आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २५ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा , युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा कायम छ ।
साथै साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२ रुपैयाँ नौ पाँच र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २५ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १७ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
गण्डकी, २५ असोजः दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ ।
कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् ।
बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको पदयात्रामा निस्कन्छन् । तपाईं पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्यस्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।
खर्चको जोहो
तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ ।
गन्तव्यस्थलको पूर्वअध्ययन
आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ ।
बन्दोबस्ती
याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ ।
गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाका सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यही अनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ ।
एक्लै नहिँड्नुस्
नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।
औषधि र हलुका खानेकुरा
पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ ।
सुनसरीको गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति
धरान (सुनसरी), २४ असोज : सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।
उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएकोछ ।”
आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलँैचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन ।
आगलागी सुरु भएसँगै बिराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्त तिमल्सिनाले बताउनुभयो ।
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
काठमाडौँ, २४ असोज : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।
महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताउनुभयो । “सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उहाँले भन्नुभयो, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसँै मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”
उहाँका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भन्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसँैमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिनुभयो ।
बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै
खोटाङ, २४ असोजः यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा आवतजावत गर्ने वातावरण मिलाउन जिल्लाका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत थालिएकोे हो ।
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारे घाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलमा बाढीले क्षति गरेको थियो । दसैँको टीकाअघि सुनकोसीस्थित तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउनेगरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका–३ चनौटेस्थित सुनकोसी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनःसञ्चालनमा ल्याइसकिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्यकपर्ने सामग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो दैनिकीसँग जोडिएको फोक्सिङ्टार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ । यो जिल्लावासीका निम्तिसमेत ठूलो क्षति हो”, उहाँले भन्नुभयो, “फोक्सिङ्टार पुलका कारण निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानीका निम्ति ठूलो असर पुगेको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
सगरमाथा राष्ट्रि«य राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।
उता, मोटरेबल पक्की पुलको योजन सुरु भएको धाप्लाङघाटमा ठेकेदारको लापरबाहीले पक्की निर्माण नहुँदा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको धाप्लाङघाटको मोटरेबल पुल अहिलेसम्म अलपत्र अवस्थामा छ ।
निर्माण लिएको पुलको पिलर नदीको पानीले जग कटान गर्दै गएपछि बाङ्शिलाको छ । विसं २०७६ मै बनिसक्नुपर्ने मोटरेबल पुलको दुवैतर्फ पिलरमात्र ठड्याइएको थियो ।
निर्माणाधीन मोटरेबल पक्की पुलको काम अलपत्र भएपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुलको मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । “बाढीले पुलको लठ्ठा चुँडिनुका साथै ठाउँठाउँमा भ्वाङ परेर आवजावत गर्नै नमिल्ने गरी क्षति पुगेको थियो । गाउँपालिकाले तारजाली उपलब्ध गरायौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीले मर्मत गरेर पुनःसञ्चालनमा ल्याएका छन् । अहिले मोटरबाइकसमेत आवतजावत गराउन मिल्ने भएको छ ।”
जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने सुनकोसी नदीकै मैनाटार, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट र खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाटको झोलुङ्गे पुलहरु मर्मत कार्य भइरहेका छन् । मर्मत कार्य भइरहेका तीनवटै ठाउँका झोलुङ्गे पुल दसैँको टीकाभन्दा अगाडि नै सञ्चालनमा ल्याउनेगरी तीव्रता दिइएको जनाइएको छ ।
चाडपर्वको पूर्वसन्ध्यामा आएको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुबीच सडकमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग तथा सम्बन्धित स्थानीय तहले मेसिन प्रयोग गरिएका छन् ।
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
फुङ्लिङ (ताप्लेजुङ), २४ असोजः ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ । उहाँ भन्नुहुन्छ, “तमोर करिडोर सडक आलोङचुङ्गोला हुदै टिप्ताला नाका जोडिएको छ । अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।”
सिङ्जेमा ताल फक्ताङ्लुङ –७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन । प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ । सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् । स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एक जना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएको थियो ।
यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ । तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।
तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ । ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई (तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ । तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।
वैशाख देखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ । तर तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङ्गोला आसपासका बासिन्दामा सीमित थियो । पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ । सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ ।
तालको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । तालको महत्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पु¥याउने छ ।
दसैँमा प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या
पाल्हीनन्दन (नवलपरासी ब सु प), २४ असोजः अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन । स्थानीय रामनरेश मुसहरले भन्नुभयो,“घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर !”
छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उहाँको भनाइ छ । “छिमेकी बस्तीमा हुने खानेले दुुर्गा मुुर्ति बनाएर बाजासहित धुुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ-नयाँ लुुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ”, रामनरेशले भन्नुभयो,“दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।”
उनका अनुसार दसैँमा सबैले नयाँ लुगा लगाउँछन्, मन परेका परिकार खान्छन्, हामीलाई पनि खान र लाउन मन लाग्छ, तर पैसा छैन समस्या भनेको चरम गरिबीछ अरुजस्तै खान लाउनको लागि पैसा चाहिन्छ पैसा नभएपछि हामी मनलाई मारेर आ‐आफनो घरमा बसिरहेका छौँ ।
उहाँ घरका ठूला मान्छेले आफ्नो बाध्यता बुझे पनि बालबालिकाले भने अरूको जस्तै राम्रो लाउने र मिठोमसिनो खाने चाहना राख्दा सम्झाउनै समस्या भएको बताउनुहुन्छ । “चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ । बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन्”, उहाँले दुःखेसो पोख्नुभयो ।
पूर्वमन्त्री हृदयेश त्रिपाठीको गाउँ नजिकै रहेको यो बस्तीमा झण्डै ४२ मुसहर परिवार बस्छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै दैनिकी ज्यालामा काम गर्नु हो । चाडपर्वमा प्रायःजसो काम ठप्प हुने हुँदा उनीहरूले काम पाउने कुरा पनि भएन । त्यसैले थप समस्या हुने गरेको छ । “हामीले कमाएको पैसाले त राम्रोसँग खान पुग्दैन, चाडपर्व त कसरी मनाउनु”, स्थानीय ईन्द्रावती मुसहर भन्नुहुन्छ, “दसैँमा मात्रै होइन, कुनै पनि चाडपर्व हाम्रा लागि दशा बनेर आउँछन् । आज कमाएर आजै खाने हाम्रा लागि सधैँ यस्तै कहर हुन्छ ।”
आफूहरूले स्थानीय सरकारलाई दीगो जीविकोपार्जनका लागि कुनै व्यवस्था गरिदिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएकाले सधैँ एउटै नियती भोग्नु परिरहेको ईन्द्रावतीले सुनाउनुभयो । “आफूहरूको गरिबीबारे यहाँका स्थानीय जनप्रतिनिधिलगायत सबैलाई थाहा छ । हामीले बेलामौकामा उहाँहरूलाई जानकारीसमेत गराएका हुन्छौँ, खै, अहिलेसम्म सुनिदिने कोही भएनन्”, उहाँले पीडा पोख्नुभयो,“सित्तैमा दिन पनि भनेका छैनौँ, हाम्रो सीपअनुसारको काम दिए पनि हुन्थ्यो । अरू बेला नभए पनि चाडपर्वका बेला हामीलाई र हाम्रा बालबच्चालाई राम्रो लगाउने, मिठो खाने रहर हुन्छ नि! तर सधैँ सपनामै सिमित हुन्छ ।”

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भने अति गरिब र विपन्न समुदायको लागि पालिकाले आर्थिक सहयोगका लागि बजेट विनियोजन गरेकाले सो रकमबाट दसैँका लागि खाद्यान्न सहयोग गर्ने तयारी भइरहेको बताउनुहुन्छ । “दसैँको अवसरमा उनीहरूलाई खाद्यान्नलगायत सामग्री वडा कार्यालयमार्फत वितरण गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।
यहाँका मुसहर समुदायको आफ्नो नाममा जग्गासमेत छैन । उनीहरूले पुस्तौदेखि उखडा जग्गामा फुसको छाप्रो बनाएर गुजारा गर्दै आएका छन् । अरू समय ज्यालादारीमा काम गरेर जीविको चलाए पनि चाडपर्वमा कुनै काम नपाइँदा समस्या हुने गरेको छ ।
दसैँमा गाउँ नै रमाइलो....
म्याग्दी, २४ असोजः खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।
अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्नुहुन्छ, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । ”
राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।
गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।
तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किनुभएका उहाँ भन्नुहुन्छ,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ! सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।”
बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुुने बताउनुहुन्छ । “बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच... हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।
हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।
‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए......’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।
गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ ।
नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उहाँका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो ।
“देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभए पनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ ।”
यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको उक्त नीतिअनुरुप यस वर्षको दसैँतिहार लगायतका चाडबाडमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुनेछ ।
नयाँ नोट दसैँतिहारजस्ता पर्वमा मात्र अत्याधिक माग हुने तथा त्यसपछि बैकका ढुकुटीमा थुप्रिएर बस्ने भएकाले त्यस्ता जम्मा भएका नोटको सदुपयोग गर्ने र नोट छपाईका लागि लाग्ने फजूल गर्न राक्ने राष्ट्र बैँकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहन गरेको हो ।
प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैँकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णयमा पुगेको निर्देशक भट्टराईको भनाइ थियो ।
पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलन चल्तीकै नोट उपयोग गर्न सकियोस् भनी यसपटक नयाँ नोट नछापिएको उहाँको भनाइ छ ।
राष्ट्र बैंकले चलनचल्तीकै नोट प्रयोगमा जोड दिएपछि सटहीमा हुने चाप कम हुनुका साथै नयाँ नोटका नाममा हुन सक्ने फजूल खर्चसमेत केही हदसम्म रोकिने अनुमान छ ।
गत वर्ष छापिएको भन्दा तीन गुणासम्म बढी नोट हाल बजारमा र बैंक ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपरेको उहाँको तर्क छ । उहाँले भन्नुभयो, “नयाँ होस् पुरानो जेभए पनि नोटको मूल्य र महत्त्व एउटै हुन्छ । नयाँ भनेर राज्यलाई अतिरिक्त आर्थिक भार थप्न हुँदैन ।”
सफा र सुकिला नोट प्रयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले आगामी वर्षमा अहिले चलन चल्तीमा रहेकाभन्दा अझ सुकिला नोटले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराउनुुभयो । उहाँले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधँैको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताउनुुभयो । उहाँले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गर्नुभयो । उहाँले सङ्घलाई राजनीतिक आधारमा नभइ सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुुझाव दिनुभयो ।
यसैगरी आजै विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट रु ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट रु १० लाख कोषमा हस्तान्तरण भएको छ ।














































