कोशीका पूर्वमन्त्री अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालय विरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अधिकारी सहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएतापनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
काठमाडौँ । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।
हरेक वर्ष झै यस वर्ष पनि 'Upholding Dignified Menstruation Fundamental to Sexual and Reproductive Health and Rights' (यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना)भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ ।
मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आह्वान गर्दछ ।
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ विलयन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएतापनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाईन थालिएको हो ।
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू–टावरको उद्घाटन गरिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा १८ तले भवन (भ्यू–टावर) को उद्घाटन गर्ने भएका छन् । झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
आजको मौसम यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
यस्तै,आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकादुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी था हिमाली भूभागका एकादुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राजनीतिक कोर्स बदल्ने बेला आएको छ स् प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने उनले स्पष्ट गरे । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबिच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गरे ।
यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो । उनले अरू दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमानदार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए । यस पटक विरोधीहरूले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उनी अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए ।
यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले स्पष्ट गरे । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनले बताए ।
अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन सम्भव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाँडिएका शक्तिबिचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।
जनयुद्धको तयारी, थालनी, सन्चालनहुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले देशभर निराशा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गरेका थिए।
विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो ।
विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एकएक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो । कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए ।
९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिएका थिए । योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ । ४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ ।
स्वतन्त्र पार्टीका नेताले सम्झिए बिपी र मदन भण्डारीको योगदान
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।
भक्तपुरको मध्यपुर थिमीमा सम्पन्न भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताएका हुन् ।
‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरू बेरोजगार भएर बिदेसिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेले लागु गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन,’परियारको तर्क थियो ।
पुरानो दलले सिद्धान्ततः काम नगरेको भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रूपमा नातावाद, कृपावाद र परिवारवाद भन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको उनको दाबी छ ।
त्यस्तै, रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरूलाई प्रहार भइरहेकोमा सचेत हुन आग्रह गरे । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रूपमा दुःख दिएको उनको आरोप थियो ।
थिमिको निगुपुखू (दुईपोखरी) क्षेत्रमा सम्पन्न भएको कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरू ढुङ्गामुढा नगरिकन राजनीतिमा आएको बताए । पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिशोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह गरे ।
कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछि र जीवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । रुकेश रंजितले सञ्चालन गरेको उद्घाटन सत्रमा रास्वपा मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धर, प्रमिला कुलुजु, कुशुम महर्जन तथा रामेश्वर बस्नेत लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
शंखधर चोकबाट ¥याली गरेर निगुपुखू क्षेत्र पुगेर सम्पन्न गरेको जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्य समिति चयन गर्नेछ ।
कांग्रेसको कोशी भेला विराटनगरमा सुरु, डा.शेखर कोइराला अनुपस्थित
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन आज (शनिवार) विराटनगरमा सुरु भएकोछ । भेलाको उद्घाटन सभापति शेर बहादुर देउवाले गरेकाछन् । उद्घाटनका लागि देउवा शुक्रवार साँझ नै विराटनगर उत्रिसकेका छन् ।
भेलाको उद्घाटन बिहान ११ बजे विराटनगरस्थित मनासलु पार्टी प्यालेसमा सुरु भएको हो । भेलामा सहभागीहरू विराटनगर आइसकेका छन् । देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू विराटनगर पुगिसकेका छन् ।
विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलो पटक सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
भेलामा प्रदेशभरका महासमिति सदस्य २८६ जना, महाधिवेशन प्रतिनिधि ३९२ जना, प्रदेश अधिवेशन प्रतिनिधि ८९६ जना, पार्टी प्रदेश कमिटीका १२१ जना कार्य समिति, १४ वटै जिल्ला सभापति, २८ जना क्षेत्रीय सभापति, प्रदेश सभापति ५६ जना र भातृ तथा शुभेच्छुक संघ-संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।
भेलालाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, लगायतले सम्बोधन गर्ने तयारी छ । संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलनमा सहभागि नहुने जनाएका छन् ।
कोइराला शनिवार चितवन जाँदैछन् । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ । वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएका्े उनीनिकट स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।
मंसिर १८ गते डा.कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ ।
जसपा धरान नगर सदस्य सुप्तिहाङको निधन
धरान । जनता समाजवादी पार्टी (जसपा) धरान नगर समिति सदस्य जिवन सुप्तिहाङको निधन भएको छ ।
धरान ११ का स्थाई बासिन्दा सुप्तिहाङको मंसिर १२ गते राति हृदयघात भएपछि उनलाई गोल्डेन गेट हस्पिटल, विराटनगर पुर्याइएको थियो । उक्त हस्पिटलमा उपचार सम्भव नभए पछि नोबेल हस्पिटलमा पुनः भर्ना गरि उपचार भईरहेको अवस्था मा आज बिहान २ः ३० बजे नेता सुप्तिहाङको निधन भएको जसपा धरान समितिले बताएको हो ।
जसपा धरान नगर समिति सदस्य सुप्तिहाङको असामयिक निधन प्रश्चात समितिका पदाधिकारी सदस्यहरू अहिले नगर नेता सुप्तिहाङको मूलघर चौदण्डिगढी ४ बसाहामा पुगेका छन् ।
पार्टी स्रोतका अनुसार नेता सुप्तिहाङको अन्तिष्टी आज बिहान नै किरात राई समुदायको परम्परा अनुसार चौदण्डिगढी ४ बसाहा उदयपुरमा गरिएको छ ।
४१ वर्षीय नेता सुप्तिहाङको एक छोरा एक छोरी श्रीमती सहित धरान ११ मा बस्थे I उनी जसपा स्थापना देखी नै पार्टीमा सक्रिय थिए साथै सामाजिक र व्यावसायिक रूपमा पनि क्रियाशील व्यक्ति थिए ।


























