पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
मध्यविन्दु (नवलपरासी), २७ भदौः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्नुहुन्छ ।
विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थाल्नुभएको हो । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भन्नुभयो ।
विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन् ।
कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यसअघि विद्यालयमा पढाइ मात्र हुने गरेको थियो, अहिले तरकारी खेती पनि सुरु भएको छ । पढाइसँगै सीप सिक्न पाउँदा हामी उत्साहित छौँ, यो प्रभावकारी कार्यक्रम हो”, उहाँले भन्नुभयो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताउनुभयो । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत रु २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ ।”
विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउने गरेका छन् । उत्पादित तरकारी विद्यालय हाताभित्रबाटै बिक्री गर्ने वातावरण्त मिलाइएको प्रअ पौडेलले जानकारी दिनुभयो । “विद्यार्थी अहिले पढेका कुरा अभ्यास गर्ने र व्यावसायिक रुपमा खेतीसम्बन्धी प्राविधिक ज्ञान आर्जन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि विस्तारै चासो दिन थालेका विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतले बताउनुभयो । “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई सानै उमेरदेखि मेहनत र सीपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरुक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखिएको छ ।”
विद्यार्थीले कक्षामा गर्नु पर्ने परियोजना कार्यसँगै तरकारी खेतीलाई जोडिएको विद्यालयका इन्चार्ज हिरा महतोले बताउनुभयो । “यो सिजनमा तिल र भिन्डी उत्पादन गरिएको छ, विद्यार्थीले रु तीन हजार पाँच सयको तरकारी बिक्री गरिसकेका छन् भने तिल बिक्री गर्न बाँकी छ”, उहाँले भन्नुभयो ।
नगरपालिकाले गत आर्थिक वर्षदेखि २० वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको करेसाबारीमा विद्यार्थीद्वारा उत्पादित तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने गरिएको छ ।
“दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएको स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा लागू गरिएको हो”, पाण्डेले भन्नुभयो । कार्यक्रम प्रभावकारी बन्दै जानुका साथै विद्यार्थीमा प्रविधिक ज्ञान वृद्धि हुने भएकाले अन्य पालिकाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
काठमाडौँ, २६ भदौः सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले आज उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मङ्गलबार जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।
परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।
काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ, २६ भदौः खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिनुभएको हो ।
उहाँले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताउनुभयो । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिनुभयो ।
यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।”
मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।”
अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिनुभयो । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।”
खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।
कोशी प्रदेशबाट पहिलो पटक अस्थायी सवारी अनुमतिपत्र वितरण
विराटनगर, २६ भदौः कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक आजदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको छ ।
स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी सवारी अनुमतिपत्र वितरण सुरु गरेको हो ।
इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सेवाग्राहीलाई औपचारिक रुपमा सवारी अनुमतिपत्र वितरण गर्दै उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने बताउनुभयो । उहाँले आवश्यक व्यवस्था मिलाउन केही दिन समय लाग्ने बताउँदै भन्नुभयो, “राहदानी जस्तै सवारी अनुमतिपत्र पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौँ, तपाईहरुको सहयोग आवश्यक छ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी सवारी अनुमतिपत्र वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने गरिको तयारी भइरहेको जानकारी दिनुभयो ।
गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरुको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।
सोहीअनुसार सबैभन्दा पहिला पटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालय सात वटा छन् । अब ती सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्यवस्था सुरु गरिएको छ । जसको समयावधि एक वर्षको हुनेछ । एक वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाइ प्रदेशबाटै गर्ने तयारी भइरहेको छ ।
नयाँ, थप र प्रतिलिपिगरी अहिले कोशी प्रदेशबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रका लागि निवेदन आउने गरेकामा यातायात व्यवस्था विभागले स्थायी (स्मार्ट) कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राही पैसा तिरेको रसिद बोकेर हिँड्न बाध्य थिए । अब प्रदेशले नै एकैदिनमा लाइसेन्स दिन सुरु गर्नु अत्यन्तै राम्रो भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।
भारतमा सामसुङका श्रमिक आन्दोलित
मुम्बई, २६ भदौ : दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ।
उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ ।
भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्वपूर्ण स्रोत हो । सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाई हिस्सा ओगटेको छ ।
हडतालले समूहको कर्मचारीको पछिल्लो असन्तोषकोलाई सङ्केत गर्दछ । जुलाईमा दक्षिण कोरियामा हजारौं युनियनमा आवद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए।
दक्षिणी शहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार ८०० कामदार कार्यरत सामसुङका सयौं कर्मचारीले आन्न्दोलनमा भाग लिएका छन् ।
“उच्च ज्याला र राम्रो काम गर्ने समयको अतिरिक्त, हामीले कम्पनीसँग हाम्रो युनियनलाई मान्यता दिन पनि माग गरिरहेका छौं,” श्रमिक प्रतिनिधि र युनियनका नेता ई मुथुकुमारले एएफपीलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले हाम्रो माग कम्पनीलाई दिइसकेका छौं र उनीहरुसँग वार्ता गरिरहेका छौं । मुथुकुमारका अनुसार हडतालका कारण उक्त क्षेत्रमा उत्पादनमा असर परेको छ ।
तर सामसुङ इन्डियाका प्रवक्ताले भने कामदारको हित कम्पनीका लागि ‘उच्च प्राथमिकता’ रहेको र यसले कम्पनीका ग्राहकहरूलाई कुनै पनि ‘व्यवधान’ नहुने बताउनुभएको छ ।
प्रवक्ताले भन्नुभयो, “हामी हाम्रा कामदारहरूसँग सक्रिय रूपमा भेटवार्तामा छौं ताकि उनीहरूसँग हुन सक्ने कुनै पनि गुनासोलाई सम्बोधन गर्न र सबै कानून र नियमहरूको पालना गर्न सकियोस्।”
संयुक्त राज्य अमेरिकासँगको भूराजनीतिक तनाव र अन्य आर्थिक अड्चनका कारण चीनबाट बाहिर उत्पादन विविधीकरण गर्न चाहने प्रविधि कम्पनीहरूको लागि भारतले एक उदीयमान विनिर्माण हबको रूपमा आफूलाई प्रस्तुत गरेको छ।
गुगलले यसै वर्ष भारतमा आफ्नो उत्पादन सुरु गरेको छ भने ताइवानी इलेक्ट्रोनिक्स जायन्ट फक्सकन, एप्पल आईफोनको प्रमुख ‘एसेम्बलर’ले प्रविधिका लागि चिनिने नजिकै एक प्रमुख फोन ‘एसेम्बली प्लान्ट’ स्थापना गर्दैछ।
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
काठमाडौँ, २६ भदौ : आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।
त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।
टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने
काठमाडौँ, २६ भदौ : प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो ।
सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उहाँले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको थियो ।
सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभयो । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गर्नुभयो । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो ।
रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ
काठमाडौँ, २६ भदौः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।” पक्राउ परेका निजले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि रु १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । पक्राउ परेका निज सूर्यमानको आज जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
कास्की, २६ भदौ : पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।
ह्यारिस र ट्रम्पबीच पहिलो प्रत्यक्ष बहस : आरोप प्रत्यारोपमा नै सीमित
वासिङ्टन,संयुक्त राज्य अमेरिका, २६ भदौ : अमेरिकाको राष्ट्रपतीय बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार राति पहिलो पटक आमने सामने भएका छन् ।
बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलगायत प्रमुख अमेरिकी बिषयमा केन्दिूत भएको छ ।
बहसमा दुबै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए भने करिव ९० मिनेटसम्म चलेको बहसपछि उनीहरूले हात मिलाएर आपसमा विदा भएका थिए ।
एबीसी न्यूजले आयोजना गरेको यो बहस जुनमा राष्ट्रपति जो बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि सन् २०२४ को निर्वाचनसम्बन्धी दोस्रो बहस हो भने ह्यारिससँगको पहिलो हो । बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक दलका नेता, कार्यकर्ता, शुभेच्छुकबाट नै उम्मेदवारी त्याग्नका लागि आएको बढ्दो दबाबपछि बाइडेन आसन्न राष्ट्रपतीय चुनावको दौडबाट बाहिरिएको घोषणा गर्नु भएको थियो ।
राष्ट्रपतीय निर्वाचनको करिव दुई महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कडा प्रतिस्पर्धाको अवस्था देखाएको छ ।
ह्यारिस र ट्रम्पले नोभेम्बर ५ मा हुने चुनावपछि एकअर्काको जितपछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गरेका थिए ।
चार वर्ष अघिको तुलनामा अमेरिकीहरूको अवस्था राम्रो छ कि छैन भनेर सोधिएको प्रश्नमा ह्यारिसले प्रत्यक्ष जवाफ दिनुभएन । उहाँले ट्रम्पले डेमोक्र्याटहरूलाई ‘‘महामन्दी’पछिको सबैभन्दा खराब बेरोजगारी’ छोडेको आरोप लगाउनुभएको थियो ।
रिपब्लिकन नेता ट्रम्पले भन्नुभयो, “यो दाबी भ्रामक छ । सन् २०२० को अप्रिलमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीका कारण बेरोजगारी १४.८ प्रतिशत पुगेको थियो । मैले कार्यालय छोड्दासम्म बेरोजगारी दर ६.४ प्रतिशत कायम भइसकेको थियो ।”
ह्यारिसले राष्ट्रपतिमा निर्वाचित भएमा प्रत्येक योग्य बच्चाका लागि छ हजार डलरसम्म कर छुट र साना व्यवसायका लागि ५० हजार अमेरिकी डलर कर छुट दिने बताउनुभएको छ । उहाँले ट्रम्पले अर्बपति र कर्पोरेसनलाई अरु कोहीभन्दा बढी प्राथमिकता दिने दाबी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले बिक्री करको योजना बनाएको र यसले आम अमेरिकीलाई नोक्सान पु¥याउने दाबी गर्नुभएको थियो ।
ह्यारिसको कुरा काट्दै ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा उच्च मुद्रास्फीतिको सुरुवात गरेको, अहिले २१ प्रतिशत र केही वस्तुमा ६० प्रतिशतसम्म मुद्रास्फीति भएको बताउनुभयो ।
प्रतिवादमा ह्यारिसले भन्नुभयो, “यो गलत हो । हाल मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । बाइडेनको कार्यकालमा सन् २०२२ मा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको तर यो सन् १९२० को ऐतिहासिक उच्च २३.७ प्रतिशतभन्दा निकै कम रहेको थियो ।”
बहसका क्रममा ट्रम्पले आफूले बिक्री कर लगाउने कुरा अस्वीकार गरे पनि अन्य देशले न्यूनतम १० प्रतिशतका दरले व्यापार शुल्क तिर्नुपर्ने बताउनुभयो ।
विज्ञहरूका अनुसार अतिरिक्त महशुल उपभोक्तामाथि लगाइने करको मात्रा हो जसले उनीहरूलाई लागत हस्तान्तरण हुनेहुँदा अतिरिक्त भुक्तानी गर्न मान्दैनन् ।
ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गर्नुभयो । त्यसक्रममा उहाँले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाउनुभयो।
ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ‘ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका’ दाबी गर्नुभएको थियो ।
विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाउनुभएको थियो । तर ट्रम्पले पछिल्ला केही वर्षका देखिएका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने दाबी गर्नुभएको थियो ।
बहसमा ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले सधैँ समर्थन गर्ने तर प्यालेस्टिनीहरूको पनि सुरक्षित भएर आत्मसम्मानका साथ बाँच्ने हक रहेको बताउनुभएको थियो भने ट्रम्पले ह्यारिसलाई इजरायलले घृणा गर्ने गरेको आरोप लगाउनुभएको थियो ।
बहस अन्त्यतिर ह्यारिसले आफू भविष्यप्रति सचेत हुँदै केन्द्रित रहेको बताउनुभएको थियो ।
त्यसको प्रतिकार गर्दै ट्रम्पले यदि ह्यारिससँग यो योजना भएको भए उहाँले अहिले उपराष्ट्रपतिकै रूपमा त्यसलाई कार्यान्वयन गरेको हुनुपर्ने बताउनुभएको थियो ।
गर्भपतन को पहुँच को ग्यारेन्टी गर्ने नजीर ‘रो भर्सेस वेड’लाई उल्टाउने तीन परम्परावादी न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने ट्रम्पले डेमोक्र्याट्सलाई यस मुद्दामा ‘कट्टरपन्थी’ भन्दै उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले ‘जन्मपछि मृत्युदण्ड’ को पक्षधरता औल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मृत्युदण्ड हो, गर्भपतन होइन ।
बच्चा जन्मिनु ठिक छ । तर मारिनु गलत हो । यो मेरो विचारमा गलत हो ।”
बहसका मध्यस्थकर्ता लिन्से डेभिसले ट्रम्पलाई सच्याउँदै भन्नुभयो, “बच्चा जन्मिसकेपछि उसको हत्या गर्ने कानुनी व्यवस्था यो देश (अमेरिका) को कुनै पनि राज्यमा छैन ।
ह्यारिसले थप्नुभयो, “अमेरिकामा कहीँ पनि एउटी महिलाले गर्भपतन गराउनका लागि गर्भधारण गरेकी छैनन् । यो त केवल सङ्कटको वैकल्पिक व्यवस्था मात्र हो ।”
युक्रेनका बारेमा भएको एक अन्तर्वार्तामा ट्रम्पले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेर युद्ध टार्न खोजेको बताउनुभएको थियो ।
ट्रम्पले ह्यारिसलाई ‘दूत’ को संज्ञा दिँदै भन्नुभयो, “यो युद्ध सुरु हुनुअघि नै अमेरिकाले ह्यारिसलाई शान्ति वार्ता गर्न पठाएको थियो। जेलेन्स्की र पुटिनसँग वार्ता गर्न पठाएको थियो । तर तीन दिनपछि युद्ध सुरु भयो।”
ह्यारिसले ट्रम्पको दाबीलाई झुटो भन्दै सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि आफूले म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीलाई भेटेको तर पुटिनलाई नभेटेको बताउनुभयो । ह्यारिसले शान्तिको प्रयास गरेको तर आफ्ना कारण युद्ध सुरू नभएको भन्दै ट्रम्पको भनाइलाई खण्डन गर्नुभएको थियो ।



























