मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K5GA3YEJ58X608G1B5VNFS5A.jpg

एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । 

शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताईन् ।  

उनले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’ 

यस्तै, उनले शासकिय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको बताईन् । 

उनले भनिन्, ‘शासकिय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होईन । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरि म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो ।’

समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुदाँ जनताको अपेक्षा अनुसार राज्य क्रियाशिल हँुदै सुधारको बाटोमा हिन्नु पर्ने पनि उनको भनाई छ ।

उनले संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै जनताको भावना संविधानका अक्षरभन्दा बढि बहुआयामिक हुने बताईन् ।  

प्रकाशित मितिः शुक्रबार, ०३ असोज २०८२
https://jawaaf.com/storage/01K5G6KCJX8444F2929PVZXXG4.jpeg

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । 

तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।

‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं,जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’
सिंचाइअन्तर्गत राष्ट्रिय गौरबको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् । 

संसद भवन पुसभित्रै जसरी पनि सकौं 

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

मन्त्री घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए I

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ ।’ 

संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ । 

राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण,इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी रहेका छन् । 

अनियमिता फेला परे तुरुन्तै कारबाही 

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले अनियमिता फेला परेमा त्यसमा सङ्लग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए । 

‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ  त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’ उनले सेवा प्रवाहमा सुधार गर्न पनि निर्देशन दिए ।

प्रकाशित मितिः शुक्रबार, ०३ असोज २०८२
https://jawaaf.com/storage/01K5FTKZQTYXGZ82003NJ0X3CB.jpg

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । 

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

यसैदिन राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०३ असोज २०८२
https://jawaaf.com/storage/01K5EDJ19CAASW2YZCN1JW5KG8.avif

विराटनगरबाट एमाले नेताहरूको आवाज : नेतृत्वमा सुधार आवश्यक

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झन्डोत्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेन–जीको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको उल्लेख गरे । उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।

कार्कीले भने, ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’ उनले एमाले सरकारमा रहँदा विकासका काम भएको स्मरण गर्दै प्राकृतिक सम्पदामाथि भइरहेको आक्रमण रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगर कमिटी अध्यक्ष बलराम गिरिले युवापुस्ताको माग सम्बोधन गर्दै पार्टीलाई समयानुकूल अघि बढाउनुपर्नेमा जोड दिए । उनले सङ्गठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

भेलामा सहभागीहरूले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कृतिप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतले पनि मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः बिहिबार, ०२ असोज २०८२
https://jawaaf.com/storage/01K5BH3TB9VJM1HE0HYB9VT7JY.jpg

जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्वपूर्ण स्थान ?

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् । 

सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गीत ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’बोलको गीत र गायक ‘सुजन चापागाईँको ‘आँशुको भारी’ बोलको गीत अत्याधिक रुचाइएको छ । 

जेनजी आन्दोलनमा देखिएका भावुक भिडियोहरुमा ‘आँशुको भारी’ र जोशिला भिडियोहरुमा ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ गीत प्रयोग भएका छन् । 

केही समय अघि युट्युवमा दुर्गेस थापाका गीतहरुले राम्रो भ्युजहरु कमाइरहेका थिए भने एक्कासि जेनजी आन्दोलन हुँदा पुराना देशभक्ति गीतहरुले स्थान पाइरहेका छन् । 

किन अत्याधिक प्रयोग भयो ‘नेपाल हाँसेको’गीत ?

‘नेपाल हाँसेको ’बोलको गीत नेपाली चलचित्र लाज शरणमको प्रोमोशन गीत हो । जसमा मेयर साहले आफ्नो स्वर दिएका छन् ,त्यसकारणले पनि यो गीतले अत्याधिक चर्चा बटुलिसकेको छ । 

जेनजीहरुको आन्दोलनको मुख्य एजेण्डा भनेको नै भ्रष्टाचार हटाउनु हो । यस गीतमा पनि देशमा भएको भ्रष्टाचार र वेथितिको वर्तमान अवस्था को चित्रण गर्नुकासाथै त्यसको विरुद्धमा आवाज उठाइएको छ । त्यसकारण पनि टिकटकमा राखिएका आन्दोलनको अधिकांश भिडियोहरुमा यो गीतको प्रयोग गरिएको छ । 

त्यस्तै अन्य राष्ट्रिय गीतहरु नेपाली हामी रहैला कहाँ नेपालै नरहे, मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउन, यो देश मेरो पनि होइन र’ ,यो नेपाली शिर उठाई, ‘रातो र चन्द्र चूर्य’ देशले रगत मागे,ज्यान हाजिर छ, जाग लम्क चम्क हे नौजवान हो, गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ देशको लागि लगायतका राष्ट्रिय गीतहरुले पनि महत्वपूर्ण स्थान पाएका छन् ।

प्रकाशित मितिः बुधबार, ०१ असोज २०८२
https://jawaaf.com/storage/01K5BEKABHF5WBWGGY9223T5X5.jpg

जेनजी आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ ।

जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर ।

जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो  आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टि लगाउनमा व्यवस्थ छिन् ।  

आशिका तामाङ त्यो पात्र हुन जसले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई धेरै सहयोग गरिन् । उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन् । तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन् ।

भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफै थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन् । कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातिमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन् । उनी आफै ती अज्ञात बिरामीहरुका लागि आफन्त बनिन र घाइतेहरुका घरपरिवार सम्म सन्देश पु¥याउन पनि सहयोग गरिन् ।

उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन । त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल । त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ ।’

उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म । रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर  जेनजी आन्दोलनको राप सल्किरहेको थियो यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक ’कर्मचारी’ वा ’पद’ दिइएन, तर जसले असली नेतृत्व देखाइन् । उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ ।

हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ ?’भन्दै तुच्छ टिप्पणी गरे । आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन् । उनी आज जनताको नजरमा ‘दोस्रो भगवान’ का रुपमा देखिएकी छिन् ।

उनको उदारताले कुनै सिमा मानेन । बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकिन् । ज्यान गुमाएकाहरुको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखिनन् ।

उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् । अझ प्रष्ट भाषमा भन्ने हो भने प्रहरीको बन्दुकको गोलि लागेर अस्पतालको शैयामा छट्पटाइरहका घाइतेहरुका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिइन भन्दा फरक पर्दैन् ।

सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो । जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ ।

आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकून् ।

आशिका तामाङ एउटा उदाहरण हुन् जतिबेला देश दुखाइमा छ, आन्दोलनमा छ, त्यतिबेला कसरी एक नारी, बिना तामझाम, बिना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौंको हृदय छुने सेवा गर्न सक्छे । यिनै आशिकाहरुका कारण समाजमा अझै आशा बाँकी छ ।

प्रकाशित मितिः बुधबार, ०१ असोज २०८२
https://jawaaf.com/storage/01K5AXQKPPGEA9NB2TAA0T2JA5.jpg

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।

मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई रोजगारी दिलाउने र स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीले आजै सुरु गर्ने बताइएको छ ।

मोदीको जन्मदिन अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशव्यापी रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

यसैबीच, भारतको राजनीतिमा विपक्षी कांग्रेस नेता राहुल गान्धीको नयाँ खुलासा ‘हाइड्रोजन बम’ का रूपमा चर्चामा छ। चुनावमा धाँधली हुँदै आएको आरोपलाई प्रमाणसहित प्रस्तुत गर्ने तयारीमा रहेका गान्धी आजै देशबासीलाई सम्बोधन गर्नेछन् ।

गान्धीले यसअघि बैंगलोर दक्षिण लोकसभा सिटअन्तर्गत महादेवपुरा क्षेत्रमा १ लाखभन्दा बढी मत धाँधली भएको दाबी गर्दै त्यसलाई ‘परमाणु बम’ भनेका थिए । अब दोश्रो खुलासालाई उनले ‘हाइड्रोजन बम’ नाम दिएका छन्। राजनीतिक विश्लेषकहरूले गान्धीको नयाँ खुलासा कति प्रभावशाली हुन्छ भन्ने प्रश्नलाई उत्सुकतापूर्वक हेरेका छन् ।

भारतमा आज प्रधानमन्त्री मोदीको जन्मदिन र राहुल गान्धीको राजनीतिक बम दुवै कारणले असामान्य चहलपहल देखिएको छ ।

प्रकाशित मितिः बुधबार, ०१ असोज २०८२
https://jawaaf.com/storage/01K5AX2DAF2F3C4EE7VF77FTWE.jpg

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो । 

त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ । समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुदैँछ । त्यस दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ ।  असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ ।  

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ । असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ । 

प्रकाशित मितिः बुधबार, ०१ असोज २०८२
https://jawaaf.com/storage/01K5AW573KRAT5MKCTMQFSJPNH.jpg

आगजनीबाट क्षतिग्रस्त कोशीका सरकारी कार्यालय दशैंअघि नै सुचारु हुने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवलोकन गरेका छन् । 

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आन्दोलनले प्रदेशलाई ठूलो नोक्सानी पु¥याएको उल्लेख गर्दै कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन दिए । उनले  दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन आदेश समेत दिएका छन् । 

‘देशमा विषम परिस्थिति आएको छ । तर, हामी सबै मिलेर यो अवस्थाको सामना गर्नुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यस घटनाले हामीलाई २० वर्ष पछाडि धकेलेको छ । विभिन्न आन्दोलन भए तर यति ठूलो भौतिक क्षति पहिले कहिल्यै भएको थिएन ।’

सो अवसरमा उनले आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णय गर्ने जानकारी दिएका छन् । छलफलमा मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै प्रदेशका सचिवहरूले बाँकी संरचनाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने आश्वासन दिएका थिए । 

प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थिति बारे मुख्यमन्त्रीलाई जानकारी गराइन् । यसैबीच, प्रदेश सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रदेशभरका ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएकोमा १८ वटा पूर्णरुपमा र २४ वटा आंशिक रूपमा नोक्सान पुगेका छन् ।

त्यसैगरी, आन्दोलनकारीले प्रदेश सरकार मातहतका २३७ वटा सवारी साधनमा क्षति पु¥याएको पाइएको छ । तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारी साधनमध्ये ६४ वटा पूर्णरुपमा ध्वस्त भएका छन् भने ११ वटामा आंशिक क्षति पुगेको छ । मोटरसाइकलतर्फ १६१ मध्ये १४४ वटा पूर्णरुपमा र १७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित मितिः बुधबार, ०१ असोज २०८२
https://jawaaf.com/storage/01K5947F10M6TKT9XTNJJJ2G3R.jpg

आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज(मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो ।

शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ३१ भदौ २०८२