आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZC0Z4Q516QCY7KTE7YB75R2.jpg

लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

सोलुखुम्बु, २० जेठ I राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उहाँको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी’ स्थापना गरिएको हो ।     
      
पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको उक्त ‘ग्यालरी’को खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले लामाविधिबाट पूजापाठ गरी उद्घाटन गर्नुभयो । ‘ग्यालरी’मा शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालका गतिविधि र हिमाल आरोहणको इतिहास समेटिएको छ । शेर्पाले गर्नुभएको लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु ग्यालरीमा समावेश गरिएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो ।     
      
उहाँको जन्मस्थल खुम्बु पासाङल्हामु गाउँपालिकामा भविष्यमा पासाङल्हामु सङ्ग्रहालय स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यको सुरुआतस्वरुप ‘ग्यालरी’ स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकले ‘ग्यालरी’ अवलोकन गरेका छन् । प्रतिष्ठानले लुक्लासँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि पासाङल्हामु ‘ग्यालरी’ स्थापना गर्ने तयारी गरेको छ ।     
      
“पासाङल्हामुले सन् १९९३ अप्रिल २२ का दिन पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँको सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्थ्यो”, प्रतिष्ठानका महासचिव शेर्पाले भन्नुभयो, “ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारी समावेश गरिएको छ ।”     
      
हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन् । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘इन्डोर वाल क्लाइम्बिङ सेन्टर’ स्थापना गरी पर्वतारोहणको प्रवद्र्धन र लुक्लामा पासाङल्हामु निकोल निकी अस्पताल सञ्चालन गर्दै आएको छ ।     
 

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBS5HDP8GHMW5KWAKWP1S98.jpg

विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित

काठमाडौँ, २० जेठ I आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।     
      

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।     
      
अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ‘नटआउट’ हुँदै (अविजित) ९४ रन बनाएका हुन् । एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोडे । कप्तान मोनांक पटेलले १६ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक÷एक विकेट लिए ।     
      
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रन बनाएका हुन् ।     
      
क्यानडाका लागि निकोलस किर्टोनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोभ्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मद्दतमा २३ रन बनाए भने दिलप्रित बजवाले ११ रन बनाए । परगत सिंह पाँच रनमा आउट भएका हुन् ।     
      
अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक÷एक विकेट लिए । उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’ मा रहेको छ । अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।     
      

अमेरिकाले आफनो दोस्रो खेल यही जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।     

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBCHN5ZVC9YY1AYF9MBWA9J.jpg

अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौ, २० जेठ I गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।   
यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाउनुभएको छ ।   
  
अभिनेता शाहले सम्मानित भएपछि भन्नुभयो, “नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ ।”   
  
यसैगरी ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङ्गीत पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) पुरस्कार मुकेश शाह (नाङ्गो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार हिमाल केसी (एक भगवत एक गीता), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता)ले प्राप्त गर्यो ।   
  
त्यसैगरी ‘किरण’ सर्वोत्कृष्ट गीतकार पुरस्कार सुष्मा सिग्देल (नाङ्गो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन पुरस्कार एसडी योगी र अञ्जु पन्त (नाङ्गो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ः भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन पुरस्कार प्रदीप भट्टराई (महाजात्रा), ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार द रेड सुट्सेकलाई प्रदान गरियो ।   
  
कार्यक्रममा ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार परीक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २ः भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्रदीप भट्टराई (महाजात्रा)लाई प्रदान गरिएको थियो ।   
  
कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेतीलगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।  

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZ9C0XG9H0PMAXARXP9QDFC6.jpg

चिडिया तालसम्म पदमार्ग निर्माण

गोदावरी (कैलाली), १९ जेठ I कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ ।   
  
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा रु १५ लाखको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो ।   
  
पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताउनुभयो । “पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताउनुभयो ।   
  
पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन् । रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउनुहुन्छ ।   
  
पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन् । करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताउनुभयो ।   
  
यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ6NPKNJFHGT59FDRD3EW8S8.jpg

सुम्लिखामा यलम्बर उद्यान

खोटाङ, १८ जेठ I खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।     
     
वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।     
     
उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताउनुभयो । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उहाँले भन्नुभयो, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”     
     
किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिनुभयो ।     
     
वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ ।     
     
जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् ।     
 

प्रकाशित मितिः शुक्रबार, १८ जेठ २०८१
https://jawaaf.com/storage/01HZ6N2DVJPE03AQ9GEP1A19XY.jpg

पर्यटकको रोजाइमा पिण्डेश्वर मन्दिर

-सङ्गीता राई
धरान (सुनसरी), १८ जेठ I धरान उपमहानगरपालिका–८ बाट आउनुभएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पतीलाई गत सोमबार बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिनुभयो । उहाँहरुको १९ वर्षको वैवाहिक वर्षगाठ भएकाले पिण्डेश्वर मन्दिरमा पूजा गर्न आउनु भएको थियो ।     
      
 उहाँहरुले एकैस्वरमा भन्नुभयो, “१८ वर्ष पहिले यही मन्दिरमा हाम्रो विवाह भएकाले आज पूजा गर्नका लागि पनि यहीँ आएका हौँ र आज वैवाहिक वर्षगाठका अवसरमा पनि भगवान्को आशीर्वाद लिन आएका छौँ ।” अरु समयमा बूढासुब्बा, दन्तकालीलगायतका मन्दिरमा दर्शन गर्न जाने यो दम्पती वैवाहिक वर्षगाठका अवसरमा भने हरेक वर्ष पिण्डेश्वर बाबाधाममै आउने गर्दछ ।     
 धरान उपमहानगरपालिका–८ की जयन्तीकुमारी सिंह पनि १८ महिनाको छोरी काखमा लिएर परिवारसहित पिण्डेश्वर मन्दिरको दर्शन गर्न मन्दिर आइपुग्नुभएको थियो । उहाँलाई पनि पिण्डेश्वरप्रति अगाध आस्था छ । सिंहले भन्नुभयो, “पिण्डेश्वर बाबाधामसँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वासले गर्दा प्रायः हरेक सोमबार र शनिबार पूजा गर्न आउँछौँ ।”     
      
धरानको विजयपुरस्थित पिण्डेश्वर मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङ, काठमाडाँै, भक्तपुरलगायतका ठाउँबाट समेत ठूलो सङ्ख्यामा पिण्डेश्वर दर्शन गर्न आउने तीर्थालुको सङ्ख््या बढ्दै गएको छ । पिण्डेश्वर मन्दिर सबैका साझा देउता भएकाले सबै जाति, धर्मावलम्बीका मानिस पूजा गर्न आउने गर्दछन् ।     
      
भक्तपुरबाट दर्शनका लागि पिण्डेश्वर मन्दिर आउनुभएकी सुनिता श्रेष्ठ आफू धेरैपटक पिण्डेश्वर मन्दिर आइसकेको बताउनुहुन्छ । एक महिना अगाडि मात्र लागेको बाह्रवर्षे महाकुम्भ मेलामा पनि आफू आएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रायः हामी सपरिवार नै वर्षैपिच्छे पुजा गर्न पिण्डेश्वर बुढासुब्बा आउने गरेका छौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् ।”     
      
विगत २० वर्षदेखि मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा खड्का प्रत्येक शनिबार र सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या धेरै हुने गरेको बताउनुहुन्छ । उहाँले रुद्राक्ष भोजपुरको दिङलाबाट समेत खरिद गरेर आफैले डालीहरु बनाएर बिक्री गर्दै आउनु भएको छ । पिण्डेश्वर मन्दिर क्षेत्रमा २० देखि ३० को हाराहारीमा फूल मालाका पसल गर्ने व्यवसायी छन् भने आधा दर्जन जति होटल सञ्चालनमा छन् ।     
      
पिण्डेश्वर बाबाधाम समितिका इकाइ समिति तथा होटल व्यवसायी रन्जिता कट्वालका अनुसार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न दैनिक सरदर हजारदेखि १५ सयको संख्यामा भक्तजन आउने गर्दछन् । कतिपय भक्तजन पितृहरुको स्मरणमा श्राद्धका लागि आउने गर्छन् । यहाँ बिहानदेखि बेलुकासम्म नै पूजा हुने गरेकाले बिहानदेखि बेलुकासम्म नै मान्छेहरुको चहलपहल हुने गर्दछ ।     
      
धरान उपमहानगरपालिका–१३ स्थित विजयपुरमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिरको पूर्ण नाम ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’ भनेर चिनिन्छ । पौराणिक कथाअनुसार देवता र दानव मिली समुन्द्र मन्थन गर्दा निस्किएको विष र अमृतमध्ये अमृतलाई छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानका रुपमा लिइएको छ ।     
      
अमृतपिण्ड पिण्डेश्वरका रुपमा भगवान शङ्कर, अमृतपिण्ड शिवलिङ्गको पूजा गर्ने गरिन्छ । समुद्र मन्थन गर्दा निक्लिएको कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखी अन्त्यमा रत्नकारूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन दिएको थियो भन्ने भनाइ छ । प्रचलित जनविश्वासअनुसार तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको भन्ने मान्यता रहेको छ ।     
      
पिण्डेश्वर विजयपुरको दक्षिणमा पर्छ, जहाँबाट सुन्दर धरान बजार, चारकोशे जङ्गल र इटहरी बजारसमेत मज्जाले अवलोकन गर्न सकिन्छ । मन्दिर अगाडि पश्चिमतर्फ ऐतिहासिक रुप बोकेको पोखरीसँगै इनार पनि छ । पोखरीको बीचमा धातुबाट बनेको भगवान् सरस्वतीको ठूलो प्रतिमा पनि स्थापित छ ।     
      
पिण्डेश्वर मन्दिरको वरपर बाक्लो जङ्गल छ भने छेउछेउमा चौतारासँगै वरपीपलको रुखहरु पनि रहेका छन् । वनले घेरिएको एकान्त विजयपुर डाँडाको पुच्छरमा अवस्थित छ । बाहिरबाट झट्ट हेर्दा मन्दिरको स्वरूप चिटिक्क सानो देखिन्छ तर भित्र प्रवेश गरेर हेर्दा ठूलो फराकिलो फिँजारिएको सफा मन्दिर रहेको छ । त्यसभित्र सानाठूला गरी १० वटाभन्दा बढी मन्दिर छन् । पिण्डेश्वर शिवलिङ्गको ठिक अगाडि ढुङ्गाबाट निर्मित ठूलो बसाहा रहेको छ । मुख्य द्वारदेखि पूजा गर्दै जाँदा पिण्डेश्वर शिवलिङ्ग स्थलमा पुग्न सकिन्छ ।     
      
विशेषगरी चाडपर्वमा मन्दिर ठूलो भीड हुने गर्छ पिण्डेश्वर मन्दिरमा भक्तजनहरु साउन महिनाको पहिलो सोमबारपछि, अष्टमी, कात्तिकपूर्णिमा, माघेसङ्क्रान्ति, महाशिवरात्रि तीजलगायतका पर्वमा महिलाको ठूलो सङ्ख्यामा उपस्थित हुने गर्छ । साउन महिनामा यस ठाउँमा लाग्ने ठूलो बोलबम मेलामा देश विदेशका भत्तजन पहेंलो गेरु वस्त्र धारण गरी आउने गर्दछन् । खाली खुट्टा हिँड्दै ‘बोलबम’ भन्दै चतरा पुगेर त्यहाँबाट सप्तकोशी नदीबाट जल लिएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन् ।     
      
यहाँ शिवलाई जल चढाँउदा पाप पखालिने मनोकामना सिद्ध हुन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । प्रत्येक छ÷छ वर्षमा चतरा धाममा पिण्डेश्वर अर्धकुम्भ मेला र १२÷१२ वर्षमा करिब एक महिना लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समयमा यहाँ पूजापाठ अनि जल चढाउनेको सङ्ख्या धेरै हुने गरेको पिण्डेश्वर बाबाधामका पुजारीहरुको भनाइ छ ।     
      
यस ठाउँमा बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहेकाले भक्तजनलाई बासस्थानको व्यवस्था अलिक गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । पिण्डेश्वर मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने पिण्डेश्वर समितिका इकाइ सदस्य रन्जिता कट्वाल बताउनुहुन्छ ।     

प्रकाशित मितिः शुक्रबार, १८ जेठ २०८१
https://jawaaf.com/storage/01HZ6649B81M9VPXNP7B1012QW.jpg

बेलबारीमा बाल कला महोत्सव

बेलबारी (मोरङ), १८ जेठ I विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार देखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।     
     
बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले रु चार लाख ८० हजार अनुदान दिएको हो । महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेकामा त्यसको सराहना गर्नुभयो ।     
     
प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिनुभयो ।     
 

प्रकाशित मितिः शुक्रबार, १८ जेठ २०८१
https://jawaaf.com/storage/01HZ65PNHBZ0XD076TSRW3Z3ZQ.jpg

म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

म्याग्दी, १८ जेठ I बेनीमा बिहीबार सम्पन्न रु दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।     
     
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ । तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।     
     
पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगङ्गा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छभने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मङ्गला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो ।     
     
बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल सङ्घ सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद रु दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन् ।     
     
यसैगरी, छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद रु ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन् ।     
     
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गर्नुभएको हो ।     
     
चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा सङ्क्षिप्त मन्तग्य व्यक्त गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिनुभएको थियो ।     
 

प्रकाशित मितिः शुक्रबार, १८ जेठ २०८१
https://jawaaf.com/storage/01HZ4Y79ST6FY54SE2628161GK.jpg

किम्फमा ‘डान्सिङ इन फायर’

काठमाडौँ, १७ जेठः नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन गरिएको छ ।   
  
नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहनुभएका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गर्नुभएको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गर्नुभएको छ ।   
  
आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा छ । सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।   
  
एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दुःखबाट छुटकारा पाउन परिवार र सिङ्गो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ ।   
  
“यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ । विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ । यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौँ”, निर्देशक खड्काले भन्नुभयो ।   
  
गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।   
  
उहाँका अनुसार वृत्तचित्र सिङ्गापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ ।   
  
यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।  

प्रकाशित मितिः बिहिबार, १७ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1SCJMS9JM8GAA8PXXWP65J.jpg

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

१६ जेठ,सोलुखुम्बु I सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका शेर्पाले उपाधि जितेका हुन् ।     
     
 सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो हुनुभएको छ । महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो हुनुभएको छ । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।     
     
सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।     
 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१