सुनको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो
काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।
ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत आज भएको म्याराथन दौडको उपाधि आर्मीका श्रेष्ठलाई
ताप्लेजुङ I ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गर्नुभएको थियो ।
प्रथम हुनुभएका श्रेष्ठले रु एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाउनुभएको छ । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय हुनुभएको छ । उहाँले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभएको थियो । उहाँले रु एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । तृतीय हुनुभएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । उहाँलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी हुनुभएको थियो ।
महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम हुनुभएको छ । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गर्नुभएको थियो ।
यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो हुनुभएको छ । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी हुनुभएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिनुभयो । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन्भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।
बृहत् खोटाङ–हलेसी महोत्सवमा राष्ट्रिय गायनको उपाधि मिलनलाई
खोटाङ I नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’अन्तर्गत राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जित्नुभएको छ ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा गएराति सम्पन्न प्रतियोगितामा १८ वर्षमुनिका २९ जना प्रतिस्पर्धीको सहभागिता थियो । प्रतियोगितामा २८ जनालाई पछि पार्दै मिलनले उपाधि जित्नुभएको हो ।
देशभरका २९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो र डेनिस राई पाँचौँ हुनुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी तथा सहभागी गायकगायिकालाई कार्यक्रमका प्रमुख अतिथि, गीतकार एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खोटाङ कलाकार समाजको सहआयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।
प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ जना छनोट गरिएको थियो । उत्कृष्ट १५ मा छनोट भएकाले पुनःप्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सहआयोजक समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।
गत वैशाख ३१ गते देखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गायन प्रतियोगिता समापनका अवसरमा वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँहरुलाई नगद रु सात हजार सात सय ७७ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउने, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्य सहित खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
एघार दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गत वैशाख ३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ ४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो ।
एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पाउनुभएको छ । उपाधि विजेता बुढा र राईलाई जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवाले उपाधि जित्नुभएको थियो । कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको उपाधि जितेको हो ।
जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदैछ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजक सहित ११ टोली सहभागी प्रतियोगितामा महिला/पुरुष दुवै विधाका टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
चन्दा सङ्कलन तथा दाताको सहयोगमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो ।
दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो ।
महोत्सव सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीका साथै साहित्यिक एवं सङ्गीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।
स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
काठमाडौँ I स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिनुभयो ।
“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भन्नुभयो ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ ।”
स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पथ्र्यो । त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो । हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो । त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ ।”
निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल
रसुवा I चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिनुभयो । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।
नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
ताप्लेजुङ I यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ ।
सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करिब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम हुनुभएको आयोजक समितिले जनाएको छ ।
यस्तै पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय हुनुभएको छ भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तृतीय हुनुभएको छ ।
चौथोदेखि क्रमशः दसौँसम्म फक्ताङ्लुङका सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पाशाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दिपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आशकुमार लिम्बू रहेका छन् ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दसौँसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन सोमबार पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
लिस्वन (पोर्चुगल) I शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।
लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।
भगवान् गौतमबुद्ध र बुद्धजन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले साथ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।
बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजाआराधना गरिनेछ । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उहाँले बताउनुभयो । शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुनुहुने छ ।
फुङलिङ–पाथीभरा साइकलयात्रा
ताप्लेजुङ I ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा देखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो ।
पाथीभराको प्रचारप्रसारका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार आयोजित साइकलयात्रामा धरानका १६ वर्षीय दीपसागर तामाङसहित १७ जना सहभागी थिए । यसअघि पनि पाथीभरामा साइकलयात्रा गर्नुभएका तामाङले नेपालका अन्य ठाउँको तुलनामा पाथीभरा साइकलयात्राका लागि उत्कृष्ट क्षेत्र भएको बताउनुभयो । पाथीभरा पदमार्गलाई साइकलयात्राका लागि पनि हुनेगरी स्तरोन्नति गर्नसके यस क्षेत्रमा साइकलयात्रा गर्नेको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।
यही जेठ ३ गतेदेखि सुरु भएको महोत्सव सोमबार सम्पन्न हुनेछ । महोत्सवका क्रममा म्याराथन, मेयरकप भलिबल प्रतियोगिता, दुनाटपरी गाँस्ने, धुप बाट्नेलगायत प्रतियोगिता तथा कृषि प्रदर्शनी भइरहेको छ ।
खुसी हुन चुरेकाछवासीबाट सिक्नू
महोत्तरी I महोत्तरीको सुदूरउत्तरी चुरेकाछबस्तीमा पुग्नुभएको छ ? छभने सम्झनुस् त त्यहाँको जनजीवन !
नदी किनार, कान्लाकान्लीको बास । न बाटो, न पुलपुलेसा । बर्खाभरि यहाँका बासिन्दा खोल्सा वारिपारिका छिमेकीलाई पनि भेट्न पाउँदैनन् । न हाटबजार, न त अस्पताल । मिठोमसिनो खाना, राम्रो नाना, ओतलाग्ने सुरक्षित छाना, असञ्चो भइहालेमा स्वस्थोपचार गर्ने संस्था, अहँ ! ती पनि छैनन् ।
अहिले पनि यहाँस्थित चुरेकाछवासीले भात, मनमाफिकको दाल, तरकारी र मिठोमसिनो खान चाडपर्व कुर्नुपर्छ । स्वास्थोपचारका लागि शिविर आउनुपर्छ । स्वच्छ पानीका लागि सरकार र सङ्घसंस्थाले विशेष अभियान नै सञ्चालन गर्नुपर्छ ।
तल मधेसका फाँटमा चुरे दोहनप्रति चिन्ता जाहेर गर्दै मधेस मरुभूमिकरण बन्न लाग्यो भनेर धेरैले धारेहात लाउँछन् । त्यो आवाजले उठिबास पो लाउने हो कि भन्ने पीर पर्दोरहेछ यहाँ ।
अभाव छ । त्रास छ । भौगोलिक, आर्थिक, सामाजिक समस्या छन् । अरु नेपाली सरह रहरलाग्दो जीवन बाँच्ने चाहना छ । तथापि स्थानीयले कहिल्यै आफ्ना समस्या तेस्र्याएर राज्यलाई समस्यामा पार्दैनन् । न त कुनै मागदाबी गर्छन् । अनकण्टारको बास, भौगोलिकरूपमा दुर्गम तर पनि निस्फिक्री बाँचिरहेका छन् चुरेकाछवासी । अभावमा पनि रमाउन सक्नु यहाँको विशेषता हो । स्थानीयले सरकार र सरोकारवालाले देखाउने सामान्य सहानुभूतिमा पनि यी तमाम समस्या क्षणभरमै भुलिदिन्छन् ।
एकसाता अघि नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा र बर्दिवास जनसेवा अस्पतालले बस्तीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी स्थानीय भन्दै थिए, “बेलाबेला हुने यस्ता कार्यक्रम, स्वास्थ्य जाँच र उपचार सेवाले अकालमै मरिदैन होला भन्ने विश्वास जाग्छ ।”
लामो समयपछि आफ्नै बस्तीमा स्वास्थ्य जाँच र उपचार सेवा पाएपछि हामीलाई सम्झने पनि छन् भन्दै दङ्ग हुनुहुन्थ्यो स्थानीय कवीरमान बम्जन । उहाँले भन्नुभयो, “गरिबी, अशिक्षा, कुपोषण र अभावको जाँतोमा पिसिँदा भोगेका पीडा यस्ता सहानुभूति र सहयोगले बिर्साउँदा रहेछन् ।”
कहिल्यै विकासे योजना नपुगेका काछबस्तीमा यसअघि बर्दिवास नगरपालिका र रोटरी क्लब बर्दिवासले खानेपानीको सञ्चय गरेर धारा उपलब्ध गराएको गुन पनि काछवासीले बिर्सेका छैनन् । “हामी त बर्खा लागेपछि बाढीकै धमिलो पानी खाएर गुजारा गर्दै थियौँ, परार खानेपानीको धारा जोडिदिनुभयो । त्यसले निकै राहत भएको छ”, दुई वर्षअघिको गुन सम्झँदै बर्दिवास–११ का बम्जनले भन्नुभयो ।
बर्दिबास नगरपालिकाका वडा नं १० र ११ मा पर्ने यस क्षेत्रमा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा हाल तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेगरी त्यसताका धारा जडान गरिएका थिए । बस्तीबीचमा एउटा विद्यालय छ । सो विद्यालयमा यही शैक्षिकसत्रबाट कक्षा ९ सम्मको पढाइ हुन थालेको छ । यहाँ विद्यालय र खानेपानीको धाराबाहेक अन्य विकास पूर्वाधार छैनन् । अब भने बस्ती विकासका लागि सरोकारवाला र स्थानीय सरकारको ध्यान पुग्ने आशा जागेको बम्जनले सुनाउनुभयो ।
यसपटक दुई वर्षपछि स्थानीय झ्याउरे बस्तीमा चिकित्सक र अन्य सरोकारवालाको उपस्थिति हुँदा सरकार घरआँगनमा आएको भन्दै प्रफुल्ल हुनुहुन्थ्यो बर्दिवास–१० स्कुलडाँडाका ७० वर्षीय सलामसिंह थिङ । “धेरै दिन भयो आँखा नदेखेर संसार अँध्यारो भएको, डाक्टरसापले उपचारपछि चश्मासमेत दिएपछि अहिले देख्ने भएको छु”, थिङ् भन्नुहुन्छ, “हामीलाई आँखा देखाइदिनेको जय होस् ।”
यसैगरी बर्दिवास–११ भाङ्रे बस्तीकी ७५ वर्षीया कुमारी गोले पनि चश्मा लाएर आँखा देख्ने भएपछि निकैै खुसी हुनुहुन्छ । “आँखाको उपचार गरे, चश्मा दिएपछि त छ्याङ्ङै देख्ने भएँ”, गोलेले भन्नुभयो, “गानोगोलाले पनि हैरान थिएँ, त्यसको दबाई (औषधि) दिएका छन् । सञ्चो होला भन्ने आशा छ ।”
यसैगरी बर्दिवास–११ पूर्वीखोलाका पूर्णबहादुर बम्जन पनि बस्तीमै आएर स्वास्थ्योपचार गरिदिएपछि प्रफुल्ल हुनुहुन्छ । “खै, तीनवटा सरकार छन् भन्छन् । हामी खोलाखाँकरमा बस्नेलाई सधैँ सम्झने फुर्सद हुँदैन । यसपटक भने हाम्रा नाडी छाम्न आउनुभयो, यसरी आइदिँदा आडभरोस लाग्छ”, ७५ वर्षीय बम्जनले खुसी हुँदै भन्नुभयो ।
बर्दिवास–१० स्कुलडाँडाकी डोल्मामाया मोक्तानले उमेरले ७० कटेपछि घरआँगनमै स्वास्थ्य जाँच र सञ्चोबिसञ्चो सोधेपछि आधा रोग निको भएको अनुभूति सुनाउनुभयो । “डाक्टरले घरमै आएर सबै हालचाल सोधे, जाँच गरे, दबाई पनि दिए, अब रोगब्याधी निको होला भन्ने आशा जागेको छ”, मोक्तान भन्नुहुन्छ, “बेलाबेला यसैगरी हालचाल सोध्न आइदिए त अझै केही वर्ष बाँचिन्थ्यो कि !”
बर्दिवास चोकबाट करिब ३० किलोमिटर दूरीमा पर्ने चुरेकाछका पिपलेखर्क, माझखोला, तीनपिपले, तीनतले, झ्याउरे, भाङ्रे, गर्तीदोभान, सातदिने, भालुझोरा र पूर्वीखोलासहितका दशभन्दा बढी बस्तीलाई केन्द्रित गरी रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको शिविरमा छ सय ५० जनाले स्वास्थ्य जाँच र उपचार सेवा लिएका थिए ।
यी बस्ती खयरमारा बजार कटेर खयरमारा खोला हुँदै सात किलोमिटर छिचोलेपछि सुरु हुन्छन् । यहाँ यातायात, स्वास्थ्य सेवा र अन्य अवसर पुगेका छैनन् । यहाँको बाटो नै खयरमारा खोलाको बगर हो । कात्तिकदेखि जेठसम्म खोलाको बगर हुँदै आउजाउ गर्न सकिए पनि बर्खा लागेपछि यहाँ सम्पर्क सञ्जाल टुट्छ । सिन्धुलीको मरिनसँग जाडिएका यी बस्तीमा राज्यको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ रेडक्रस महोत्तरी शाखाका सदस्य मुकुन्दप्रसाद पौडेल ।
गरिबी, सामाजिक दुरावस्था, शिक्षा र चेतनाको कमी तथा कुपोषणका कारण धेरैजनामा स्वास्थ्य समस्या देखिएका शिविर टोलीका चिकित्सकको निष्कर्ष रहेको नेत्रविशेषज्ञ डा दिना ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा, दाँत र पाठेघर जाँच गरिएको थियो ।
त्यसक्रममा दुई सय ७० जनाको आँखा जाँच र उपचार, दुई सय ६५ जनाको दाँत र गिँजा तथा एक सय १५ जनाको पाठेघर जाँच र उपचार गरिएको रेडक्रस बर्दिवास उपशाखाका सभापति रेवन्त कार्कीले जानकारी दिनुभयो । उहाँले रोगको अवस्थाअनुसार उपचार, थप परामर्श, आवश्यकतानुसार अन्य अस्पतालमा रेफर गरिएको बताउनुभयो ।
शिविरमा स्वास्थ्य जाँच र उपचार सेवा लिनेमा चार सयभन्दा बढी महिलासमेत सहभागिता रहेको थियो । बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री राजनीतिक विभाजनमा बर्दिवास नगरपालिकामा गाभिए पनि सो क्षेत्रलाई नगर भन्न लायक बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँ सबैको सहयोगमा योजनाबद्ध रूपमा विकासका काम अगाडि बढाएमा मात्रै सो क्षेत्रका जनताले सुविधा पाउने उहाँको बुझाइ छ । “यी बस्तीमा स्वच्छ खानेपानी, आधारभूत शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्याउन लागिरहेका छौँ । पहिलेका भन्दा राज्यको पहुँच बढ्दै छ”, नगरप्रमुख क्षेटीले भन्नुभयो, “अब काछवासीले सरकार पुगेको अनुभूति लिनेगरी कामलाई अगाडि बढाउँछौँ ।” उहाँले चुरेकाछका बस्तीमा गत वर्ष नै रोटरी क्लब अफ बर्दिवासको सहकार्यमा स्वच्छ खानेपानीको प्रबन्ध गरिएको र झ्याउरेमा माध्यमिक तहको पठनपाठन सुरु भएको जानकारी दिनुभयो ।
चुरेकाछका बर्दिबास–१०, ११ मा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा ९५ प्रतिशत तामाङ जातिको बसोबास छ । अन्यमा केही कामी, दमाई र सार्कीसहित दलित समुदाय छन् । बर्दिबास–१० का वडाध्यक्ष प्रमोदकुमार मोक्तानका अनुसार यहाँ करिब तीन सय परिवारको बसोबास गरिरहेका छन् ।
अरु समस्या त छँदैछन् राम्रो बाटोघाटो नहुनु यी बस्तीको मुख्य समस्या हो । त्यसकारण हरेक वर्षायाममा अधिकांश समय बाह्य सम्पर्कबाट बञ्चित हुनु यहाँको विवशता हो । बर्दिबास–११ का वडाध्यक्ष पूर्ण बल यो अवस्था अन्त्यका लागि भरपर्दो बाटो निर्माणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ । “सानो रकमले हुने काम हामी स्थानीय तहबाटै गरिरहेका छौँ तर सडकबाटो निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकार मिल्नुको विकल्प छैन । नगर भन्ने तर सोअनुसार स्तरोन्नति र सेवासुविधा विस्तारको काम नगर्ने हो भने त्यसले हामी सबैलाई गिँज्याइरहने छ”, उहाँले भन्नुभयो ।