पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा
काठमाडौँ, ५ साउन I उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका छोरा अरुण चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुग्नुभएका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताउनुभएको थियो ।
सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला
काठमाडौँ, ४ साउन I चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।
भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भई आफन्तले बुझेका छन् ।
चितवनको माडी¬ नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका–१० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ ।
रौटहटको गरुडा नरपालिका–९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका–६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका–३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका–७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेका खुलेको छ ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।
भारतको चम्पारणमा फेला परे दुई शव
दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह
काठमाडौँ, ३ साउन I काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गर्नुभयो ।
कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिनुभयो ।
“डेङ्गी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उहाँले भन्नुभयो । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो ।
डेङ्गीको मुख्य लक्षण
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गीसम्बन्धी फोकलपर्सन भुसालले बताउनुभयो ।
“टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।”
यसबाट बच्ने तरिका
डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता ककाम गर्नुपर्छ ।
चर्च बोइज युनाइटेड क्लब विजयी
काठमाडौँ, २ साउन I राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइज थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
चर्च बोइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।
‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’
काठमाडौँ, २ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भन्नुभयो । सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनपत्र समेत दिइएको थियो ।
भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानवसेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैबीच, मानवसेवा आश्रमकी संरक्षक राधिका शाक्यले श्रावण सङ्क्रान्तिका अवसरमा मानवसेवा आश्रममा आश्रित आमाबुबाहरुका लागि हिजो साँझ विशेष भोजन सेवा प्रदान गर्नुभएको थियो ।
मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ । हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ । आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।
पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते
किमाथाङ्का, (सङ्खुवासभा), १ साउन I सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेकाे पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो ।
पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।
‘कण्डक्टर’ले बस चलाउँदा ...
बनियानी (झापा), १ साउन I झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् ।
उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।
निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
- रुपनी जि एम
जानकी (बाँके), ३१ असार I बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको थियो ।
राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेनाले नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हालै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाको ज्योति फर्किने आशामा समिरा त्याहाँ पुग्नुभएको थियो । “सहरको महँगो अस्पतालमा गएर आँखाको उपचार गराउन पैसा छैन । गाउँमै चिकित्सकहरुले परीक्षण गर्नुहुन्छ भन्ने सुनेर यहाँ आएकी हुँ ।”
उमेरले आठ दशक पार गरी सक्नुभएकी समिरालाई गाउँमै स्वास्थ्य शिविर बस्ने कुराले उत्साहित बनाएको थियो । “यसपटक त मैले आँखा देख्न पाउँछु कि भन्ने आशा छ”, उहाँले भन्नुभयो, “योभन्दा पहिला यस्तै शिविरमा धेरैले मलाई तिम्रो आँखाको शल्यक्रिया अस्पतालमा मात्रै सम्भव हुन्छ भन्ने गर्दथे तर मेरो आँखाको शल्यक्रिया निःशुल्क रुपमा यहीँ हुन्छ भन्नेमा मलाई विश्वास छ ।”
समिराका अुनसार प्रत्येक वर्ष गाउँमै सञ्चालित शिविरमा आँखाको जाँच गराउँदा दुबै आँखामा मोतिबिन्दु लागेको र तत्काल शल्यक्रिया गर्नु पर्ने चिकित्सकले उहाँलाई सुझाव दिएका थिए । उहाँले आफूसँग शल्यक्रिया गर्न चाहिले रकम नहुँदा शिविर बस्न थालेदेखि आफू शिविरमा आउने गरेको बताउनुभयो । आँखाको ज्योति फर्किने आशामा लौरो टेक्दै गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा बसेको शिविरमा पुग्नुभएकी समिरालाई यस पटक पनि चिकित्सकहरुले शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिएपछि उहाँ निराश भएर घर फर्किनुभयो ।
गाउँमै शिविर बस्ने कुराले समिरा जस्तै जैतुना पठान पनि उत्साहित हुनुभयो । सोही गाउँपालिका–२ रोशनपुवामा बस्ने ८० वर्षीया जैतुनाका दुबै आँखाले राम्रो ठम्याउन सक्दैनन् । उहाँले मान्छे र दृश्य दुवै धमिलो देख्दै आउनुभएको चार वर्ष भएको छ । पन्ध्र वर्षअघि श्रीमान्को मृत्यु भएपछि जैतुना दुई छोरासँगै बस्दै आउनुभएको थियो । तर अहिले तीनै छोराहरु पनि अलगै बस्न थालेपछि उहाँ एक्लै बस्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण आँखाको उपचार गराउन नसकेको उहाँ बताउनुहुन्छ । समिरा जस्तै उहाँ पनि प्रत्येक वर्ष विभिन्न सङ्घसंस्थाले गाउँमै आयोजना गर्ने शिविरमा आँखा उपचारको आशामा जाने गरेको बताउनुहुन्छ ।
नेपाली सेनाले शिविरको आयोजना गरेको खबर सुन्नु भएकी जैतुनालाई यस वर्षको शिविरमा आफ्नो आँखा निको हुनेमा विश्वास लागेको बताउनुभयो । ‘‘हाम्रो गाउँमा पहिलोपटक सेनाले शिविरको आयोजना गरेको छ भन्ने सुनेर आएकी छु’’ आँखाबाट बगेको पानी पुच्छ्दै उहाँले भन्नुभयो,‘‘यसपटक भने मलाई मेरो आँखाको राम्रोसँग जाँच हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’’
गाउँमै शिविर बस्दैछ भन्ने थाहा पाएर तीन वर्ष पहिले उच्च रक्तचापले हानेर शरीरको दाहिने भाग नै नचल्ने हुनुभएका चेतबहादुर परियार पनि निको हुने आशामा उपचारका लागि शिविरमा पुग्नु भएको थियो । श्रीमती चित्रकुमारी र छोरा न्यूजनका साथ शिविरमा पुग्नु भएका उहाँलाई यस पटकको शिविरमा भने आफ्नो नचल्ने शरीरका भागहरु चल्ने कुरामा विश्वास लागेको बताउनुहुन्छ । शिविरबाट चेकजाँच गराएर बाहिरिंदै गर्दा उहाँले भन्नुभयो,‘‘मलाई सेनाको चिकित्सकले तपाईँको दाहिने हात र खुट्टा नचले पनि लौरोको सहारामा बिहान बेलुका सकेजति हिंड्नु निको हुन सक्नुहुन्छ भनेका छन्, जिब्रो लडबडिएर बोल्न समेत गाहे हुने चेतबहादुरले उत्साहित हुँदै भन्नुभयो ।
शिविरमा बाँकेको बैचहवा–२ नरैनापुरकी आमना जोलाही बलबल अस्पतालसम्म पुग्नु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी आमना दुबै कानले राम्रोसँग सुन्न सक्नुहुन्न । तीन वर्षदेखि कानको समस्या झेल्दै आउनु भएकी ८० वर्षीया आमना ठूलो स्वरले बोल्दा मात्रै अलिअलि सुन्नुहुन्छ । राम्ररी कान सुन्न नसक्दा आफ्नै परिवारका सदस्यबाट अपहेलित भएको उहाँ बताउनुहुन्छ । ‘‘मैले दुई ओटै कान सुन्न सक्दिन’’, उहाँले भन्नुभयो, ‘‘अरुले बोलेको सुन्न नसक्दा धेरै गाह्रो हुँदो रहेछ ।’’ आमना पनि अरु जस्तै प्रत्येक वर्ष गाउँमा नै आएर चेकजाँच गराउने शिविरमा नियमित चेकजाँच गराउँदै आउनु भएको छ ।
सेनाले यस पालिकामा रहेका गरिब, असहाय, अशक्त र विपन्न वर्गको निःशुल्क स्वास्थ्य सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरेको थियो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले स्वास्थ्य शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित विरामीले गाउँमै निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउन पाएको बताउनुभयो ।
बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अुनसार उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । जिल्लाको दुर्गम भेगमा पर्ने यो पालिकाका अधिकांश बासिन्दाको आर्थिक अवस्था कमजोर हुँदा सहरका अस्पताल र निजी क्लिनिकहरुमा गई उपचार गराउन असमर्थ रहेकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँको भनाइ छ ।
सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा १६ जना विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री रोग, प्रसूति तथा बाँझोपन, छालारोग, बालरोग, दन्तरोग, नाक, कान, घाँटी, आँखालगायतका रोगहरूको परीक्षण गरिएको थियो ।
सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो
चितवन, ३१ असार I नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।
सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताउनुभयो । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।
अमेरिकी रिपब्लिकन पार्टीको र्यालीमा गोली चल्यो, ट्रम्पको कानमा चोट लागेको पुष्टि
बटलर, संयुक्त राज्य अमेरिका, ३० असार (रासस/एएफपी) I अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ ।
उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ ।
उक्त यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।
आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गर्नुभएको छ ।
ट्रम्पले लख्नुभएको छ, “¥यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।”
“धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,” उहाँले थप्नुभयो ।
उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उहाँको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो । उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताउनुभयो । उहाँका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ ।
ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।