मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K591GQQTHW63REBRKXGWC4SC.jpg

सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । १३ बुँदामा तयार मस्यौदामा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । 

सम्झौतामा दशकौँदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थाहरूमा भएको दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्नुपर्ने भनी मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै राजनीतिक नियुक्ति अन्त्य गरी सार्वजनिक संस्थाहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्ति गर्नुपर्ने उल्लेख छ ।

‘स्पिक अप नेपाल’ नामक वेबसाइटमार्फत सार्वजनिक गरिएको मस्यौदामा खुल्ला छलफलका लागि आब्हान समेत गरिएको छ । 

सम्झौताको मस्यौदा:

१. भाद्र २३ देखि २५ गतेसम्मको आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूलाई शहीद घोषणा गरिनेछ र घाइतेहरूको दीर्घकालीन व्यवस्थासहित राहत उपलब्ध गराइनेछ ।

२. पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुनेछ जसमा समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

३.अन्तरिम मन्त्रिपरिषद्मा कम्तीमा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी हुनेछन् र नीति निर्माणका लागि  Gen–Z  तथा युवा परामर्श समूह गठन गरिनेछ ।

४.आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन व्यवस्था गरिनेछ र विदेशस्थित नेपालीहरूलाई मतदान अधिकार सुनिश्चित गरिनेछ ।

५.आन्दोलनमा राज्यद्वारा गरिएका मानवअधिकार उल्लङ्घन र सम्पत्तिमा भएको क्षतिको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गरिनेछ ।

६.राजनीतिक नियुक्ति अन्त्य गरी सार्वजनिक संस्थाहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्ति गरिनेछ ।

७. संवैधानिक आयोगहरूलाई दलगत हस्तक्षेपबाट मुक्त गरिनेछ ।

८. नयाँ संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सम्बन्धी छलफल गरिनेछ ।

९. अन्तरिम सरकारका सबै निर्णयहरू पारदर्शी रूपमा सार्वजनिक गरिनेछ ।

मस्यौदामा उल्लेख भएअनुसार, आगामी संघीय संसद्ले यस सम्झौतामा उल्लेख गरिएका व्यवस्थाहरूलाई संवैधानिक निरन्तरता दिन अनुमोदन गर्नेछ र आवश्यक परे संविधान संशोधनसमेत गरिनेछ ।

राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटनको निर्णयलाई समेत समर्थन जनाइएको छ भने, यो सम्झौता आगामी व्यवस्था नबनेसम्म नेपालको सर्वोच्च कानुनको रूपमा कार्यान्वयन हुने जनाइएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K58TZGFNQ9MZTTWJDHMXYZB1.jpg

पर्यटन मन्त्रालयका लागि चार व्यक्तिको नाम चर्चामा

काठमाडौँ । जेन–जी आन्दोलनको प्रभावपछि देशले पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयका लागि राजनीतिक दल बाहिरबाट योग्य र सक्षम व्यक्तिको खोजी भइरहेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित ज्ञान र विज्ञता भएका, समाजमा राम्रो सवि बनाएका र रुचाइएका व्यक्तिहरु मन्त्रालयमा ल्याउनेगरी तयारी भइरहेको छ ।

यसै सिलसिलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वका लागि अहिले केही ब्यक्तिहरुको नाम सार्वजनिक चासोको केन्द्र बनेको छ। नेपाललाई विश्वसामु चिनाउने यो मन्त्रालयका सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ । 

फुर गेल्जे शेर्पा

सोलुखुम्बुको चौरिखर्कको साधारण परिवारमा जन्मिएका फुर गेल्जेले बाल्यकालदेखि हिमालसँगको गहिरो नाता गाँसे। कठिन बाटो हुँदै अन्तर्राष्ट्रिय पर्वतारोहणमा उचाइ हासिल गर्दै उनले केवल आफ्ना सफलताहरू मात्र संग्रह गरेनन्, नेपाली पर्यटनको सम्भावनालाई नयाँ आयाममा पु¥याए। 

नेपाल माउण्टेनियरिङ एसोसिएसन (एनएमए)का अध्यक्षदेखि नेपाल पर्यटन बोर्डका नीति निर्माता, ट्रेकिङ एजेन्सीको नेतृत्वदेखि नेपाल एयरलाइन्सको बोर्ड निर्देशकसम्मको उनको अनुभवले उनलाई पर्यटन र हवाई यातायात दुवै क्षेत्रमा सशक्त बनाएको छ।

आफ्नै लगानीमा हिमाली क्षेत्रमा होटल, हेलि एभरेस्ट र अस्पताल स्थापना गरेर उनले व्यावसायिक सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोडिदिएका छन्। पर्यटनलाई केवल व्यापारिक होइन, समुदायलाई समृद्ध बनाउने साधनको रूपमा हेर्ने उनको दृष्टि यस मन्त्रालयको आत्मासँग मेल खाने देखिन्छ।

क्याप्टेन विजय लामा

जय चन्द्र सूर्यको नारा लिएर तीन दशकदेखि आकाशमा नेपाललाई बोक्दै उडिरहेका वरिष्ठ पाइलट विजय लामा नेपालीको मनमा निस्वार्थ देशप्रेमको प्रतिकका रुपमा मानिन्छ । सुरक्षित र पारदर्शी नागरिक उड्डयनको सपना उनले केवल भाषणमा होइन, आफ्नो पेशागत जीवनमै जिउँदै आएका छन्।

कलाकार र सांस्कृतिक अभियन्ताका रूपमा पनि सक्रिय उनले नेपाली संगीत र चलचित्रमार्फत देशको पहिचानलाई विश्वमा फैलाउने अभियानलाई निरन्तरता दिएका छन्। विमानको ककपिटदेखि चलचित्रको पर्दासम्म लामाको प्रत्येक कदममा ‘पहिले देश’ भन्ने भावना झल्किन्छ। नागरिक उड्डयनको सुधार र सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा उनका दृष्टिकोणले उनलाई पर्यटन मन्त्रालयको उपयुक्त पात्रका रुपमा हेरिएको छ । 

पुनम यादव

धार्मिक आस्था र आधुनिक दृष्टिकोणको अद्भुत मेल बोकेकी पुनम लामो समयदेखि संस्कृति र समाजसेवामा सक्रिय छिन्। आध्यात्मिक कार्यक्रम, रामकथा जस्ता सांस्कृतिक संवाददेखि पर्यटन प्रवद्र्धनसम्म उनको कामले नेपाली समाजको जरा–जरा भित्रसम्म पहुँच बनाएको छ।

पुरातात्त्विक सम्पदाको जगेर्ना, सांस्कृतिक उत्सवको संरक्षण र प्राकृतिक सौन्दर्यको संवद्र्धनमा उनले देखाएको नेतृत्वले पर्यटनलाई केवल आर्थिक लाभ नभई आत्मीय अनुभवको यात्रामा बदल्ने सपना देखाउने भएकाले उनको नाम केही शुभेच्छुकहरुले प्रस्ताव गरेका छन् । दुर्गम क्षेत्रमा पनि सुरक्षित र भरपर्दो हवाई सेवा विस्तार गर्ने उनको योजनाले नागरिक उड्डयनको नयाँ दिशा देखाउन सक्ने अपेक्षा गरिएको छ । 

विनायक शाह 

विनायक शाह, होटल संघ नेपाल (हान)का अध्यक्ष, नेपाली पर्यटन उद्योगमा तीन दशकभन्दा बढीको अनुभव बोकेका एक दूरदर्शी र राष्ट्रप्रेमी नेता हुन्। उनले आतिथ्य सेवा, संस्कृति र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन्। 

कोभिड महामारीको संकटमा उनले पर्यटन क्षेत्रलाई जोगाउन निर्णायक भूमिका खेले, हजारौं रोजगारी बचाए र उद्योगको पुनःस्थापनाका लागि अग्रसर भए। उनको नेतृत्वमा हानले नेपाली संस्कृति, परम्परा र स्थानीय सम्पदालाई प्रवद्र्धन गर्न थुप्रै पहलहरू गरेको थियो । 

शाहको विश्वास छ,‘हाम्रो पहिचान हाम्रो संस्कृति हो, र सम्भावना हाम्रो पर्यटन।’ उनी समावेशी, दिगो र व्यावहारिक पर्यटन नीति निर्माणका लागि प्रतिबद्ध रहेको सुनाउँछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ। शाहसँग यस क्षेत्रको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकाले केही शुभेच्छुकहरुले उनको नाम पनि अगाडि बढाएका छन् । 

प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ । चार व्यक्तित्वले बोकेको कथा, संघर्ष र प्रतिबद्धताले नेपाली जनतामा आशा जगाउने विश्वास लिइएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K58JZ7ZQYWS38KKSBHT6YA1K.jpg

रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी

काठमाडौं । रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो ।

उता, युक्रेनले भने आफ्ना सेनाले विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ । युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गराएको जनाएको छ ।

दुवै पक्षका दाबीहरूबीच संघर्ष चर्किँदै गएको देखिन्छ भने अग्रपंक्तिमा तीव्र भिडन्त जारी रहेको युक्रेनी पक्षले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K58CZCZQSA05Z1ECV14D2EE2.jpeg

जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।

स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।

प्रहरीले दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K58463RNDWW4DDNQBAZKQ8QS.jpeg

आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । 

उनले भने, ‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ । साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ ।’

यस्तै, उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् । 

साथै, आजको बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२
https://jawaaf.com/storage/01K56KEQ2J8Z1S6EJ22DEWXFEZ.jpeg

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

विराटनगर । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीभएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामाशव अर्थात मानव कंकाल फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममासुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शवभेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममाघटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।

जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरूआन्दोलनकारीहरुको निसानामा परेको यियो ।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ ।  धरानस्थितभाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K56F19KFS7172BJF993D8JDF.jfif

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । 

सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । 

उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’

प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । 

त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । भ्रष्टाचार नियन्त्रणको विषयलाई आफूले जीवन मरणको विषयको रुपमा लिएको पनि उनको भनाई छ । 

‘अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्ने छौं । आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार थियो । यो विषयलाई जीवन मरणको विषयको रुपमा लिएको छु । यो ठूलो चुनौती लिएर म आएको छु ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K567PNG4X44P0JC0MGETSAFY.jpg

राजनीतिक परिवर्तनलाई स्वागत गर्छौँ : योङ इन्डिजिनिष्ट लिग

काठमाडौँ ।  हालै सम्पन्न राजनीतिक परिवर्तनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै योङ इन्डिजिनिष्ट लिग (वाइआइएल) ले एक प्रेस वक्तव्य जारी गर्दै परिवर्तन प्रक्रियामा सक्रिय भूमिका निभाउने जेनजी युवाहरूको साहस, जागरुकता र नेतृत्व क्षमता प्रति उच्च सम्मान व्यक्त गरेको छ ।

योङ इन्डिजिनिष्ट लिगका संयोजक सनम लिम्बुले हस्ताक्षरित वक्तव्यमा आन्दोलनका क्रममा सहिद भएका क्रान्तिकारी योद्धाहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, मृतक र पीडित परिवारजन प्रति समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।

वक्तव्यमा  भनिएको छ, ‘यो परिवर्तन देशको इतिहासमा नयाँ अध्यायको सुरुवात हो र यसका नायकहरू युवा पुस्ताका जागरुक प्रतिनिधिहरू हुन् ।’

देशको चुनौतीपूर्ण अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गर्ने क्रममा देखाएको भूमिकाको सराहना गर्दै योङ इन्डिजिनिष्टले नेपाली सेना तथा अन्य सुरक्षा निकायप्रति उच्च प्रशंसा व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘संकटको समयमा सुरक्षा निकायहरूले देखाएको व्यावसायिकता, संयमता र राष्ट्रहितमा लिएको भूमिका प्रशंसायोग्य छ ।’

योङ इन्डिजिनिष्टले पुराना राजनीतिक दलहरूका भ्रष्ट युवा संगठनहरूसँग संलग्न ठेकेदार, घुसखोर तथा गुन्डा तत्त्वहरूले जेनजी युवामाथि गर्न सक्ने सम्भावित आक्रमण वा षड्यन्त्रविरुद्ध आफूहरू दृढतापूर्वक उभिने जनाएको छ ।

वक्तव्यमा भनिएको छ, योङ इन्डिजिनिष्ट अभिभावकीय भूमिकामा रही क्रान्तिकारी युवा पुस्ताको सुरक्षा सुनिश्चित गर्न दृढतापूर्वक उभिनेछ र कुनै पनि षड्यन्त्र वा आक्रमणलाई कदापि स्विकार्ने छैन ।’

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K566DWCNY6WYBWEQBSJKFFVG.jpg

रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।

पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।

यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।

यस्तो शुन्यमा पुगेको मुलुकको अर्थतन्त्र सम्हाल्ने हिम्मत गरेर अर्थमन्त्रीमा नियुक्त भएका खनाल केहि महिना अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नियुक्तीमा उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगमा अध्यक्ष थिए । त्यसबेला उनले तत्कालीन सरकारलाई ४४७ पृष्ठ लामो आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

खनाल आयोगको सो प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका कमजोरीहरू के–के हुन्, ती समाधान गर्न आवश्यक तात्कालिक कदम र दीर्घकालीन उपायबारे विस्तृत सुझाव समेटिएको छ ।

वि.स. २०१३ साल असारमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि अत्यन्तै प्रतिभाशाली थिए । तानसेनकै स्कुलबा शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ८ सम्म लगातार प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

विद्यार्थी जीवनमा उनी रेडक्रस सर्कल अध्यक्ष, विद्यार्थी सङ्गठन सल्लाहकार जस्ता भूमिकामा सक्रिय भए र स्नातकमा दोस्रो, स्नातकोत्तरमा तेस्रो स्थान हासिल गरे । जागिरे जीवनमा खनालले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षा पास गरे ।

उनले करिब १५ वर्ष ९ महिना शाखा अधिकृतको रूपमा काम गरे । २०५३ सालमा सहसचिव पदमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत भए र २०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।

२०६३ सालमा सचिव बनेर २०६७ सालसम्म सेवा दिए, तर पूरक बजेट विवादका कारण अर्थसचिव रहँदाकै अवस्थामा उनले राजीनामा दिनुप¥यो ।

उनले सरकारी निर्णयमा स्वविवेकका आधारमा अवरोध गर्ने साहस देखाएका थिए, जस्तै आठ सय करार कर्मचारी स्थायी गर्ने प्रस्ताव अस्वीकार गर्नु, शेयर कारोबारमा लगानीकर्तालाई वार्तामा बाध्य बनाउनु, र निजामती कर्मचारीको अधिकार रक्षा गर्नु उनले गरेका केही साहसिक कार्यहरु थिए । अर्थ मन्त्रालयको सचिवको रूपमा सेवारत रहँदा उनले नेपालको राजस्व–देखि–जीडीपी अनुपात १२ प्रतिशत भन्दा कमबाट १५.३ प्रतिशत सम्म पु¥याएका थिए । जुन वित्तीय प्रदर्शनमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।

०७० सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफ्नो विवेकलाई राजनीतिक आवद्धतासँग सम्झौता गरेनन् । यस कारण उनलाई अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोगको नेतृत्व जिम्मा दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा प्रमुख सुझावको रूपमा समावेश गरिएको छ ।

आफ्नो चार दशकभन्दा लामो करियरमा, खनालले नेपाल सरकारको जागिरसँगै शिक्षण क्षेत्र, र विभिन्न अन्तर्राष्ट्रिय विकासका विभिन्न उच्च पदहरू समेत सम्हालेका छन् र सुधारमुखी दृष्टिकोण तथा वित्तीय पारदर्शिताप्रति आफ्नो अडिग प्रतिबद्धताका लागि परिचित छन् ।

उनको प्रभाव शिक्षण क्षेत्रमा पनि फैलिएको छ, जहाँ उनले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयमा वित्त तथा व्यवस्थापन नियन्त्रण विषयको अध्यापन समेत गराएका थिए ।

प्रशासनिक भूमिकाहरूको अलावा, खनाल एक लेखक र स्तम्भकार पनि हुन् । सन् २०११ मा मात्र उनले विभिन्न पत्रपत्रिका र जर्नलहरुमा ५० भन्दा बढी लेखहरू प्रकाशन गरेका थिए । उनका आर्थिक नीतिमा आधारित विचारहरूले सार्वजनिक विमर्श र नीति निर्माणमा अझै प्रभाव पार्दै आएका छन् ।

अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२
https://jawaaf.com/storage/01K563AZ5Q7WR45XK3F29MBRQJ.jpg

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् । 

शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको दिइएको छ ।  यसैगरी रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मितिः सोमबार, ३० भदौ २०८२