आइतबार, ०४ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J02Y8SQ5NJ4VHNSJTFT42V7Z.jpg

दुःखसुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतिक्षालय निर्माण

भोजपुर, २९ जेठ I अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।   
  
टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म रु २२ लाख खर्च भएको छ । भवनको रु ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।   
  
“हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ ।” भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भन्नुभयो ।   
  
ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।   
  
“ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।”   
  
वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताउनुभयो । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उहाँको भनाइ छ । यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।  

प्रकाशित मितिः मङ्गलबार, २९ जेठ २०८१
https://jawaaf.com/storage/01J0162T2CBJWQ1C6JAPH4GN2M.jpg

पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

काठमाडौँ, २८ जेठ I खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।     
     
युनिसेफ नेपालले आज आयोजना गरेको सञ्चार अन्तरक्रियामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभइ यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो ।     
     
“खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्दछन्’’, डा शाक्यले भन्नुभयो, “बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन् । खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ । यी अहिलेको विश्वमा बाँच्नका लागि महत्वपूर्ण सीपहरू हुन् ।’’     
     
विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशीताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्दछ । यही कुरालाई आत्मसात गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो ।     
 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01J00GAS5KJQP7RN3MHBTEAW8J.jpg

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

गण्डकी, २८ जेठ I प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवद्र्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् ।   
  
बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।   
  
माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।   
  
“गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ, हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवद्र्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ ।” उहाँले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताउनुभयो ।   
  
“विकासको रफ्तारलाई हामी रोक्न त सक्दैनौँ, सडक पनि जनताको सेवाका लागि हो, तर अब देशभरका पदमार्गको पुनः नक्साङ्कन गर्नुपर्ने अवस्था आउँदैछ, वैकल्पिक पदमार्गको योजनामा हामी जानुपर्छ”, रानाले भन्नुभयो, “गुरिल्ला ट्रेकमा पनि ठाउँठाउँमा सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर छ, यो नेपालको पर्यटन क्षेत्रकै लागि चुनौतीको विषय हो ।”   
  
पर्यटक पथप्रदर्शक दिवस गुरुङ गुरिल्ला ट्रेकलाई ‘लुकेको हिरा’का रुपमा चिनाउन चाहानुहुन्छ । उहाँका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”   
  
सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गर्नुपर्छ, पदमार्ग बनाउँदा कङ्क्रिटको प्रयोग गर्नुभएन”, गुरुङले भन्नुभयो, “ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल आदिको व्यवस्था गर्नुपर्छ ।” उहाँले सरकारले ग्रेट हिमालयन, मुन्धुम, गुरिल्ला ट्रेकलगायतमा पर्यटकीय पूर्वाधार निर्माणको घोषणा गर्नुलाई सुखद मान्नुपर्ने बताउनुभयो ।   
  
“स्थानी, पर्यटनकर्मी, व्यवसायीलगायत सबै पक्षको सकारात्मक दबाब र पहलमा गुरिल्ला ट्रेकको विकासले कोल्टे फेर्न सक्छ, देशविदेशका पर्यटकमाझ नयाँ आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, गुरुङले भन्नुभयो । उहाँले गत साल मध्य बर्खामा ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो ।   
  
“अरू पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो”, उहाँले सुनाउनुभयो । रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताउनुभयो ।   
  
उहाँका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताउनुभयो । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताउनुभयो । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्ने उहाँको भनाइ छ ।   
  
“ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ््ग्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।”   
  
बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उहाँले बताउनुभयो । “बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्ग्याउन सकिन्छ, समय र अरू व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ”, पुनले भन्नुभयो ।   
  
अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी गुरिल्ला टे«कको विकास भने हुन नसकेको उहाँको भनाइ छ । “राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ”, पुनले भन्नुभयो, “पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।” सङ्घ सरकारको बजेटमा समेटिएकाले यसको विकासमा ठोस कार्यक्रम आउनेमा स्थानीय विश्वस्त रहेको उहाँको भनाइ छ ।   
  
पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्रान्डिङ’ गर्न सके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गर्नुभयो ।   
  
“छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थल आदिको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”   
  
उहाँका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”   
  
अग्ला पहाड, भिरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कँदा सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।   
  
“माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, गुरुङले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज–अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।” विगतमा युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।   
  
रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताउनुभयो । “सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक आएको पनि देखिन्न”, उहाँले भन्नुभयो ।  

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZZWMC3TGN7EC50ZCMDDG1PW.jpg

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौँ, २८ जेठ I भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । 

अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा  भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि  मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा  बाबर आजम, उस्मान खान र फखर जमानले समान १३÷१३ रन बनाए ।

पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे । 

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो ।  यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् । 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZY5EPRX27ENKKTE4JXD3046.jpg

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

काठमाडौँ, २७ जेठ I चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् । 

यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ को प्रतिक्रिया लिन र दर्शकसँग साक्षात्कार गर्न निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइलीसहितको समूह मोफसल पुगेको छ । 

शनिबार चितवनदेखि सुरू भएको मोफसल यात्रा आज पोखराका दर्शकसँग भेटघाट गर्दै सकिने निर्देशक राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रचार काठमाडौँ उपत्यका केन्द्रित भइरहेको हुन्छ, हामीले पनि उपत्यकाका दर्शक भेटघाट गरेपछि मोफसलमा निस्किएका छौँ, यस्ता गतिविधिले बजार बढाउन मदत गर्छ भन्नेमा विश्वस्त छौँ”, निर्देशक राउतले भन्नुभयो । 

चितवनका दर्शक भेटेपछि अभिनेता सिग्देलले चलचित्र चेतना बढेको महशुस गर्नुभयो । “हामीले चलचित्रका बारेमा पाइरहेको प्रतिक्रियाले आगामी दिनमा काम गर्न दिशानिर्देश गर्छ, दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन पाउँदा उत्साहित छु”, अभिनेता सिग्देलले भन्नुभयो । 

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गर्नुभएको चलचित्रमा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको छ । विकास सुवेदीले लेख्नुभएको चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्नुभएको हो । 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZXFZDH9HXP8GCN2BECMM1DN.jpg

इलाममा आदिवासी जनजाति महोत्सव

फिक्कल (इलाम), २७ जेठ I इलाममा आज देखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो ।     
     
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिनुभयो । “आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZXCKYS1GJPZ908JSNTC1N0C.jpg

विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी

काठमाडौँ, २७ जेठ I अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।

बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै  ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।

इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा  पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए । 

त्यस्तै फिल साल्टले ३७ रन जोडे  । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ ।

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZVY2G8JGQ1B3TEPYDP66ASZ.jpg

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

काठमाडौँ, २६ जेठ  I प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।   
  
किरात राई यायोक्खा काठमाडौँद्वारा आज टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो । “उभौलीमा किरातीहरूले नयाँ कृषि कर्मको थालनी गर्छन् । आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरू व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरू खुसी हुनेछन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।   
  
किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंश निम्त्याउने छजस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”   
  
प्रकृति पुजारी किरात समुदायको चाड उभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरूले एकापसमा भेला भई सङ्गठितरूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् । किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVPX7A92BDE24E50TBRDNJE.jpg

चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार

काठमाडौँ, २६ जेठ I मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार गरिएको छ । साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनमा सक्रिय रहनुभएका दीपेन्द्र केसीले सो बस्तीमा बसोबास गर्ने सन्तलाल चेपाङको जीवनीमा आधारित रहेर उक्त वृतचित्रमा तयार गर्नुभएको हो ।   
  
वृतचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक केसीले एक परिवारको भोगाइ र जीविकोपार्जनका लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गरिएको बताउनुभयो । “हामीले नजरअन्दाज गरेको कथालाई वृतचित्रको माध्यमबाट आममानिससम्म ल्याउँदैछु”, उहाँले भन्नुभयो, “चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृतचित्र बनाउने निर्णय लिएर काम सुरु गरेँ ।”   
  
“वृतचित्र तयार गर्दा उक्त परिवारको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ । मेरो उद्देश्य नै उनीहरूको जीवन र समुदायका कथा र पीडा आममानिस माझ ल्याउनु हो”, निर्देशक केसीले भन्नुभयो ।   
  
निर्देशक केसीले वृतचित्रमा ‘चेपाङ जङ्गलमै किन बसिरहेका छन् ?’, ‘उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ?’ भन्ने प्रश्नको जवाफ खोजिएको बताउनुभयो । उक्त वृतचित्रलाई सोही चेपाङ बस्तीसँगै विदेशमा प्रदर्शनी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZV3CF64V0BFQMBT3STMFBNM.jpg

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा, २६ जेठ  I रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।
       
  गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताउनुभयो ।
       
तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । 

तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ । काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ । धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउनेसमेतका कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प।्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१