राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै
काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)ले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको हो ।
सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरूलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ । सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो
काठमाडौं । भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो । पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९.५ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै सिरिज नै जित्न सफल भयो ।
पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको पारि खेले । त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए । आकाश प्रभावकरको ब्याटबाट १८ रन बनको थियो । नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे । सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए ।
१९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो । नेपालको जीतमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट पारि खेले । उनले १ छक्का र ७ चौका प्रहार गरे ।
यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा १ छक्का र ६ चौका हिर्काए । यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको पारि खेले । अन्त्यमा नरेन भट्ट १८ रनमा नटआउट रहे ।
कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए । अन्तिम खेलमात्रै त्रिवि क्रिकेट मैदानमा भएको हो । यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो ।
चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण
एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरूलाई आकर्षित गराएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ ।
टाउकोमा जडान गरिएको क्यामराको सहारा लिएर रोबोट कुकुरले देखाएको प्रदर्शनी निकै रोचक मानिएको छ । प्रहरीकै रूपमा २४ घन्टा गस्ती गर्न सक्ने बताइएको रोबोटका कारण सम्मेलन थप प्रभावकारी बनेको छ ।
सम्मेलनमा ग्लोबल डेभलपमेन्ट इनीसीएटीभ, डीजीटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषययरुमा छलफल गरिरहेको छ । (सीसीटीभी प्लस)
‘मन्त्री हेरफेर हुँदैन, डेढ वर्षपछि देउवा प्रधानमन्त्री’
धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने,‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए ।
‘एमाले र काँग्रेसबिच कुनै पनि विषयमा कुनैपनि समझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ,’ उनले भने ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।
उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजना सहित शान्ति सुरक्षा कायम हुने बताए ।
सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
बुधवार तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोबार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भैइरहेको महासङ्घले जनाएको छ ।
उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
काठमाडौँ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधवार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि सो उपनिर्वाचन हुन लागेको हो । त्यस क्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएको थियो । त्यसमा राजनीतिक दलबाट २ सय ८९ र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको थियो ।
३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जनाबिच प्रतिस्पर्धा हुन लागिएको आयोगले जनाएको छ । त्यसैगरी उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थानबाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३ सय ७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न पनि प्रदान गरेको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीसहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् ।
निर्वाचन कार्यक्रमअनुसार मंसिर ६ अर्थात् बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।
निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहिताको अक्षरशः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।
यसैबिच स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका मेयरका लागि २० जनाबिच नै प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार प्रकाशित गरेको नगरपालिकाको मेयरका प्रत्याशीहरूको अन्तिम नामावली सूचीअनुसार २० जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको हो ।
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ।
यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको छ ।
यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको केन्द्रीय बैंकले जनाएको छ ।
मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकादुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकादुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ I प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण बुुझाइएका छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुुपर्ने आग्रह गरेका हुन् । ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर माग गरिएको छ ।
ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र अन्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गर्नुभयो । “हामी विश्व शान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ ।’’, प्रधानमन्त्री ओलीले भने,“हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ ।’’
भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायतको सहभागी थियो ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधवार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।











































