हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइयो
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन् ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै गएका छन् ।
उनले सत्याग्रह सुरु गरेको तेस्रो दिन भयो । तेस्रो दिनमा आइपुग्दा उनले शारीरिक रुपमा शिथिल महसुस गरेका छन् ।
‘सुगर घटेको रहेछ’, उनले भने,‘अब बोल्न पनि गाहे हुन थाल्यो ।’ पानी मात्र पिएर सत्याग्रहमा रहेका उनको स्वास्थ्य जाँच गर्न हिजो साँझ इलाम अस्पतालको टोली पुगेपनि त्यसयता स्वास्थ्य जाँच नभएको बताइएको छ ।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिताभ ठाकुरले डा. केसीको टीमबाट पछिल्लो स्वास्थ्यबारे जानकारी नदिएको बताए । उनले इलाम अस्पतालको तर्फबाट चार जनाको स्वास्थ्य टोली तयार पारेर राखेको बताएका छन् । उनले स्वास्थ्य अवस्था बिषयमा आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
यसैबिच, डा.केसीको सत्याग्रहप्रति सरकारले खास चासो नदेखाएको बताइएको छ । डा. केसीले आफ्नो छ बुँदे माग राखेर इलाममा सत्याग्रह बसेका छन् ।
गेटामा एमबीबीएस नर्सिङ सञ्चालन र सिट वृद्धिसम्वन्धी विवादित निर्णय खाजेर गर्नुपर्नेसहित स्वार्थ बाझिने गरी गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने विषयलाई आफ्नो मुख्य बटमलाइन बनाएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न डा. केसीले कात्तिक ११ गतेदेखि इलाम बजार नजिकै रहेको नारायणस्थान मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीका छ बुँँदे मागहरु
विवादित निर्णय खारेज ः न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गरियोस ।
२. निष्पक्ष छानबिन र कारबाही ः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी निजहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस् । छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गरियोस ।
३. गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालनः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गरियोस्। आवश्यक पूर्वाधार, जनशक्ति र सबै कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरियोस । विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानसमेत परिमार्जन गरियोस ।
४. छात्रवृत्ति र गुणस्तरको रक्षा ः सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गरियोस् । निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्डविनै सिट वृद्धि गर्ने प्रयास रोकियोस् ।
५. सरकारसँग भएका सहमति कार्यान्वयन ः २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरियोस्। सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट, तोडफोडलगायत विध्वंसात्मक घटनाको छानबिन तथा दोषीमाथि कारबाहीसम्बन्धी विषयसमेत कार्यान्वयन गरियोस् ।
६. सरकारी मेडिकल कलेज विस्तारः इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गरियोस्। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाइयोस् ।
चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो । यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन ।
अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजे देखि सत्याग्रह शुरू गरेको घोषणा गर्दछु । यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ ।
चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी
विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा निर्वाचित डा. योसिका भट्टराईको राजनीतिक यात्रा चासोको विषय बनेको छ ।
पेशाले चिकित्सक रहेकी भट्टराई राजनीतिमा प्रवेश गर्नुअघि स्वास्थ्य क्षेत्रका समस्यासँग प्रत्यक्ष जोडिएकी थिइन् । उपचारमा सर्वसाधारणको पहुँच, आर्थिक अभावका कारण बिरामीले भोग्नुपर्ने कठिनाइ र स्वास्थ्य सेवाको सीमितताले उनलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको छ । उनी राजनीतिमार्फत स्वास्थ्यसहित शिक्षा, रोजगारी र विकासका आधारभूत क्षेत्रमा सुधार गर्नुपर्ने बताउँछिन् ।
राजनीतिमा प्रवेश गर्दाको अनुभव, पार्टीभित्र समावेशी प्रतिनिधित्वको महत्त्व, युवाका समस्या र जनताको विश्वास जित्न निर्वाह गर्नुपर्ने भूमिकाबारे कोशी प्रदेशका प्रतिनिधि खेमराज सापकोटाले डा. भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको चुनावी अनुभव कस्तो रह्यो ?
सुरुमा मैले आफ्नो क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको थिएँ । त्यहाँ पुगेदेखि नै राम्रो समर्थन पाएँ । मैले आफ्नो राजनीतिक पृष्ठभूमि नभएको र राजनीतिबारे धेरै जानकारी पनि नभएको कुरा स्पष्ट रूपमा राखेकी थिएँ । तर समाजका लागि केही गर्नुपर्छ र आफूले सक्ने सेवा प्रदान गर्नुपर्छ भन्ने मेरो भावना थियो । मतदाताले त्यसलाई बुझिदिनुभयो र साथ दिनुभयो ।
म आफैँ पनि आश्चर्यचकित हुन्थेँ । एक जनासँग भोट माग्न जाँदा उहाँले अरू चार–पाँच जनालाई समेत भेटाइदिनुहुन्थ्यो । ‘तपाईंजस्तो मान्छेलाई अगाडि बढाउनुपर्छ, रोक्नु हुँदैन’ भन्ने भावना मतदातामा पाएँ । उहाँहरूले मप्रति देखाउनुभएको विश्वास र समर्थनकै कारण आज यो स्थानमा आइपुगेकी हुँ ।
कांग्रेसले विभिन्न समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न अपनाएको क्लस्टर प्रणालीलाई कसरी लिनुभएको छ ?
नेपाली कांग्रेसले विभिन्न जातजाति, समुदाय, पुस्ता र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरको व्यवस्था गरेको छ । यसले सम्बन्धित समुदायका समस्या पार्टीभित्र उठाउन सहज बनाउँछ ।
युवा, महिला वा कुनै समुदायका मानिसले समस्या भोगिरहेका छन् भने त्यसलाई पार्टीभित्र उठाउन र समाधानका लागि पहल गर्न सम्बन्धित समूहको प्रतिनिधित्व आवश्यक हुन्छ । त्यसैले सबैको आवाज समेट्ने वातावरण सिर्जना गर्न कांग्रेसले गरेको यो अभ्यास राम्रो लागेको छ ।
चिकित्सक भएर पनि राजनीतिमा लाग्नुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?
यसका दुई–तीनवटा कारण छन् । पहिलो कुरा, समाजमा परिवर्तन ल्याउन राजनीतिमा पनि सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ । चिकित्सकको काम दैनिक बिरामीको उपचार गर्नु हो । म विराट टिचिङ हस्पिटलमा काम गर्छु । हाम्रो क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका धेरै बिरामी हुनुहुन्छ । उहाँहरूका लागि उपचारको खर्च जुटाउनै कठिन हुन्छ । कतिपय अवस्थामा आवश्यक परीक्षण र अनुसन्धानसम्म पहुँच पु¥याउन समस्या हुन्छ ।
यस्तो अवस्था देख्दा दुःख लाग्छ । हामीले अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपबाट बिरामीलाई सेवा दिन चाहन्छौँ, तर सबै अवस्थामा चाहेजस्तो सेवा दिन सकिँदैन । यसबाट स्वास्थ्य सेवामा सुधार गर्न चिकित्सकको व्यक्तिगत प्रयास मात्र पर्याप्त नहुने रहेछ भन्ने महसुस भयो । त्यसैले समस्याको नीतिगत समाधान खोज्न राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो ।
नेपाली कांग्रेस रोज्नुको कारण पनि छ । यो लोकतान्त्रिक सिद्धान्तमा विश्वास गर्ने र व्यक्तिले आफ्नो विचार तथा आवाज राख्न पाउने पार्टी हो भन्ने मेरो बुझाइ छ । पार्टीको सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति मेरो विश्वास छ । देशका लागि केही गर्नुपर्छ र लोकतन्त्र आवश्यक छ भन्ने भावना बोकेर म कांग्रेसमा आबद्ध भएकी हुँ ।
राजनीतिमा प्रवेश गरेपछि कस्ता चुनौती देख्नुभएको छ ? तिनको समाधान कसरी गर्न सकिन्छ ?
हरेक व्यक्तिको सोच, विचार र प्राथमिकता फरक हुन्छ । त्यसैले सबैको विचार मिल्छ भन्ने हुँदैन । तर व्यक्तिगत प्राथमिकता र स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्न सक्नुपर्छ ।
कुनै विषयमा फरक मत भए पनि संवाद र सहमतिका आधारमा अघि बढ्नुपर्छ । व्यक्तिगत सोचमा आवश्यकताअनुसार सम्झौता गरेर साझा उद्देश्यका लागि मिलेर काम गर्न सक्नुपर्छ । देश र जनताको हित नै हाम्रो मुख्य उद्देश्य हुनुपर्छ ।
स्वास्थ्य, शिक्षा र यातायात कुनै पनि देशको विकासका आधार हुन् । यी क्षेत्रमा नागरिकको पहुँच सहज बनाउन आवश्यक छ । त्यसका लागि सबै पक्षबीच छलफल गरेर स्पष्ट योजना बनाउनुपर्छ । जनताले आधारभूत सेवा सहज रूपमा पाउने अवस्था सिर्जना गर्नेतर्फ राजनीति केन्द्रित हुनुपर्छ ।
जनताको विश्वास जित्न र आफूले पाएको जिम्मेवारीलाई न्याय गर्न के गर्नुपर्छ ?
जनताको विश्वास जित्न सबैभन्दा पहिले उहाँहरूको मन जित्नुपर्छ । त्यसका लागि मेहनत गर्नुपर्छ । जनताले विश्वास गरेनन् भनेर हार मानेर बस्नु हुँदैन । आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ र जिम्मेवारीअनुसार काम गरेर देखाउनुपर्छ ।
मलाई अहिले आफ्नो पद र जिम्मेवारीप्रति निकै गम्भीर महसुस हुन्छ । यो पदमा पुगेपछि म त्यसका लागि योग्य हुनुपर्छ र आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो भूमिकालाई न्याय गर्न सक्नुपर्छ भन्ने लाग्छ ।
आज विश्वास गरेर भोलि नै जनताले सबै कुरा स्वीकार गरिहाल्छन् भन्ने हुँदैन । त्यसका लागि समय लाग्छ । मैले यसका लागि काम गरेर विश्वास जित्नुपर्छ । जनताको विश्वास व्यवहार र कामबाट हासिल गर्ने हो ।
युवाका मुख्य समस्या के हुन् ? रोजगारी र आर्थिक अवसर बढाउन के गर्नुपर्छ ?
मुख्य समस्या रोजगारीकै हो । एउटा उमेरमा पुगेपछि मानिसले आफ्नो परिवारलाई आर्थिक रूपमा सहयोग गर्न सक्नुपर्छ । तर आफैँ आत्मनिर्भर हुन नसक्दा र परिवारलाई सहयोग गर्न नसक्दा निराशा बढ्छ ।
त्यसैले नेपालमै व्यापार, व्यवसाय र रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । लगानी गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ, ताकि लगानीकर्ताले सहज रूपमा व्यवसाय गर्न सकून् ।
लगानी बढेपछि नयाँ व्यवसाय खुल्छन् र रोजगारीका अवसर सिर्जना हुन्छन् । त्यसैले युवालाई रोजगारी दिने मात्र नभई उनीहरू आफैँले व्यवसाय सुरु गर्न सक्ने वातावरण बनाउनु पनि आवश्यक छ । यसका लागि सरकारले स्पष्ट नीति, सहज प्रक्रिया र लगानीका लागि अनुकूल वातावरण तयार गर्नुपर्छ ।
पार्टीभित्र हुने आलोचना र अब कांग्रेसले लिनुपर्ने कार्यदिशालाई कसरी हेर्नुभएको छ ?
हामीले पार्टीगत आग्रहका आधारमा एकअर्काको आलोचना गर्नु हुँदैन। आलोचना गर्दा रचनात्मक हुनुपर्छ । अरूले राम्रो काम गरेको छ भने त्यसको प्रशंसा पनि गर्न सक्नुपर्छ ।
अरूको राम्रो पक्षलाई स्वीकार गर्न सकियो भने आफूले त्यसबाट सिकेर अझ राम्रो काम गर्न सक्छौँ । अरूले गरेको राम्रो कामको प्रशंसा गर्दै आफूले त्यसलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने सोच राख्नुपर्छ ।
एकअर्काको खुट्टा तान्नेभन्दा मिलेर अघि बढ्नु आवश्यक छ । अरूले राम्रो काम गर्दा त्यसको प्रशंसा गर्ने र आफूले त्यसको भन्दा अझ राम्रो काम कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । राजनीति प्रतिस्पर्धा मात्र होइन, देश र जनताको हितका लागि सहकार्य गर्ने माध्यम पनि हो ।
मुन्दुम पदमार्गमा रहेको गोठेसिं होमस्टे, जहाँ पाइन्छ अर्गानिक स्वाद
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा संचालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाईमा परेको ठाउँ हो । यहाँ होमस्टे संचालनमा आएसँगै अर्गानिक सत्कारले त्यहाँ पर्यटकलाई समेत लोभ्याउन थालेको छ ।
नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सुचिकृत गरेसंगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा पनि बृद्धि हुन थालेको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाईसंग टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ प्रमुख रोजाईमा पर्ने गरेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनले मुन्दुम पदमार्ग पुर्वकै प्रमुख गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा पालिका पनि लागेकाे बताए ।
यहाँ आउने तथा बस्नेहरुका लागि पुस्तकहरुको समेत ब्यवस्थापन गरिएको छ । यहाँ बिभिन्न पुस्तकहरु समेत ब्यवस्थापन गरेर अध्ययनको समेत ब्यवस्था गरिएको छ । टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २, छिनामखुको श्यामशिलामा रहेको होमस्टे भोजपुर सदरमुकामदेखि करिव ४० किलोमिटर पश्चिममा रहेको छ । स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यवसायिक होमस्टे सञ्चालन गर्नु भएको थियो । आफनै ५७ रोपनी जग्गामा सञ्चालन गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकन पछि विश्राम गर्ने पर्यटकको आगमनमा बृद्धि हुन थालेको संचालक राईले बताए । होमस्टे खोलेपछि यहाँको पर्यटन प्रर्बद्धनको विकाससंगै यसले आम्दानीको श्रोत पनि बढाएको राईले बताए ।
गाउँपालिका क्षेत्रमा नै पहिलो पटक खुलेको होमस्टे अन्तरिक तथा बाहय पर्यटक भित्रयाउने राम्रो माध्यम बनेपछि गाउँपालिका पनि त्यसको संरक्षण र बिकासमा जुटेको छ । होमस्टेलाई प्रबद्र्धन र प्रोत्साहन गर्न टेम्के मैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँच समेत पुर्याएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र सडक पुर्याउनमा समेत सहयोग गरेको थियो ।
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिन्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन
मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका क्रममा रगतको व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा यो सेवा सुरु गरिएको हो ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) बीचको सहकार्यमा रक्तसञ्चार सेवा स्थापना गरिएको हो । फाउन्डेसनको सहयोगमा स्थापना गरिएको सेवा अब प्रतिष्ठानमै उपलब्ध हुने भएको छ । यसअघि आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति, दुर्घटना तथा अन्य उपचारका क्रममा रगत आवश्यक पर्दा बिरामीका आफन्तले विभिन्न स्थानमा पुगेर रगत खोज्नुपर्ने अवस्था थियो ।
कतिपय अवस्थामा जुम्लाबाहिरबाट समेत रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानले जनाएको छ । रक्तसञ्चार सेवा सञ्चालनमा आएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक रगत व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानका निर्देशक डा. विनम्र बिष्टले रक्तसञ्चार सेवा सञ्चालनलाई कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनका अनुसार प्रतिष्ठानले बिरामी तथा सेवाग्राहीको आवश्यकता पहिचान गर्दै स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने उनले बताए ।
‘आज सुरु भएको रक्तसञ्चार सेवा एउटा सुरुवात मात्र हो,‘ निर्देशक बिष्टले भने, ‘आगामी दिनमा कर्णालीका नागरिकले आफ्नै ठाउँमा सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले थप सेवा विस्तार गर्दै जानेछौँ ।’
विशेषगरी दुर्गम हिमाली क्षेत्रबाट उपचारका लागि जुम्ला आउने बिरामीका लागि रक्तसञ्चार सेवा उपयोगी हुने प्रतिष्ठानको अपेक्षा छ । प्रसूति, दुर्घटना, शल्यक्रिया तथा आकस्मिक उपचारका क्रममा तत्काल रगत आवश्यक पर्ने अवस्थामा सेवाले उपचारलाई थप सहज बनाउने प्रतिष्ठानले जनाएको छ ।
रक्तसञ्चार सेवा स्थापना तथा सञ्चालनमा सहयोग गरेकोमा प्रतिष्ठानले एएनएमएफसहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । रक्तसञ्चार सेवा सुरु भएसँगै जुम्लामा उपचारका क्रममा आवश्यक पर्ने रगतका लागि बाहिरी स्थानमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने आधार तयार भएको प्रतिष्ठानले जनाएको छ ।
ब्रिक्सको स्वास्थ्य एजेन्डामा परम्परागत चिकित्सा, आयुर्वेदलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ मञ्च
काठमाडौं । भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।
नयाँदिल्ली घोषणापत्रमार्फत ब्रिक्स स्वास्थ्य ट्र्याकअन्तर्गत टीसीआईएम सम्बन्धी विज्ञ कार्यसमूह गठन गर्ने प्रस्तावलाई स्वागत गरिएको हो । भारतको आयुष मन्त्रालयका अनुसार प्रस्तावित कार्यसमूहले ब्रिक्स सदस्य राष्ट्रहरूबीच परम्परागत चिकित्सासम्बन्धी संवाद, अनुसन्धान, ज्ञान आदानप्रदान र नीतिगत सहकार्यका लागि संस्थागत संयन्त्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
भारतका आयुष मन्त्री प्रतापराव जाधवले घोषणापत्रमा टीसीआईएमलाई समेटिनु परम्परागत चिकित्सामा विश्वव्यापी सहकार्यलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार प्रस्तावित कार्यसमूहले सदस्य राष्ट्रहरूलाई अनुसन्धान विस्तार, प्रमाणमा आधारित अभ्यास प्रवद्र्धन तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्नेछ ।
उनले आयुर्वेदसहित अन्य आयुष प्रणालीलाई वैज्ञानिक अनुसन्धान, गुणस्तर सुनिश्चितता र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सुरक्षित, प्रभावकारी र किफायती स्वास्थ्य सेवामा योगदान गर्ने दिशामा भारत प्रतिबद्ध रहेको उल्लेख गरे । आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले पनि कार्यसमूहले अनुसन्धान सहकार्य, प्रमाण संकलन, गुणस्तर मापदण्ड तथा नियामकीय अभ्यासमा केन्द्रित सहकार्यलाई संस्थागत रूप दिन सक्ने बताए ।
औषधीय वनस्पतिमा संयुक्त अनुसन्धान
घोषणापत्रले उपचारात्मक तथा रोग रोकथामका उद्देश्यले प्रयोग हुने औषधीय वनस्पति र जडीबुटीजन्य तयारीमा संयुक्त अनुसन्धान बढाउन विशेष जोड दिएको छ । ब्रिक्स राष्ट्रहरूको साझा परम्परागत औषधीय ज्ञान सुरक्षित, प्रभावकारी र किफायती उपचार सामग्री विकासका लागि आधार बन्न सक्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
यससँगै सदस्य राष्ट्रहरूको राष्ट्रिय सन्दर्भअनुसार गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न प्रमाणमा आधारित नियामकीय व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता पनि घोषणापत्रले औंल्याएको छ ।
चण्डीगढ बैठकबाट बनेको आधार
यो पहल भारतको ब्रिक्स अध्यक्षताका क्रममा गत जुलाई २१ मा चण्डीगढमा आयोजित टीसीआईएम बैठकको निरन्तरता हो । उक्त बैठकमा सदस्य राष्ट्रका सरकारी अधिकारी, प्राविधिक विज्ञ र प्रतिनिधिहरूले अनुसन्धान, शिक्षा, ज्ञान आदानप्रदान तथा नियामकीय सहकार्यका विषयमा सहमति गरेका थिए । त्यही बैठकले प्रस्तावित विज्ञ कार्यसमूहको कार्यादेशमा पनि सहमति जुटाएको थियो ।
विश्व स्वास्थ्य संगठनको रणनीतिसँग मेल
यो निर्णय विश्व स्वास्थ्य संगठनको २०२५–२०३४ को विश्व परम्परागत चिकित्सा रणनीतिसँग पनि मेल खाने मानिएको छ । उक्त रणनीतिले परम्परागत चिकित्सामा वैज्ञानिक प्रमाणको आधार बलियो बनाउने, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने तथा स्वास्थ्य प्रणालीमा उपयुक्त रूपमा समावेश गर्ने लक्ष्य अघि सारेको छ ।
आयुष मन्त्रालयका अनुसार नयाँदिल्ली घोषणापत्रले टीसीआईएमलाई ब्रिक्स स्वास्थ्य ट्र्याकसँग जोड्दै सार्वभौमिक स्वास्थ्य पहुँच अनुसन्धान, गुणस्तर, सुरक्षा र प्रभावकारितासँग सम्बन्धित दीर्घकालीन सहकार्यका लागि आधार तयार गरेको छ । एएनआई
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ।
मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुविधा सम्पन्न प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा आमा र नवजात शिशुको जीवनरक्षा तथा सुरक्षित उपचारमा पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने
काठमाडौं । सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।
सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डारण, ढुवानी तथा बिक्रीका लागि न्यूनतम मापदण्ड अनिवार्य हुनेछन् ।
कार्ययोजनाअनुसार २०८३ मङ्सिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन लागू हुनेछ । त्यसपछि २०८३ माघ १ गतेदेखि अन्य महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा विस्तार गरिनेछ। २०८४ साउन १ गतेदेखि भने ऐन देशभर पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।
आर्थिक दृष्टिले हेर्दा यो व्यवस्थाले लामो समयदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको मासु व्यवसायलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । स्वास्थ्य परीक्षण र गुणस्तर प्रमाणीकरण अनिवार्य भएपछि बजारमा गुणस्तरीय उत्पादनको हिस्सा बढ्नेछ भने अव्यवस्थित कारोबार क्रमशः घट्ने सम्भावना छ ।
ऐन कार्यान्वयनले आधुनिक वधशाला, कोल्ड स्टोरेज, चिस्यानयुक्त ढुवानी तथा मासु प्रशोधन उद्योगमा नयाँ लगानी आकर्षित गर्ने सम्भावना पनि देखिएको छ । स्थानीय तह र निजी क्षेत्र दुवैले आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने भएकाले यस क्षेत्रमा नयाँ आर्थिक गतिविधि सिर्जना हुने अपेक्षा गरिएको छ ।
यद्यपि नयाँ मापदण्ड कार्यान्वयनले साना व्यवसायीका लागि अतिरिक्त लागत बढाउन सक्छ। व्यवसायीहरूले पूर्वाधार सुधार, स्वास्थ्य परीक्षण तथा सरसफाइ मापदण्ड पूरा गर्न थप लगानी गर्नुपर्ने अवस्था आउनेछ । तर दीर्घकालमा यसले उपभोक्ताको विश्वास बढाउनुका साथै गुणस्तरीय व्यवसायलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने विश्वास गरिएको छ ।
मन्त्री चौधरीका अनुसार उपभोक्तालाई स्वच्छ, स्वस्थ तथा गुणस्तरीय मासु उपलब्ध गराउनु सरकारको प्रमुख उद्देश्य हो । सर्वोच्च अदालतका आदेश, विद्यमान कानुनी व्यवस्था तथा संविधानले सुनिश्चित गरेको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने नागरिक अधिकार कार्यान्वयन गर्न पनि सरकारले ऐनलाई प्राथमिकतामा राखेको छ ।
यसरी हेर्दा, ऐनको पूर्ण कार्यान्वयनले सार्वजनिक स्वास्थ्य सुरक्षामात्र होइन, नेपालको मासु उद्योगलाई व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री क्षेत्रका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
एजेन्सी । अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन अनुसार अधिकांश स्वस्थ वयस्कहरूले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन् ।
जुन करिब ८ औंसका पाँच कप क्याफिनयुक्त कफी बराबर हुन्छ । यति मात्रामा क्याफिन सेवन गर्दा मुटुसम्बन्धी रोगको जोखिम बढ्दैन ।
मध्यम मात्रामा कफी सेवन गर्दा केही प्रकारका मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुनसक्छ । यद्यपि, अनुसन्धानकर्ताहरूले क्याफिनप्रति प्रत्येक व्यक्तिको शरीरको प्रतिक्रिया फरक–फरक हुन सक्ने बताएका छन् ।
एक समीक्षायुक्त जर्नलमा प्रकाशित वैज्ञानिक वक्तव्यले क्याफिन र मुटुसम्बन्धी रोगबारे हालसम्म भएका अनुसन्धानहरूको समीक्षा गरेको हो ।
अध्ययन वक्तव्य अनुसार, विशेषगरी चिनी, क्रीम वा अन्य अतिरिक्त पदार्थ नहालिएको कालो कफी (ब्ल्याक कफी)मार्फत दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्नु अधिकांश वयस्कका लागि सुरक्षित मानिन्छ ।
यस्तो सेवनले केही व्यक्तिमा मुटुरोग, हृदय विफलता र स्ट्रोकको जोखिम कम गर्न पनि सहयोग गर्न सक्छ ।
समूहका अध्यक्ष तथा क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका चिकित्सा प्राध्यापक ग्रेगरी एम.मार्कसले भने, ‘कफीमार्फत सेवन गरिने क्याफिन संसारभरका लाखौं मानिसको दैनिक जीवनको महत्वपूर्ण हिस्सा हो। हाम्रो पछिल्लो अनुसन्धानको समीक्षाअनुसार अधिकांश वयस्कका लागि दिनमा ४०० मिलिग्रामसम्म क्याफिन, अर्थात् चिनी वा अन्य अतिरिक्त पदार्थ नहालिएको करिब पाँच कप कफी सेवन गर्नु सुरक्षित छ र यसले मुटुसम्बन्धी जोखिम बढाउँदैन।’
उनले थपे, ‘तर एनर्जी ड्रिंक वा एनर्जी शट जस्ता पेयमा पाइने अत्यधिक मात्राको क्याफिनले मुटुमा हानिकारक असर पार्न सक्छ, त्यसैले यस्ता पेय पदार्थको अत्यधिक सेवनबाट बच्नुपर्छ।’
वक्तव्यमा उल्लेख गरिएअनुसार, अधिकांश अनुसन्धानमा कफी नै क्याफिनको मुख्य स्रोत भएकाले क्याफिनको प्रभावलाई कफीमा प्राकृतिक रूपमा पाइने अन्य तत्वहरूको प्रभावबाट छुट्याउन कठिन छ। कफीमा हालिने चिनी, फ्लेभरयुक्त सिरप, दूध वा क्रीमजस्ता पदार्थहरूले पनि स्वास्थ्यमा प्रभाव पार्न सक्छन्।
समीक्षाअनुसार, दिनमा दुईदेखि चार कप क्याफिनयुक्त कफी पिउने व्यक्तिमा मुटुरोग, हृदय विफलता र स्ट्रोकको जोखिम कम देखिएको छ।
तर, दिनमा चार कपभन्दा बढी कफी सेवन गर्दा केही व्यक्तिमा हृदय विफलताको जोखिम बढ्न सक्ने संकेत पनि भेटिएको छ।
प्रतिवेदनले चिनी वा अन्य पदार्थ नहालिएको ब्ल्याक कफी सेवनले टाइप–२ मधुमेह, मुटुरोग, स्ट्रोक, हृदय विफलता तथा केही प्रकारका अनियमित मुटुको धड्कनको जोखिम कम गर्न सक्ने देखाएको छ।
अनुसन्धानकर्ताहरूले सबै क्याफिनयुक्त पेय पदार्थको प्रभाव समान नहुने चेतावनी दिएका छन्। एनर्जी ड्रिंक र एनर्जी शटमा प्रति फ्लुइड औंस ४० देखि ६९ मिलिग्राम क्याफिन हुन सक्छ, जबकि सामान्य रूपमा बनाइने कफीमा प्रति फ्लुइड औंस ९.४ देखि २०.६ मिलिग्राम मात्र क्याफिन हुन्छ। यस्ता एनर्जी पेय पदार्थले रक्तचाप बढाउने र मुटुको धड्कन असामान्य बनाउने जोखिमसँग सम्बन्धित रहेको बताइएको छ।(एएनआइ)
