आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।
हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांक अनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुगेको छ ।
१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी घोषणहरू मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ।
यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको
परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ।
एनपीएलः चितवन ,लुम्बिनी र कर्णाली ,पोखरा भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् ।
मंगलबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन।
लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन्।
मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौँ स्थानमा छ।
प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
काठमाडौँ । चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् ।
सोमवार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।”
अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्, “सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।”
यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ ।
चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलीरहेको छ ।
चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ I नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार , अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ।
यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ। अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा निधार्रण गरिएको छ।
यस्तै ,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ तोकिएको छ।
त्यस्तै,थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर
अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन प्रधानमन्त्रीको आग्रह
झापा । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
एमालेको झापा जिल्ला कमिटीले हिजो सोमवार बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिस्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् ।
उनले पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गर्न विशेष ध्यान दिन विशेष जोड दिँदै भने, ‘हामी देशका लागि केही गर्छाैँ, परिवर्तन गछौँ, गरिबी र पस्यौटोपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठुला प्रयास गर्नुपर्छ । यो काम एमालेले मात्रै गर्न सक्छ । अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।’
अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्विकार्ने नमुना पार्टीका रूपमा एमालेलाई विकसित गर्नुपर्ने बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिक रूपमा टिप्पणी नगर्न आग्रह गरे ।
‘बिआरआइबाट देशलाई लाभ हुन्छ’
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउँदै हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएको स्पष्ट गरे । ‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ । विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ । कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ । बिआरआइलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ । हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ ।’
हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि
काठमाडौँ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ ।
विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो सङ्ख्या ७.८५ करोड मात्र थियो ।
आरोहण अनुमतिको सङ्ख्या १६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।
कुल आरोही सङ्ख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।
यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । मृतकहरूको शव काठमाडौँ ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।
२०२३ मा आरोहण अनुमति सङ्ख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको सङ्ख्या २४०७ थियो ।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि भ्रष्टाचारको आरोप : विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ । विशेष अदालत काठमाडौँमा आज उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
आरोप अनुसार, सिलवालले आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै कूटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन् । उनले आफ्नो जन्म मिति २०१५–०४–१५ भएको बताएको तर पछि २०१८–०७–२४ भन्ने मिति प्रस्तुत गरी कूटनीतिक राहदानी र विशेष राहदानीका लागि झुटा विवरण प्रस्तुत गरेका थिए ।
सिलवालले नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा पदमा रहँदै कानुनी उमेर ६५ वर्ष पूरा गर्दा पनि ६६ वर्षको उमेरमा पदमा कायम रहे । यसरी, उनले आफ्नो पदको दुरुपयोग गर्दै झुटा विवरणका आधारमा लाभ लिएको आरोप छ ।
नेपाल सरकार र अर्थ मन्त्रालयका मापदण्ड अनुसार, सिलवालको कार्यकाल समाप्त हुनु अघि उमेर ६५ वर्ष पुरा गर्दा उनी अनिवार्य अवकाशमा जानुपर्ने थियो, तर उनले पदमा कायम रही अधिकार र सुविधा प्राप्त गरे । यसले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कसुरको पुष्टि गरेको छ ।
आरोपपत्रमा उल्लेख छ कि, सिलवालले आफ्नो जन्म मिति २०१५–०४–१५ मा आधारित सरकारी कागजात र प्रमाणपत्रहरूको प्रयोग गरेका थिए । तथापि, उनले राष्ट्रिय सेवामा रहँदा र कूटनीतिक राहदानीका लागि झुटा जन्म मिति प्रस्तुत गरेको थाहा पाएपछि, सरकार र सम्बन्धित निकायहरूले उनलाई कारबाही गर्न अनुसन्धान थालेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेका अनुसार उनको कागजातको आधारमा, २०८०–०४–१५ देखि अहिले सम्म सिलवालले ३६,६२,१५४।१६ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको देखिन्छ । अख्तियारको आरोपपत्रमा सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ बमोजिम दोषी ठहर गर्दै उनलाई कानुनी कारबाहीका लागि अदालतमा पेस गरिएको छ।
मुख्य बुँदाहरू
–सिलवालले नागरिकता र राहदानीमा जन्म मिति झुटो प्रस्तुत गरेर कूटनीतिक र विशेष राहदानी प्राप्त गरेका आरोप
–६५ वर्षको उमेरमा अनिवार्य अवकाश हुनुपर्ने अवस्था भए पनि अध्यक्षको पदमा रहनु
–भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कार्यवाहीको लागि विशेष अदालतमा आरोपपत्र दायर
–३६ लाख ६२ हजार १५४ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको पुष्टि
सिलवालले नागरिकता र राहदानीमा जन्म मिति झुटो प्रस्तुत गरेर कूटनीतिक र विशेष राहदानी प्राप्त गरेका आरोप ६५ वर्षको उमेरमा अनिवार्य अवकाश हुनुपर्ने अवस्था भए पनि अध्यक्षको पदमा रहनु भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कार्यवाहीको लागि विशेष अदालतमा आरोपपत्र दायर ३६ लाख ६२ हजार १५४ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको पुष्टि सिलवालको भ्रष्टाचारमा संलग्नता पुष्टि भएपछि, उनीविरुद्ध कानुनी कार्यवाही गरिने छ, र सम्पत्ति जफत गरिन सक्ने जनाइएको छ ।
सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६%, ०.७६%, र ०.१५% ले वृद्धि भए । तर बैंकिङ ०.४६%, विकास बैंक ०.६८%, होटल तथा पर्यटन ०.८३%, हाइड्रोपावर ०.५४%, जीवन बीमा १.६७%, माइक्रोफाइनान्स ०.६१%, निर्जीवन बीमा १.१६%, र व्यापार समूह १.३०% ले घटेका छन ।
इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७% ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१%, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३%, र हिमालयन डिस्टिलरीको ५.९९% ले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२%, र सुपरमाइ हाइड्रोपावरको ३.८% ले घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन् ।
काँग्रेस निर्णय : गण्डकी प्रदेशसभामा थापाको नाम, बीआरआईबारे पुरानै अडान
काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सांसद समानुपातिक तर्फको रिक्त पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामयिक निधन भयो । त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन ग¥यो ।’
त्यस्तै उनले कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्नेे निर्णय अहिलेपनि कायमै राखेको बताए । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए ।
उनले भने,‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो । त्यही निर्णयमा आज पनि कायम छौँ । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ ।’
रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबिच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।
सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको थियो ।






























