सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J2H1MTC1KQGE6YMMDAXTTAVS.webp

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ, २७ असार I  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । 

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । 

उहाँले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताउनुभयो । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् । 

अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु दुई सय थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । 

यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ । 

प्रकाशित मितिः बिहिबार, २७ असार २०८१
https://jawaaf.com/storage/01J2GXAT9NZGZFB33WC2Z5EB6J.jpg

‘तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ’

काठमाडौँ, २७ असार I नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताउनुभएको छ ।

सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हामीले अपेक्षा गरेका कार्यहरु पूरा नहुँदा तनाव हुने गर्दछ, तनावलाई जरैदेखि उखेलेर फाल्ने, तनावलाई स्वीकार गरेर अघि बढ्ने, छलफल गरेर निष्कर्ष निकाल्ने, आफैँलाई प्रेम गर्ने, मनको कुरा अरुलाई बाँड्ने गर्नुपर्छ ।” उहाँले धैर्यताले पनि तनाव व्यवस्थापनमा भूमिका खेल्ने भन्दै विपश्यनाले तनावलाई कम गर्न सहयोग गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले भन्नुभयो, “तनावग्रस्त समाजले देशलाई अगाडि बढाउन सक्दैन, अहिले देशमा भ्रष्टाचार मौलाएकोे देखिन्छ त्यसले कसरी देशमा परिवर्तन आउन सक्छ ? मानव दिनचर्यासँग जोडिएको यो विषयमा छलफल गरिराख्नुपर्छ ।”

सदस्यसचिव डा धनप्रसाद सुवेदीले विश्वमा जति सुखसुविधा मानिसले भोग गरिराखे पनि तनाव व्यवस्थापनमा भने चुकेको बताउनुभयो । प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख डा कौशिला रिसाललगायत कार्यक्रममा प्राज्ञ परिषद् सदस्यको उपस्थिति रहेको थियो । 

प्रकाशित मितिः बिहिबार, २७ असार २०८१
https://jawaaf.com/storage/01J2G3CHSE8QA8YTGSDH6AKMGB.webp

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर, २७ असार I  गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२,  टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । 

विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । यस वर्ष जिल्लामा स्क्रफटाइफस सात सय ३७ जनामा देखिएको छ । गत वर्ष पाँच सय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए । 

स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । टीकापुर अस्पतालका जनरल मेडिसिन  दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताउनुभयो । “डेङ्गी पटकपटक हुनु जोखिम हुन्छ, डेङ्गी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै रोगबाट बच्न सकिन्छ ।” 

डा शाहले डेङ्गी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताउनुभयो । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रेमकुमार राइले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपद्मा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताउनुभयो । उहाँले वर्षातमा डेङ्गी, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताउनुभयो । “त्यसै पनि हामीकहाँ बिरामीको चाप छ, विपद् जोखिम रहेको यो क्षेत्रमा बर्सातमा अझ बिरामी बढ्ने भएकाले हामीले तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यो समयमा चिकित्सक बिदामा नबस्ने, औषधि, उपकरणको जोहोजस्ता तयारी गरेका छौँ ।”

टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले अस्पतालको फोहोर व्यवस्थापनमा पालिकालाई सघाउन आग्रह गर्नुभयो । “फोहोरकै कारण धेरै रोग लाग्छन्, सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “हामीसँग दुईवटा फोहोर प्रशोधन गर्ने अटोक्लेभ मेसिन छन् । नगरपालिकाले नगरभित्र सङ्कलन भएको प्लाष्टिकजन्य फोहोर हामीकहाँ प्रशोधन गर्न सक्छ ।”

अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताउनुभयो । “मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ ।”

प्रकाशित मितिः बिहिबार, २७ असार २०८१
https://jawaaf.com/storage/01J2FN25QC8G0WG3HAWYTK0QDJ.jpg

भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन, २७ असार I भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।   
  
स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।  

प्रकाशित मितिः बिहिबार, २७ असार २०८१
https://jawaaf.com/storage/01J2E8JK88PYFPM7EJDWQ0G9Q2.jpg

‘रेडक्रसको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न खोजियो’

काठमाडौँ, २६ असार I नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ । समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ ।     
     
रेडक्रसको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढङ्गबाट दुष्प्रचार गरिएको दाबी गर्नुभयो ।     
     
“नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्”, उहाँले भन्नुभयो, “छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।”     
     
राजनीतिक हस्तक्षेप र लामो समय केन्द्रीय कार्यसमितिको अनुपस्थिति नहोस् भनी देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै उहाँले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।     
     
“वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र रही मानवीय सेवामा तल्लीन छ”, अध्यक्ष नेपालले भन्नुभयो, “करचुक्ता, संस्था दर्ता नवीकरण, मानवीय सेवा र विपद् प्रतिकार्यका विभिन्न परियोजना व्यवस्थित गर्न कार्यसमिति सक्षम छ ।” उहाँले विद्यमान कार्यसमिति पारदर्शीता, जवाफदेहिता, आर्थिक अनुसशासन र सेवाको गुणस्तर पालना गर्न गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।     
     
नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको जानकारी दिनुभयो ।     
     
उहाँले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पार्नुभयो । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उहाँको भनाइ थियो ।     
     
नेपाल रेडक्रस अन्तर्राष्टिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रुपमा विसं २०२० मा स्थापना भई मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रुपमा कार्यरत छ ।     

प्रकाशित मितिः बुधबार, २६ असार २०८१
https://jawaaf.com/storage/01J2BTXVR7SHV4K4M4TZ5Z0ES7.webp

जाम्बियामा कोभिड–१९ का सङ्क्रिम बढे

लुसाका, २५ असार I जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।     
     
मासेबोले भन्नुभयो, “देशका १० मध्ये छ प्रान्तमा कोरोन सङ्क्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।” उहाँका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुुलुकभर चार हजार सात सय ७० कोरोना सङ्क्रमित भेटिएका छन् ।     
     
जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा बृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोगहरु पत्ता लगाउन सक्रिय रहेको जनाएको छ । - रासस/सिन्ह्वा

प्रकाशित मितिः मङ्गलबार, २५ असार २०८१
https://jawaaf.com/storage/01J2APRNYZD806A4MJ2655XMZF.jpg

‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

टीकापुर (कैलाली), २५  असार I लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।     
     
भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो । “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”     
     
बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पु¥याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताउनुभयो । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिनुभयो । “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उहाँले भन्नुभयो, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”     
     
नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताउनुभयो । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताउनुभयो । “खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला ?”, उहाँ भन्नुहुन्छ, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ । त्यसैमाथि सडक सहारा भएको छ ।”     
     
यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उहाँले भन्नुभयो, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन ।”     
     
टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।     
     
डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, २५ असार २०८१
https://jawaaf.com/storage/01J26XD990AQPZ50YPXHEWZYG3.png

‘उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण

विराटनगर, २३ असार I विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राकृतिक प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
 
स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानवीय सेवामा स्काउट सधँै समर्पित रहने कुरामा जोड दिनुभयो । स्थानीय स्काउट परिषद्का संरक्षक रहनुभएका प्रमुख कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाइ स्काउट रक्तदान, बाढीपहिरो र डुबान पीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको इतिहासमा स्काउटको लामो इतिहास रहेको चर्चा गर्दै कोरोनाकालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको प्रमुख कोइरालाले प्रशंसा गर्नुभयो । इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम रहेको स्काउटको संरक्षक कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराउनुभएको थियो ।

प्रकाशित मितिः आइतबार, २३ असार २०८१
https://jawaaf.com/storage/01J262CQV0QVMRQ4494JA65SQ7.jpg

मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी

जनकपुर, २३ असार I मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवम् वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । 

मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्रनारायण साह रहनुभएको थियो ।  मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ । 

प्रकाशित मितिः आइतबार, २३ असार २०८१
https://jawaaf.com/storage/01J23GXYVDPNXXT4EJJGAVDAKX.png

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मी, २२ असार I जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । 

घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।  

प्रकाशित मितिः शनिबार, २२ असार २०८१