प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमवार पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् ।
‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘पहिला जुन मुलुकको भ्रमणमा गएपनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक अरू कुनै काम गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’
उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अर्का छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिए ।
उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने आग्रह गरे ।
छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रूप दिने बताए । उनले यस विषयमा दुई दलमा बाहिर आएजस्तो कुनै विवाद नरहेको बताए ।
छलफलमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यका बाहिर रहेका कारण अनुपस्थित थिए भने पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरू इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, डा.विमला राई पौड्याललगायत सहभागी थिए ।
श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न
काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगी कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेसागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रव्यापी कविता प्रतियोगीमा प्रथम विवेक पराजुलीलाई नगद पुरस्कार रु. ५० हजार, द्वितीय देवी प्रसाद बराललाई रु. ३५ हजार तथा तृतीय भीष्मराज काफ्ले र गौरी कँडेललाई रु २० हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा. कोमल फुँयालले विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रम चेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
‘निस्टा आवाजः सृजनामा श्रम’ आवाज मूल नाराका साथ आयोजित
समारोहमा निष्टाका सल्लाहकार संयोजक मुकुन्द गौतम र अनुसन्धान सल्लाहकार डा. दशरथ न्यौपानेलाई सम्मानित गरिएको थियो । सो अवसरमा निस्टा बागमती प्रदेशद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा यान्त्रिक माध्यमद्वारा आयोजित समारोहका अभिनन्दित शोधार्थीलाई समेत सम्मान गरिएको प्रदेश अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो ।
सभापतिको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले निस्टाले पेसागत सवालका अतिरिक्त शिक्षक तथा विद्यार्थीकेन्द्रित सृजनात्मक र अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । शिक्षक कर्मचारीको न्यूनतम तलबमान र सामाजिक सुरक्षाका सवालमा निरन्तर सङ्घर्षरत रहेकोमा जोड दिँदै अध्यक्ष चालिसेले शिक्षक विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउन प्रदेशस्तरमा समेत विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । यसै वर्षको अन्त्यसम्ममा मैथिली भाषा, साहित्य र संस्कृतिमा श्रमचेतना विषयक प्रदेशस्तरीय गोष्ठी तथा कविता प्रतियोगिता आयोजना हुने निस्टाले जनाएको छ ।
समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर, ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपाली, ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष खिलनाथ दाहाल, पब्लिक क्याम्पस प्राध्यापक संघका सल्लाहकार प्रा.डा. घमानसिंह खड्का, नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेपाल लेखक संघ महासचिव सोझो गाउँले लगायतको उपस्थिति रहेको थियो ।
विराट कोहलीको टेस्ट करियरको ३० औँ शतक
काठमाडौँ । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् ।
उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् । भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त गरेको छ ।
रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा १२ रनमा ३ विकेट गुमाएको छ । उस्मान ख्वाजा ३ रनमा नटआउट रहेका छन् । मार्नस लाबुसचेन ३, कप्तान प्याट कमिन्स २ र नाथन म्याकस्विनी खाता नखोली नै पभेलियन फर्किएका थिए ।
जसप्रित बुमराहले २ र मोहम्मद सिराजले एक विकेट लिए । भारतीय पारिमा जैसवाल–कोहलीबाहेक नितिश रेड्डी ३८ रन बनाएर नटआउट फर्किए । वासिङ्टन सुन्दरले २९ रन, देवदत्त पडिक्कलले २५ रन र केएल राहुलले ७७ रन बनाए । नाथन लियोनले २ विकेट लिए ।
बिहान १७२ रनको स्कोर बनाएर तेस्रो दिनको सुरुआत भारतले गरेको थियो । पहिलो इनिङ्समा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो भने भारत १५० रनमा समेटिएको थियो । पहिलो पारिको स्कोरका कारण भारत ४६ रनले अगाडि रहेको थियो ।
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ,’मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए ।
कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै
काठमाडौँ । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रूपमा नेपाली बजारमा उपलब्ध हुनेछन् ।
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको छ ।
आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् । दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ ।
ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ ।
त्यसैगरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी बाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।
सहभागीहरूमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।
मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ । ७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ ।
मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ । सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको भए तापनि हाल यो कम्पनी स्वतन्त्र रुपमा क्रियाशील छ । ब्ल्याक शार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छ ।
सिड्नीमा नेपाल फेस्टिभल, हजारौँको सहभागिता
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिवार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरूले भरपुर मनोरञ्जन समेत दिलाए ।
नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरूको प्रस्तुतिमा आगन्तुकहरूले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएको आयोजकको दाबी छ ।
फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरूले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अस्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरूले सहभागिता जनाएका थिए ।
महोत्सवमा पहिलोपटक प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए ।
महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो । कार्यक्रममा अस्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतिक मनोरञ्जन दिएका थिए ।
एनआरएन अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभल मार्फत नेपालीहरूले अस्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
राईको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदमबहादुर राईको निधनमा शोक वक्तव्य जारी गरेको छ । आइतवार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य राईको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।
‘यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुस १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरू हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।’ शोक वक्तव्यमा भनिएको छ ।
साथै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी गरेको शोक वक्तव्यमा राईको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौँको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुँदै तेह्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेको समेत जनाएको छ ।
राईले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर–तेह्रथुम–संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भूमिका निर्वाह गरेका थिए ।
उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्रीसमेत भएका थिए ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।
शुक्रवार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदैछ । आइतवार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो ।
सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएको थियो । म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए ।
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न दुईसय रुपैयाँ शुल्क
काठमाडौँ । आज देखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो ।
धरहरा प्रवेश गर्न ५० रुपैयाँ र चढ्दा प्रतिव्यक्ति दुईसय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गते देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रीपरिषद्ले नै स्वीकृत गरेको छ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ।














































