुस, कोल्डड्रिङ्क्स आदि पर्छ ।
व्यायामको महत्व
बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछाँै । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको शिकार भएका विचार किशोर र युवाहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसके सङ्ख्या घट्ने देखिँदैन । युवाले २० वर्ष वा कम उमेरदेखि नै आफूलाई नियमित शारीरिक व्यायाममा संलग्नगरी जीवनशैलीको एउटा महत्वपूर्ण अङ्गको रूपमा शारीरिक गतिविधिलाई अवलम्बन गरी विभिन्न किसिमका दीर्घरोग र औषधि उपचारबाट बच्न सकिन्छ । एउटा स्वस्थ्य व्यक्तिले दैनिक ३० मिनेटभन्दा बढ़ी सक्रिय ब्यायाम गर्नपर्छ । बढ़ी गर्न सके अझ राम्रो मानिन्छ ।
कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकूद, साइकल, पौड़ी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हन्छ । आफ्नो परिस्थिति अनुकूल ब्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । पहिले ४० वर्षमै मुटु रोगको कारणलाई जीवनशैली र आवश्यकता परे चिकित्सकको परामर्श अनुसार औषधिको सेवन गरेर असामयिक मुटुरोग र त्यसबाट हुने आर्थिक, शारीरिक, मानसिक, पारिवारिक, सामाजिक क्षतिबाट आफूलाई जोगाउन सकिन्छ ।
अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनावबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो । (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ)
विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
मोरङ, १३ असोज: ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।
ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालीमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड, गोल्छा मोड, डाँफे चोक, रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि व्यवसाय तथा उद्योगका प्रतिनिधि, औषधि बिक्रेता, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवामा आवद्ध तथा सरोकार भएकाहरुको सहभागिता थियो । सो अवसरमा डा दीपक सिग्देल, डा उत्तर मैनाली, डा लक्ष्मीनारायण यादव, ग्लेनमार्कका जटाशङ्कर साह रौनियार र अञ्जेस साहले मुटु रोगबाट हुने जोखिम र मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समयसमयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।
धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नूनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
सरकारले मुटुसम्बन्धीका दीर्घरोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
पर्यावरणीय सुरक्षाको खाँचो
धरान, १२ असोज : अहिले विश्वव्यापी रूपमा बदलिदो वातावरणको प्रभाव बढ्दै गईरहेको छ । यसै सन्दर्भमा भूमण्डलीकरणको प्रभावले ल्याएको जलवायु परिवर्तन सम्पूर्ण मानव समाजका लागि प्रभावित हुने किसिमको माध्यम बनिरहेको अवस्था सर्वविदितै छ । भूमण्डलीकरणको खास प्रभाव भन्दा पनि प्राकृतिक रूपमा नै जलवायु परिवर्तनको लहरले भूमण्डलीय स्वरूपमा प्रभाव पादै मानव स्रोत र साधन संशोधन र वाह्य प्रकृतिको वातावरणीय क्रियाकलापमा असर गरेको हुनाले पर्यावरणको सुरक्षाको लागि चुनौतीको समस्या सबैले सामना गर्नु परिरहेको यथार्थ छर्लङ्ग छ ।
वर्षा भई रहनु,मौसम परिवर्तन भइ रहनु, तापक्रम वृद्धि भई अनुकूल वातावरणमा प्रभाव परिरहनु, हावापानीमा परिवर्तन देखिनु यसको उदाहरण हुन सक्छ । यस अनुरूप भएका रुख बिरुवा कटान भईरहने कार्य, रुख बिरुवा मास्ने कार्यले पनि पर्यावरणीय सुरक्षामा चासो दिदैन । प्राकृतिक रूपमा नै उब्जिएका पुराना रुख बिरुवा कटान भएतापनि नयाँ किसिमका रुख बिरुवाको रोपन जस्ता कार्यको थालनी गर्न प्रयास गर्ने सोचाईको जागरुकता हुनु नै पर्यावरणीय सुरक्षा मान्न सकिन्छ । जस्ले गर्दा प्राकृतिक अवस्थाका स्थलहरूमा उजाड स्वरूप देखिन पाउदैन ।र, प्राकृतिक सम्पदाहरूको पनि सुरक्षाको लागि यसको भूमिका रहन्छ ।
समुदाय समाज र विभिन्न र राष्ट्रहरूमा समेत प्राकृतिक पर्यावरणको सुरक्षा अबका दिनहरूमा चासो र चिन्ताको विषय हुन । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने जलवायु परिवर्तनका कारण दिनानुदिन अवस्थामा प्राकृतिक पर्यावरणहरू मानव क्रियाकलापबाट बिग्रनु अशोभनीय मानिन्छ ।
पर्यावरणीय सुरक्षाको विस्तारका लागि सरसफाइ अभियान, जोखिमपूर्ण क्षेत्रको रेखदेख, प्राकृतिक धरातलका स्वरूपको हेरविचारका साथै स्थानीय तथा क्षेत्रीय तथा राष्ट्रिय स्तरका कार्यक्रमहरूको चलायमान तीव्र गतिले गर्दा समुदाय र समाजहरू पर्यावरणीय सुरक्षामा कतिको रेखदेख छ भन्ने यथार्थ पक्षलाई समेत स्वीकारनु पर्ने अवस्था रहन्छ । अन्त्यमा त्यसैले आजको बदलिदो वातावरणको अवस्थामा पर्यावरणीय सुरक्षा तथा हितका लागि जनचासोको विषय बन्नु पर्दछ भन्ने धारणा लाई स्पष्ट रूपमा बुझन आवश्यक छ जस्तो लाग्दछ ।
उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना
सिन्धुली, १२ असोज : सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फसेका छन् । गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।
सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उहाँले उल्लेख गर्नुभयो । “अहिले हामी गुरुकूलको माथिल्लो तलामा छौँ । कतैबाट उद्धारको पहल भएको छैन”, उहाँले भन्नुभयो ।
विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । “हामी उहाँहरुको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिनुभयो ।
“यहाँबाट उद्धारमा खटिएको टोलीले उहाँहरुको अहिलेसम्म उद्धार गर्न नसरहेको छैन । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन । मौसम अनुकूल हुने वित्तिकै हेलिकप्टर उडानमार्फत उद्धार हुन्छ ।”
रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् । साथै दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई
कास्की, १२ असोज : विश्व पर्यटन दिवसका सन्दर्भ पारे आज पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जित्नुभएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रवद्र्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो ।
खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमी दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गर्नुभयो । उहाँले उपाधि सहित नगद रु २५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्वितीय हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार पाउनुभयो । पोखरा–१७ का प्रकाश थिकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय हुनुभयो र रु सात हजार पुरस्कार पाउनुभयो ।
यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जित्नुभयो । उहाँले रु सात हजार पुरस्कार पाउनुभयो ।
यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै रु सात हजार र मेडल पुरस्कार पाउनुभयो । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी रु सात हजार सहित उपाधि जित्नुभयो । पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।
यसअघि प्रतियोगिताको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नुंभएको थियो । सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक दीननाथ बरालले पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको बताउनुभयो ।
माथिल्लो मनाङमा हिमपात
मनाङ, १२ असोज : देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।
हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमापत हुन सुरु भएको भएको छ, हालसम्म अधिक हिमपात भने भएको छैन । यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ ।”
बिहीबार साँझदेखि लगातार वर्षा हुँदा शुक्रबार रातिदेखि हिमपात भइरहेको हो । नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारमा डेढ फिट र फूमा छ इन्च हिउँ जमेको छ ।”
किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएका थिए । हिउँ छिट्टै पर्दा आलुबालीलाई पनि हिउँले पुरेको छ । यसले किसानमा चिन्ता थपिएको छ ।
“काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन्, हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको गएका छन्, यो हिउँ पर्ने समय नभए पनि हिमपात सुरु भएसँगै चिसो बढेको छ”, पाख्रिनले भन्नुभयो ।
जिल्लास्थित पर्यटन व्यावसायी समितिका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताउनुभयो । हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको हो ।”
माथिल्लो क्षेत्र तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको भन्दै अचानक हिमपात हुँदा पर्यटक भने हिउँमा रमाइरहेका बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले पर्यटकीय सिजन सुरु भएको बेला हिमपात हुँदा पर्यटक थप उत्साहित भएका भएको बताउनुभयो । देशभर मौसम बदली रहेकाले मौसममा सुधार नभएसम्म सुरक्षित स्थानमा रोकिन पर्यटकलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
काठमाडौँ, १२ असोजः तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
“आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”, उहाँले भन्नुभयो । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उहाँको भनाइ छ ।
“बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ”, पराजुलीले भन्नुभयो, “पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।” नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उहाँको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।
शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । “कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ”, प्रमुख पराजुलीले भन्नुभयो ।
चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम
गण्डकी, १२ असोजः विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभएको छ । उहाँले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा शुक्रबार आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अनलाइनमार्फत प्राप्त भएका २०७ तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल हुनुभएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो ।
अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवद्र्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताउनुभयो । विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उक्त सेवाको शुभारम्भ गर्दै उहाँले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो ।
“प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो ।
अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ । दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो ।
पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।
अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक थिए । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
धरान (सुनसरी), १२ असोजः निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौँ, ११ असोज : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्ने समेत निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले राजस्व न्यायाधीकरणले नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने र वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत, दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरेको छ ।






























